शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालक्लबको पहलमा बालविवाह रद्द

सोमबार, ३० पुस २०७५, २० : २८
सोमबार, ३० पुस २०७५

– रामहरि न्यौपाने 

बेत्रावती । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा गत साता भएको बालविवाह यहाँको बालक्लबको पहलमा आज रद्द भएको छ । 

घ्याङफेदी माविमा अध्ययनरत विद्यार्थी आबद्ध रेडपाण्डा बाल क्लबको पहलमा बालविवाह बदर भएको हो । 

क्बलका अध्यक्ष राजु तामाङका अनुसार विद्यालयमा अध्ययनरत कक्षा ७ का १५ वर्षीय छात्र र कक्षा ८ मा अध्ययनरत १७ वर्षीया छात्राबीच भागेर गरेको विवाह रद्द गराइएको हो । 

‘भागेर विवाह गरेका उनीहरुलाई परिवारको साथमा केटा पक्षले घरमा भित्र्याएको थियो,’ तामाङले भने, ‘क्लबका पदाधिकारी र विद्यालयका शिक्षकको पहलमा अभिभावकलाई सम्झाएपछि उनीहरुलाई छुट्टी–भिन्न गराइएको छ ।’ 

विवाहपश्चात् विद्यालय आउन छाडेपछि उनीहरुले विवाह गरेको सूचनाका आधारमा लगातार एक साताको प्रयासमा क्लबमा आबद्ध विद्यार्थीले नै विवाह रद्द गराइदिएका हुन् । 

विवाह रद्द भएसँगै उनीहरु अध्ययनका लागि आ–आफ्नो घरबाट विद्यालयसमेत आउन शुरु गरेको घ्याङफेदी माविका सहायक प्रअ प्रेम स्याङताङले जानकारी दिए । 

‘विद्यार्थी र शिक्षकले अभिभावकसहित केटाकेटीलाई कानूनी रुपमा उमेर नपुगी विवाह गर्नु दण्डनीय हुने भनेर सम्झायौँ,’ स्याङताङले भने । 

दुर्घटनामा ज्यान गुमाएका परिवारलाई राहत 

दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा गत मङ्सिर २८ मा मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहतस्वरुप नेपाली काङ्ग्रेस नुवाकोटले सङ्कलन गरेको राहत रकम आज उपलब्ध गराएको छ । 

दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई घरमा नै पुगेर काङ्ग्रेस जिल्ला सदस्य शशीसागर पण्डितले पीडित परिवारलाई रु पाँच हजारको दरले रु एक लाख दश हजार प्रदान गरे । उक्त दुर्घटनामा २२ जनाले ज्यान गुमाएका थिए । 

मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारको आर्थिक अवस्था निकै कमजोर भएको र मिनीट्रकमा यात्रुको बीमासमेत नहुने भएकाले सहयोगस्वरुप राहत रकम उपलब्ध गराएको पण्डितले बताए । 

मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको परिवारलाई दुप्चेश्वर गाउँपालिकाले रु २५ हजारका दरले राहत रकम प्रदान गरेको थियो । 

दुप्चेश्वर गाँउपालिकाको अपिलअनुसार नुवाकोटको ककनी गाउँपालिका–७ चतुरालेका समाजसेवी दिवाकर थपलियाले रु ५० हजार र काठमाडौँको टङ्केश्वर हार्डवेयर जरङ्खुका तर्फबाट व्यवसायी हेम गौतमले रु ६० हजार रकम उपलब्ध गराएका थिए । 

गत मङ्सिर २८ मा भएको मिनीट्रक दुर्घटनामा परी घटनस्थलमा १८ जना र उपचारका लागी लैजाँदै गर्दा तथा उपचारका क्रममा गरी २२ जनाले ज्यान गुमाएका थिए । 

दुर्घटनामा परी घाइते भएका १२ जनाको काठमाडौँस्थित विभिन्न अस्पतालमा अहिले पनि उपचार भइरहेको छ । पीडित परिवारलाई यहाँका विभिन्न गाउँपालिका, व्यवसायी तथा समाजसेवीले पनि सहयोग पु¥याउने क्रम जारी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप