शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पृथ्वी जयन्तीमा राप्रपाको चियापान : कमल थापाले प्रधानमन्त्रीलाई पर्खिरहे,  देउवा हतारिएर हिँडे (फोटोफिचर)

शुक्रबार, २७ पुस २०७५, १८ : १८
शुक्रबार, २७ पुस २०७५

काठमाडौं– राष्ट्रियसभा गृहको गेटमै पृथ्वीनारायण शाहको ठूलो तस्विर राखिएको थियो । तस्विरको दायाँबायाँ राप्रपाको चुनाव चिन्ह गाई र राप्रपाको झन्डाको पनि ठूलो तस्विर राखिएको थियो ।  सभागृह छेउको खुला भागमा राप्रपाले २ वटा मञ्च बनाएको थियो । एउटा मञ्चमा सांकृतिक कार्यक्रम तथा कविता वाचन भइरहेको थियो भने अर्को मुख्य मञ्चमा राप्रपाका अध्यक्ष कमल थापा विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिहरु तथा सर्वसाधारणसँग भेटघाट गरिरहेका थिए । 

कार्यक्रम स्थलमा धिमे बाजा, खैजडी भजन, कविता वाचन जस्ता कार्यक्रम भइरहेको थियो ।  बिहान सिंहदरबारको मूल गेटसँगै रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न ब्यस्त रहेका उनी दिउँसो राष्ट्रिय सभागृहमा गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई स्वागत गर्न व्यस्त थिए ।

प्रधामन्त्री ओलीलाई थापाले पर्खिरहे : राष्ट्रपतिसँग खुसी 

राष्ट्रिय एकता दिवस मनाएको राप्रपाको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली गएनन् । तर कार्यक्रम अवधिभर राप्रपा अध्यक्ष थापाले पर्खिरहेका थिए । कार्यक्रममा गएका गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीसँग थापाले भने– ‘प्रधानमन्त्रीज्यूलाई निम्ता गरेका छौँ । उहाँ आइपुग्नु भएको छैन, पर्खिरहेका छौँ ।’

तर ३ बजेसम्म पनि प्रधानमन्त्री नआएपछि उनले पत्रकारहरुसँग राष्ट्रिय एकता दिवस मनाउन पाएकोमा खुसी व्यक्त गरेका थिए । उनले सरकारले राजकीय रुपमा सरकारले राष्ट्रिय एकता दिवस नमानेपनि राष्ट्रपति बिद्या भण्डारीले बिहान भएको कार्यक्रममा सहभागी भएकोमा खुसी ब्यक्त गरेका थिए । 

कार्यक्रममा संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङ, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल, खिलराज रेग्मी उपस्थित भएका थिए ।  कार्यक्रममा आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सबैभन्दा थोरै बेर बसेका थिए भने अन्य व्यक्तित्वहरु केही क्षण कार्यक्रममा चिया खाएर फर्केका थिए । देउवासँगको भेटमा राप्रपा अध्यक्ष थापाले गत बर्ष राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक बिदा दिएको र सरकारले राष्ट्रिय एकता दिवस मनाएको स्मरण गरेका थिए ।

कार्यक्रममा विभिन्न दलका नेता, पूर्व प्रहरी, नेपाली सेनाका अवकाशप्राप्त पदाधिकारीहरु तथा राजतन्त्र समर्थकहरु उपस्थित थिए । 

राष्ट्रिय एकता दिवसमा सहभागी कसले के भने ? 

कमल थापा : अध्यक्ष राप्रपा 
राप्रपाका अध्यक्ष कमल थापाले व्यक्तिगत रुपमा आफूलाई सन्तोष लागेको बताउँदै राप्रपाले २०६३ सालदेखि राष्ट्रिय एकता दिवस मनाउँदै आएको बताए । उनले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउँदै सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएको बताए । उनले भने– ‘राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको योगदानलाई कुनै राजनीतिक संस्थासँग जोडेर हेर्न हुँदैन । राजनीतिभन्दा माथि उहाँको योगदान रहेको छ । त्यसैले सबैको साझा सम्पतिको रुपमा राष्ट्रिय एकतालाई लिनुपर्छ भनेर हामीले बारम्बार भन्दै आइरहेका थियौँ । गत बर्ष तत्कालीन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको हामी पनि संलग्न थियौँ र हाम्रै विशेष पहलमा राष्ट्रिय एकता दिवस राजकीय रुपमा मनाउने र सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।’

अहिलेको सरकारले उक्त बिदा कटौती गर्ने र राजकीय रुपमा राष्ट्रिय एकता दिवस नमनाएपनि आंशिक रुपमा सुधार गरेको आफूले पाएको उनले बताए । उनले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई धन्यवाद प्रकट गरे । उनले भने– ‘उहाँले आफैले सिंहदरबारस्थित पृथ्वीनारायणको सालिक अगाडि उपस्थित भएर जुन माल्यार्पण गर्नुभयो र एउटा राजकीय सम्मान ब्यक्त गर्नुभयो, त्यसले सरकारले औपचारिक रुपमा राजकीय सम्मान र  सार्वजनिक विदा नगरेपनि आंशिक मान्यता भने अब प्राप्त गरिसकेको छ ।’ उनले पृथ्वी जयन्तीमा राष्ट्रपति र केही मन्त्रीहरुको सहभागिताले आशिंक मान्यता प्राप्त भएको बताए । 

झलनाथ खनाल : पूर्व प्रधानमन्त्री 
पूर्वप्रधानमन्त्री झलनाथ खनालले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताको रुपमा बुझ्नुपर्ने बताउँदै नेपाल निर्माणको मुख्य आधारनै उनी भएको बताए । उनले पृथ्वीनारायण शाहको योगदानलाई सम्मान गर्नुपर्ने बताउँदै यो दिन राष्ट्रिय स्वाभिमान र एकतालाई बलियो बनाउन प्रण गर्नुपर्ने बताए । 

पृथ्वी जयन्तीमा सरकारले बिदा कटौती गरेको बारे पत्रकारको प्रश्नमा खनालले भने–‘उहाँप्रति जुन किसिमको सम्मान हुनुपर्ने हो, यसमा कटौती हुनु दुःखद कुरा हो । विस्तारै पुर्नव्यवस्थापन हुँदै गएको छ, व्यवहारिक हुँदै गएको छ, यो राम्रो कुरा हो ।’ 

रामचन्द्र पौडेल : नेता, नेपाली काँग्रेस 

नेपाली काँग्रेसका नेता रामचनद्र पौडेलले पृथ्वीनारायण शाहलाई नेपाल जन्माउने  सुझबुझ भएको नेपाली राष्ट्रियताको प्रतिकको रुपमा आफूले लिएको बताए । उनले भने–‘उनले राष्ट्र एकीकरण गरेका कारण आज हामी नेपालीको रुपमा गौरव गर्ने अवसर पाएका छौँ । त्यसकारण उहाँप्रति मेरो ठूलो सम्मान छ ।’

उनले पृथ्वी जयन्तीको दिन दिइने गरेको सार्वजनिक बिदा कटौती नगरेको भए हुने उल्लेख गरे । उनले सरकारले काम गर्न भनेर धेरै बिदा कटौती गरेपनि सरकारले काम नगरेको बताए । उनले भने– ‘काम गर्छु भनेर सरकारले धेरै बिदा कटौती गर्यो तर बिदा पनि दिएन, काम पनि गरेन ।’

यस्तो थियो खाजाको मेन्यू
अपर्ण पार्टी प्यालेसले कार्यक्रममा सहभागीका लागि चियापानको व्यवस्था गरेको थियो । बिशिष्ट ब्यक्तिका लागि निम्की, समोसा, स्यान्डविच, जेरी र चियाको व्यवस्था गरिएको थियो भने सर्वसाधारणका लागि जेरी, समोसा, निम्की र चियाको व्यवस्था गरिएको थियो । 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप