शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जथाभावी निर्माण सामग्री राख्दा दुर्घटनाको जोखिम उच्च

बुधबार, ०२ माघ २०७५, १२ : ४९
बुधबार, ०२ माघ २०७५

ओखलढुंगा –ओखलढुंगाको बजारक्षेत्रमा जथाभावी निमार्ण सामग्री थुपारिँदा दुर्घटनाको जोखिम बढेको छ । 

सदरमुकाम र आसपास क्षेत्रका भित्री सडकहरुमा जथाभावी निर्माण समाग्री राख्दा दुर्घटनाको जोखिम बढेको हो । निर्माण व्यवसायी र उपभोक्ताहरुले ढुंगा, गिट्टी, बालुवा र रड लगायतका घर तथा भवन निर्माण सामाग्रीहरु जथाभावी राख्ने गरेका छन् । यसले बजारक्षेत्रका भित्री सडकहरुमा दुर्घटनाको जोखिम बढेको हो ।

सरमुकामको रमाइलोडाँडा, रामबजार, जिबिसटोल,भैरबटोल र गोरुमारेभञ्ज्याङ लगायतका भित्री सडकहरुमा जथाभाबी भवन निमार्णका सामाग्री थुप्रिएका छन् । 

बजार क्षेत्रका भित्रि सडकहरुमा राखिएका निर्माण समाग्रीहरुले एकातिर बजारको सन्दौर्यता कुरुप बनाएको छ भने अर्काेतिर दुर्घटनाको जोखिम बढेको छ । 

निर्माण ब्यवासायी तथा उपभोक्ताहरुले सडकलाई सामान भण्डारणको स्थल बनाउँदा बजार  क्षेत्रमा दुर्घटनको जोखिम बढेको सदरमुकामका स्थानीय दिलबहादुर बस्नेतले बताए । उनले व्यवसायी तथा उपभोक्ताहरुले निर्माण सामग्री जथाभावी थुपार्ने गरेको आरोप लगाए ।

भवन निमार्णका सामाग्रीहरु सडक आसपासमा जथाभावी थुपार्दा सवारीसाधन बढी दुर्घटनामा पर्ने गरेका छन् । बिहान बेलुकाको समय अर्थात विद्यालय समयमा अझै बढी दुर्घटनाको जोखिम हुने गरेको उनीहरुको भनाई छ । 

निमार्ण व्यवसायीले भने सडक आसपासमा निर्माण सामाग्री नथुपारेको दावी गर्ने गरेका छन् ।

‘उपभोक्ताले सामान खरिद गरेर सडक आसपासमा राख्ने गरेका छन् । तर, आरोप भने व्यवसायीलाई आउने गरेको छ’ निर्माण व्यवसायी बिनोद ताम्राकारले बताए ।

उनले निर्माण सामाग्री लोडअनलोड गर्ने क्रममा सडकमा निकाल्ने गरेको भएपनि सडकमै भने नराख्ने गरेको दावी गरे ।

यसअघि सदरमुकामभित्रका बजार क्षेत्रमा जथाभाबी थुपारेका निर्माण सामाग्रीहरु सिद्धिचरण नगरपालिकाले हटाउने निर्णय गरेको थियो । सडक आसपासमा भएका निमार्ण सामाग्री हटाउन नगरपालिकाले सुचना नै जारी गरेपनि उक्त सूचना सूचनामै सीमित बन्यो । 

नगरपालिकामा जथाभावी निर्माण सामाग्री थुप्रिनु चुनौतीको विषय भएको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले बताए ।

 उनले उपभोक्ताले संरचना निर्माण गरिरहेकाले त्यसलाई व्यवस्थापन गर्न समस्या भएको भन्दै व्यवस्थापनका लागि छलफल भैरहेको दावी गरे ।

‘सडक आसापासमा जथाभावी थुपारेका निर्माण सामाग्री हटाउने अधिकार नगरपालिकाको भएपनि व्यक्तिको संरचना निर्माणलाई बाधा पुर्याउन मिल्दैन’ मेयर श्रेष्ठको भनाई छ । 

ओखलढुंगा प्रहरी प्रमुख पुष्पराज मल्लले व्यवस्थापनका लागि नगरपालिकासँग समन्वयको तयारी भइरहेको जानकारी दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप