केन्द्रीय संस्करण
भूकम्प सुरक्षा दिवस विनाशकारी भूकम्पको ४ वर्ष

उद्धारकर्मी इन्सपेक्टर लक्ष्मण बस्नेतको संस्मरण : ‘घस्रिँदै भित्र छिरेँ, अनि पेम्बालाई तानेँ’

person explore access_timeमाघ २, २०७५ chat_bubble_outline0
Photo : AFP/Getty

 सशस्त्र प्रहरी इन्सपेक्टर लक्ष्मणबहादुर बस्नेत र उनको टिमले २०७२ वैशाख १२ गते गएको भूकम्पमा पुरिएका ३ जनालाई सकुसल उद्धार गरेको थियो । 

काठमाडौंको नयाँ बसपार्क र गोंगबु क्षेत्रमा फसेका जोन केसी, ऋषि खनाल र पेम्पा लामालाई जीवित उद्धार गरेका बस्नेतले ‘हिरो उद्धारकर्मी’को रूपमा वाहवाही पाएका थिए ।  

आज ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस ।’ सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा कार्यरत तिनै ‘हिरो उद्धारकर्मी’को उद्धार अनुभवसहित भूकम्प जाँदा कसरी सुरक्षित हुने बन्नेबारे रातोपाटीकर्मी राजेश भण्डारीले बस्नेतसँग कुराकानी गरेका छन् । पेम्बा, ऋषि र जोनलाई उद्धार गर्दाको अनुभव र भूकम्प सुरक्षा सचेतना बारे बस्नेतको टिप्स उनकै शब्दमा : 

भूकम्प आउनुभन्दा एक दिनअघि बिदामा काठमाडौँ आएको थिएँ । त्यसदिन (२०७२ वैशाख १२ गते) कलङ्कीबाट २ बजेको माइक्रो चढेर कुरिनटार फर्कने तयारी गर्दै थिएँ । 

भक्तपुरको गठ्ठाघरमा थिएँ, एक्कासि भुइँचालो आयो । हेड्क्वार्टरबाट उद्धारको कामहरूमा खटिने भन्ने भयो, म तुरुन्तै निस्किहालेँ । 

मैले सोचेँ, ‘असनको एरियामा के भयो होला ?’ मोटरसाइकल लिएर गृहमन्त्रालयको राष्ट्रिय आपतकालीन सूचना केन्द्रमा पुगेँ । मेरो नेतृत्वमा खट्नेगरी कुरिनटारबाट ३० जनाको टोली उद्धार सामग्रीसहित आयो । मैले कलङ्कीमा रिसिभ गरेँ, अनि टिम बनाएर कलङ्की हुँदै एरिया घुम्न थालियो ।

जतासुकै क्षति भएको मान्छे हराइरहेको खबर आइरहेको थियो । रातभर खटियौँ, सिमसिम पानी परिरहेको थियो हामीसँग वर्षादी पनि थिएन् । 

भोलिपल्ट (१३ गते) बाट हामी थप व्यवस्थित भएर एफीएफ हस्पिटलबाट खटिएका डाक्टरहरूसहित गोंगबु एरियामा खटियौं । 

गोंगबुको हिल्टन होटल भत्किएको स्थानमा अरू टिम पनि थियो । म त्यहीँ त्यहीँ खटिएँ । जहाँ जोन केसी (२० वर्ष) पुरिएका रहेछन् । 

होटलभित्र छोपिएका जोनसम्म पुग्न मात्र हामीलाई २४ घण्टाभन्दा बढी लाग्यो । मैले आफैले ऊसँग कुरा गरेको थिएँ, उसले रसुवा घर भनेको थियो । 

भर्याङको बारहरूमा ऊ फसेको थियो । टाउको र हात मात्र देखिन्थ्यो । बल्ल–बल्ला जोनसम्म पुगेर मैले जुस खुवाएँ । भोलिपल्ट, इजरायली उद्धारकर्मी र  चाइनिज टिमहरूसँगै मिलेर जोनको उद्धार थाल्यौँ । हामीसँग हेभी इक्विपमेन्ट थियो । इजरायली टिमसँग सानो सानो हाइड्रोलिक सिस्टमको इक्विपमेन्ट रहेछ । 

अवरोध काट्दै पन्छाउँदै १४ गते मध्यरात दुई बजेतिर जोनलाई झिक्यौँ । जोनको शरीर ३६ घण्टा बढी च्यापिएको थियो । पछि जानकारी पाएँ, सकुसल उद्धार गरेको एक महिनापछि उसको मृत्यु भएछ । त्यसपछि हामी नयाँ बसपार्क गयौँ । 

ढलेको सात तलेबाट ऋषिलाई निकाल्दा...

खोज्दै जाँदा वैशाख १५ गते ऋषि खनाल फसेको ठाउँमा पुगियो । नयाँ बसपार्कस्थित मित्रनगरमा सात तल्लाको सयपत्री गेस्ट हाउस खाना खाँदै गरेका अर्घाखाँचीका खनाल गेस्ट हाउस ढलेपछि पुरिएका रहेछन् । 

मान्छे धेरै थिए । सयपत्री गेस्ट हाउसका मालिकलाई मैले सोधेँ, ‘मिसिङ छ ?’ 

छत्र बस्नेतले आफ्ना ४ जना गेस्ट खाँना खाँदै गरेको, कम्पन आएपछि बाहिर निस्कने क्रममा फसेको तर निस्केको आफूलाई थाहा नभएको बताए । 

खोजी गर्ने विधिबाट खोज्न थाल्यौँ । पहिले ‘टङटङ’ आवाज दियौँ, आवाज गर्दा सुनिएन । धेरै घर भत्किएका थिए, हामीले ढलानमा आवाज दिँदा तलबाट पनि टङटङ आवाज आयो । 

फ्रेन्च टिम आयो । उनीहरूसँग ‘लाइफ डिटेक्टर’ थियो । हामीले  झ्याल काट्यौँ उनीहरू हामीसँग माथि गए । माथि छिरेर डिटेक्टर राख्दा कोठाको कुनामा जीवित मान्छे भएको कुरा पत्ता लाग्यो । लाइफ डिटेक्टर मेसिनले सास फेरेको देखायो ।

हामीले बाहिरबाट करायौँ, भित्रबाट पनि आवाज आयो । हामीले काटेर एउटा दुलो बनायौँ त्यसलाई ‘इन्स्पेक्सन होल’ भन्छ । दुलो बनाएर हेर्दा उसले हात हल्लाएको देखियो ।

 ऋषिको लोकेसनभन्दा केही पर काटेर तल गयौँ, अनि ऊ भएको ठाउँमा होल बनाएर तान्यौँ । त्यति गर्न हामीलाई लगभग ९–१० घण्टा लाग्यो । 

साँझ ३–४ बजेतिर त्यो उद्धार सुरु गरेका थियौँ । राति साढे १० बजे ऋषिलाई निकाल्यौँ । हामीसँग डक्टरहरू पनि थिए, क्रसिङ सिन्ड्रम चेकजाँच गराएर हस्पिटल पठायौँ । ऋषिलाई प्लाईले थिचेको थियो,  प्लाईमाथिबाट होटलको भित्ता भत्केर थिचेको थियो । त्यतिबेला हात र टाउकोमा चोट थियो, खुट्टामा खासै चोट थिएन् । 

तत्काल हस्पिटल पठायौँ, लामो समयदेखि च्यापिएको खुट्टा सड्ने प्रक्रिया सुरु भएछ । पछि उसको देब्रे खुट्टा काट्नु पर्यो । ऋषि अहिले पनि रेगुलर टचमा छ, काठमाडौँ आएका बेला फोनमा कुरा हुन्छ । 

घस्रिँदै भित्र छिरेँ, अनि पेम्बालाई तानेँ 

पहिले हामी खटिएको हिल्टन होटलको छेउमा अरू तीनवटा होटल थिए । हिल्टनको माथिल्लो तलामा खाना खाइरहेको बेलामा भुइँचाले आउँदा पेम्बा भागेको रहेछ । प्यासेजमा मोटरसाइकल पार्किङ रहेछ, तल गएपछि छेउछाउका होटल ढलेर सबै पुरियो, ऊ प्यासेजमा लडेछ ।

सुपरमार्केटको सटर चाहिँ सरेर बाइकको साइडमा आएछ । जसले गर्दा लुप–होल बन्यो, त्यही होलमा पेम्बा उद्धारको प्रतीक्षामा थियो । होटलको सिलिङ उसको टाउकै माथि आइपुगेको रहेछ । 

वैशाख १७ गते त्यो एरियामा डोजर लगाइरहेको थियो । शव धेरै निस्किएको थिए, डोजर लगाएर सडिसकेका शव सङ्कलन गर्ने काम भइरहेको थियो ।

त्यस्तो अवस्थामा एउटा कुनामा बेला–बेला होसमा आउने क्रममा पेम्ब करायो ! डोजर रोकिएको बेला पेम्बा कराएको आवाज हाम्रो टोलीले सुन्यो । 

‘ल छ.. छ..’ भनेपछि अवाज आएतर्फ लाग्यौँ । सात तले भवनको होटलको बिम बिम खप्टिएको छ । माथि पूरै घरका सामान खाट पलङ देखिएको छ । चारवटा गेस्टहाउस भत्किएर एउटा ढिस्को बनेको थियो । माथिबाट छिर्ने सम्भावना नै थिएन् । माथि बिम र पिल्लरको चाङ थियो । बिम काटेर छिर्न सम्भव भएन । 

बिमको तल मोटरसाइकलको पार्ट अलिकति देखिएको थियो । मेरो टोलिलाई निर्देशन गर्दै मैले भनेँ, ‘बिम काट्न सकिन्न, सटर नजिकै काटेर छिरौँ ।’

हामीले त्यहाँ काटेर म भित्र छिरेँ । हेल्मेट पनि नछिर्ने खालको दुलो बन्यो । म हेल्मेट खोलेर घस्रिँदै भित्र छिरेँ । त्यहाँबाट परसम्म गएर पेम्मासँग कुरा गरेँ । 

पेम्बालाई मैले भने, ‘दाइ म आइसकेँ ।’ लाइट बालेर गएको थिएँ, सास फेर्न पनि गाह्रो थियो । बीचमा अर्को मोटरसाइकल रहेछ । मोटरसाइकलको पछाडिको भाग काटेँ, त्यो काट्न धेरै समय लाग्यो । किनभने उठेर काट्ने स्थिति थिएन, गह्रुँगो मेसिनले सुतेर नै काटेँ । ४–५ वटा आइरन कटर ब्लेड भाँचियो । अनि घिस्रिँदै मोटरसाइकलबाट पारि गएपछि उसको सर्टमा समातेर तानेँ । पेम्बाले पानी मागे, हामीले जुस दियौँ ।’ 

एक्कासि खाएको हुनाले बान्ता भयो । मैले कोल्टे परेर सुत्न भनेँ, अनि एक छिनपछि फेरि भने, ‘सर्टमा समातेर बिस्तारै तान्छु, तपाईं आत्तिनुपर्दै भनेर भुइँ सफा गरेर पेम्बालाई  बिस्तारै घिसार्दै गएँ । मलाई पछाडिको टिमले मेरा खुट्टा ताने मैले पेम्बाको सर्ट तानेर घिसार्दै बाहिर निकाल्यौँ । यसरी लगभग साढे ५ घण्टामा पेम्बालाई सकुसल निकाल्यौँ । 

Photograph: EPA

१६–१७ गते कम्पन अझ फिल भएको थिएन् । १३, १४ गतेको जस्तो लगातार कम्पन आएको भए मान्छे त्यहाँ बस्न सक्थेनन् । जब बाहिर निस्केँ, धेरै ठूलो भीड जम्मा भइसकेको थियो । 

त्यतिबेला विदेशी मिडियामा आएजस्तो टेक्नोलोजीको त्यस्तो ब्यापक युज भएको हैन । हामीसँग भएको काट्ने र छेड्ने मेसिन मात्रै युज गरेका हौँ । धेरै भाइब्रेटिङ हुने खालको टेक्नोलोजी प्रयोग गर्ने अवस्था पनि थिएन । वाइरिङका तारहरूमा ठूलाठूला कङ्क्रिट झोल्लिरहेको अवस्था थियो । सामान्य किसिमको टेक्नोलोजी प्रयोग गर्दा नै फलदायी भयो । 

एक महिना घर गइनँ 

म एक महिना जति गोंगबु एरियामा खटिएँ । वैशाख १२ गतेपछि लगातार खटिएर लास्टको बिल्डिङ डिसमेन्टल गर्ने काममा पनि हाम्रो टिम खटियो । सबै काम सकिएपछि टिम लिएर कुरिनटार फर्र्किएँ । त्यसपछि बल्ल घर गएँ । 

विपद् व्यवस्थापनको तालिम प्राप्त हाम्रो रेडिनेस चाहिँ सधैँ त्यही अनुसारकै थियो । क्लासहरू लिँदा, त्यतिबेला एक किसिमको त्रास हुन्थ्यो । आठ रेक्टरको भुइँचालो आयो भने एक लाख मान्छे काठमाडौँमा मर्छन्, त्योभन्दा ठूलो आयो भने काठमाडौँमा कङ्क्रिटको थुप्रो हुन्छ अनि उद्धार गर्न काठमाडौँ बाहिरका मान्छे जानुपर्छ, पुल भत्किन्छन्, आगो लाग्छ भनेर पढ्दा ओहो ! भनेजस्तो लाग्थ्यो । 

तालिममा हामीलाई भिजुअल चाहिँ विदेशको देखाइन्थ्यो । हैन, यस्तो हुँदैन होला भन्ने जिज्ञासा प्रशिक्षार्थीको तर्फबाट आउँथ्यो । जब भयो, ठ्याक्कै हामीले भनेको जस्तै आयो क्या । एउटा भत्केको घरभित्र काम गर्दा धुलो हुन्छ, काम गर्न अब्ठ्यारो हुन्छ, रिँगटा लाग्छ भनेर हामी भन्थ्यौँ, प्राक्टिकल्ली पर्दा सबै हुने नै रहेछ । 

हामीले त्यही अवस्थालाई सम्झेर नै रेगुलर प्राक्टिस गरिरहन्छौँ । हामीसँग उपलब्ध इक्विपमेन्ट तयारी अवस्थामा थियो । हामीले त्यसको मेक्सिमम प्रयोग गर्न सक्यौँ । अहिले सम्झँदा गर्व लाग्छ । 

सहासिक काम आफ्नो ठाउँमा छ, मान्छेहरूको विचल्ली थियो । भागाभाग थियो मानिसहरू टेन्टभित्रबाट पनि भूकम्पको झड्का आउँदा भाग्थे । तर हामी, ढलान काटिरहेका हुन्थ्यौँ । त्यहाँ भाग्ने ठाउँ नै हुँदैन थियो । यदि साँच्चै उद्धार गरिरहेको बेला ८ रेक्टरको अर्को भूकम्पन आएको भए हामी जीवित रहन सक्ने थिएनौँ । 

हामी छिर्ने बेलामा भाग्ने ठाउँ चाहिँ हेरेर प्लान गरेर जान्थ्यौँ । टिमलाई त्यो कुरा ब्रिफ गथ्र्यौं, आत्तिन र हाम्फाल्ने कार्य निषेध गरिएको थियो । 

भत्केको घरहरू साना साना कुराहरूले कोल्टे परेको अझ भनौँ अल्झेको हुन्छ, त्यसलाई भत्काउन धेरै ठूलो झड्का चाहिन्न । साहसको आवश्यकता त थियो तर हाम्रो जब नेचर नै त्यस्तै छ । बाढी आइरहेको बेलामा हामी हाम्फाल्छौं, रेस्क्यु गर्छौं । त्यतिबेला हामीले लगेको र्याफ्टिङ पनि पल्टिन सक्छ । त्यहाँ जत्ति डुबेका मान्छे बचाउने चान्स हुन्छ बचाउन मान्छे मर्ने चान्स पनि त्यतिकै हुन्छ । 

भूकम्पको बेला रिक्स फ्याक्टर एकदमै बढी थियो तर हामीले चान्सका रूपमा काम गर्यौँ । अहिले सम्झिँदा गर्व लाग्छ । 

सचेत बनौं, पूर्वतयारी गरौँ 

हामीले बिर्सन नहुने कुरा के भने, भुइँचाले २०७२ मा आयो अब सिद्धियो भन्ने चाहिँ हुँदैन । जुनसुकै बेला पनि आउँछ । भुइँचालो, आगलागी जस्तोसुकै विपद् आउँदा पनि हामी एकदमै उच्च जोखिम क्षेत्रमा छौँ । 

विश्वको तथ्याङ्कलाई हेर्दा भुइँचालो जोखिम क्षेत्रमा नेपाल ११औं स्थानमा पर्छ । हामी बलिरहेको आगोको मुख्य ज्वाला परेको ठाउँ जस्तोमा छौँ । त्यसकारण हामी सचेत भएनौँ पूर्वतयारी गरेनौँ भने हिजो बाँचेका थियौँ, मेरो घर भत्केन भनेर हुँदैन । जुनसुकै बेला भत्किन्छ । तर तयारी गरियो भने हामी बाँच्न सक्छौँ । 

पूर्व तयारी भन्नाले म बसेको घर, मैले काम गर्ने अफिस, आफूले धेरै समय बिताउने ठाउँहरू सुरक्षित छन् कि छैनन् भनेर पहिचान गर्नुपर्छ । 

आफूले धेरै समय बिताउने क्षेत्रमा कुन ठाउँ सुरक्षित, कुन असुरक्षित भन्ने पहिल्यै पहिचान गर्नुपर्छ । त्यस्ता ठाउँमा सुरक्षित ठाउँमा रहने र यदि कम्पन आइहाल्यो भने कसरी भाग्ने भनेर प्रि–प्लान गर्नैपर्छ । 

त्यसपछि आफ्ना परिवार, अफिस स्टाफ सबैले विपद् अभ्यास गरिरहनुपर्छ । अभ्यास भन्नाले हामी जति पढ्छौँ– पढाउँछौँ,  घरको भित्तामा ठूला सामानहरू नझुण्ड्याउँ, फोटो फ्रेम सिरानी नजिक नराखौँ, ढल्ने दराज र गह्रुँगो सामानहरू घरको माथिल्लो तल्लामा नराखौँ । त्यसो भयो भने भत्किन्छ, घरलाई लोड दिनुहुन्न हलुका बनाउनुपर्छ । 

निर्माण सामग्रीहरू हलुका हुनुपर्छ, जति हलुका भयो त्यो भत्किँदा हामीलाई लागेर हुने क्षति पनि कम हुन्छ । 

हाम्रो टाउको सबैभन्दा महत्त्वपूर्ण हो, त्यही भएर (ड्रप, कभर एन्ड होल्ड) भन्छौँ ।

सकेसम्म टाउको चोट नलागोस्, टाउकोमा सानो चोट लागे पनि बाँच्ने सम्भावना कम हुने हुनाले त्यस्ता चीजवस्तु पहिल्यै हटाउन सुरु गरौँ । घरलाई सबलीकरण गरौँ । 

जमिन सुरक्षित छ कि छैन्, भवन चाहिँ प्रतिरोधी बनाउने अनि जमिन कमजोर छ भने त्यस्तोमा घर नबनाउने । पानी जम्ने, माटो पुरेको जमिन छ भने सुरक्षित हुँदैन । 

विद्यालयमा बारम्बर विद्यार्थीहरूलाई अभ्यास गराउनुपर्छ । हामीले गलत अभ्यास गराउनु भएन । 

साना केटाकेटीहरूलाई परिस्थिति यस्तो भएमा यसो गर्ने भनेर अब्सन चाहिँ दिनुपर्छ ।  विदेशबाट आएका कति प्रविधिहरू छन्, कति प्राक्टिसहरू छन्, त्यसलाई हामीले हु–बहु लाद्नु हुँदैन । 

‘ड्रप, कभर एन्ड होल्ड’ गर्नुपर्छ, भुइँचालो आयो भने टेबलमुनि लुक्नुपर्छ भनेर पढाउँछौँ तर त्यो ज्ञान अधुरो छ । जब कि २०७२ को भूकम्पमा चउरमा खेलिरहेको बच्चा टेबलमुनि लुक्न आउँदा क्षति भएका उदाहरणहरू पनि छन् ।

त्यसो हुँदा ‘घरभित्र छौँ, ठूलो कम्पन छ भने ड्रप कभर एन्ड होल्ड गरेर टेबलमुनि लुक, यदि सानो कम्पन छ, नजिकै खालि जमिन छ भने फुत्त निस्केर सुरक्षित स्थानमा जान सक्छौ’ भनेर सिकाउनुपर्छ । 

तर ठूलो कम्पन छ, भाग्दा लडिने अवस्था छ भने दह्रो टेबल कुर्सी नजिकै लुक टाउको  जोगाउ होचो बनेर बस् भनेको हो, भन्ने कुरा बुझाउनुपर्छ । 

पुरानो घरको दलिन असुरक्षित हुन्छ, सिसाको झ्याल नजिक बस्न असुरक्षित हुन्छ । किनकि सिसा फुट्दा क्षति हुन्छ । भाग्ने बाटो, भागेर जम्मा हुने ठाउँ पहिचान गर्न सक्नुपर्छ । एक तले घरबाट भागेर साततले घरमुनि जम्मा भएर बस्नु असुरक्षित हुन्छ । खुल्ला चउर पहिल्यै पहिचान हुनुपर्छ । 

सामान्य झटपट झोलादेखि आफूलाई चाहिने औषधि पहिल्यै तयारी हालतमा हुनुपर्छ । खानेपानी तयारी हालतमा राख्नुपर्छ । 

घर नियमित मर्मत सम्भारको कुरामा ध्यान दिनुपर्छ । पुरानो वायरिङ फालेर नयाँ गर्दा आगलागीको सम्भावना कम हुन्छ । ज्ञास सिलिन्डर चुल्होसँगै राख्ने प्राक्टिस धेरै छ, त्यस्तो गर्नु असुरक्षित हो । घर बनाउँदा सिलिन्डर बाहिर राख्ने गरी प्लान गर्दा ग्याँस लिक भएर आगोलागी हुने सम्भावना हुँदैन । 

कुटो, कोदालो, गैँची साबेलहरू घरको बाहिरपट्टि सानो बाक्सामा हालेर राखेमा उद्धार गर्न सहज हुन्छ । बाहिर काम नभएर घरमै बस्ने मान्छेहरू अनेक अनुपात्दक काममा समय खेर फाल्छन् तर प्राथमिक उपचार र जीवन बचाउने सीप सिकेमा धेरै फाइदाजनक हुन्छ । सीप इन्टरनेटबाट पनि सिक्न सकिन्छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...