केन्द्रीय संस्करण

एकता विरोधी नै नेपाल विरुद्ध  ?

person explore access_timeपुस २७, २०७५ chat_bubble_outline0

नेपाल सर्वप्राचीन गौरवशाली इतिहास, धर्म र संस्कृतिका दृष्टिले विश्व प्रसिद्ध देश हो । यस देशको राष्ट्रिय एकता, अखण्डता तथा स्वाधीनता कायम गर्न पुर्खाहरूले अनेक त्याग र बलिदान गरेका छन् ।

पुर्खाहरूका नेपाल एकीकरणका प्रयासलाई सफल बनाइछाड्ने अभिप्रायका साथ  पृथ्वी नारायण शाह (वि.सं.१७७९—१८०३१)ले नेपाल एकीकरण अभियान सुरु गरेका हुन् । 

दूरदर्शी, साहसी, निस्वार्थी, कूटनीति कुशल तथा विशाल नेपालको परिकल्पनालाई आफ्नै नेतृत्वमा साकार पार्ने शाह अजर अमर ऐतिहासिक व्यक्तित्व हुन् ।

 शाहको आह्वानमा अनेक नेपाली वीर वीराङ्गनाहरूको त्याग र तपस्याबाट नेपाल एकीकृत, स्वाधीन र स्वतन्त्र देश बन्न सकेको हो । 

लिच्छवी कालदेखि गर्न गरिएको र गर्नखोजिएको विशाल नेपालको परिकल्पना  शाहको नेतृत्वमा सफल र सबल बन्न सकेको हो ।

विभाजित राज्य र रजौटाहरू बीचको आपसी दुष्मनी, दुष्चक्र र द्वन्द्वबाट सर्वसाधारण जनताहरू कायल र  घायल  भएका थिए । यसले गर्दा पनि नेपाल एकीकरण महाअभियानमा विभिन्न वर्ग, तह, तप्का, जाति, जनजाति समुदायका आम जनता समर्पित तथा सक्रिय भएर लागेका हुन् ।

 एकीकृत विशाल नेपाललाई भाइ अंश लगाउनुपर्छ भन्ने आफ्नै भाइलाई दरबारबाट निष्काशन गर्ने, अखण्ड र अविभाज्य राष्ट्र पक्षधर तथा नेपाल र नेपालीको सुन्दर र सुखद् भाग्य र भविष्यका परिकल्पनाकार  पृथ्वीनारायण शाहलाई मात्र शाहवंशीय राजाका आधारमा नकार्नु आफैलाई धिक्कार्नु हो ।

शाहको तुलना अरू कुनै शाह वंशीय राजासित गर्नु घोर अपमान हुन्छ । संस्कृतिविद् द्वय डा. मोदनाथ प्रश्रित तथा डा. जगमान गुरुङ जस्ता महान् व्यक्तित्वहरूको अभिप्रेरणामा इटहरी उपमहानगर पालिकामा  विगत सात वर्षअघिदेखि मनाउँदै आइएको राष्ट्रिय एकीकरण दिवस यसपालि पनि भव्य रूपमा मनाउन स्थानीय बुद्धिजीवी सुवर्ण थापाको संयोजकत्वमा ३०१ सदस्यीय मूल समिति बनाइएको छ ।

 पूर्वमा राष्ट्रिय गौरवशाली इतिहास र संस्कृतिको संरक्षणको एक नम्बर प्रदेशकै एक नमुना नगर इटहरी बन्दै गएको कुरा यस अभियानका अर्का संस्थापक सदस्य इटहरी निवासी  बुद्धिजीवी दिलकुमार बन बताउँछन् ।

  शाहले नेपाल एकीकरणका तमाम प्रयत्नहरू बेलैमा नगरेका भए यो देश कदापि सुरक्षित हुनसक्तैन थियो ।  अमेरिकी कूटनीतिज्ञ  हेनरी किसिन्जरले अन चाइना नामको आफ्नो पुस्तकमा अङ्ग्रेजलाई सिन्धुली गढीमा नरोकेको भए उनीहरूको मनोबल बढ्ने थियो र तिनीहरू चीन पुग्ने थिए भनेका छन् ।

 यही कुरालाई बेलैमा गम्भीर रूपमा महसुस गरेर विगतमा मात्र होइन भावी दिनमा पनि  पृथ्वीनारायण शाहले देशको ‘सन्धीसर्पन् हेरि गडि तुल्याई राख्न र रस्ता रस्तामा भाँजा हालि राख्न’ निर्देशन गरेको दिव्योपदेशमा उल्लेख छ ।

शाहले हिन्दुस्थाना अर्थात् भारतलाई कब्जामा लिइरहेको  इस्ट इन्डिया कम्पनी सरकार कुनै न कुनै दिन नेपालमाथि आइलाग्ने छ भनेका हुन् ।

ब्रिटिस उपनिवेश कालीन विरासत हुबहु आत्मसात् गरिरहेको भारतीय शाषक र सत्ता अहिले पनि नेपालप्रति पूर्ण रूपमा सकारात्मक देखिँदैन । त्यसैले  शाहले अहिले पनि नेपाली शासकलाई दक्षिण छिमेकीसित हर्दम चनाखो रहन सुझाव दिएका हुन् ।

त्यसैगरी शाहले दक्षिणी  बादशाह वा छिमेकसित घाहा अर्थात् मैत्री त राख्नु तर त्यो महाचतुर छ, एक दिन त्यो नेपालमाथि आउन्या छ भनेका थिए । अहिले सदनमा प्रस्तुत हुन लागिरहेको  नागरिकतासम्बन्धी खुकुलो विधेयक  पारित भयो भने सन् २०३० सम्ममा प्रदेश दुईलाई भारतमा गाभ्ने देशी र विदेशी षडयन्त्र भइरहेको खुलासा प्रा.डा. युवराज सङ्ग्रौलाले डाँफे टेलिभिजनको एक अन्तरवार्तामा बताएका थिए । यस्तो दूरदर्शिता नेपाली नेतामा कति होला ?

दिव्योपदेशमा आआफ्ना कुलाधर्म अनुसारका काम क्रियाकर्म गर्न पाउने व्यवस्थाको उल्लेख छ, तसर्थ शाहलाई हिन्दूवादीको आरोप लगाउनु व्यर्थ देखिन्छ ।

पृथ्वीनारायण शाहले आफूले रुचाएका विराज बखेती काजी बनाएनन्, बरु उनले  दुनियाँले वा आम जनताले रुचाएका तथा ज्यादा बुद्धि भएका कालु पाण्डेलाई काजी नियुक्ति गर्नु लोकतान्त्रिक होइन ?

 शाहले विदेशी नाच गानमा लहसिनुभन्दा  तिनै सहर नेपालको नेवारहरूको नाच झिकाई हेर्दा देशको आर्थिक र सांस्कृतिक समृद्धि हुन्छ भन्नु पनि गलत थियो ?

उनले  विदेशी  महाजनहरू हाम्रा मुलुकमा आए भने देशलाई  कङ्गाल पारी छाड्छन् भनेर स्वदेशी उद्यमी र उद्यम व्यवसायलाई राज्यले पूर्णतः प्रोत्साहन र संरक्षण गर्नुपर्छ भनेर के गल्ती गरे ?

पृथ्वीनारायण शाहले  आफ्ना देशको जिनिस जडीबुटी विदेश पैठारी गरेर आर्थिक समृद्धि हासिल गर्ने कुरा भावी पुस्तालाई सुझाउनु गलत थियो ? शाहले नेपाललाई   छोटाबडा चारै जात छत्तीसै वर्णको देश मान्नु नजाती हो ?

शाहमा  भ्रष्टाचार विरोधी उच्च चेतना थियो भन्ने कुरा घुस दिने र घुस खाने दुवैलाई प्राण दण्ड दिए पनि हुन्छ भनेका आधारमा स्पष्ट हुन्छ ।  शाहले पूर्व पश्चिमको बाटो बन्द गरी नेपालको आफ्नै बाटो बनाउने योजना रहेको बताएर यसको बहुआयामिक दूरदर्शी अर्थ जाहेर गरेका छन ।

अदालतमा ठकुरीलाई डिट्ठा, मगरलाई विचारी र कचहरीपिच्छे एकएक पण्डित राखी न्याय निसाफ गर्नु भनेर योग्यताअनुसार समावेशी नियुक्तिमा जोड दिएको देखिन्छ  ।

 पृथ्वीनारायण शाहले भूउपयोगसम्बन्धी उचित नीति निर्देशन दीव्योपदेशमा गरेका छन् । त्यसैले उनले खानी  भएका ठाउँमा गाउँ भए त्यस गाउँलाई अन्य स्थानमा सार्नु र खानी चलाउनु भने ।

 उनले  खेतखलियान र बारी बन्न लायक  जग्गामा घर नबनाउनु बरु त्यहाँबाट घरबार  अन्तै सारी उब्जाउ भूमिलाई संरक्षण संवर्धन गरी मुलुकलाई खाद्यान्नका निर्भर बनाउने नीति दिए के बिराए ?

 काठमाडौँको चन्द्रगिरि शिखरबाट काठमाडौँ उपत्यका पहिलो पल्ट  देखेर शाह लोभिनुका पछाडि उपत्यकाको  कृषिजन्य समृद्धिको आधार नै हो ।  किनभने गोर्खाका जनतासित छमहिना मात्र खान पुग्ने उब्जनी थियो ।

प्रसिद्ध इतिहासकार इमानसिंह चेम्जोङले आफ्नो किरातकालीन विजयपुरको सङ्क्षिप्त इतिहास, कृतिमा  राजा पृथ्वीनारायण शाहले सैन्यबलले मात्र देश विजयगरेको नभई कूटनीतिक ज्ञान प्रयोग गरी पूर्वकिराँत देश विजय गरेको बताएका छन् । शाहले अत्यन्त क्रूरतापूर्वक एकीकरण गरेका हुन् भन्ने भ्रमलाई यसले तोडेको देखिन्छ ।

कीर्तिपुरे जनताको काटिएको सत्रधार्नी नाक त एकीकरण विरोधी केही पादरीलाई नेपालबाट शाहले  निष्काशन गरेबापतको प्रायोजित प्रचार प्रपञ्च मात्र हो । 

संसारका धेरै देशमा यस्ता एकीकरणका गौरवशाली अभियानहरू भएका छन् । ३९ चालीस राज्य रजौटाहरूमा विभाजित जर्मनीलाई एकीकरण गर्ने विस्मार्क, तीनवटा विशाल राज्यहरूमा विभाजित इटलीलाई   मेजिनी, काबुर र गैरीवाल्डीले आआफ्ना समयमा एकीकृत गरे ।

 चिनियाँ सम्राट् सी ह्व हाङले सातवटा विशाल भूभागमा विभाजित चीनलाई एकीकृत गरेको कुरालाई माओले नै प्रशंसा गरेका छन् । 

एकीकरणका महान् अभियानलाई सबै  देशका नागरिकहरूले गौरव बोधका साथ स्मरण गर्छन् ।  तर हामी  राष्ट्रिय एकताको यस्तो गौरवशाली ऐतिहासिक धरोहरप्रति हामी किन धारेहात लगाइरहेका छौँ ? यसरी  राष्ट्रवादी उच्च चेतनाको समृद्धि हुन सक्तैन ।

 जब संस्कृति सकिन्छ, त्यहाँ राष्ट्र पनि रहँदैन । आयातीत तथा भतुवा  संस्कृतिको भरिया भएर नेपाली राष्ट्रवादी चेतनाको उत्थान पनि हुनसक्तैन ।

लेखनका नाममा अक्षरका ताँती मात्र लगाएर राष्ट्रिय विखण्डनका बहुविभ्रम भट्याउनु एउटा देशभक्त लेखकलाई  कदापि सुहाउने कुरा होइन ।

यसै पनि भुइँफुट्टा लेखनले कसैको भलो गर्दैन । प्रधानमन्त्री ओलीले भनेझैँ थलापर्न सक्ने यस्ता गतियारी र मतियारी बुद्धिजीवी पोखराको लिटिररी फेस्टिबल नामको कार्यक्रममा फेला परे ।

 तिनले बोल्ने क्रममा आधाघण्टासम्म सन्तुलित राष्ट्रवादलाई समेत धिक्कारे, थुके र  खकारे  । कागले आफ्नो नाम आफै काड्छ भनेझैँ तिनले आफ्नै अगतिको बिस्कुन लगाए । काग बाठो भए के के गर्छ, त्यसको कुरै नगरुँ ।

 नेपाल एकीकरण र पृथ्वीनारायण शाहलाई किन अतिवादी र अन्धवादी आँखाले मात्र हेरिन्छ ? यो प्रश्न नेपालको माटोमा टेकेर र टेक्न पाएर नेपाली हुँ भन्ने सबै नेपालीले गम्भीर भएर सोच्नुपर्छ ।  नितान्त व्यक्तिगत र वंशगत तथा समुदायगत शक्ति, स्वार्थ र सम्पत्तिका लागि भएगरेका राष्ट्रिय विखण्डन देश जनताको हितमा नभएको इतिहासले बताएको छ ।

शाहको नेतृत्वमा भौगोलिक एकीकरणले नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको प्रतिफल नेपाल विश्वसामु परिचित भएको हो  । यस एकीकरणलाई भावनात्मक एकता कायम गर्न तमाम  देशभक्त  स्रष्टाहरूले सिर्जनात्मक योगदान गरेका थिए र अझै पनि गरिरहेका छन् ।

त्यसैले इतिहासका मूल्यवान् पक्षलाई आधार बनाएर त्यसका जगमा एकीकरणको सर्वाङ्गीण पक्षमा लाग्नुपर्ने आजको  अपरिहार्य आवश्यकता  हो । यसका लागि आफ्नो आधारभूमिमा उच्च मनोबलका साथ उभिनु जरुरी छ ।

 आफै उभिएको जग खोस्रिएर कुनै पनि मानिसले टेक्ने भुइँ पाउन सक्तैन । इतिहासलाई भत्काएर इतिहास निर्माण हँुदैन ।   स्वर्णिम इतिहासले निर्माण गरेका धरोहरलाई स्थापित गर्दै त्यसमाथि सगर्व उभिएर मात्र हाम्रो उचाइ बढ्नसक्छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...