शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश २ थप्पड प्रकरण: मन्त्री यादवविरुद्ध सार्वजनिक अपराधको मुद्वा दायर गरिने

मङ्गलबार, ०१ माघ २०७५, १७ : ३४
मङ्गलबार, ०१ माघ २०७५

जनकपुर– प्रदेश नम्बर २ मा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेपछि कर्मचारीहरु आन्दोलनमा उत्रिने भएका छन् । आईतबार दिउँसो ३ बजे सचिव झालाई मन्त्री यादवले थप्पड हानेका थिए ।  

सो घटनाको विरोध गर्दै कर्मचारीहरुले सोमबारदेखि आन्दोलन थालेका छन् । निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनले मुख्यमन्त्री लालबाबु राउत र प्रमुख जिल्ला अधिकारी प्रदीपराज कडेँललाई ज्ञापन पत्र बुझाउदैँ २४ घण्टे अल्टिमेटम समेत दिएको छ । 

बुधबार बैठक बसेर कर्मचारीहरुले क्रमबद्धरुपमा सांकेतिक आन्दोलनको घोषणा गर्ने भएका छन् । थप्पड हानिएका सचिव झालाई उचित स्वास्थ्य उपचार र घटनाको छानविन गर्दै दोषीलाई कारवाही र कर्मचारीलाई सुरक्षाको प्रत्याभूति गराउनुपर्ने माग कर्मचारीहरुको रहेको छ । 

नेपाल निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन धनुषाका अध्यक्ष   रामबाबु साहले आफ्ना माग सम्बोधन नगरे प्रदेश सरकारविरुद्ध सुरुमा विरोधस्वरुप एकघण्टा कालोपट्टी बाँधेर कार्यालयमा कामकाज गर्ने बताए ।

उनले बुधबार सबै कर्मचारी संगठनहरुसँग छलफल गरी अगाडी बढ्ने समेत स्पष्ट पारे । त्यस्तै नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठन प्रदेश नम्बर २ का सचिवालय सदस्य मुनेश्वर यादवले पनि सचिव झाले न्याय नपाएसम्म आन्दोलनलाई सशक्त पार्दै सरकारविरुद्ध कडा आन्दोलन गर्ने दाबी गरे ।

यता, सचिव विद्यानाथ झाले भने मन्त्री यादवले आफ्नै कार्यकक्षमा दुव्र्यवहार गदै कुटपिट गरेकोले जिल्ला प्रशासन कार्यालयसमक्ष सार्वजनिक अपराधको मुद्दा दिने बताए । उनले भने, ‘ममाथि आक्रमण गरि कुटपिट गरिएको छ, म जिल्ला प्रशासन कार्यालय धनुषामा पहिले सार्वजनिक अपराधको उजुरी दिनेछु । र अदालतसम्म न्यायको लागि अघि बढ्छु ।’ उनले कर्मचारी संघ संगठनको निर्णयबारे आफुलाई कुनै किसिमको जानकारी नरहेको बताए ।  सचिव झाले न्यायको लागि कसैसँग पनि सम्झौता नगर्ने स्पष्ट पारे ।

यसअघि संघीय मामिला तथा प्रशासनमन्त्री लालबाबु पण्डितलाई निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन केन्द्रीय समितिले   कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । त्यसलगत्तै प्रदेश नम्बर २ को सरकारलाई धनुषा र महोत्तरी जिल्लाका कर्मचारी संघ–संगठनले  ५ बुँदे माग प्रस्तुत गर्दै ज्ञापनपत्र बुझाएका थिए ।  

पीडित सचिव झाले कर्मचारी संगठनले जे गरेपनि आफुलाई न्याय चाहिएको भन्दै आफु कसैको मुख ताकेर नबस्ने समेत बताए । उता, प्रदेश २ मा सत्तारुढ राजपा नेपाल निकट नेपाल मधेशी निजामति कर्मचारी मञ्चले मन्त्री यादवको बचाउ गरेको छ ।  मञ्चले प्रदेश सरकार समृद्धितर्फ अग्रसर रहेकाले आफुहरुले संवेदनशील भएर पीडित सचिव झालाई उचित न्यायको लागि छानविन हुनुपर्ने माग गरेको छ ।

मधेशी निजामति ट्रेड युनियनका महासचिव बेचनकुमार महतोले २४ घण्टा भित्रमा मागहरु न्यायोचित रुपमा सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।  आफुले भनेको गैरसरकारी संस्थालाई कार्यक्रम नपारेको भन्दै प्रदेश नम्बर २ का मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव झालाई थप्पड हानेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप