केन्द्रीय संस्करण
मूल्यांकनको कसीमा पृथ्वीनारायण शाह

तानाशाह थिएनन् पृथ्वीनारायण शाह

person explore access_timeपुस २७, २०७५ chat_bubble_outline2

१८०१ देखि पृथ्वीनारायण शाहले १९–२० वर्षको उमेरमा एकीकरणको प्रारम्भ गरेका हुन् । उनले एकीकरण अभियान किन थाले त ? कसैले विस्तारवाद भन्छन्, कसैले तरवारबाट विजय गरेको भन्छन् । त्यसकारण एकीकरणलाई नकार्नेे मान्छे पनि छन् । तर ऐतिहासिक घटनाक्रमहरूलाई ठीक ढङ्गले बुझ्न र त्यसबारे सही धारणा बनाउनका लागि तत्कालीन नेपालको वस्तुस्थिति कस्तो थियो भन्ने बुझ्नु र थाहा पाउनु जरुरी छ ।

तत्कालीन अवस्थाको मेची र महाकाली  क्षेत्रभित्रका भूगोलको मात्र कुरा गर्दा पनि त्यसबेला गण्डकी प्रदेशमा २४ वटा, कर्णाली प्रदेशमा २२ वटा, नेपाल खाल्डामा ३ वटा, मनोहरादेखि यता काठमाडौँ, मनोहराबाट उता पाटन, मनोहरापारी भक्तपुर, मकवानपुर, चौदण्डी, विजयपुर, गोर्खा जम्मा ५३ राज्य थिए । यसरी त्यसबेला मेची महाकालीको भूगोलभित्र मात्रै ५३ राज्य थिए । छिमेकीको काम साँध मिच्ने र अर्काका प्रजालाई दुःख दिने नै थियो । कतिसम्म भने धार्मिक आस्था बोकेर पशुपति पाटन, भक्तपुर, मकवानपुर, गोर्खा, पाल्पा, विजयपुरका मानिसहरू आउँदा लहडका भरमा मन नपरेका मानिसहरूलाई त्यहाँका राज्यका मानिसले ठिँगुरा ठोकेर राखिदिन्थे । 

भक्तपुर र काठमाडौँको सधैँभरिको शत्रुता थियो । टुकुचा, धुलिखेलको फाँटमा धेरै धान, तरकारी टन्नै फल्थ्यो । एक रोपनी जग्गामा मात्रै पनि ५, ६ मुरी धान फल्दथ्यो । त्यस्तो उर्वर ठाउँमा सबैका आँखा लाग्ने गर्दथे र जसले सक्यो, उनीहरूले लुट्ने गर्दथे । काठमाडौँको राजा र भक्तपुरको राजाको बीचमा वैमनस्यता थियो । काठमाडौँका जनता भक्तपुरमा बिस्केट जात्रा हेर्न जान्थे । त्यहाँ गएको बेला नाइके नाइके नेवारहरूलाई  बाँसको ठिँगुरा ठोकेर लगेर टुँडिखेलमा लडाइदिन्थे । च्यूरा, खुर्सानी र नुन खान दिन्थे ।

भक्तपुरका जनता काठमाडौँमा इन्द्रजात्रा हेर्न हुलका हुल आउँथे । काठमाडौँका राजाले पनि भक्तपुरका जनतालाई ठिँगुरा ठोकेर राखिदिन्थे । दर्शन गर्न आउँदा पनि थुनिदिने । एउटा राज्यमा विवाह गर्न जाँदा अर्काे राज्यका मानिसले केटी नै हरण गरिदिन्थे । जङ्गल यतै थियो । पाल्पाका मान्छे यतै शिकार गर्न आउँथे । त्यस्तो किसिमको अराजक सामाजिक परिस्थिति थियो । लडाइँ नभएको दिन नै हुँदैनथ्यो । 

त्यतिखेर उपत्यकामा नुन ल्याउने स्रोत भनेकै  भोट (तिब्बत) थियो । पूर्वमा ओलाङचुङगोला, काठमाडौँमा कुतिकेरुङ र यारी नाकाबाट नुन आउँथ्यो । व्यापारकै लागि त्यो नाका खोलिएको थियो । भोटमा अन्न, घिउ नुन, चाँदी, सुन लैजानु पथ्र्यो । १९५३ सम्म यो प्रक्रिया जारी नै रह्यो । १९५३ मा वीरशमशेरले अङ्ग्रेजसँग सम्झौता गरेपछि दक्षिणबाट पनि नुन आउने बाटो खुलेको हो । (यो भिन्नै प्रसङ्गको कुरा हो ।)

त्यस्तो परिस्थितिमा युद्धबाट जनता वाक्कदिक्क भएको तथा कसैले एकता गरिदिएर दिगो शान्ति स्थापना भए हुन्थ्यो भन्ने खालको मनस्थिति उनीहरूमा विकसित भइरहेको कुरा पृथ्वीनारायण शाहले  बुझेका थिए ।  त्यसैले पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामा आक्रमण गर्ने आँट गरे । भन्ने नै हो भने त्यसबेला गोरखाली राज्य सबैभन्दा गरिब र लमजुङबाट छुटिट्एर आएको कान्छो राज्य थियो । ऊ आफैको पनि लमजुङसँग झगडा भइरहन्थ्यो । 

जनताको मन बुझेर नै पृथ्वीनारायण शाहले टुक्रिएका राज्यहरूलाई एकै ठाउँमा ल्याएर विशाल राज्य निर्माण गर्ने अभियानको थालनी गरेका थिए ।  त्यसो त उपत्यकासँगको पहिलो लडाइँ पृथ्वीनारायण शाहका बाबुले नै सुरु गरेका हुन् तर त्यो असफल भएको थियो । हारेपछि जयन्त राणा भन्ने सिपाही जयप्रकाश मल्लसँगै मिल्न पुगे । पृथ्वीनारायण शाहले उनलाई फर्कन र पुरानै ओहोदामा रहेर काम गर्न पाउने आश्वासनसहित चिठी लेखेछन् । तर दण्डको भय अनि नुनको सोझो गर्ने प्रवृत्तिका कारण रानाले ‘अब मैले जयप्रकाशको नुन खाइहाले आउन सक्दिनँ ।’ भनी प्रत्युत्तर पठाएका थिए ।

राजाज्ञा अवज्ञा गरेको तथा वैरीसँग मिलेको त्यही झोकमा पछि  २० वर्षे ठिटा जोश भएका पृथ्वीनारायण शाहले रानालाई काटेर मारे । उनले जितेपछि प्रतिशोधमा मान्छे मारेको त्यही एउटा घटना हो । उनले उपत्यका आक्रमण गर्दा पनि आइमाई, केटाकेटी, किसानलगायत निर्दोषको हताहती बढी हुने आँकलनका साथ मुख्य सहरमा हैन, बाहिरी इलाकामा युद्ध सञ्चालन गरेको तथा शत्रुलाई परास्त गरेको देखिन्छ ।
त्यसबेला राज्य विस्तार तथा एकीकरणका लागि जोसुकै राजाले पहल गरे पनि जनताले साथ दिन सक्ने स्थिति विद्यमान थियो । तर त्यो इच्छा र आँट अरू कुनै राजाहरूले गरेनन्, पृथ्वीनारायण शाहले गरे ।

राज्य विस्तार वा एकीकरणकोे इच्छा पृथ्वीनारायण शाहमै किन जाग्यो त ? स्वभाविक रूपमा प्रश्न उठ्छ ।  इतिहासको विश्लेषण गर्ने हो भने गोरखा राज्यको जन्म नै सङ्घर्षबाट भएको देखिन्छ । लम्जुङसँगको रक्तपातपूर्ण द्वन्द्वपश्चात गोरखा राज्यको जन्म भएबाट पनि उनीहरूले पहिलेबाटै सङ्घर्ष गर्दै आएको प्रष्ट हुन्छ । राम शाहको पालामा फेरि गोरखा राज्यमा न्याय पाइन्छ भन्ने नाम चलेको तथ्यबाट तथा ‘राजा भएपछि दिग्विजय गर्नुपर्छ’ भन्ने धर्मग्रन्थ पुराणहरूमा लेखिएका कुराबाट पनि उनले राज्य विस्तारको प्रेरणा पाएको हुन सक्छ । 

त्यसो त उनले रक्तपात गरेर, तरबारको बलबाट युद्ध जितेका होइनन् । पछि उनले मान्छे नमार्ने नीति पनि लिए । कीर्तिपुरमा आक्रमण गरे । त्यहाँ आक्रमण गरेर कीर्तिपुरका जनता र राजालाई तर्साउन खोजेका रहेछन् । कालु पाण्डेले त्यहाँ अहिले आक्रमण नगरौँ, किनभने हामीसँग पैसा पनि कम छ, हामी अहिले सक्दैनौँ । पृथ्वीनारायण शाहले तँलाई मर्न डर लाग्यो भने रे । कालु पाण्डेलाई झोक चल्यो । युद्ध गर्न गए, मरे पनि । अब पृथ्वीनारायण जयप्रकाशसँग मिल्न आए । हामी चार राज्य मिलौँ, गोरखा, पाटन, लललितपुर र मधेस । जितेको जग्गा हामीले बाँडेर खाँऔँ । तिमीहरू धनी छौँ हामीलाई पैसा देऊ हामी लड्छौँ । हामी चार र मकवानपुरलाई पनि ल्याऊ भने । 

प्रस्ताव कसैले मानेन । त्यसबेला जनतालाई अब भुरेटाकुरे राजाहरूसँग बस्न सकिँदैन भन्ने भइसकेको थियो । चाहेको भए सबैले युद्ध गर्न सक्दथे । सबै मानिस प्रताडित थिए । सामाजिक कुरामा पनि, व्यापारमा पनि । भोटबाट नुन लिएर आयो अर्काे राज्यका मानिसले लुटिदिन्थे । सुन, चाँदी लिएर आयो लुटिदिन्थे सुरक्षा पनि थिएन । सुरक्षा दिने कसले ? सुरक्षा पाएन भने जसको शक्ति उसको भक्ति भन्ने थियो । मान्छेलाई टिक्न एकदमै गाह्रो थियो । 

जयप्रकाशले नमानेपछि के भयो ?
नमानेपछि लडाइँ सुरु भयो । जयप्रकाशले साँखु र चाँगु जितेका थिए । पृथ्वीनारायणले नुवाकोट जितेपछि यहाँ बसेनन् । नुवाकोट जितेपछि केरुङको बाटो बन्द भयो । अब कुतीको बाटो बन्द गर्छु भनेर कुतीतिर लागे । त्यहाँ उनका ठूला ठूला सेनापती मरे । उनले ढाल तरबार भनेका पाँडे र बस्न्यात हुन् । पाँडे त्यहाँ मरे । शिवराम बस्न्यात नवलपुरमा मरे ।

जनधनको क्षति भयो । अब लड्नु भएन, मान्छेलाई हात लिनुपर्छ भन्ने सोचे । कुलेखानीका मान्छेलाई तिमीहरूले शुद्ध पानी पिउन पाएका छैनौँ । जसरी दोलखाली हाामीसँग मिल्न आए, उनीहरूको सुरक्षा हामीले गरेका थियौँ । तिमीहरू पनि आयौँ भने तिमीहरूलाई मिलाउने जिम्मा हाम्रो भनेपछि दोेलखाका मानिसले माने । पृथ्वीनारायण शाहले एक ठाउँ जितेपछि सबैको मानसिकता जित्दो रहेछ भन्ने भयो । कीर्तिपुरमा त्यही कारण युद्ध गरेका रहेछन् । कीर्तिपुर उनले तीन पटकमा जिते । जनतालाई हात लिने नीतिको कारण सबै नेवार र व्यापारीहरूलाई हात लिएका थिए । 

लामिडाँडा पृथ्वीनारायण शाहले जितेका थिए । अब लडाइँको कुरा छाडेर नाकाबन्दी गर्न लागे । कीर्तिपुरमा पनि नाकाबन्दी गरेर जितेका हुन् । घेर्दैघेर्दै लाने क्रममा अब ससुराली राज्यमा पुगे, जिते पनि । युद्धमा आफ्नै मान्छे मर्छन् । त्यसैले युद्ध गर्नु हुँदैन भन्ने सोचे । १२०० पल्टन सिपाही मात्र थिए र पैसा पनि थिएन । एउटा नेवारले लेखेको  छ । चौंरीगाईको सिङमा पैसा हालेर पृथ्वीनारायण शाह लड्न आए । चौंरीगाईको सिङमा एक मानो पैसा मात्र अटाउँथ्यो । एक मानो पैसा भनेको सय रुपियाँ थियो । एक सयको को ५, ६ मुरी धान आउँथ्यो ।

घेर्दै लैजाने क्रममा कीर्तिपुरमा एउटा जुक्ति गरेछन् । हामी मिलौ, किल्ला मैले छोड्छु, तपाईं आउनुस् भनेछन् । १९०१ सालमा नुवाकोट र १९०० सालमा मकवानपुर जितेका थिए । मकवानपुर जितेपछि कीर्तिपुरका मानिसलाई गाह्रो भयो । कपास त मकवानपुरबाटै आउँथ्यो । उनीहरूले घरेलु कपडा बनाएर लगाउँथे । नुवाकोट जित्ने बित्तिकै उनले चाँदीको टक काटे । कीर्तिपुरले भनेछ तपाईंहरू आउनुस् हामी मिलौँ । ५, ७ जना नाइके गएछन् । राति मासु र भात खुवाएछन् । राति मस्त निद्रामा टाउको हानेर उनीहरूलाई मारिदिएछन् । पृथ्वीनारायण शाहलाई त्यो रिस थियो । उनले त्यो रिस देखाउन पाएका थिएनन् । दोलखाले पनि मिलौँ भनेर प्रलोभन देखायो । पछि दोलखासँग पनि मिले । एउटा कविले के पनि भनेको छ भने कीर्तिपुरका मानिसले नुन ल्याउन नपाएको कारण पुरानो इँटाको धुलो पनि खाए । इँटाको धुलो नुनिलो हुन्छ ।

कुती केरुङ बन्द भइसकेपछि नुन चोरेर ल्याउन थाले । भोटमा मान्छे मर्याे भने लास यहाँ ल्याउँथे । लास ल्याउने बहानामा नुनको खात बनाएर ल्याउँथे । अरू मान्छेलाई आवतजावात गर्न दिने तर व्यापारीलाई नदिने गर्थे । घाटमा लैजान दिन्थे । भोटेका देशमा मरेपछि अगती परिन्छ भन्ने पृथ्वीनारायण शाहलाई परेको थियो । त्यसरी नुन ल्याउँथे । 

एउटा श्लोक छ ‘नेपाल पाटन भादगाउँ भनिदा सल हुन्छ आपसमा ।’ अहिले त कान्तिपुर भन्न थाले काठमाडौँलाई पनि । नेपाल भन्ने देश हराउन लाग्यो । यो देशलाई बचाउने कोही थियो भने पृथ्वीनारायण शाह नै हुन् र आधुनिक नेपालको निर्माता पनि उनै हुन् । त्यसबेला व्यापार नीति, परराष्ट्र नीति केही थिएन । मान्छे आफूखुसी थिए । सुरक्षाको चाहना गरिराखेका थिए । 

पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि आँखा लाए । कीर्तिपुरले हार्याे । जुन मान्छेलाई कीर्तिपुरका मान्छेले राति मारेका थिए ती मारेका मान्छेलाई दण्ड दिन सुरु गरे  । त्यतिबेलाको दण्ड थियो, ज्यानको बदला ज्यान । ती मानिसलाई समातेपछि नुवाकोट भएका पृथ्वीनारायण शाहले भने ‘पहिले ती मानिस जयप्रकाश मल्लका प्रजा थिए । अहिले त मेरा प्रजा भए । मैले मेरा प्रजालाई कसरी मार्न सक्छु ?’ यिनीहरूलाई ज्यान नमार्ने चिन्ह लगाएर छाडौँ भने । महिलालाले गलत काम गरे निधारमा डामेर, चिन्ह लगाएर छाडिदिन्थे ।

चोरको चोरऔँला काटिदिन्थे । चोरले बजार हिँड्दा औँला लुकाएर हिँड्ने गर्थे । नाक काट्दा नाकको टुप्पो मात्र काट्नु भने । तर भोटेले नाक र ओठसमेत काट्दिएछ । भोटेले नाक र ओठसमेत काटिदिएको हुनाले भोटेको पनि नाक र ओठ कटिदिएछन् । त्यतिबेला एउटा कविले नाक काटिनेहरूको सङ्ख्या उल्लेख गर्दा ‘कास्यत’ लेखेका छन् । संस्कृतमा तीन भन्दामाथिको सङ्ख्या कास्यत र दसभन्दा माथिको बहु लेखिन्छ । यस हिसाबले हेर्दा त्यसबेला नाक कान काटिनेको सङ्ख्या ३ भन्दा माथि र १० भन्दा कम हुनुपर्छ । मेरो आँकलनमा त्यसबेला आठजना जतिको नाक कान काटिएको हुुनुपर्छ ।

पृथ्वीनारायण शाहले कीर्तिपुर जितेपछि जयप्रकाश भागिहाले । कान्तिपुरमा त लडाइँ नै भएन । यहाँ चार ढोका थिए । सबै ढोकाबन्द हुन्थे । फलामका ढोका थिए । पृथ्वीनारायण शाह जित्दै आएर दहचोक बसेका थिए । इन्द्रजात्राको दिन जयप्रकाश मल्ल र उनका भारदार जाँड खाएर बसेका रहेछन् । गोर्खालीहरू ढोका फोरेर पसे । गोरखाली पसेको भनेपछि  सबैजना भागाभाग भए । जयप्रकाश मल्लले दरबार भरी बारुद झरेका रहेछन् । बन्दुक पड्काउँदै आँउदा बारुदमा आगो सल्केर तुलाराम पाँडे मरे । जयप्रकाश भागेर पाटन गए । उनी भागेपछि पृथ्वीनारायण जयप्रकाशकै सिंहासनमा बसे । पाटनमा छ प्रधानको राज्य थियो । राजा मार्ने पनि उनीहरू, स्थापना गर्ने पनि उनीहरू । परिवर्तन गर्ने पनि उनीहरू नै । त्यहाँ प्रधानहरूको जगजगी थियो । 

जयप्रकाश बाठो हुनाले भागे । तेजनरशिंह पनि भागे । दलमर्दनलाई पनि राजा बनाउन पाटन ल्याएका थिए । नुनको बाटो खुल्छ भन्ने ठानेर दलमर्दनलाई राजा बनायो तर पृथ्वीनारायणले मानेनन् ।  काठमाडौँमा पादरीहरू चर्च बनाएर बसेका थिए । पादरीले अङ्ग्रेजलाई चिठी लेखेछ । तपाईंले नेपालमा लडाइँ गर्न उपयुक्त वातावरण छ, किनभने जयप्रकाशले आत्मसमर्पण गरेका छैनन् ।

तपाईंहरू आउनुभयो भने यहाँ नाकाबन्दी उठाइदिनुहुन्छ । जयप्रकाशलाई सहायता गर्नुभयो भने हामी सजिलै जित्न सक्छौँ । जयप्रकाश हामीसँग मिल्छन् । युद्ध खर्च पनि जयप्रकाशले नै बेहोर्नेछ भन्ने व्यहोराको उक्त चिठी पृथ्वीनारायणले फेलापारे । चिठी पाएपछि अङ्ग्रेजहरू आए । पृथ्वीनारायणले उनीहरूलाई सिन्धुलीगढीबाट भगाइदिए । अरिङ्गालका गोला पनि अङ्ग्रेजलाई लगाइदिए भन्ने चलन छ । 

अङ्ग्रेजहरू मकवानपुर पुगेपछि नवाव पनि आयो । नवावलाई अङ्ग्रेजले राजधानीबाट निकालेकाले उदानवाला भन्ने किल्लामा आएर बसेको थियो । त्यो किल्ला  गङ्गाजीको किनारामा थियो । अङ्ग्रेजले मकवानपुर हारेपछि नवावलाई गुहारे । नवाव मकवानपुर सिकार खेल्न आउँदो रहेछ । मकवानपुरको राजाले तपाईंहरू सिकार खेल्न नआउनुस्, बरु दुई हात्ती म पठाइदिन्छु भन्ने सन्धि गरेका रहेछन् । जब पृथ्वीनारायण शाहले मकवानपुर जिते, दिग्बन्धन शाहले उनीसँग सहायता माग्यो । त्यहाँबाट पृथ्वीनारायण शाहले मुसलवान र अङ्ग्रेज  दुवैलाई लखेटे । अङ्ग्रेजले गोरखाली शक्ति भनेको अजेय शक्ति रहेछ भन्ने ठाने । पृथ्वीनारायण शाह चलाख मानिस थिए । उनीसँग दुई वकिल थिए । ससुराली राज्यबाट ल्याएका थिए । दिनानाथ उपाध्याय र शौरभसिंह कार्की । शौरभसिंह कार्कीले धोका दियो, दिनानाथ उपाध्यायले भने बफादारी निभाए । 

उपदेश: 
‘जनता भनेका चार वर्ण छत्तिस जातको साझा फूलबारी हो । सबै मिलेर बस्नुपर्छ ।’ यो उपदेशबाट थाहा हुन्छ, उनी खुङ्खार तानाशाह होइनन् । एकीकरण जनताकै भलोका लागि गरेका हुन् । उनले भनेका छन ‘मैले साना दुःखले अज्र्याएको मुलुक होइन ।’ सबैको मेल होस् । उनले उपदेश बोलेका हुन्, उतार्ने  उनका भाइभारदार हुन् । इन्द्रचोक नपुग्दै एउटा बस्न्यातको घर छ । उनको उपदेश बस्न्यातको घरमा पाइएको हो । 

गलत प्रचार:
पादरीहरू सात समुद्र पारिका थिए । यिनीहरू राम्ररी बसिदिए हुन्थ्यो भन्ने उनको इच्छा थियो तर यिनीहरू त छली रहेछन् । एक हातमा उनीहरूको बाइबल रहेछ, एक हातमा तरबार रहेछ । उनीहरको कुरा बुझेर पृथ्वीनारायणले । तिमीहरू आफ्नो कुम्लो बोकेर जाऊ भनेर पठाइदिए । उनीहरू साठी, पैँसठ्ठी जना थिए । उनीहरू गएर बेतिहामा बसे । त्यहाँ बसेर उनीहरूले जासुसी गरे । त्यहाँ जिसेप्पी भन्ने फादर थियो । उसले बेलायतबाट निक्लिने जर्नलमा अङ्ग्रेजी लेख लेख्यो । पृथ्वीनारायण शाह भनेको क्रुर तानाशाह हो, यसले धेरै मानिस मार्याे । कीर्तिपुरका आठ सय मानिसको नाक काटेर मार्याे । यो लेख विश्व प्रसिद्ध भयो । ब्रह्मवाक्य भयो । त्यो एकदम प्रचार भयो । यसकै आधारमा कीर्तिपुरका इतिहासकार त्यही लेख्छन् ।

पृथ्वीनारायण शाहले यहाँ कुनै अङ्ग्रेजलाई आउन दिँदैनथे । एउटा फोग्ले भन्ने अङ्ग्रेज भोट जान्छु भनेर आयो, उनले जान दिएनन् । पृथ्वीनारायण शाहले भोटका राजालाई सन्देश पठाएछन्, यो मान्छे म कहाँ आएको थियो । मैले बस्न दिइनँ । तिमीहरूकहाँ आएको थियो रे  होसियार भएर बस । यिनीहरू कस्ता हुन् भने कस्मेटिक सामान दिएर सुन चाँदी लैजाने । 

पहिलो देश विकास गर्ने शासक पृथ्वीनारायण शाह हुन् । उनले छवटा राज्य मात्र जितेका हुन् । उनको छोरो प्रतापसिंह विलासी थिए, उनले त्यसतर्फ खासै केही काम गरेनन् । राजा हुन योग्य छोरो बहादुर शाह थिए तर कान्छो छोरा भनेर राज्य दिएनन् । दलजित शाहले भनेका थिए, ‘यी युवराजबाट राज्य चल्दैन । सरकारले थालेको काम पनि हुँदैन । कान्छा बहादुर शाहलाई राज्य दिन पाए भने काम सिद्ध हुन्छ ।’ त्यो कुरा कताबाट युवराज र युवराजकी आमाले सुने । त्यसपछि बहादुर शाहलाई क्रिया गर्न दिएनन् । क्रिया सकेको अर्काे दिन बहादुर शाहलाई निकाले ।  

भाउजू हुन्जेल उनलाई त्यहाँ आउन नै दिइएन । जब भाउजू मरिन अनि क्रिया गर्न आए । नेपाल आएपछि पृथ्वीनारायण शाहका जति मानिस थिए, जम्मै उनका हातमा आए । राज्य उनले जित्न थाले । उनले बलियासँग मिल्ने र आफूसँग मिल्न आउनेलाई मिलाउने गर्न लागे । आठ वर्ष शासन गर्दा कालीगण्डकीदेखि लिएर चौबिसे राज्य र बाइसे राज्य जिते । त्यसमाथि कुमाउ, गड्वाल जिते । यमुना नदी साँध लाए । रणबहादुर शाह १८ वर्ष पुगेपछि तपाईंले शासन गर्नुपर्छ भनेर  अरू मानिसले कुरा लगाउन थाले । बहादुर शाह सरक्क उठेर शासन छाडिदिए । वसन्तपुर दरबारमै बसे ।

उनी अक्रामक, जनता मार्ने सिद्धान्तका होइन । उनी सबैलाई मिलाएर लैजाने, जनतालाई सुख दिने, प्रजा मोटा भए दरबार बलियो हुन्छ । जितेर आउनेलाई प्रमोसन दिने, अपराध गर्नेलाई  आफूले नमार्ने, तरबारको बलले राज्य गर्ने, तानाशाहको नीति थिएन ।

  (इतिहासकार ज्ञानमणि नेपालसँग रातोपाटीकर्मी सुनिता न्यौपानेले गरेको कुराकानीमा आधारित ।)
 

कमेन्ट

  1. Aug. 13, 2019, 11:44 a.m. सुशील ढकाल
    नेपाली ईतिहास विद्द श्री ज्ञानमणि नेपाल ज्यू ले निर्भिक रुपमा नेपालको ऐतिहासिक कुरा जुन यथार्थ हो राखिदिनु भएको छ वहांलाई मुरी मुरी धन्यवाद दिन्छु।यसलाई google page मा अंग्रेजिमा अनुवाद गरी राखिदिनु भएमा नेपालको ईतिहास लेख्ने नेपाली वाहेकका हरुलाई थप कुरा प्रष्ट हुनमा मद्त मिली नेपालको बहादुरिता दर्शाउनमा र नेपाल एकीकरण महाअभियानका नायक श्री पृथ्वी नारायण शाहको सहि सम्मान गर्नमा योगदान पुग्थ्यो की।
  2.  0 Reply
  3. Jan. 11, 2019, 9:33 p.m. Tilak Shrestha
    King PN Shah defeated the attacks of Gurgin Khan (1763) and Captain Kinloch (1767). That was before he was able to take over Kathmandu (1768). King PN Shah kept all our diverse heritages intact. That is, if not for him, there will be no Nepal. Most probably we will be a part of Bengal or British India and our heritage would have lost to Islamic and Christian control. By the way, Maoists and the current government are about destroying our heritage.
  4.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...