शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खानेपानी जोहो गर्न बिहानैदेखि लाइन

बिहीबार, ०३ माघ २०७५, १६ : १६
बिहीबार, ०३ माघ २०७५

दमौली– बिहान चार बजे उठेर धारोमा पानी भर्न लाइन बस्नुपर्छ । तीन ग्रागीभन्दा बढी भर्न पाइँदैन । एउटा टोलको धारोमा पानी खोल्यो कि अर्को टोलमा पानी आउँदैन । खानेपानीको जोहो गर्नमै दिन बित्ने गर्छ । 
तनहुँको भीमाद नगरपालिका–२ रघुगाउँका बासिन्दाले सधैँ पानीका लागि यस्तै पीडा भोग्न बाध्य छन् । बिहान चार बजेदेखि नौ बजेसम्म मात्रै पानी आउने भएकाले झिसमिसेमै लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी भिमशिला थापा बताउँछिन् । ‘बाह्रैमास पानीको जोहो कसरी गर्ने भन्ने चिन्ता रहन्छ,’ उनले भने । 

धारोमा पर्याप्त पानी नआएपछि पँधेरोको भर पर्नुपर्ने स्थानीयवासी पूर्णिमाया आलेले बताइन् । दुई सय ४९ घरधुरी रहेको उक्त गाउँमा पाँच पँधेरो छ । उनी भन्छिन्, ‘पँधेरासम्म पुगेर पानी भरेर आउँदा एक घण्टाभन्दा बढी लाग्छ । वर्षात्को समयमा पँधेरोको पानीले जसोतसो पुग्छ, हिउँदमा घण्टौ लाइन बस्नुपर्छ ।’ परिवारको एक जना खानेपानीकै जोहो गर्न खटिनुपर्छ । ‘खानेपानी भर्न लाइन बस्नुपर्दा कहिलेकाहीँ छोराछोरीलाई विद्यालय पठाउन सक्दैनौँ,’ आलेले भनिन् । 

मगर बस्ती रहेको रघुगाउँमा खानेपानी समस्या समाधानका लागि रु दुई करोडको लागतमा केन्द्रीय परियोजनाअन्तर्गत खानेपानी आयोजना निर्माण थालिएको छ । रघु खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर थापा बजेट अभावमा दुई वर्षदेखि आयोजनाको काम रोकिएको बताउँछिन् । खानेपानीको मुहानमा मुख्य ट्याङ्की तथा तीन शाखा ट्याङ्कीसमेत निर्माण गरिएको छ ।

शाखा ट्याङ्कीसम्म पाइप विस्तार गरिएको छ भने मूल ट्याङ्की, वितरण लाइनको पाइप विस्तार तथा पानीको मूललाई तारजालीले घेर्न बाँकी छ । दुई वर्षयता आयोजना निर्माणका लागि बजेट विनियोजन गरिएको छैन । दुई वर्षभित्र सक्ने गरी २०७१ कात्तिकमा उक्त आयोजना निर्माणको काम थालिएको हो । 

घरबास चलाउन बाधा 

स्थानीयवासीले घरबास (होमस्टे) सञ्चालन गर्ने योजना बनाए पनि खानेपानी समस्याका कारण सो योजना पुरा हुन पाएको छैन । ‘यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने सम्भावना छ, पानीको समस्याले बाधा पुगको छ,’ स्थानीयवासी विष्णुबहादुर थापाले भने । 

घरबास सञ्चालन गर्न गाउँलेले तालीमसमेत लिएका छन् । भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापा उक्त आयोजना केन्द्रीय परियोजनाअन्तर्गत सञ्चालन गरिएकाले नगरपालिकाले चालू आर्थिक वर्षमा बजेट विनियोजन गर्न नसकिएको बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप