शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश २ थप्पड प्रकरण : छानविन समिति नै शंकाको घेरामा

बिहीबार, ०३ माघ २०७५, १६ : ५१
बिहीबार, ०३ माघ २०७५

जनकपुर– प्र्रदेश २ मा मन्त्रीले सचिवमाथि गरेको हातपातको छानविनका लागि गठन गरेको छानविन समितिमाथि आशंका गर्न थालिएको छ । उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले गरेको कुटपीटको छानविन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदले छानविन समिति गठन गरेको थियो । 

मन्त्री यादवले सचिव झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेको ५ दिन वितिसक्दा पनि छानविन समितिले छानविनका क्रममा मन्त्री यादवलाई पदबाट निलम्बन नगरेको भन्दै कर्मचारीहरुले निश्पक्ष छानविन हुनेमा आशंका गरेका हुन् ।

मन्त्री यादवले सचिव झालाई गत आइतबार आफ्नो कार्यकक्षमै बोलाएर कुटपिट गरेका थिए । ‘यो प्रकरणमा छानविन समिति बनाइयो । तर कुटपिटको आरोप लागेका मन्त्री यादव पदमै रहेर शक्तिको दुरुपयाग गरी कर्मचारीलाई धम्काउने गरिरहेका छन्’ एक कर्मचारीले गुनासो गरे ।

प्रदेश २ का मन्त्री यादवलाई पदमै बसिरहन दिनुले छानविनका नाममा उन्मुक्तिको प्रयास भइरहेको त छैन भन्दै मन्त्रालयका कर्मचारीहरुले आशंका व्यक्त गरेका छन् ।

मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘मन्त्रीज्यूले आफ्नो शक्ति प्रयोग गर्दै हामीमाथि फेरी कुनै घटना घटाए यसको जवाफदेहीता कसले लिने भन्दै शक्तिको बलमा कानुन मिच्ने प्रवृत्ति हावीसँगै हामीमाथि जोखिम बढेको छ ।’

नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनका प्रदेश नम्बर २ का सचिवालय सदस्य मुनेश्वर यादवले मुख्यमन्त्री लालबाबु राउतले आफु चोखिने काम गरेपनि आफ्नै पार्टीबाट मन्त्री बनेका यादवलाई कारवाही गर्नेमा आशंका उव्जिएको बताए । 

प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको नेतृत्वमा २ सचिवसहित ३ सदस्यीय छानविन समिति गठन गरेको थियो ।

छानविन समितिका संयोजक समेत रहेका मन्त्री यादव काठमाडौँमा छन् ।

उता, निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन धनुषाले मन्त्री विजयकुमार यादवलाई कारवाही गर्न माग गर्दै बिहिबार पनि हातमा कालोपट्टी बाँधेर ‘पेन डाउन’ गरेका छन् ।

उनीहरुले आन्दोलनलाई निरन्तरता दिने बताएका छन् । आइतबारसम्ममा प्रदेश सरकारले सचिव झालाई न्याय नदिए कडा आन्दोलन गर्ने युनियनका अध्यक्ष रामबाबु साहले बताए ।

यता नेपाली काँग्रेस धनुषाका अध्यक्ष महाशंकर गिरीले मन्त्री विजयकुमार यादवलाई बर्खास्त गर्न माग गरेका छन् । नेपाल शिक्षक संघले पनि मन्त्री यादवलाई बर्खास्त गरी कारवाही गर्न माग गरेका छन् ।

मन्त्री यादवले आफुले भनेको सिरहा गोलबजारस्थित सहकार्य नेपाल नामक गैरसरकारी संस्थालाई कार्यक्रम नपारेको भन्दै आफुलाई थप्पड हानेको सचिव झाले दावी गर्दै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप