शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिंहदरबारभित्रका पुराना गाडी मर्मत गरेर स्थानीय तहलाई दिइने (भिडियो)

आइतबार, २९ पुस २०७५, १३ : १६
आइतबार, २९ पुस २०७५

काठमाडौं– सिंहदरबार हाताभित्र ‘डम्पिङ’ अवस्थामा रहेका थोत्रा गाडी हटाउने काम सुरु भएको छ । सरकारले त्यस्ता गाडी तथा मोटरसाइकलहरु मर्मत गरेर स्थानीय तहलाई दिने तयारी थालेको छ । प्रयोग नभएका तर काम लाग्ने अवस्थाका पुराना सवारी साधनहरु मर्मत गरेर तल्लो तहलाई दिइने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले रातोपाटीलाई जानकारी दिए । 

सिंहदरबार हाताभित्र विभिन्न मन्त्रालयअन्तर्गतका प्रयोगविहिन र विग्रिएको अवस्थामा रहेका सवारी साधानलाई मर्मत संभार गर्ने र काम नलाग्ने अवस्थामा सवारी सधानको लिलामी गर्ने प्रक्रिया अघि बढाइएको उनको भनाई छ । 

कुँवरले सिंहदरबार हाताभित्र रहेका पुराना सवारी साधन सम्बन्धित मन्त्रालयले मर्मत गरेर चलाउने, आफूलाई आवश्यक छैन भने मर्मत गरेर स्थानीय तहमा पठाउने गरी काम सुरु गरेको बताए । उनले भने– ‘मर्मत गरेर चलाउन सकिँदैन भने तुरुन्त लिलाम गर्ने अथवा हाम्रा सरकारी क्याम्पसहरु प्राविधिक शिक्षालयमा विद्यार्थीहरुको सिकाइका लागि प्रयोग हुन्छन्, त्यस्ता ठाउँमा भएपनि हस्तान्तरण गर्ने, सिंहदरबारमा चालु हालतमा रहेका सवारीसाधन बाहेक अरु नराख्ने गरी हामी अगाडि बढेका छौँ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको वातावरण सफा स्वच्छ राख्ने भावनाअनुसार सिंहदरबारलाई पूर्णरुपमा सफा राख्ने काम अघि बढाएको बताउँदै उनले नियमित सरसफाइ र पुराना सवारी साधान हटाउने काम सुरु गरेको जानकारी दिए । 

यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि स्थानीय तहलाई सवारी साधान वितरणको प्रक्रिया थालेको छ । मन्त्रालयले हालसम्म २४ वटा गाडी र १० वटा मोटरसाइकल मर्मत गरेर स्थानीय तहलाई दिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ईश्वर गिरीले जानकारी दिए ।

मन्त्रालयले शनिवार सामान्य मर्मतका लागि १६ वटा मोटरसाइकल जम्मा पारेको छ । बाँकी रहेका मोटरसाइकल पनि मर्मत गरेर स्थानीय तहको मागअनुसार दिइने उनले बताए । स्थानीय तहले मन्त्रालयलाई मर्मत खर्च दिएर ती मोटरसाइकल लान सक्ने उनले बताए । अधिकांश मोटरसाइकल राम्रो कन्डिसनमा रहेको उनको भनाइ छ । 

उनले भने– ‘दुईवटा मन्त्रालय मर्ज भएपछि केही सवारीसाधन बढी भए, ती सवारीसधानहरु हामीले स्थानीय तहमा हस्तान्तरण गरिरहेका छौं । हस्तान्तरण गर्ने क्रममा केही नगरपालिकाहरुले माग गरिरहेका छन् । उनीहरुलाई पठाउनका लागि मर्मत गर्न एकठाउँमा जम्मा गरिरहेका छौं । मर्मतपछि मर्मत खर्च सम्बन्धित गाउँपालिका नगरपालिकाले तिरेर यी बाइकहरु लान सक्नेछन् ।’

मन्त्रालयले सदुपयोग गर्न सक्नेजति मन्त्रालयले राख्ने र बाँकी बाइकहरु मर्मत गरेर स्थानीय तहमा दिइने उनको भनाइ छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मर्ज भएपछि  सवारी साधन बढी भएको थियो । 

सिंहदरबारका हरेक मन्त्रालय तथा कार्यालयहरु आसपासका खाली जमिनमा पुराना गाडी तथा मोटरसाइकल थुपारिएको छ । शनिवार नेपाली सेना र प्रहरीले पुराना गाडीलाई हटाउने काम गरेका थिए । पुराना गाडीले भरिएको ठाउँ खाली गरेर त्यहाँ बगैँचा तथा हरियाली क्षेत्र निर्माण गरिने भएको छ । 

हेर्नुहोस् भिडियो : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप