बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

यी हुन् ७१ वर्षीय 'हेलिकोप्टर बाजे' : जो बिहान साढे ३ बजे उठेर ग्राहकको पेट भर्छन्

शनिबार, १४ साउन २०७४, ११ : ०८
शनिबार, १४ साउन २०७४

काठमाडौं–पाल्पाको एक गाउँ अर्गली । अहिले नगरपालिका भएको छ । तानसेन नगरपालिका वडा नं. १४, अर्गली । यहाँ मुख्य सडक छेउमा खाजा तथा खाना खाने एउटा होटल छ ।


होटल सामान्य अनि सानो छ  । तर ७१ वर्षीय ‘हेलिकप्टर बाजे’ अर्थात बिष्णु प्रसाद भट्टराईको जोस  र जाँगर भने निकै  लोभलाग्दो छ ।  
सामान्य रुपमा बुझ्ने हो भने ७१ बर्षको उमेर लट्ठी टेक्ने उमेर हो । घरमा नातीनातिना खेलाएर बस्ने उमेर हो । सरकारले दिएको सामाजिक सुरक्षा भत्ता लिने उमेर पनि हो । 


हुन त  भट्टराईले पनि गत असारमा जेष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ताका लागि भने फारम भरेका छन् । कहिले बाट भत्ता आँउछ उनलाई यसबारे थाहा छैन र त्यति मतलब पनि गरेका छैनन् । सरकारले महिनामा दिने भत्ता भन्दा निकै गुणा बढी उनको मासिक कमाई हुन्छ ।  त्यसैले त  विष्णुप्रसाद भट्टराईले त्यहातिर ध्यान  त्यति नदिएका हुन् । 


उनले पाल्पाको तत्कालीन अर्गली गाविस, अहिलेको तानसेन नगरपालिका वडा नं. १४ मा होटल व्यवसाय गर्न थालेको नै ३३ बर्ष बित्यो । ३३ वर्षको बीचमा उनको होटल अगाडिबाट असंख्य गाडि बुटवल, पोखरा, काठमाडौं, गुल्मी, अर्घाखाँची ओहोरदोहोर गरिरहे । लाखौ मानिसले उनको होटलमा भोक मेटाए । को–को कता–कता पुगे । तर ३३ बर्षदेखि उनी निरन्तर रुपमा आफ्नो सानो होटलमा खाजा खाना बनाइरहेका छन् । 


आजभोलि होटलमा दैनिक १ सय ८० देखि ३ सय सम्म ग्राहक खाजा तथा खाना खान आउँछन् । कतिपय बाजेको हात मिठो भन्दै जान्छन् । कतिपय मिठो भएन पनि भन्छन् ।  ग्राहकलाई रोजाई अनुसारको सफा मिठो खाजा–खाना बनाउँने उनको दैनिकी हो । चलिरहेकै छ ।  


हरेक बिहान साढे ३ बजे उठ्नु बिष्णु प्रसाद भट्टराईको दैनिक समयतालिका हो ।  उनलाई हेलिकप्टर बाजे भनिनुको कारण पनि रोचक रहेछ । हास्दै उनले भने, ‘हेलिकोप्टर कति छिटो उड्छ ? छिटो काम गर्ने भएर भनेका । मलाई ढिलो काम गरेको मन पर्दैन । कसैले केही खानेकुराको अर्डर गर्यो भने छिट्टै तयार गरिदिन्छु ।’ 

किन उठ्नुहुन्छ यति छिट्टै ?   

‘होटलमा आँउने सबैलाई ताजा खुवाउनु प-यो नि । कि बासी खाना खानुप-यो । बिहान ६ बजेदेखि नास्ता खुवाउन शुरु गर्छु । बेलुका साढे ६ बजे खाना खाएर होटल बन्द हुन्छ । बेलुका ८ बजेभित्र निदाइसक्नु पर्छ ’ उनको जवाफ थियो । 


साढे ३ देखि ६ बजेको बीचमा उनले बिहानको खाजा तयार पारिसकेका हुन्छन् । यसका लागि उनलाई श्रीमती र छोरीले पनि सघाउँछन् । काम सघाउँन उनले एकजनालाई धर्मछोरी बनाएका थिए । अब उनको बिहे गरिदिने शुरमा छन् ।  


उनकोमा १२ वटा हाइस माइक्रो बसका यात्रुहरुले नियमित रुपमा खाजा खाने गरेका छन् । ती माइक्रो सधैं उनको होटल अगाडि रोकिन्छन् । झन्डै १ सय ८० जना ग्राहक नियमित जस्तै हुन्छन् । दैनिक ३ सय सम्म यात्रीले खाजा खाएर जान्छन् । 


बिष्णुप्रसाद भट्टराईले ३३ बर्षदेखि थालेको होटेल व्यवसायबाट राम्रो प्रगति पनि गरे । उनले मुख्य बाटोको छेउमा दुई ओटा पक्की घर बनाएका छन् । उनको  ८ कोठाको र अर्को १२ कोठाको घर छ भने एउटा पुख्र्यौली घर पनि छ । 


‘बाटो छेउमा करोड पर्ने घर भए । यही हो उपलब्धी ’ उनले सुनाए ।  

 
जीवन सहज रुपमा चलेको छ । सबै खर्च कटाएर महिनामा ३० हजार हाराहारी नाफा हुन्छ । उनका जेठो छोराले पनि छुट्टै होटल व्यवसाय गरिरहेका छन् । 
७१ बर्षमा पनि तन्नेरी उनको पुरै समय होटलको काममा नै बित्ने गर्छ । खेतीपाती गर्न छोडेको धेरै भयो । दिनमा १६ घन्टा काममा खटिन्छन् । अहिलेसम्म कुनै रोगले दुःख दिएको छैन । 


उनले भने–‘एकचोटी ग्याष्ट्रिक भएर तानसेन अस्पताल जानुपर्यो, त्यसपछि जानुपरेको छैन ।’ 


यो उमेरमा पनि फुर्तिलो देखिनुको राज खुलाउँदै भनेले, ‘‘म खाने कुरामा एकदमै अनुशासित छु । खाने खाना र समयमा बिचार पुर्याउँछु । बिहान उठेपछि एक दुई ओटा रोटी खान्छु । बिहान ११ बजे दाल भात, अदुवाको झोल खान्छु । ३ बजे चिया खाजा खान्छु । बेलुका साढे ६ बजे रोटी खान्छु । खाने कुरामा हेलचेक्र¥याईँ गर्नुहुदैन ’ उनले भने ।  


‘मसँगैका साथीहरु लौरी टेकेर हिँड्छन् । खानपिनमा अनुशासित भइयो भने स्वस्थ भइन्छ ’ , उनले थपे । 

सँगै पढेका साथी डाक्टर र हेडसर  

उ बेलाकालमा पनि भट्टराईले ४ कक्षा सम्म पढेका थिए । ४ कक्षामा पुगेपछि अंग्रेजी पढेको पनि उनलाई सम्झना छ । गाउँमा पाँच कक्षासम्म पढाई हुने स्कुल थियो । उनले स्कूले जीवन सम्झिए । 


‘होटेलको यो टेबुल जस्तै सम्म काठको पाटी हुन्थ्यो । त्यसमा धुलो राखेर अक्षर लेख्ने । दगुरिन्थ्यो, गुच्चा खेलिन्थ्यो ।’ 


त्यो बेला उनीसँगै पढेका साथी डाक्टर, स्कुलको हेडमास्टर सम्म भए । उनकै गाँउका श्रीधर प्रसाद भट्टराई स्कुलको हेडमास्टर भए । अहिले रिर्टायर भएर घर बसिरहेका छन् । अर्का खिमानन्द गैरे उनी ४ मा पढ्दा ५ कक्षामा पढ्थे । उनी डाक्टर भएर काठमाडौँमा छन्  । अहिले उनी रसिया गएको आफूले सुनेको उनले बताए । 

३ बिहे : कान्छा छाेराकाे बिहे  गर्ने चाहना अधुरै

नचाँहदा नचाँदै ३ बिहे भयो उनको । जेठी श्रीमती बितेपछि उनी आफैले दोश्रो बिहे गरे । ‘सौतेनी आमाको स्वभाव नरुचाएर छोराहरुले घरबाट निकालिदिए । ती कता पुगिन थाहा छैन् । अहिलेकी कान्छी छोराहरुकै जोडबल र प्रवन्धमा बिहे गरेको हुँ । कान्छीसँग बिहे गरेको अब मंसिरमा २० बर्ष पुग्छ’ उनले भने । 
उनले जेठी श्रीमती सम्झिए–‘उ बाँचेकी भए म धेरै माथि पुगिसक्थे, मेरो धेरै प्रगति हुने थियो ।’

उनका ४ जना नातिनातिना छन् । ३ नातिनी १ नाती । ३ छोरा मध्ये जेठोले पनि होटल चलाँउछन् । माइलाले खसी बाख्राको व्यवासाय गर्छन ।  
कान्छोको ७ वर्षअघि  निधन भयो मलेसियामा । उनको सपना थियो सबै छोराहरुलाई एक–एक वटा घर बाढ्ने । कान्छो छोरोको बिहे गर्ने । कान्छो छोरासँगै बुढेसकाल बिताँउने ।  तर, उनको जीवनमा सधै दुई कुरा खड्किरहेका छन् । उनको मनमा कहिल्यै निको नहुने दुईवटा घाउ लागेका छन् । 
जेठी श्रीमती र कान्छो छोरा । जो सदाका लागि कहिल्यै नफर्किने बाटो हिँडिसके ।

र, पनि भट्टराई  आफ्नाे पाैरखमा  दंग छन्    र दत्तचित्त भएर बुढेसकालमा पनि काममा लागि परिरहेका छन् ।  त्यसैले त उनी सबैको प्रेरणाका स्रोत बन्न सफल भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप