शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुस्तक समीक्षा : ‘अल्टिमेट आकाश’मा देखिएको विम्ब

शनिबार, २८ पुस २०७५, ११ : ४१
शनिबार, २८ पुस २०७५

सन्तोष लामिछानेको उपन्यास ‘अल्टिमेट आकाश’ प्रकाशनमा आएको छ । उनको पहिलो कृति ‘चामल खानेहरू र चौलानी पिउनेहरू’ कविता सङ्ग्रह पनि मेडिसनमै विमोचन भएको थियो । उनी अमेरिकाको म्याडिसनस्थित नेपाली–अमेरिकी मैत्री सङ्घका वर्तमान अध्यक्ष पनि हुन् । विदेशमा हुनेहरूले यो किताब एमजोन डट कमबाट किन्न सक्छन् । 

नेपाली साहित्यप्रति झुकाव राख्ने सन्तोषको ‘अल्टिमेट आकाश’ले जीवनको उत्तराद्र्धमा जीवन व्यतित गर्न रोजेको भूमिलाई सङ्केत गरेको छ भन्ने कौतुहल पुस्तक अध्ययनको थालनीमा पाइन्छ । पढ्दै जाँदा धेरै कौतुहल थपिँदै जान्छ । एउटा हाइस्कुल पढ्दै गरेको केटो (विभास) को लगनशीलता, मिहिनेत, महत्त्वकाङ्क्षा र बाध्यताले डोहोर्याउँदा अध्ययनको लागि विद्यार्थी बनेर अमेरिका आइपुग्छ । प्लेनमा उसको मिल्ने साथी लाक्पा र ऊ लस एन्जलस विमानस्थलमा ओर्लन्छ । त्यहाँबाट ती दुईको गन्तव्य अलग हुन्छ र छुटिन्छन् ।

एयरपोर्टबाट छुट्टिनेबेला विभासले लाक्पालाई भन्छ– ‘बुझ्यौ लाक्पा हामीले यहीँ अमेरिकामा बबाल प्रगति गर्ने हो ।’ विभासको यो भनाइ सुनेपछि मेरो मनमा थप कौतुहलता जाग्यो । यो नुनको पुतला समुन्द्रमा पौडी खेल्न आएको छ– पग्लन्छ कि ढडिन्छ । अर्को सोच फेरि आयो– यो घैँटोमा रोपिएको बिरुवाले आकाश छुन्छु पो भन्छ त । हेरौँ अब के हुने हो ।


जब कलेज सुरु हुन्छ तब कलेज काम र पैसाको जोहो गर्नुपर्ने राप र तापले विभास पिल्सिएको महशुस हुन्छ । अन्तर्राष्ट्रिय विद्यार्थी भएको कारण क्षमता अनुसारको काम गर्नबाटै वञ्चित हुनु उसका लागि बडो पीडा थियोे । कलेजोको क्याफेटेरियामा, भारतीय सज्जनको भोजनालय र अब्दुलको पेट्रोल पम्पमा काम गर्दा विभासले विविध जिन्दगी देख्छ । अमेरिकाभित्रको अनेक अमेरिका देख्छ ।

अलग देशबाट आएका अलग व्यक्तिहरूको संस्कार, पेसा, धर्म, चहाना, भाषा, अपराध रहनसहन खानपान अनि व्यक्तिपिच्छेका फरक चरित्रहरू ग्यास स्टेसनमा काम गर्दा अनुभव गर्छ विभासले । आफ्ना देशकाहरू पराइ भएका अनि पराइ देशकाहरू आफ्ना भएका जीवन्त घटनाहरू यो उपन्यासमा समेटिएको छ ।

यो पुस्तक आत्मकथा जस्तो उपन्यास हो । यसमा अमेरिका, नेपाल दुवै समेटिएको छ । एक विद्यार्थीले  ‘आफ्नै कथा’ ठान्न सक्छ भने अन्य कोही व्यक्तिले अन्य अवस्थामा मलाई पनि यस्तै भएको थियो भन्न विवश पार्छ । उपन्यास विदेश पढ्न जाने सोच बनाउने युवाको र तीनका अभिभावकको विशेष उपायोगी र हरकोहीले पढ्दा पनि रोचक, ज्ञानवद्र्धक र सन्देशमूलक छ । विम्बहरू र प्रतीकहरूको प्रयोग उपन्यासभरी पाइन्छ । सरल भाषामा गहन, उपयोगी र रमाइला प्रसङ्ग यसमा उनिएको छ ।


लङ्का भन्ने देश सुनै सुनको सुन्दर भए पनि छोडेर सीतालाई लिएर राम अयोध्या फर्केका थिए । यस उपन्यासको मुख्य पात्र पनि ऐस, आराम सम्पत्ति र अमेरिकाको आफ्नो प्रगति छाडेर नेपाल फर्किन्छ । मेरो कौतुहलताको जवाफ मैले पाएँ– उपन्यासको पात्रले ‘अल्टिमेट आकाश’को साक्षात्कार आफ्नै जन्मभूमि नेपालमा गर्न सक्दो रहेछ– ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ भनेझैँ । ‘अल्टिमेट आकाश’ अन्तरमनको आकाश रहेछ ।

पूर्ण श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप