बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ सरकारमा हिन्दी मोह !

मैथिलीको विरुद्ध मगही प्रयोग
मङ्गलबार, ०१ माघ २०७५, १० : ०६
मङ्गलबार, ०१ माघ २०७५

जनकपुर । सङ्घीयता कार्यान्वयनसँगै स्थापना भएको प्रदेश २ को सरकारले आफ्नै प्रदेशमा बोलिने बहुसङ्ख्यक भाषाभाषीलाई उपेक्षा गर्दै भाषा विवादको रेखाचित्र कोर्ने उद्यत देखिएको छ ।

प्रदेश २ का सत्तारुढ राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र सङ्घीय समाजवादी फोरम नेपालले प्रदेशसभा तथा सरकारमा प्रवेश गर्नासाथ हिन्दी भाषामा शपथ लिएपछि स्थानीय स्तरमा त्यसको आलोचना भएको थियो । 

गत माघ २१ मा  प्रदेश २ को प्रदेशसभामा भएको पहिलो बैठकमा तत्कालीन नेकपा एमाले, तत्कालीन नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस प्रदेश सांसदहरूले मातृभाषा मैथिलीलगायत अन्य भाषामा शपथ लिएका थिए भने राजपा नेपाल र फोरम नेपालका प्रदेश सांसदले हिन्दी भाषालाई प्राथमिकता दिएका थिए । 

त्यतिबेला प्रदेशसभाका सांसदहरूले शपथ लिँदा चारवटा भाषा प्रयोग गरेका थियो । १०७ सांसदमध्ये ४७ जनाले मैथिली भाषा, २५ जनाले भोजपुरी भाषा, २४ जनाले नेपाली भाषा र ११ जनाले हिन्दी भाषामा शपथ लिएका थिए ।

हिन्दी भाषामा शपथ लिनेमा अधिकांश मधेस केन्द्रित दलका सांसदहरू नै थिए । 

शपथ ग्रहणपछि मधेस कन्द्रित दलका प्रदेश सांसदले हिन्दी भाषाप्रतिको मोह देखाउँदै प्रदेशको सम्पर्क भाषाको नाममा हिन्दीलाई औपचारिकता दिन खोजेका थिए । 

तर व्यापक विरोधपछि केही समयका लागि भाषाप्रतिको विवाद साम्य पार्दै मुख्यमन्त्री लालबाबु राउतले मैथिली, भोजपुरी, नेपाली र हिन्दी नै प्रदेशको भाषा रहेको बताउँदै आएका थिए । तर उनले भने हिन्दीप्रतिको आस्थालाई झन् प्रगाढ बनाउँदै गएका छन् । उनले कार्यक्रममा प्रयोग गर्ने भाषा हिन्दी नै हो । अधिकांश कार्यक्रममा उनी हिन्दी नै बोल्छन् जब कि उनको मातृभाषा भोजपुरी हो । 

उनीहरूले शपथमा मात्र हिन्दी भाषालाई प्राथमिकता दिएका होइनन्, अन्य समय पनि हिन्दी भाषालाई प्रयोगमा ल्याउने गरेका छन् । प्रदेशसभामा बोल्दा पनि उनीहरूले अधिकांश समय हिन्दी भाषालाई नै प्रयोगमा ल्याउने गरेका छन् । 

यद्यपि हिन्दी भाषा प्रयोग गर्नेमध्येका कसैको मातृभाषा हिन्दी छैन । अधिकांशको मातृभाषा मैथिली, भोजपुरी, बज्जिका छन् । त्यहाँका बहुसङ्ख्यक जनताले बोल्ने भाषा मैथिली हो र नीति निर्माण गर्ने तहबाट नै स्थानीय अर्थात मातृभाषाको अपमान गरेको टिप्पणीहरू भइरहेको छ । 

गैरमातृभाषालाई बढावा दिँदै रैथाने संस्कृति र पहिचान मेटाउने कोशिस भएको आरोप लगाउँदै त्यतिबेला राजपा नेपाल र फोरम नेपालको पुत्ला दहनसमेत भएको थियो ।

भाषाको अवस्था
प्रदेश २ मा सबैभन्दा बढी मैथिली र भोजपुरी भाषाभाषी छन् । थोरै संख्यामा बज्जिका भाषा बोल्नेहरू पनि छन् । 

प्रदेश २ मा पर्ने सप्तरीमा ७९ प्रतिशत मैथिली भाषाभाषी, १० प्रतिशत थारू, ४ प्रतिशत नेपाली र ४ प्रतिशत उर्दू भाषाभाषी रहेका छन् । त्यस्तै सिरहामा ८६ प्रतिशत मैथिली, ४ प्रतिशत नेपाली र ४ प्रतिशत उर्दू भाषाभाषी रहेका छन् । धनुषामा ८६ प्रतिशत मैथिली, ४ प्रतिशत नेपाली, ३ प्रतिशत मगही, २ प्रतिशत उर्दू भाषाभाषी रहेका छन् । महोत्तरीमा ८१ प्रतिशत मैथिली, ६ प्रतिशत नेपाली र १ प्रतिशत उर्दू भाषाभाषी छन् । सर्लाहीमा ४९ प्रतिशत बज्जिका, १२ प्रशिशत नेपाली, २ प्रतिशत मैथिली, ६ प्रतिशत उर्दू र २ प्रतिशत थारू भाषाभाषीहरू रहेका छन् । रौतहटमा ६० प्रतिशत बज्जिका, ६ प्रतिशत नेपाली, ६ प्रतिशत उर्दू, ३ प्रतिशत मैथिली र ३ प्रतिशत थारू भाषाभाषी छन् । 

त्यस्तै बारामा भोजपुरी ७२ प्रतिशत, नेपाली १० प्रतिशत, थारू ८ प्रतिशत, मैथिली ४ प्रतिशत र उर्दूका २ प्रतिशत भाषाभाषी छन् । त्यसैगरी पर्सामा ७८ प्रतिशत भोजपुरी, ६ प्रतिशत नेपाली, ५ प्रतिशत मैथिली, ४ प्रतिशत थारू र २ प्रतिशत उर्दू भाषाभाषी छन् । जिल्लागत भाषिक तथ्याङ्कबाट सप्तरीदेखि महोत्तरीसम्मका ४ वटा जिल्लामा अधिक बोलिने भाषा भनेको मैथिली नै हो । महोत्तरी पश्चिमका ४ जिल्लामध्ये सर्लाही र रौतहटमा क्रमशः ४९ र ६० प्रतिशतले बज्जिका भाषा बोल्ने गरेका छन् भने बारा र पर्सामा करिब दुई तिहाइले भोजपुरी मातृभाषा रहेका छन् । 

जनगणना २०६८ को तथ्याङ्कलाई केलाउने हो भने ८ वटा जिल्लामा औसतमा ४४ प्रतिशतको मातृभाषा मैथिली हो भने भोजपुरी १९ प्रतिशतको, बज्जिका १४ प्रतिशतको, नेपाली ७ प्रतिशत, उर्दू ४ प्रतिशत र थारू ४ प्रतिशतको मातृभाषा रहेको तथ्याङ्कमा उल्लेख छ । 

प्रदेश २ का आठ जिल्लामा बोलिने मातृभाषामा हिन्दीको स्थान अति नै न्यून अर्थात् करिब शून्य दशमलव १८ प्रतिशत मात्र रहेका छन् । तर नेताहरूले त्यहाँ जनतामाथि जबर्जस्ती हिन्दी भाषा लद्न खोजेका छन् ।  
देशको तथ्याङ्क हेर्ने हो भने नेपाली भाषी करिब ४५ प्रतिशत छन् भने मैथिली भाषी करिब १२ प्रतिशत, तेस्रोमा भोजपुरी करिब ६ प्रतिशत, थारू भाषा करिब ६ प्रतिशत, बज्जिका करिब ३ प्रतिशत भाषी रहेका छन् । २०औँ स्थानमा रहेको हिन्दी भाषीको सङ्ख्या शून्य दशमलव २९ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ । तैपनि प्रदेश २ का राजपा र फोरमका सांसदको हिन्दी मोह यति रहेका छन् बुझिसक्नु छैन । 

सोसियल मोनोग्राफमा भाषालाई अध्ययन अन्वेषण गर्नेक्रममा त्रिभुवन विश्वविद्यालयका भाषा प्राध्यापक योगेन्द्र यादवले तयार पारेको प्रतिवेदनमा देशव्यापीरूपमा एउटै भाषा बोल्नेहरू ६९ प्रतिशत र एकभन्दा बढी भाषा बोल्नेहरूको सङ्ख्या ४१ प्रतिशत छ । यस आधारमा दोस्रो भाषा नेपाली हो भन्नेहरू करिब ३३ प्रतिशत छन् भने हिन्दीलाई दोस्रो भाषा भन्नेहरूको सङ्ख्या करिब ५ प्रतिशत छ । 

बोलिचालीमा दोस्रो भाषा हिन्दी भन्नेहरूको केही सङ्ख्या छ । पछिल्ला तीनवटा जनगणनामा हिन्दी मातृभाषा भन्नेहरूको सङ्ख्या ओरालो लाग्दै गरेको तथ्याङ्कमा उल्लेख छ । यादवको रिपोर्टअनुसार सन् १९९१ मा हिन्दी मातृभाषा भन्नेहरू शून्य दशमलव ९२ थियो, सन् २००१ मा त्यो घटेर शून्य दशमलव ४७ मा आयो भने सन् २०११ मा घटेर शून्य दशमलव २९ मा झरेको छ । 

संवैधानिक व्यवस्था र मातृभाषा बोल्नेहरूको भाषिक बाहुल्यताको हिसाबले प्रदेश २ मा मैथिली, भोजपुरी र बज्जिका भाषालाई सरकारी कामकाजको भाषा बनाउन सकिन्छ । भाषाविद् डा. रामअवतार यादवले भन्छन्, प्रदेश २ मा बोलिने भाषा मैथिली र बारा, पर्सा र रौतहटको केही हिस्सामा भोजपुरी बोलिने गरे पनि यहाँको अधिकांश जिल्लामा मैथिली भाषाभाषीको बाहुल्यता रहेका छन् । मैथिली भाषालाई प्रदेशको कामकाजको मुख्य भाषा बनाउँदा कुनै किसिमको विवाद उत्पन्न हुँदैन ।’

मैथिली मास्दै मगही जोगाउँदै 

करिब एक वर्षसम्म शान्त देखिएको प्रदेश सरकारले भाषा, राजधानी र प्रदेशको नामबारे विवाद साम्य भएको देखाउनका लागि विभिन्न समितिहरू गठन गर्ने नाममा विवाद निमत्याउने काम गरेको छ । 

राजधानी र भाषाको बारेमा प्रदेशसभामा बहस नगराई समिति बनाएर जिल्ला डुलाउन काम सरकारले गरिरहेको आरोप बढ्दै गइरहेको छ । प्रदेशको नामकरण र स्थायी राजधानीका लागि प्रदेश २ का नीति आयोगका अध्यक्षसमेत रहेका डा. हरिवंश झाको नेतृत्वमा संवाद तथा सुझाव आयोग समेत गठन गरेका छन् । तर यस आयोगले समयसीमा एक पटक थप गराए तापनि हालसम्म वीरगञ्ज र महोत्तरीको बन्द कोठामा मात्रै सीमित रहेको सहभागीहरू बताउँछन् । 

भारतको बिहारमा पर्ने गङ्गा नदीको किनारको दक्षिणतर्फको मगही भाषा हो भने त्यहीबाट अति न्यून सङ्ख्यामा नेपाल प्रवेश गरेको अनुमान गरिन्छ । वि.सं. २०११ मा भएको तथ्याङ्क सङ्कलनको बेला रेडियो नेपालमा एउटा कार्यक्रम नै आएको थियो । त्यतिबेला कुराकानी चल्दा नेपालमा ३० जना मात्रै मगही भाषाभाषी रहेको कुरा बाहिर आएको थियो । कानुन मन्त्री यादवले मगही भाषाको प्रचारप्रसार गर्नेलाई पुरस्कार दिइने घोषणा नै गरेका छन् ।

यसले प्रदेशको नाम र राजधानीको नाम हल गर्नुको साटो प्रदेश २ मा झन विवाद उत्पन्न गराउन लागेको प्राध्यापक समाजशास्त्री सुशील यादवको दाबी छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको अगुवाइमा मैथिली भाषाको विरुद्धमा अभियान नै सञ्चालन भएको छ । प्रदेश २ मा सबभन्दा बढी बोल्ने भाषा मैथिली  हो तर सत्तारुढ दल सङ्घीय समाजवादी फोरम नेपाल मैथिली भाषालाई कमजोर बनाउनका लागि मगही भाषालाई काखी च्यापेर हिँडेको आरोप छ । भारतको बिहारमा पर्ने गङ्गा नदीको किनारको दक्षिणतर्फको मगही भाषा हो भने त्यहीबाट अति न्यून सङ्ख्यामा नेपाल प्रवेश गरेको अनुमान गरिन्छ । वि.सं. २०११ मा भएको तथ्याङ्क सङ्कलनको बेला रेडियो नेपालमा एउटा कार्यक्रम नै आएको थियो । त्यतिबेला कुराकानी चल्दा नेपालमा ३० जना मात्रै मगही भाषाभाषी रहेको कुरा बाहिर आएको थियो । 

कानुन मन्त्री यादवले मगही भाषाको प्रचारप्रसार गर्नेलाई पुरस्कार दिइने घोषणा नै गरेका छन् । सोही अनुसार जनकपुरमा मगही भाषीहरूको सङ्ख्यात्मक वृद्धिसमेत भइरहेको देखिन्छन् ।

मगही भाषीले चलाएको अभियानमा मैथिली भाषा नै प्रयोग गरिरहेका छन् । मगही भाषी अभियानी सत्यनारायण आलोकले मैथिली अभियानीले अन्य मैथिली भाषीलाई सम्मान नगरेकै कारणले हेपिएको महसुस भएको बताउँदै कतिपय मगही अभियानमा सरिक भएको स्वीकारेका छन् । गाउँघरका किसान र धनुषाको उत्तरी क्षेत्रको सदरमुकाम तथा गाउँघरमा बोलिने भाषा मगही रहेको उनको दाबी छ । 

यता, यस प्रदेशको धनुषा, महोत्तरी, सिरहा, सर्लाही, रौतहट, बारा, पर्सा र सप्तरीलगायतका जिल्लामध्ये केही जिल्लामा रहेका एकाध घरपरिवारको नगन्य सङ्ख्यामा रहेको मगही भाषीलाई प्रोत्साहन स्वरूप प्रयोग गरिरहेको आरोप साहित्यकार नित्यानन्द मण्डलको छ ।  

मैथिली पनि दुई किसिमका
प्रदेशमा मैथिली पनि दुई किसिमको बोलिने गरेको छ । एउटा ब्राह्मणीय शैलीको र अर्को ठेठी शैलीमा बोलिने मैथिली । ब्राह्मणीय मैथिली भाषीले ठेठी भाषीलाई हेपाहाको दृष्टिकोणले हेर्ने गरेको भन्दै बेलाबेलामा मैथिली भाषीबीच विवाद उत्पन्न हुने गरेको देखिन्छ । 

यही विवादलाई खेलाउँदै प्रदेश सरकारले विभाजनको नीति अख्तियार गरी गैरमातृभाषालाई प्रश्रय दिइने गरेको आरोप मातृभाषा अभियन्ता सुशील कर्ण बताउँछन् । लामो समयदेखि मैथिली भाषाको अभियानमा सरिक रहेका पत्रकार श्यामसुन्दर शशीले यस क्षेत्रमा बोलिने विभिन्न लवजका भाषा मैथिली नै हो तर मैथिली भाषाको नाममा हुने गरेको दोहनले यस भाषाप्रतिको अन्य व्यक्तिहरूको दृष्टिकोण सकारात्मक नरहेको बताउँछन् । 

साहित्यकार रोशन जनकपुरीको अनुसार मैथिली भाषाभित्र दुई किसिमको भाषाभाषीको समस्या रहेको बताउँछन् । उनी भन्छन्– ब्राह्मणीय मैथिली भाषा र अर्को ब्राह्मण इतरको ठेठी भाषा छ । त्यसमा पनि ब्राह्मण इतरको ठेठी भाषाभाषीलाई हेप्ने गरेकाले एकले अर्कामाथि लादेको र स्वीकार नगरेको स्पष्ट छ । ब्राह्मणीय मैथिली र ठेठी भाषा एउटै भाषाभाषी हुँदाहुँदै पनि दूरी बढाउने कार्य शासकबाट भइरहेको उनको तर्क छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप