केन्द्रीय संस्करण
मूल्यांकनको कसीमा पृथ्वीनारायण शाह

कीर्तिपुरबासीको नाक काट्ने आदेश: कति सत्य, कति झुठ ?

person explore access_timeपुस २७, २०७५ chat_bubble_outline0

शाह राजाहरूको प्रत्यक्ष शासनअन्तर्गत विशेषतः पञ्चायतकाल (सन् १९६०–१९९०) मा लेखिएका नेपालको इतिहासमा शाह राजाहरूका बखानबाहेक केही छैन । शाहकालमा निकै चलेका बाबुराम आचार्य (सन् १८८८–१९७१), सूर्यविक्रम ज्ञवाली (सन् १८९८–१९८५) जस्ता इतिहासकारले विशेषतः गोरखाका राजा पृथ्वीनारायण शाह (सन् १७२३–१७७५) लगायत शाह राजाहरूको प्रशंसागानमा आफ्नो प्रशस्त बौद्धिक क्षमता खर्चे । पृथ्वीनारायण शाहले सैनिक हमला गरेर नेपाल (काठमाण्डौ उपत्यका)लगायत धेरै स–साना राज्य जितेका थिए । ती इतिहासकारले पृथ्वीनारायण शाहलाई ‘नेपालका एकीकरणकर्ता’ र ‘आधुनिक नेपालका रचयिता’जस्ता विशेषणमात्र दिएनन्, बरु उनको नेतृत्वमा भएको सैनिक हमलाको क्रममा हमला भोगेका राज्यका जनतामाथि भएको नृशंस दमनलाई समेत छोप्न भरमार प्रयत्न गरे । विशेषतः कीर्तिपुरका जनताको नाक काटिएको घटनाबारे उनीहरूले गर्ने गरेका व्याख्यालाई यसको उदाहरणको रुपमा लिन सक्छौं । पृथ्वीनारायण शाहका प्रशंसक भएकाले उनीहरू कीर्तिपुरका मानिसहरूका नाक काटिएको आततायी घटनाबारे फादर गुस्सेपे आफैले देखेको वर्णन र अरु इतिहासकारका कथन सुन्न पनि चाहँदैनन् । (कीर्तिपुरको सो घटनासम्बन्धी वर्णनका लागि हेर्नुहोस्,फादर गुस्सेपेएकाउन्ट अफ द किङदम अफ नेपाल१७९९,विक्रमजित हसरतहिस्ट्री अफ नेपाल एज टोल्ड बाई इट्स ओन एण्ड कन्टेम्पोरारी क्रोनिकल्स१९७० र पर्सिभल लान्डननेपाल१९२८)

बाबुराम आचार्य (नेपालको संक्षिप्त वृत्तान्त–२००६) देखि नेपालका आजका अति तर्कजीवी बुज्रुकहरू जस्तै दिनेश सत्याल उर्फ सौरभ (फिरङ्गी मिथ नसकटपुर,कान्तिपुर दैनिक २०७१ मंसिर २४), सुजित मैनाली (पृथ्वीनारायणलाई किन देखिसहन्न पश्चिम?–अन्नपूर्ण दैनिक,२०७३ पुस २३) ले कीर्तिपुरका जनताको नाक काटेको इतिहासलाई असत्य वा अतिरञ्जित भनी व्याख्या गर्ने गरेका छन् । नेपालमाथि पृथ्वीनारायण शाहले कब्जा जमाइसकेपछि देशनिकाला गरिएका इसाई मिसनरीहरूले रिसमा त्यस्तो अतिरञ्जनापूर्ण प्रचार गरेको उनीहरूको विश्वास छ । तथापि धेरै विद्वानले ती लेखकहरूलाई पृथ्वीनारायण शाहका अन्धभक्त भएको भनी आलोचना गरेका छन् । (उदाहरणको लागि हेर्नोस्,राजेन्द्र महर्जन लिखितम कीर्तिपुरे नाक माग्दैछु’ (कान्तिपुर,२०७० माघ ९)कविताराम श्रेष्ठ लिखितकीर्तिपुरेहरूको नाक,कान र ओठ काटेको तथ्य लुकाउने ... देख्दा नेवार जातिलाई च्वास्स बिझ्छ’–कीर्तिपुर सन्देश,२०७० माघ २९ गते) ।

इतिहास:जे भएको थियो

कीर्तिपुरको सो घटनाबारे फादर गुस्सेपेको भनाइ उल्लेख गर्दै यो लेख आरम्भ गर्नु उपयुक्त हुनेछ । गुस्सेपेको प्रत्यक्षदर्शी वर्णन यसप्रकार छः

“...लामो समयको घेराबन्दीका कारण निकै थाकेका कीर्तिपुरका बासिन्दाको नाममा गोरखाका मानिसले आममाफी जारी गरेका थिए । आफूलाई दिइएको वचन पूरा हुने आशासहित कीर्तिपुरका जनताले आफूलाई बन्दीको रुपमा आत्मसमर्पण गरे । त्यही बेला गोरखालीहरूले सहरका सबै द्वार र किल्ला कब्जा गरे । नुवाकोटमा रहेका पृथ्वीनारायण शाह लामो यात्रा छिचोलेर दुई दिनपछि कीर्तिपुर पुगे । कीर्तिपुर पुगेर उनले आफ्ना भाइ सुरप्रताप शाहलाई सहरका सबै बासिन्दाको नाक र ओठ काट्न आदेश दिए । आफ्नो आमाको काखमा बसेका बाहेक सबै केटाकेटीलाई समेत नछोड्न भनियो । कति जना मानिस रहेछन् भनी थाहा पाउन त्यसरी काटिएका सबै नाक र ओठ एकै ठाउँमा जम्मा गर्न आदेश दिए । अनि कीर्तिपुर सहरको नाम नासकाटपुर राख्न आदेश दिए । नासकाटपुरको अर्थ नाक काटिएकाहरू सहर हो । निकै आतङ्क र क्रूरतापूर्वक पृथ्वीनारायण शाहको आदेश पालना गरियो । फुक्ने बाजा बजाउनेहरू बाहेक कोही पनि यो क्रूरताबाट जोगिएनन् । त्यतिबेला त्यस्तो प्रकारको अमानवीय दमन भएको जानकारीविना नै फादर माइकल एन्जेलो सुरप्रताप शाहको घरमा गएर विचारा कीर्तिपुरबासीहरूको पक्षमा अनुनय गर्न गएका थिए । यसरी नाक र ओठ काटिएका धेरै मानिसले पीडा सहन नसकेर आफ्नो प्राण त्यागेका थिए भने अति बलिया मानिस हामीकहाँ औषधि उपचारका लागि आएका थिए । मरेका मानिसको खप्परका जस्ता लाग्ने दाँत र नाक भएका मानिस धेरै सङ्ख्यामा देख्दा निकै चकित पारेको थियो ।” (हेर्नोस् गुस्सेपे–‘एकाउन्ट अफ द किङदम अफ नेपाल’ –सन् १७९९,पृष्ठ ३१८९)

यो वर्णनले बाबुराम आचार्यलाई निकै दुःखित पारेको थियो र यसलाई लत्याउन उनले आफूले सक्दो प्रयास गरेका थिए । त्यही भएर बाबुराम आचार्यले आफ्नो कृति नेपालको संक्षिप्त इतिहास (२००६) मा अन्तिमका पूरा सात पृष्ठ पृथ्वीनारायण शाहको बचाउमा खर्चेका छन् । उनको विचारमा कीर्तिपुर, भक्तपुरलगायत गोरखाली सेनाले कब्जा गरेका अन्य ठाउँमा मच्चाएको नृशंस दमनका केही घटनाबारे फादर गुस्सेपे र अन्य विदेशी लेखकले लेखेका सबै दाबी पृथ्वीनारायण शाहलाई बदनाम गर्न लेखिएका वर्णन हुन् । नेपालबाट इसाईहरूलाई निकाला गरेपछि रिसाएर ती विदेशीले शाहको बदनाम गर्न खोजेको उनको भनाइ हो । तर कीर्तिपुरमा नाक र कान काटेको घटना भने उनी पूर्ण रुपमा अस्वीकार गर्दैनन् । बरु उनले कीर्तिपुरमाथि गोरखाले कब्जा गरेको पहिलो बिहान गोरखाली सिपाहीको हत्या गर्न आँट गर्ने केही युवाको मात्र नाक र कान काटिएको भनी आफ्नै कथा बुनेका छन् ।

कीर्तिपुर कब्जा गर्न रातभर नसुतेका केही गोरखाली सिपाही बिहान सुस्ताइरहेका थिए । उनीहरूमाथि ८१० जना गुण्डाहरूले पानीघट्टका काम नलाग्ने घट्टले हमला गरे । हमलामा परी ८१० जना गोरखाली सिपाही मारिए । पछि ती हमलाकारीलाई गिरफ्तार गरियो । काजी सुरप्रताप शाहले राजा पृथ्वीनारायण शाहसमक्ष उनीहरूलाई के सजाय दिने भनी सोधनी भयो । राजाले भने– “मैले प्रजाको जीवन र सम्पत्तिमा क्षति नगर्ने वचन दिएको थिएँ । उनीहरूले जस्तोसुकै अपराध गरे पनि उनीहरूलाई मृत्युदण्डको सजाय दिन्नँ । बरु उनीहरूका कान र नाक काटेर देश निकाला गर ।(बाबुराम आचार्य,नेपालको संक्षिप्त इतिहास,सन् २००६,पृष्ठ ३५२)

बाबुराम आचार्यले पृथ्वीनारायण शाहको बचाउमा अझ निम्न शब्द पनि लेखेका छन्, केही इसाई धर्मप्रचारकले पृथ्वीनारायण शाहलाई दमनकारी र बर्बर राजाको रुपमा प्रस्तुत गर्ने असफल प्रयास गरे । वास्तवमा उनीहरूले तिललाई पहाड बनाएका छन् ।(उही)

इतिहासकार एल.एफ. स्टिलर (१९२८–२००९) ले कीर्तिपुर घटनाबारे बाबुराम आचार्यको वर्णन अस्वीकार गरेका छन् । उनको मतमा आचार्यले आफ्नो व्याख्याको कुनै प्रमाण प्रस्तुत गरेका छैनन् । स्टिलरले आचार्यलाई अन्य कुनै प्रमाण फेला नपर्दासम्म फादर गुस्सेपेको भनाइलाई पूर्ण रुपमा अस्वीकार गर्नु वा संशोधन गर्नुभन्दा स्वीकार्न आग्रह गरेका थिए । उनले लेखेका छन्ः

वास्तवमा तीन वटा स्वतन्त्र स्रोतहरूफादर गुस्सेपेको भनाइ,वंशावली र लीलानाट्यश्वर शर्मा बराल तथा सूर्यविक्रम ज्ञवालीका किताबमा उल्लेखित सो घटनासँग सम्बन्धित संस्कृत कविताका साथै कर्कप्याट्रिकले घटना भएको झण्डै तीस वर्षपछि आउँदा भेटेका त्यतिबेला जीवित घटनाका साक्षीहरूको भनाइअनुुुसार पनि कीर्तिपुर घटनाको व्याख्या अतिरञ्जना थिएन,बरु सिधा तथ्यहरू थिए । ती प्रत्यक्षदर्शीहरू त्यतिबेला उनको यात्रामा भरियाको रुपमा आएका थिए ।(लुडविग स्टिलर,पृथ्वीनारायण शाह इन द डे लाइट अफ दिव्य उपदेश,सन् १९६८,पृष्ठ ३४)

स्टिलरले सो विवादको दस वर्षपछि आफ्नो अर्को किताब द राइज अफ द हाउस अफ गोरखाः अ स्टडी इन द युनिफिकेसन अफ नेपाल प्रकाशन हुने समयसम्म पनि नसुल्झिएको लेखेका छन् । त्यतिबेलासम्म बाबुराम आचार्यले पनि आफ्नो अडानमा कुनै परिवर्तन गरेका थिएनन् । नेपाली इतिहासकार कृष्णकान्त अधिकारीले पनि बाबुराम आचार्यले पृथ्वीनारायण शाहलाई दोषमुक्त गर्न गरेको प्रयासको आलोचना गरेका छन् ।

बाबुराम आचार्यजस्ता लेखकहरूले कीर्तिपुरका जनताविरुद्ध दमनका क्रममा गरेका नृशंसताबाट पृथ्वीनारायण शाहलाई दोषमुक्त गर्ने प्रयास गरे । कीर्तिपुरमा नाक काटेको घटना सम्बन्धमा पृथ्वीनारायण शाहको आदेशबारे फादर गुस्सेपे,कर्कप्याट्रिक र अन्य नेपाली वंशावलीका भनाइ गलत भएको आचार्य बताउँछन् । एक क्षणलाई मानौं,इसाई मिसनरीको नियतमाथि शंका गरी देश निकाला गरेका कारण गोरखाली शासकविरुद्ध युरोपेली लेखकले पूर्वाग्रहवश त्यस्ता कुरा लेखेका थिए रे । तर पृथ्वीनारायण शाहका समकालीन कवि ललितवल्लभको भनाइ कसरी आँखा चिम्लेर लेखिएको हुनसक्ला र?ललितवल्लभले पनि राजाले कीर्तिपुरका केही मानिसको नाक काटेको लेखेका छन् । आचार्यले आफ्नो तर्कलाई बलियो बनाउन कविले उल्लेख गरेका केही शब्दमाथि समेत प्रश्न गर्ने असफल प्रयास गरेका छन् । (कृष्णकान्त अधिकारी,अ ब्रिफ सर्भे अफ नेपाली हिस्टोरियोग्राफी,सन् १९८०,पृष्ठ ५१)

त्यस्तै गरी इतिहासकार तुल्सीराम वैद्य र तीर्थप्रसाद मिश्र (आधुनिक नेपालको राजनैतिक इतिहास,सन् १९९६,पृष्ठ ४२५) ले पनि घटनाको आलोचनात्मक रुपमा विश्लेषण गरेपश्चात बाबुराम आचार्यको भनाइप्रति असहमति व्यक्त गरे र कीर्तिपुरको घटना भएको निश्चित गरे । अर्का लेखक ईश्वर बरालको नामले बढी चर्चित लीलानाट्यश्वर शर्मा (१९२३–१९९७)ले बेलायतको लण्डन विश्वविद्यालयलाई बुझाएको आफ्नो विद्यावारिधि शोधमा सो घटनाबारे प्रस्ट रुपमा लेखेका छन्ः

सन् १७६६ को १४ मार्च शुक्रबारका दिन आत्मसमर्पण गरेको दुई दिनपछि उन (पृथ्वीनारायण शाह)ले सुरप्रपातलाई सहरमाथि कब्जा जमाउन पठाए । उनी त्यहाँ पुगेलगत्तै बा¥ह वर्षदेखि माथिका सबै पुरुषलाई अर्को दिन किल्लामा भेला गराउन आदेश दिए । नयाँ राजालाई सम्मान व्यक्त गर्न त्यस्तो भेला आयोजना गरिएको भनिएको थियो । तर त्यतिबेला पृथ्वीनारायण शाह आफै भने त्यहाँ थिएनन् । जब मानिसहरू अर्को दिन भेला हुन भनिएको ठाउँमा भेला भए,सुरप्रपातले उनीहरूमाथि निकै निर्मम क्रूरताका साथ दुव्र्यवहार गरे । सहरका मुली मानिसहरूको हत्या गरियो र बाँकीमध्ये अधिकांशको नाक काट्न सिपाहीहरूलाई आदेश दिइयो । साथै उनले कीर्तिपुरको किल्लामा आगजनी गरे र त्यहाँ रहेका घरहरू पनि जलाइदिए । सुरप्रपातको एउटा आँखा फोडेका कारण पृथ्वीनारायण शाह कीर्तिपुरका मानिससँग रिसाएको भनिन्छ । त्यसको बदला लिन उनले सबैका नाक र ओठ काट्न आदेश दिए । फादर गुस्सेपेका बयानबाट पनि यो कुरा प्रस्ट हुन्छ । गुस्सेपेको वर्णनमा त पाटनको कापुचिन मिसनरीका फादर माइकल एन्जोलो कीर्तिपुरका जनताको पक्षमा याचना गर्न सुरप्रपात शाहसामू पुगेका भनी लेखेका छन् । पृथ्वीनारायण शाहका मुल पादरीमध्येका एक समकालीन कवि ललितबल्लभले पनि नाक काटेको घटनाबारे लेखेका छन् । सन् १७९३ मा नेपाल पुगेका कर्कप्याट्रिकले आफ्नो भ्रमणका क्रममा उत्तिबेला नाक काटिएका मानिसहरूसँग भेटेका थिए । नाक,कान र टाउको काट्ने आदेश भोटेहरूलाई दिइएको पनि बताइन्छ । पृथ्वीनारायण शाहले ती भोटेलाई पनि अत्याचार गरेको भन्दै हत्या गर्न लगाएका थिए । (लीलानाट्येश्वर शर्मा बराललाइफ एण्ड राइटिङ अफ पृथ्वीनारायण शाह,सन् १९६४,पृष्ठ २४८)

भीमसेन थापा प्रधानमन्त्री रहँदा (सन् १८०६–३७) अर्थात् पृथ्वीनारायण शाहले नेपालमाथि विजय हासिल गरेको झण्डै चार दसकपछि एक जना नेवार लेखक पण्डित सुन्दरानन्द बांडाले एउटा पुस्तक लेखेका थिए । त्यो पुस्तकको नाम थियो– त्रिरत्न–सौन्दर्यगाथा । उक्त पुस्तकमा लेखकले पृथ्वीनारायण शाहको उँचो प्रशंसा गरेका छन् । तर उनले पनि कीर्तिपुरका मानिसहरूको नाक काटिएको घटनाबारे आफ्नो पुस्तकमा लेखेका छन् । उनले आफ्नो कृतिमा संस्कृतका श्लोकहरूसँगै पुरानो खस भाषा अथवा पर्वते (गोरखाली) भाषामा प्रस्टसँग त्यतिबेला कीर्तिपुरमा पुरुषका मात्र होइन, महिलाका पनि नाक काटिएको लेखेका छन् ।

आफूलाई कानो बाजे भनेको रिसमा सुरप्रतापले पृथ्वीनारायण शाहको अनुमतिमा कीर्तिपुरका पाँच वर्षभन्दा माथिका सबै पुरुष र महिलाका समेत नाक काट्न लगाएका थिए । उनीहरूका सबै सम्पत्ति र जमिन खोसेका थिए । गोरखाली कीर्तिपुर नगरभित्र पसेपछि धोखा दिनेलाई सजायस्वरुप त्यस्तो गरियो । आजसम्म पनि कीर्तिपुरका जनताले धोखा दिन छाड्नेछैनन्,न त उनीहरू सुखी नै हुन सक्छन् ।(पण्डित सुन्दरानन्द विरासिता,त्रिरत्न सौन्दर्यगाथा,सन् १९६२,पृष्ठ ११६) ।

हालसालै मणिक बज्राचार्य र एक्सेल मिखायल्सले हिस्ट्री अफ द किङ्स अफ नेपालप्रकाशन गरे । पुस्तकको पहिलो खण्डमा खस भाषामा लेखिएका केही छानिएका नेपाली वंशावलीको उतार समेटिएका छन् । दोस्रो खण्डमा पनि यसका केही बाँकी उतार समावेश छन् । कीर्तिपुरका मानिसको नाक काटिएको घटनासम्बन्धी अभिलेख पहिलो खण्डमा प्रकाशन गरिएको छ । दोस्रो खण्डमा यसको अंग्रेजी अनुवाद समावेश छ, जुन यसप्रकार छः

कीर्तिपुर युद्धको समयमा सुरप्रताप शाहको एउटा आँखा फुटेको थियो । राजाले यसैको रिस साँध्न कीर्तिपुरका मानिसका नाक काट्न आदेश दिए । बा¥ह वर्षभन्दा माथिका सबै मानिसको नाक काटियो । काटिएको नाकको तौल सत्र धार्नी,एक सेर भएको थियो । नाक काटिएका जम्मा मानिसको सङ्ख्या ८६५ थियो । कीर्तिपुरका मानिसले सात वर्षसम्म गोरखालीलाई कीर्तिपुर सहर पस्न दिएका थिएनन् । कीर्तिपुरका जनता पराजित भएपछि मात्र गोरखाली सेना त्यहाँ पस्न सकेका थिए । त्यस्ता बहादुर सिपाही र जनता पराजित भए र उनीहरूका नाक काटियो । (मणिक बज्राचार्य र एक्सेल मिखायल्स,नेपालीकाभुपालवंशावली हिस्ट्री अफ द किङ्स अफ नेपालः बुद्धिस्ट क्रोनिकल,सन् २०१६,पृष्ठ १३४)

रैथाने विज्ञको कथन

माथि उल्लेखित स्रोतको चर्चापछि कीर्तिपुरका रैथाने विज्ञ शुक्रसागर श्रेष्ठ (सन् १९५२–२०१७) को कथनलाई प्रस्तुत गर्नु उपयुक्त हुनेछ । नेपालका विख्यात पुरालेखशास्त्री तथा पुरातत्वविद् कीर्तिपुरकै रैथाने बासिन्दा शुक्रसागर श्रेष्ठले खस भाषामै लेखेको एउटा लेखमा आफूसँग भएका ऐतिहासिक अभिलेखको आधारमा कीर्तिपुरमा नाक काटेको घटना निश्चय गरेका छन् । नाक काटिएको पुर्खाको सन्तानको रुपमा आफूलाई अपमान गर्ने गरिएका आफ्ना अनुभव पनि उनले सो लेखमा उल्लेख गरेका छन् । उनले सो घटनालाई अस्वीकार गर्नुभन्दा सबैले त्यो सत्यलाई स्वीकार्दा नै सो घटनाका पीडितका सन्ततिले राहत महसुस गर्ने कुरामा जोड दिएका छन् । आफ्नो लेखमा चर्चा गरेका अभिलेखको विद्युत्तीय प्रति मेरो अनुरोधमा उनले मलाई उपलब्ध गराएका थिए । उनको सहृदयताको निम्ति म सदा आभारी रहने छु । मलाई अभिलेखका विद्युत्तीय प्रति उपलब्ध गराएको केही समयपश्चात् उनको दुःखद् निधन भयो । उनले उपलब्ध गराएका तिनै अभिलेखको अनुलिपि प्रस्तुत छः

शुक्रसागर श्रेष्ठबाट प्राप्त अभिलेखको अनुलिपिको अनुवाद

उप्रांत माहाराज करूनानीधान् दया सागर नेपालमा श्री पृथ्वीना

रान् माहाराज प्रवेस हुंदा ३ सहरको विर्ता थामी वक्सेको र हामि कि

र्तिपुर्याहरुको विर्ता हरने नाष कात्ने हुनाले ३ सहर वमोजि

म हामि नाष कतुवाहरुको विर्ता थामि पाउ भनी विंति चर्हा

उदा कालु पाध्या मार्ने हुनाले नाष कात्याको विर्ता हरायाको

भनी हुकम् भै नाष कतुवा जतिलाई पाषो तार षेत रोपनी २

दिनु भनी वक्सेको षेत रोपनी १००० कमाई भोग चलन गरी

षाई वस्यामा पछी सो षेतको तिरो दराउनु लाई कौसी पथाउदा

जाच दिने र जाच णदिने हुनाले पछि कौसीवात पक्री जाच दि

नेलाई पैरू ।। जाच नदिने अत्यर्हि भनी दवल पैरु १ तिरो

दराई गुर्ज्यूको षानगीमा षुवा थप्येको श्री पृथ्वी नारान्

माहाराज नेपाल प्रवेस हुंदा ३ सहरको विर्ता थामि वक्से

को षेत रैकर णथहर्ने नाष कतुवाहरुलाई वक्सेको षेत

रैकर थहराई नाप जाच गर्नु पाउने होईन नाप जाच ण

गर्नु भनी हुकम मर्जिको तोक प्रमागी नाप जाच गर्न अडा

लाई पाउने हुन प्रभू जो मर्जि हुकम् ------------------

अभिलेखबारे टिप्पणी : यो युद्धमा पराजयपश्चात नाक काटिएका र आफ्नो जमिन कब्जा गरिएका कीर्तिपुरका जनताले राजा पृथ्वीनारायण शाहलाई बुझाएको बिन्ती पत्र हो । यो अभिलेख तत्कालीन सरकारलाई आफूबाट खोसिएको जमिन फिर्ता गर्न उनीहरूले चढाएको निवेदन हो । यो अभिलेखले पनि राजा पृथ्वीनारायण शाहले कीर्तिपुरका ती मानिसको नाक काट्न आदेश दिएको र उनीहरूका जग्गाजमिन कब्जा गरेको प्रस्ट हुन जान्छ । युद्धमा कालु पाण्डेलाई मारेकै कारण उनीहरूलाई यस्तो सजाय दिइएको यो अभिलेखले प्रस्ट पार्छ । राजा पृथ्वीनारायण शाहले उनीहरूका जमिन कब्जा गरे पनि उनलाई प्रत्येकलाई सजायस्वरुप पाखो तार खेत दुई–दुई रोपनी जग्गा दिइएको थियो । साथै यो अभिलेखले नाक काटिएका सबै मानिसलाई उनीहरूलाई दिइएको खेतको भूमिकर तिरे–नतिरेको बुझ्न कौसीखानामा हाजिर हुन बोलाइएको, तर डरले प्रायसः हाजिर नभएको र त्यसै कारण उनीहरूलाई थप सजाय गरेको देखाएको छ । पछि भए पनि हाजिर हुन आउनेलाई १÷२ रुपैयाँ र जो हाजिर हुन आएका थिएनन्, उनीहरूलाई १ रुपैयाँ जरिबाना गरिएको थियो ।

यो अभिलेख कहिले लेखिएको थियो अथवा कति पुरानो हो, त्यो भने प्रस्ट छैन । तथापि कीर्तिपुरका मानिसको नाक काटिएको आततायी घटनाको सत्य बुझ्न दृष्टिबाट यसले पीडितको अवस्था प्रस्तुत गरेकाले महत्वपूर्ण दस्तावेज हो ।

भागवत प्रधानसँगको अभिलेख

काठमाण्डौको थबही निवासी भागवत प्रधानले हालै एउटा अभिलेखको हिस्सा आफ्नो फेसबुक पेजमा सार्वजनिक गरे । सो अभिलेखमा कीर्तिपुरका मानिसको नाक काटिएको घटनाको व्याख्या गरिएको छ । उनले आफ्नो परिवारसँग त्यो अभिलेख भएको बताएका छन् । यो अभिलेख पुनः प्रकाशन गर्ने अनुमति दिई पाठकलाई लाभान्वित गरेकाले म भागवत प्रधानप्रति आभार व्यक्त गर्छु ।

अघिका किर्तिपुरका लदाञिमा सुर प्रताप साह कन य

काक्षि गरि दियाको रिसले नेपाल सम्वत ८९६ साल अ

क चत्र सुक्र त्र:तया ।।  ।। बारका दिन किर्तिपुर प्रवेस

गरि वाहालि चलाइ भोलिका दिन मा बार्ह १२ वर्ष देषि उ

भोका प्रजाहरु सबैले राजा का सलाम गर्नु आउनु भनि छ

ल काल गरि वोलाइ कोतमा थुनि  - - दिन पछि सबै प्र

जाहरुका नाष काति दियो र नाप तौलाइ हेर्दा बार्ह १२

धार्नि १ शेर ६ तोला  छ  - - प्रजाहरु ज्मा आथ सय पयसथि

८६५ जना फेरिइन ।। दिन पछि नाष काटन्या भोत्याहरुला

इ नाष मात्र कात भन्याका ओठ स्मेत काति दियो भनि भो

त्याहरु सबै ज्मा जमलोक पथाइदिया = जुन किर्तिपुरका

भागवत प्रधानसँग भएको अभिलेखको अनुलिपिमाथि टिप्पणी

यो अभिलेखले कीर्तिपुर युद्धका क्रममा सुरप्रतापको एउटा आँखा फुटेको आक्रोशमा कीर्तिपुर प्रवेश गरेपछि कसरी बा¥ह वर्षभन्दा माथिका सबैले राजालाई सलामी चढाउन आउनु भनी आदेश जारी गरिएको थियो भन्ने कुरा लेखिएको छ । तर जसै ती मानिसहरू सलामी चढाउन आए उनीहरूलाई सैनिक किल्ला (कोत)मा कैद गरियो । एक दिनपछि उनीहरूको नाक काटियो । यसरी काटिएको नाकको जम्मा तौल ३०.३४ किलोग्राम (१२ धार्नी १ सेर र ६ तोला)थियो । जम्मा आठ सय ६५ जना मानिसको नाक काटिएको थियो । पछि नाक काट्ने जिम्मा पाएका भोटेहरूलाई मृत्युराज यमराजको राज्य यमलोक पठाइयो । अर्थात उनीहरूलाई पनि मारियो किनभने उनीहरूलाई नाक मात्र काट्न आदेश दिइएको थियो, तर उनीहरूले आदेश नदिइएको ओठ पनि काटेका थिए ।

यो अभिलेखको शुरुमा नेपाल सम्बत् ८९६ (सन् १७७५) उल्लेख गरिएको छ । तर यो साल किन उल्लेख गरियो, प्रस्ट छैन । किनभने वास्तवमा कीर्तिपुरको घटना सन् १७६५ मा भएको थियो । तथापि यो अभिलेखमा प्रयोग भएको पुरानो पर्वतीया÷खस भाषाको अक्षर शैलीले यसको मौलिकता झल्काउँछ ।

यो अभिलेखले कसरी तत्कालीन सरकारले कीर्तिपुरका मानिसलाई झुक्याएर बाह्र वर्ष उमेरभन्दा माथिका सबै मानिसलाई राजालाई सलामी चढाउन बोलाइएको थियो, तर भेला भएका मानिसलाई सैनिक कारागारमा थुनिएको थियो, अनि उनीहरूको नाक काटिएको थियो भन्ने कुराको व्याख्या गरेको छ । नाक काटिएका मानिसको जम्मा सङ्ख्या ८६५ जवान भएको तथ्याड्ढ ब्रजाचार्य र मिखायल्सको किताबमा उल्लेखित सङ्ख्यासँग मेल खाएको छ । अधिकांश इतिहासकार कीर्तिपुरका बासिन्दाको नाक कान काटिएको घटनामा एकमत भए पनि केही इतिहासकारले दाबी गरेको काटिएको नाकको धार्नीमा भने फरक–फरक मत छ । भागवत प्रधानसँग भएको अभिलेखमा उल्लेखित काटिएको नाक र ओठको जम्मा तौल (३०.३४ किलोग्राम), बज्राचार्य र मिखायल्सले दिएको तौल (४२.६२ किलोग्रँम) भन्दा कम छ । तौलकै सम्बन्धमा पर्सिभल लाण्डनले लेखेका छन्, “हुकुम तामेलीको प्रमाणस्वरुप पृथ्वीनारायणसामु अस्सी पाउन्डभन्दा कम तौल नभएका नाक र ओठकोे त्यो भयानक तथ्य प्रस्तुत गरिएको थियो (पर्सिभल लाण्डन, नेपाल, सन् १९२८, पृष्ठ ६१) ।’ यो तौल बज्राचार्य र मिखायल्सको वंशावलीमा प्रस्तुत तौलसँग नजिक छ । प्रधानको अभिलेखमा काट्न भनिएको नाकमात्र नकाटी आेंठसमेत काटिएको हुनाले नाक काट्ने काम दिइएका भोटेहरूलाई समेत मारिएको उल्लेख छ । यो अभिलेख महत्वपूर्ण छ, किनभने यो रैथाने लेखकले लेखेका छन् र कुनै बेला शाह परिवारको सेवामा रहेका काठमाण्डौ ठमेलका प्रधान परिवारबाट प्राप्त हुनुका कारण पनि यसको महत्व छ ।

कीर्तिपुर घटनाको वास्तविक दिन र मिति दर्शाउने वंशावली

हालैसालै मात्र मेरो जानकारीमा आएको एउटा वंशावलीको अर्को पृष्ठ म अर्को प्रमाणको रुपमा प्रस्तुत गर्न चाहन्छु । कीर्तिपुरमा नाक काटिएको घटनाको वास्तविक दिन, मिति, महिना र वर्ष समेत यो अभिलेखमा खुलाएको छ । गोरखा हमलाका केही अन्य अभिलेखका साथै यसमा कीर्तिपुरमाथिको हमलाको व्याख्या गरिएको छ । यसका अन्तिम पाँच पंक्ति प्रत्यक्ष रुपमा यो लेखको चर्चासँग सम्बन्धित छ । त्यसैकारण सो अभिलेखका अन्तिम पाँच पंक्तिको उतार प्रस्तुत छः

 

शाके १६८६ संवत १८२१ आश्र्विण मासे दिन गता ४ आश्र्विन वदि ६ रोज १ किर्त्तिपुरमा जाई लाग्याको फुटेन

शाके १६८७ संवत १८२२ ज्येष्ट मासे दिन गता १ ज्येष्ट वदि ६ रोज ६ रात्री लुटि कोट मर्या र्याको दिन

।। पुनः चैत्र मासे दिन गता ३ चैत्र मलमास शुदि रोज ४ किर्त्तिपुर मार्याको किर्तिपुरका प्रजाहरू

को सवैको नाक काटेको चैत्र मसे दीं गते २७ रोज ७ मा

टिप्पणी

एक जना रैथाने नेवार अभिलेखकर्ताले लेखेको यो अभिलेखले कीर्तिपुरमा नाक काटिएको घटनालाई अभिलेखीकरण गरेको छ । साथै त्यो घटना कुन दिन, मिति, महिना र वर्षमा भएको थियो भन्ने कुरा प्रस्ट दिइएको छ । त्यतिमात्र होइन, यसमा चन्द्रमासको दिन र महिनासमेत प्रस्ट रुपमा लेखेको छ । नेपाली इतिहासकार दिनेशराज पन्तले यो मिति नै कीर्तिपुरको घटना भएको सही मिति भएको स्वीकारेका छन् (दिनेशराज पन्त, ‘पृथ्वीनारायण शाहले कीर्तिपुरबासीको नाक काटेका थिए ?’ २०१६) । यो अभिलेखको रोचक कुरा के हो भने यसमा दुवै सम्वत शाके र विक्रममा सूर्यमास र चन्द्रमास दुवैमा महिना र सूर्यमास र चन्द्रमासमा मिति र दिनसमेत एकसाथ खुलाइएको छ ।

यो अभिलेखअनुसार सन् १७६५ को १७ मार्चका दिन (वि.सं. १८२२ चैत ३) गते कीर्तिपुर कब्जा गरियो । तर सन् १७६५ को १० अप्रिल अर्थात चैत २७ को दिन अथवा कीर्तिपुरमाथि विजय गरिएको दिनले २४ दिनपछि सबै कीर्तिपुरबासीका नाक काटिएको थियो । यो अभिलेखले कति जना मानिसको नाक काटियो भन्ने विषयमा बोलेको छैन । तर यसमा ‘कीर्तिपुरका सबै बासिन्दाको नाक काटिएको’ उल्लेख छ । यो अभिलेखले कसको आदेशमा नाक काटिएको थियो अथवा नाक काट्ने काम कसले गरेका थिए, लेखिएको छैन । अर्को ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा भनेको यो अभिलेख पुरानो खस भाषामा लेखिएको छ ।

 

उपसंहार

माथि चर्चा गरिएका ऐतिहासिक अभिलेखका अतिरिक्त त्यो त्रासदीपूर्ण घटनाका जीवित र सबभन्दा उत्तम प्रमाणको रुपमा कीर्तिपुरका बासिन्दाहरू स्वयंलाई लिन सक्छौं । आफ्ना पुर्खामाथि कस्तो घटना घटित भएको थियो भन्ने कुरा उनीहरू आफ्ना बुबा, हजुरबुबा र जिजुबुबाहरूबाट सुन्दै हुर्केका छन् । गोरखाली हमलाकारीले काट्न लगाएको कीर्तिपुरका मानिसका नाक, ओठ र कानको जम्मा तौल कति भएको थियो भन्ने विषयमा बहस र विवाद भई नै रहने छ । तर त्यो घटना घटित भएकै छैन भनी ठाडै अस्वीकार गर्नु भनेको वास्तविक इतिहास नै अस्वीकार गर्नु हो । पाठकको निम्ति नेपालका गनिएका इतिहासकार, शाह राजाहरूका प्रशंसक एवं गोरखाको इतिहासबारे चार खण्ड पुस्तक निकालेका दिनेशराज पन्तले कीर्तिपुरका मानिसका नाक काटेको घटना सम्बन्धमा लेखेको कुरा रोचक लाग्न सक्छ :

‘मेरो अनुसन्धानले मैले कीर्तिपुरमाथि सन् १७६५ मार्च १७ (विसं १८२२ चैत ३ गते) विजय हासिल गरेको र १० अप्रिल (३ चैत) का दिन नाक काटिएको देखाएको छ । कति जना मानिसको नाक काटियो ? कति धार्नी पुगेको थियो ? मेरो विचारमा कसैले पनि यो नापतौल गरेको थिएन । पृथ्वीनारायणले यो घटना नघटाएका भए उत्तम हुने थियो ।’ (दिनेशराज पन्त, ‘पृथ्वीनारायण शाहले कीर्तिपुरबासीको नाक काटेका थिए?’ (अनलाइन खबर,२०७३ माघ ४)

त्यस्तै, अर्का विख्यात नेपाली इतिहासकार महेशराज पन्त पनि त्यही विचारसमूहबाट आएका हुन् । दिनेशराज पन्त उनका भाइ हुन् । पृथ्वीनारायण शाहको मानमर्दनबाट उनी ज्यादै दुःखी छन् तर उनी कीर्तिपुरका मानिसको कयौं धार्नी नाक काटिएको विश्वास गर्ने र कीर्तिपुरका मानिसको नाक काटिएको घटना अस्वीकार गर्ने दुवै थरी अतिवादी भनाइको विरोध गर्छन् । उनी लेख्छन्, ‘निसन्देह पृथ्वीनारायण शाहले कीर्तिपुरका मानिसका नाक काटेका थिए, तर त्यसरी सबैको काटिएको नाक भने कयौं धार्नी पुगेको कुरा भने असत्य हो (महेशराज पन्त,पृथ्वीनारायण नायक कि प्रतिनायक,नागरिक दैनिक,२०७४ पुस २९) ।

अझ अघि बढेर उनी सन् १७७० मा पृथ्वीनारायण शाहका दरबारिया कवि शक्त्तिवल्लभले लेखेको पुस्तक ‘पृथ्वीन्द्रवर्णाेदय’ का कुरा ल्याएर सो घटनाको पुष्टि गर्छन्, जसमा प्रस्टतः कीर्तिपुरका मानिसको नाक काटिएको घटनाको वर्णन गरिएको छ । तथापि सो घटनालाई महेशराज पन्तले पृथ्वीनारायण शाहको कुनै भत्र्सनायोग्य कामको रुपमा प्रस्तुत गरेका भने छैनन् ।

कीर्तिपुरको नाक काटिएको घटना पृथ्वीनारायण शाहले गर्न लगाएको त्यस्तो एकै मात्र घटना भने थिएन । उनले चोपुर गाउँमा बासिन्दाका नाक र हात पनि काटेर सजाय दिएका थिए । पृथ्वीनारायणले नेपालमण्डलमाथि कब्जा गरेको विरोधमा त्यहाँका बासिन्दाले विद्रोह गर्ने हिम्मत गरेका थिए (पण्डित सुन्दरानन्द विरचित, त्रिरत्न सौन्दर्यगाथा, सन् १९६२, पृष्ठ १३५) ।

पृथ्वीनारायण शाहले गरेका सबै नृशंसतालाई छोपेर केही इतिहासकार भने उनको बचाउ गर्न रुचाउँछन् । उनीहरू पृथ्वीनारायणले आफ्नो शासनकालमा पराजित गरेका मानिसमाथि गरेको क्रूर व्यवहारको चर्चा पनि गर्न चाहँदैनन् । पृथ्वीनारायणको हमलाबाट फाइदा उठाइरहेका वा फाइदा लिएका मानिसले उनको गौरवगान गाउन नछाड्नु स्वाभाविक हो । बुझ्न नसकिने कुरा त के हो भने शाहवंशको राजतन्त्र समाप्त भइसकेर पनि आज सत्तासीन खस–आर्य बाहुन क्षेत्री सम्भ्रान्तहरूले पृथ्वीनारायण शाहलाई ‘राष्ट्रिय एकता’का प्रतीकका रुपमा उनको बखान गाउन छाडेका छैनन् । उनीहरूले अझै पृथ्वीनारायणका शालिक बनाउन थालेका छन् ।

दोस्रो सफल जनआन्दोलनले शाहवंशीय राजतन्त्र अन्त्य गरेपछि सन् २००७ मा पृथ्वीनारायणको जन्मदिनमा सार्वजनिक बिदा कटौती गरिएको थियो । तर उनीहरूले त्यो बिदा पुनः दिने हिम्मत गरेका छन् । गोरखा राज्य बिस्तारको पृथ्वीनारायण शाहको महत्वाकांक्षाका कारण पिरोलिएका मानिसहरूले त्यसको विरोध गरिरहेका छन् । पृथ्वीनारायण शाहको बचाउमा सत्तासीन शासक वर्ग लागिरहने हो भने ढिलाचाँडो ती आम मानिसको अभूतपूर्व विरोधको उनीहरूले सामना गर्नुपर्ने अवश्यंभावी छ ।

(यो लेखको एउटा अंश हाइडेलवर्ग विश्वविद्यालय, हाइडेलवर्ग एकेडेमी अफ साइन्सेस एण्ड हुमेनिटी अन्तर्गत ‘डकुमेन्ट अन द हिस्ट्री अफ रिलिजन एण्ड ल अफ प्रि–मोर्डन नेपाल’ अनुसन्धान एकाईको लागि तयार गरिएको थियो । लेखक तथा सांस्कृतिक मानवशास्त्री डा. श्रेष्ठ युनिभर्सिटी अफ अक्सफोर्डसँग आबद्ध छन् ।)

अनुवाद : नीरज लवजू

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.