केन्द्रीय संस्करण
भूकम्प सुरक्षा दिवस

९० सालको त्यो महाभूकम्प

person explore access_timeमाघ २, २०७५ chat_bubble_outline0
तस्विरहरु : गुगलबाट

नेपालमा गएको यो ठूलो भूकम्प पृथ्वीभरका ठूल्ठूला कम्पहरूसँग दाँजिन सक्छ । 

भूकम्प केन्द्र नेपाल राजधानीबाट करिब ५२ कोस दक्षिणपूर्वमा फेला परेको छ । त्यो ठाउँ (जसलाई एपिसेन्टर भनिन्छ) सीतामढी र मधुबनीको बीच (उत्तर बिहार मुग्लान) मा पत्ता लागेको छ । 

सो ठाउँ पूर्व ३ नम्बरको सीधा दक्षिण (ओखलढुङ्गाबाट करिब ३५ कोस र उदयपुरगढीबाट २५ कोस मात्र टाढा) परेकोले पूर्व ३ र ४ नम्बरपट्टि ज्यादा जोड पर्न गएको हो ।

हिन्दुस्तानको भूकम्प जाँच्ने कल (सिस्मोग्राफ) बाट नेपाल राजधानीमा भूकम्पको जोड सेकेन्डको आठ फिट गएको अञ्जाम भएको छ । तर, भुइँचालोको जोड जमिनको किसिमबाट फरक हुने भएकाले काठमाडौं र पाटन सहरमा सेकेन्डको ८ फिट गए पनि भादगाउँ, लुभु, सानागाउँ, बुङ्मती, खोकनामा सेकेन्डको १० फिटको तोड अथवा भूकम्प केन्द्रको जग्गामा झैँ हुन भयो भने भूगर्भविद्या जान्नेहरूले भनेका छन् । 

भुइँचालो कति बजे सुरु भयो भन्ने कुरामा धेरैको राय बाझ्दछ । तर हिन्दुस्थानको  (स्ट्यान्डर्ड) टाइममा १४ घन्टा १३ मिनेट २२ सेकेन्ड चढेकाले हिसाब गर्दा यहाँ दिनको २ बजेर २४ मिनेट २२ सेकेन्ड चढेकाले हिसाब गर्दा यहाँ दिनको २ बजेर १५ मिनेटको अञ्जाम गरेका छन् । तर २ बजेर २४ मिनेट २२ सेकेन्डलाई नै ठीक समय मान्नुपर्छ ।

यसभन्दा पनि भूकम्प कति बेरसम्म अड्यो भन्ने कुराको मुकर्रर गर्न कठिन छ । त्यसको हिसाब जग्गैपिच्छे फरक–फरक पर्न गएको छ । पूर्वतिर १०–१२ मिनेटसम्मको पनि अञ्जाम गरेका छन्, तर यहाँ (राजधानी) को त्यस बखत खुला मैदानमा बसिरहेका एक कारिन्दाले घडी हेर्दा ठीक दुई मिनेटसम्म अडेको हिसाब गरेछन् । अरू कुरा विचार गर्दा पनि २ देखि ३ मिनेटभित्रको अञ्जाम गरिन्छ । 

सो भूकम्पको जोड करिब ३० लाख वर्गमाइलको गिर्दासम्म पुग्यो तापनि त्यसमध्ये धेरैजसो खण्डमा मामुली कम्प मात्र भयो खास नोक्सान परेको ठाउँ १) नेपाल राज्यमा पश्चिम १ नम्बरदेखि पूर्व सिमानासम्म र २) मुग्लानमा बिहारको उत्तर र बीच खण्ड र आसामको केही खण्ड हुन गयो । 

सो ठूलो कम्पपछि साना–साना कम्प पनि धेरै गइरहे, अझसम्म पनि जाँदैछन् । यहाँ भूकम्प जाँच्ने कल नभएकाले कति यस्ता कम्प भए पूरा हिसाब राख्न सकिएको छैन । माघ २ गतेदेखि ७ गतेसम्ममा मात्र पनि २८ सानासाना कम्प गए भन्ने हिन्दुस्तानको खबर छ । यहाँ पनि ६ दिनभित्र करिब त्यति नै गए होलान् । तीमध्ये १÷२ कम्प निकै कडा थिए । सोभन्दा पछिको गिन्ती अञ्जामको भरमा छ । यो विषयको अरू वैज्ञानिक जाँच एघारौँ भागमा केही लेखिएको छ । त्यस भागमा केही भूगर्भविदहरूले दिएको आआफ्नो राय पनि लेखिएका छन् । 

त्यस बखत श्री ३ महाराजको सवारी पश्चिम नयाँ मुलुकमा भएको थियो । उहाँको सवारी चलाउने मुख्य जनरल मेरो बुबा (हाल पू.क.ज.) सुप्रदीप्त मान्यवर जनरल बबरशमशेर जङ्गबहादुर राणा जी.बी.ई, के.सी.एस.आई., के.सी., आई.ई., ने., प्र.ब., अनरेरी कर्णेल ब्रिटिस आर्मी होइबक्सन्थ्यो । सिकारको बन्दोबस्त गर्ने जनरल केशरशमशेर र हजुरिया जनरल बहादुरशमशेर होइबक्सिन्थ्यो । श्री ५ महाराजाधिराज त्रिभुवन वीरविक्रम शाहदेवको सवारी नागार्जुनमा थियो । पूर्व पहाडमा १ नम्बरदेखि लिएर इलामसम्म र पश्चिम ४ नम्बरसम्म जर्नेल कर्णेलहरू दौडाहा वा जाँच गर्न खटिएका थिए । कास्की, लमजुङमा नापी नभएको धेरै वर्ष भएकाले सो ठाउँ नापी गर्ने भैरुँ र सूर्यदल २ पल्टन खटिएका थिए । साविकबमोजिम भीमफेदी–अमलेखगन्जको बाटो मर्मत गर्न २ पल्टन गएका थिए । श्री ३ को सवारीमा पनि पूरा २ पल्टन गएको थियो । नयाँ मुलुक सवारी हुँदा यी पल्टनहरूलाई वगडीमा जनरल सिंहशमशेरको जिम्मामा छाडिबक्सेको थियो ।

तसर्थ धेरै अफिसर र पल्टनहरू राजधानीबाट बाहिर गएका थिए । (खास गरी तिनीहरू भूकम्पबाट कम नोक्सान भएको ठाउँमा पर्न गए ।) मुख्तियार श्री रुद्रशमशेर जबरा कायममुकायम प्राइममिनिस्टर होइबक्सेर यहाँ रहेका धेरैजसो जर्नेललाई थप अड्डा र कामको भार पर्न गएको थियो । झन् त्यसै बखत भूकम्पको मार पर्न आउँदा राजधानीमा रहेका धेरै सरकारी अफिसर कामदारहरूलाई ज्यादै भीड र झोँज पर्न गयो ।

  
भूकम्पको बयान

माघ २ गतेको केही दिन अगाडि पौष २८ गते केही पानी पर्यो । दिन र रात करिब शून्य दशमलव ४१ इन्च परेको थियो । त्यसले गर्दा बिहानीपख हुस्सु पनि केही बढ्न गयो । अघिल्लो दिन सङ्क्रान्ति भएकाले जताततै चाड मनाएको देखिन्थ्यो । माघ २ गते पनि त्यही चाडबाडको हावा अडिरहेको थियो । सोही दिन सोमबारे औंसी परेकाले धेरैजसो आइमाई नुहाईधोई पूजापाठ गरी व्रत बसिरहेका थिए, चाडबाड मनाइसकेका दुनियाँहरू खेतमा काम गरिरहेका थिए । बिहानपख हुस्सु लागेको थियो तापनि अरू दिनको भन्दा काम कडै थियो । त्यस बखत घामको तेज करिब ६० डिग्री चढेको थियो (पानीको तापक्रम करिब ५७ डिग्री थियो) । तैपनि आँगन, कौसी र सडकमा समेत घाम तापिरहेका धेरै थिए । सहर गाउँका भट्टीमा मतवाली नेवार, भोटेहरूको भीड थियो । माघ महिना भएकाले गाउँलेहरू आफ्नो खेतको उब्जाउ बेच्न आएकाले सहरका बजारतिर पनि भीड थियो । सरकारी अड्डामा काम भइरहेको थियो, पल्टन कवाज खेलिरहेका थिए । 

ठीक २ बजेर २४ मिनेट २२ सेकेन्ड हुँदा अकस्मात जमिनभित्रबाट गुडगुडे आवाज आयो र साथसाथै भूकम्प सुरु भयो– १९९० माघ २ गतेको महाभुइँचालोको उत्पत्ति भयो । यो जमिनको अपूर्व आवाजले गर्दा भूकम्प हो भन्ने ख्याल झट्ट चढ्न सकेन, पानीको लहरीझैं जमिन चक्कर खाई बटारिन थाल्यो र सोही वेगमा धेरैजसो धर इमारतहरू लड्न गए । वेग यस्तो अनौठो थियो कि एक बिजुलीबत्तीको ग्लुपसमेत त्यसको सकेटबाट बाहिर उछिट्टिएको देखियो । त्यस घटनाबाट जमिन कस्तो जोडले काँपेछ केही अञ्जाम गर्न सकिन्छ । रुखहरू हुरीमा परेझैँ लच्के । सानासाना टुप्पाले जमिन छोला–छोला जस्तो भयो ।

पोखरीको वा भाँडामा राखिएको पानी बाहिर फ्याँकियो । समुद्र बढेमा झैँ शान्त पोखरीहरूको पानी ठूल्ठूला छालझैँ उछिट्टन लागे । घरका गारा, किलासहरू हुरीमा ढोकाझैँ खुल्ने र बन्द हुने गर्न लागे । जमिन तल र माथि हुँदा धमाधम घरहरू लड्न थाले । अग्लाअग्ला बुजा गजुरहरू पनि खसे । तोपको बढाइँमा झैँ घर भत्केको भयङ्कर आवाज आउन थाल्यो । धूलोले गर्दा अन्धकार भयो । ८–१० हात अगाडि पनि देख्न नसकिने भयो । सहरको धूलोले गर्दा टँुडिखेलजस्ता खुला जग्गामा पनि धूलोको कुहिरीमण्डल हुन गयो, सबै मानिस खुला जग्गातिर भाग्न थाले । कोही अड्न नसकी केही चीजको भर लिई खडा रहे, कोही चार हातखुट्टा टेकी चौपायाझैँ भाग्न थाले, कोही छिँडीमा लुके, कोही चोकमा दौडिए औ कोही बारीतिर कुदे । कहीँ कहीँ आमाहरू आफू खुला ठाउँमा आइसकेपछि पनि आफ्ना छोराछोरीको मायाले घरभित्र पस्न जाँदा मृत्युको मुखमा परे । 

धूलोले अन्धो पारे पनि अतासले गर्दा सबै मानिस दौडन थाले । साथसाथै सबले अतासमा ईश्वरको नाम लिई कराउन थाले र चारै तर्फबाट कोलाहल शब्द निस्कन थाल्यो । सो शब्द घर भत्केको आवाजसँग मिल्दा कस्तो भयङ्कर सुनियो होला, विचार गर्नुहोस् । खास गरी स्त्रीहरूमा धेरै जस्ताले धर्म हुन्छ भन्ने विचारले भाग्ने कोसिस नगरी पानी भर्ने वा औंलाले जमिन छुने जस्ता रकम–रकमका काम गरे । तर, भाग्ने मानिसहरूले पनि सुख पाएनन् । सहरका साना–साना सडक र गल्ली धराप बन्न गए । हजारौँ घरले थिचिई अकाल मृत्युको गाँसमा परे, हजारौँ घाइते भए, टुँडिखेलमा कवाज खेलिरहेका सिपाहीहरू उभिन नसकी धेरैजसो जमिनमा घोप्टो परे, पूर्वको १ खण्ड जमिन फाटिन गई पानीसमेत निक्लियो । सोही बखत धरहरा र घन्टाघर दुवै करौंतीले काटेका रुखझैँ चिरा–चिरा पर्न गई २–३ टुक्रा भएर ढले । धरहराका टुक्राहरू त्यसको पर्खालको चक्काभित्रै परे । अरू घर इमारतहरू पनि त्यस्तै किसिमले ढलेका देखिए । ‘भूकम्पमा घरहरू तेर्सै ढलेर भत्कन्छन्’ भन्ने विचार धेरै दृष्टान्तले सिद्ध भएनन् । 

खेत र सडक चिरा–चिरा भई फाटिगए । चिरा परेका ठाउँहरूबाट पानी निस्कन थाल्यो । सबै खोलानालामा काढी आयो । बागमती, विष्णुमतीलगायत अरू सबै खेला छिनभरमै कालो र मैलो पानीले ढाकिए । कुनै ठाउँमा ८–१० हात माथिसम्म पानी फोहोराझैँ जमिनबाट फुटेर आयो । धेरैजसो खेत पानीले जलथल भए । कुनै कुनै ठाउँमा जमिन फाटिँदा तातो पानी र बालुवासमेत बाहिर आएको देखियो भन्ने सुनियो । बालाजु र शङ्खमूल नजिकमा सडकहरू ठाउँ–ठाउँमा १–२ हातसम्म भासिए । चिरा नपरेका सडक बहुत कम थिए, यी चिरा परेका ठाउँको गहिराइ ८–१० हातसम्म पनि थियो, लम्बाइको त कुरै छाडौँ । 

भूकम्प बन्द हुनासाथ सबै आफ्ना नाताहरूको खोजतलास गर्न थाले बेपत्ता भएकाहरूले नाम पुकार्दै सडकमा दौडन थाले । घरमा नभएकाहरू आफ्नो घरतिर दौडन थाले । दुस्मनले हमला गर्दाझैँ सहरभित्रका दुनियाँहरू आफ्ना मुख्य–मुख्य माल लिई बाहिर आउन थाले एकै छिनमा सबै ठाउँ यी आत्तिएका स्त्री–पुरुषले भरिए । माघेसङ्क्रान्ति मनाउन कोही कोही काइत वा कोही कोही मित्रको घरमा गएकाले आफ्ना जहान–बच्चा, नातागोता र इष्टमित्र पत्ता लगाउन विशेष कठिन पर्यो र त्यसले गर्दा उताका मानिस यता, यताका मानिस उता दौडन थाले । आफ्ना नाता पुरिएकाहरूले सकी नसकी घरको रास खोस्रन थाले । मद्दत नपुगेकाहरूले गुहार माग्न लागे, तर त्यसबखत सबै आ–आफ्नै नातेदारको खोजतलासमा लागेकाले मद्दत पाउन कठिन भयो । घरको रासबाट बाँचेकाहरूको स्वर पनि सुनिन्थ्यो, परन्तु झिक्न पूरा सामथ्र्य भएन । यस्ताका नातेदारको दिल कस्तो भयो, कल्पना पनि गर्न सकिँदैन । यस्ता मानिस पल्टन भएको ठाउँमा (काठमाडौंका लागि टँुडिखेल) आई कराउन थाले । भूकम्प बन्द भएको केही बेरपछि नै सो ठाउँमा चिफसाब, लाठसाब र अरू जर्नेल अफिसर जम्मा भए । 

पहिलो काम त्यहाँ जम्मा भएका सिपाही फौजलाई उत्साह र आधार दिने काम भयो । त्यसपछि तिनीहरूलाई ठाउँ–ठाउँमा पठाउने काम गरियो । श्री ५ का छोरी मैया २ र श्री ३ की नातिनी मैया मरेको खबर त्यहीँ आयो । अफिसरहरूको तैनाथमा राखी सिपाहीहरूको गठ–गठ गरी सहर र दरबारमा पुरिएका मानिस झिक्न खटनपटन भयो । तिनीहरू गई सहरमा पुरिएका धेरैलाई बचाए । आफ्ना घरजहान सम्झी मनमा कस्तो ताप परेको हुँदो हो, तापनि पल्टनियाँ जवानहरू आफ्नो कर्तव्यको सोझो रहे । खटाइएका ठाउँमा कोही गाह्रो नमानी गए । यस्तो देख्दा खुसी पनि लाग्यो, दया पनि जाग्यो । त्यस बखत तीन सहरमा करिब ८ हजार ५ सय सिपाही थिए, धेरै मानिस घाइते भएकाले अस्पतालमा ज्यादै भीड भयो । घाइतेहरूका साथै अरू सहरका बासिन्दाले अस्पतालको कम्पाउन ढाक्न थाले । तिनीहरूमध्ये केही आमाहरू आफ्ना मरेका छोराछोरीलाई हातमा लिई बाँचेका छन् कि भन्ने आसले डाक्टरलाई देखाउन आएको दृश्य पनि देखिन्थ्यो । त्यस बेला अस्पतालको तैनाथवाला भएकाले घाइतेलाई औषधि पुर्याउने काम मलाई पनि पर्न आयो । त्यसबखत सहरभित्र कोही कोही सज्जनले दुःखी घाइतेको स्याहारसम्भार गरे पनि धेरैजसो बासिन्दा अतासले होसविहीन भई बसिरहे ।

श्री ५ महाराजधिराजको सवारी त्यस बखत नागार्जुनमा थियो । केही बेरका लागि त्यहाँबाट नारायणहिटी दरबारमा सवारी भई विष्णुमतीको पुल भत्केकाले छाउनीको बाटो गरी नागार्जुन फिर्यो । चलनबमोजिम छाउनी पास गरिबक्सदा १ तोपको सलामी दिइयो । नागार्जुनको दरबारहरू पनि भत्किएकाले पालमै राज भयो ।

सहरका केही घर र दरबारसमेत भत्केका घरका काठपात आगोमा पर्दा आगलागी भयो तर थोरै घरमा मात्र पर्न आएको र हावाको जोड पनि कम भएकाले सम्हाल्न सकियो । खोकनाको तेल पेल्ने ठाउँमा पनि आगलागी भयो, परन्तु फिँजिन पाएन । फर्पिङको मुख्य बिजुलीघरमा भूकम्प हुँदा आफसेआफ कल बन्द हुने प्रबन्ध भएकाले सबै ठाउँको करेन्ट बन्द हुन गयो । सो व्यवस्था नभएको भए चुँडिएका तारहरूबाट आगलागी उत्पन्न हुने बहुत सम्भावना थियो । आगलागी हुन एक भाग्यको कुरो सम्झनुपर्छ । त्यस बखतको अवस्था तपसिलमा प्रेमराजको एक बयानबाट राम्रोसँग अञ्जाम गर्न सकिन्छ ।

“होसहतास हराएको दुई मिनेटपछि आँखा हेर्दा चारैतिर प्रलयको दृश्य, प्रलयको कोकोहोलो स्वरले चिच्याउने र कराउन लागेको देखियो, सुनियो । मानिसको त के कुरो, मानिसको शरणमा परेका चुराचुरुङ्गी पनि च्याँच्याँ र चुँचुँ गरेर आकाशमा कराएको थिए । मुसोजस्तो छरितो जन्तुले पनि भाग्ने मौका पाएन, जहाँको त्यहीँ थिचिएर मर्नुपर्यो ।

छोराको शरीर सबै किचिइरहेछ, मुख पक्क–पक्क बाएको इँटका अन्तरबाट अलि–अलि देखिन्छ, आ..मा.. भनेको मलीन आवाज अलि–अलि सुनिन्छ, इँटा काठ पन्छाएर छोरो झिक्ने मद्दत पुग्दैन । यस्तो अवस्थामा त्यस अभागिनी आमाको तस्बिर खिच्नुहोस् ! जहानमा ११ जना थिए, सबै किचिएर मरे, एउटा पाँच वर्षको बालक बाँच्यो । यो टुहुरोको सम्झना गर्नुहोस् । विवाह गरेको वर्षदिन पनि भएको छैन १५ वर्षकी बाहुनी विधवा भई, यसले छाती पिटी–पिटी रोएको करुणाक्रन्दनको विचार गर्नुहोस् ! जहानमा कसैको टाउको फुटेको छ, कसैको हात भाँचिएको छ, कुनै बेपत्ता छन्, कसैलाई खोस्रेर झिक्दैछन्, कसैलाई पोल्न लगिसके । घ्याम्पो फुट्यो, अन्नको गेडो छैन । घरमा मुर्दा लडिरहेछ कात्रो किन्न जाने पसल छैन, दाउरा किन्ने पैसा छैन । भत्किएका घरका काठपातले मुर्दा पोलिए । बाबु मर्यो, छोरोले किरिया गर्नलाई कपाल खौरन छुरा पाएन । पुरेत बाजेसँग किरिया गराउने पुस्तक छैन, घरले किचिएको छ अथवा कहाँ छ पत्तो छैन । किरियापुत्रीले नयाँ धोती नपाएर पुरानो पटुका फेरेर किरिया बस्नुपर्यो । सारा सहर भत्कियो, पसल भत्के, केही किन्न पाइँदैन । रात पर्यो, माघेझरी पर्ने डर छ, ओत छैन ।”

दाउरा नपाउँदा धेरैले भत्केका घरको काठले लास जलाए । सबै घाटमा ठेलमठेल भयो । मुर्दाको सद्गत गर्न नसक्नेहरूले घाटामा मुर्दाहरू त्यसै फ्याँक्न थाले, गाईवस्तुको त कुरै छाडौं । 

वीरगञ्जसम्मको एक्लो टेलिफोनको लाइन पनि टुट्न गएको र चारैतिर नोक्सान पर्न गएकाले बाहिरको खबर अन्धकारमै रह्यो, न त यताबाट खबर पठाउन सकियो । श्री ३ कहाँ खबर लिई घोडचढी गए । बाटो बिग्रेकाले भादगाउँ वरिपरि गाउँको खबर पाउन पनि कठिन भयो । केही गोलमाल वा चोरीको बचाउलाई कौसी (सरकारी ढुकुटी) झ्यालखाना, तोपखाना र ठूल्ठूला दरबारमा पालो थप गरियो । राति रमन घुम्ने काममा विशेष कडा गरी थप अफिसर सिपाही खटाइयो । खोरका थुनुवाहरू भाग्न कोसिस गरे पनि सिपाहीको मद्दत चाँडै आएकाले भाग्न सकेनन् ।

 हिउँदको छोटो दिन, रात चाँडै पर्यो । तर, बिजुली बत्ती आएन । आफ्ना नातेदारको खबर लिन पनि फुर्सद भएन । साना–साना कम्प रातभर गइरहे, तिनको गिन्ती रहेन । ठूलादेखि सानासम्म सबैको खेत, बारी या खुला मैदानमा बास भयो । हजारौँ ओत नपाई खुला मैदानमा बसे, त्यस रात खाना पनि थोरैले मात्र पाए । जाडो ज्यादा कडा थियो । ठन्डी २८ डिग्रीसम्म झर्यो, पानी जम्न थाल्यो । त्यो रात ज्वरोको निद्र्राझैँ बित्यो ।

भोलिपल्ट पुरिएका मानिस र मुर्दा झिक्ने काममा मद्दत दिन सिपाहीहरू ठाउँ–ठाउँमा खटिए । धेरै जिउँदा मानिस निस्के । सहरको स्वरूपै बदलिएको थियो । एकै ठाउँमा पनि ४०÷५० जनासम्म पुरिएकाले जत्रो मद्दत पनि कम्ती देखिन्थ्यो । सिपाही र कोही अफिसरबाट तारिफलायकको काम भयो । चार भञ्ज्याङभित्रका गाउँहरूको र नजिक–नजिकका पहाडबाट खबर आउन थाल्यो । अफिसरहरू पनि गाउँ–गाउँमा बुझ्न गए । सबै ठाउँबाट उही खराब खबर आउन थाल्यो । दृष्टान्तका लागि एक भूकम्प सेवा पं प्रेमराजको बयान तपसिलमा छ । 

“म घुमेका गाउँहरूमध्ये सानागाउँ र लुुभु सहरको दृश्य अन्तको भन्दा हृदयविदारक छ । पहिले १५००–२००० छाना भएको ठाउँमा अहिले ४÷५ वटा पनि देखिँदैनन् । अघिको झिँगटीका छानाले भरिभराउन भएको बस्ती अहिले पटपटी फुटेर नाङ्गो देखिइरहेछ ।”

वीरगञ्जसम्मको टेलिफोन लाइन पनि ३ गते नै खुल्यो । परन्तु रक्सौलभन्दा परको खबर केही पाइएन । “वीरगञ्ज स्वाहा भएको छ, सक्सौलदेखि माथिसम्म रेलको लाइन टुटेको छ । नेपाल सरकार लाइट रेलवेमा पनि नोक्सान पर्न गएको छ । तारको लट्ठा टुटेकाले हिन्दुस्थानपट्टिनको केही खबर छैन । तर, मुग्लानपट्टि पनि धेरै नोक्सान पर्न गएको अञ्जाम गरिन्छ” भन्ने खबर आयो । अन्धकारको अन्धकारै भयो । पहाडतर्फ पनि विस्तारै खबर आउन थाल्यो ।

भूकम्प गएको दिनैदेखि हररोज साना–साना भूकम्प जान थाले । माघ ४ गते राति निकै ठूलो कम्प भयो । आत्तिएका दुनियाँमा झन् अतास बढ्यो । हरेक कम्पमा मानिसको कोलाहल सुनिन्थ्यो । ३–४ दिनसम्म यस्तो कोलाहल बराबर चलिरह्यो । पछिपछि यस्तो कराउने कम हुँदै गयो । दुनियाँलाई भूकम्पमा बानी पर्न थाल्यो । बास, खाना आदि हरेक कुराको हाहाकार परेको बखतमा यस्ता साना–साना कम्पबाट झन् बढ्ता डर पर्न गयो । वरिपरिका गाउँ जताततैबाट नोक्सानको खबर आउँछ, बाहिर देशपट्टिको भने केही खबर छैन, अब के आइलाग्ने हो भन्ने ख्यालले यसै आत्तिएका पुरुषहरूको मनमा झन् अतास बढ्न गयो ।

यो नयाँ अवस्थाका लागि तपसिलमा लेखिएबमोजिमको विभागमा काम भयो । 

जङ्गी–लाठ (हाल मुख्तियार) पद्मशमशेर जबराबाट हेडक्वार्टर (मुख्य अड्डा) को जिम्मा लिइबक्स्यो । उहाँको त्यस बखतको परिश्रम र कर्तव्यउपरको भक्ति बिल्कुलै प्रशंसालायक थियो । 

१) अन्न चामलको बन्दोबस्त गर्ने काम– पहिलो मोडमा त्यसतर्फ पनि पद्मशमशेरबाटै नजर भयो । तर ८–१० दिनपछि सो काम द.क.ज. (हाल जङ्गीकाठ) मोहनशमशेर जबराबाट नजर भयो । उहाँलाई मद्दत दिने कर्णेल भैरवशमशेर र कर्णेल शमशेरविक्रम थिए । 

२) घाइते र बिरामीलाई औषधि गराउने काम– यो काम ममाथि पर्न आयो ।

३) पानी–काज– जनरल प्रचण्डशमशेरबाट नजर भयो । 

४) बिजुली र टेलिफोन– जनरल कृष्णशमशेर । उहाँमुनि कर्णेल चेतशमशेर मिस्टर किल्वर्न थिए ।

५) लोकरक्षा– सो पनि जनरल पद्मशमशेरबाट नजर भयो । सो काममा उहाँलाई मद्दत दिने अरू अफिसरहरू पनि थिए । 

६) पुलिस– त्यसको तैनाथवाला जनरल सूर्यशमशेर होइबक्सन्थ्यो ।

 ७) पल्टन फौज– तिनीहरूबाट लोकरक्षादेखि दिएर हरेक किसिमको काम हुन्थ्यो । जनरल पद्मको अधीनमा थियो ।
 

८) सहर सफाई– यो काम अस्पताल र म्युनिसिपल अड्डाबाट भयो ।
 
यी माथि लेखिएका विभागहरूबाहेक सेन्सस लिने, ठाउँ–ठाउँको रिपोर्ट जम्मा गर्ने, जङ्गलमा डाँडाभाटा बाटेको हेरचाह गर्ने आदि शाखाहरू पनि क्रमैसँग उत्पन्न भए ।

(ब्रम्हशम्शेर जङ्गबहादूर राणाद्वारा लिखित पुस्तक ‘नेपालको महाभूकम्प १९९०’ बाट साभार गरिएको अंश)
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...