केन्द्रीय संस्करण
घुमफिर

तिनको बनावटी मुस्कान र मेरो तयारी

person explore access_timeपुस २६, २०७५ chat_bubble_outline0
अशोक सिलवाल

रातोपाटी

(हिमालयका दूत अर्थात लाङटाङ सद्भावनादूत अशोक सिलवाल केही समयअघि श्रीलङ्का गएका थिए । सगरमाथा उभिएको देशबाट सागरले घेरिएको देश गएका तिनै यात्रुको यात्रा संस्मरणको तेस्रो शृङ्खला हो यो ।) 

‘नमस्कार !’ 

एयरहोस्टेसले हँसिलो भएर बडो स्मार्ट तरिकाले मीठो स्वरमा भनी । तर, मुस्कान र नमस्कार दुवै प्लास्टिकको फूलजस्तो बनावटी थियो । त्यो उसको मनको मुस्कान थिएन, न त मनैदेखिको नमस्कार थियो । फगत उसको पेसाको नियमित एउटा कर्म थियो ।  

ढोकामा उभिएकी शरीर र अनुहार दुवैले चिरिच्याँट्ट उसले सबै यात्रुलाई उसै गरी स्वागतवाला नमस्कार गरिरहेकी थिई । तर, मलाई गतिलो गरी नमस्कार फर्काउने जाँगर चलेन । मेरो मुस्कान पनि कता हराएछ कुन्नि ! म उसलाई टाउको मात्र हल्लाएर प्लेनभित्र छिरें र यथोसीटमा गएँ ।

इमरजेन्सी पर्यो भने के गर्ने, सीट बेल्ट कसरी बाँध्ने, अक्सिजन कमी भयो भने कस्तो उपाय अपनाउने आदिबारे रेडिमेड स्वर र एयरहोस्टेसको हाउभाउबाट यात्रीलाई बुझाइयो । एक छिनमा प्लेन गुड्न थाल्यो । त्यसको केही बेरमा अर्थात  अपरान्ह ४ बजेर ३५ मिनेटमा प्लेनले जमिन छाड्यो र उड्न थाल्यो । 

संयोगले मलाई झ्यालनेरको सीट परेछ । त्यसमाथि, पश्चिम जाने प्लेनमा उत्तरी साइडको । अनि त के चाहियो र ! केही छिनमा उत्तरी आकाशमा असंख्य सेताम्मे टाकुरा देखिन थालिहाले । मानौं, ती उज्याला हिमालहरुले भनिरहेका थिए, ‘बाबु शुभयात्रा !’

त्यही दिन सबेरै घरछेउको गाईको पूजा गरेर फर्किरहनु भएकी आमाले मेरो टाउकोमा हात राख्दै भन्नुभएको थियो, ‘बाबु ! राम्रोसित गएर आऊ ।’ आमाको स्वरमा आशिर्वाद र आँखामा आँशु थियो । जतिसुकै चीसोमा पनि हार्दिक रहने हिमालजस्तै आमाको न्यानो आशिर्वाद ।

चीसो काठमाडौँमा सडकमा चीसै सिरेटोसँग जुध्दै स्कुटरबाट अगाडि बढ्दै गर्दा मलाई आमाको आशुँ र आशिर्वादले भावुक बनाइसकेको थियो ।

श्रीमती र छोरी अनुहारले त हँसिला थिए तर तिनको मनमा पनि बेचैनी थियो । ‘जाबो श्रीलंका जान लागेका त हो नि ! किन आत्तिनु प-यो ?’ कति न पटकपटक श्रीलंका गएर खग्गु भइसके झैं हाँसेरै भन्दै थिए । मलाई ढाडस् दिन उनीहरुले गरेको अभिनय म राम्ररी बुझ्दै थिएँ ।

सामान्य कुरा थियो, म श्रीलंका जाँदै थिएँ । तर, सामान्य कुराहरु पनि यदाकदा असामान्य लाग्छन् । खासमा त्यो मेरो पहिलो अन्तर्राष्ट्रिय उडान थियो । हो, केही महिनाअगाडि मात्र म तिब्बत गएको थिएँ । तर, सडकमार्ग हुँदै । त्यसैले श्रीलंका यात्रा मेरा लागि रोमाञ्चक हुनेवाला त छँदै थियो, के होला कसो होला भन्ने कौतुहलता पनि मनभित्र सलबलाइ रहेको थियो ।

श्रीलंका प्रेस एशोसिएसनको ६३ औं बार्षिकोत्सवको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रममा नेपालबाट एक्लो अतिथीको रुपमा नित्याइएको थिएँ । कार्यक्रमपछि श्रीलंका पर्यटन प्राधिकरणले एक साताको श्रीलंका शयर पनि गराउँदै थियो । पत्रकारिता र पर्यटन दुवै दृष्टिले त्यो मेरो लागि विशेष अवसर थियो ।

तर, आतेजाते प्लेन भाडा मैले नै तिर्नुपर्थ्यो । त्यसका लागि म तयार भएँ तर अन्तिमसम्म पनि जाने कि नजाने भन्ने दोहोरो मनस्थितिबीच मैले टिकट २३ नोभेम्बरमा मात्र काटें । त्यो किनभने २१ तारिखमा मात्र मैले अनलाइन भिसा अप्लाई गरेको थिएँ । श्रीलंका पुगेपछि सीधै अराइभल भिसा पनि प्राप्त गर्न नसकिने होइन तर म तुलनात्मक रुपले यथोचित तयारीसाथ यात्रा गर्न चाहन्थें । 

मैले २३ तारिखमा मात्र अनलाइन भिसा कन्फरमेसन पाएको थिएँ । त्यसको लागि मैले झन्डै ५० डलर थप शुल्क तिर्नुपरेको थियो । अब पालो टिकटको थियो । अन्तिम समयमा टिकट त सोचेको भन्दा निकै महंगो हुने ट्राभल एजेन्सीले बतायो । 

‘सर, १ लाख १५ हजार लाग्छ ।’  

‘सर, १ लाख २२ हजार लाग्छ ।’ 

‘सर, १ लाख १० लाख हजार लाग्छ ।’ 

छिनछिनमा यस्तै यस्तै भनी, ट्राभल एजेन्सीकी बहिनीले । अन्तिममा एजेन्सी प्रमुखले उपाय सुझायो, ‘जाँदा फ्लाई दुबईबाट दुबई हुँदै कोलम्बो र फर्किंदा एयर इन्डियाबाट दिल्ली हुँदै काठमाडौँ आउनु होस् । दुईटा फरक एयरलाइन्स र चारवटा अन्तर्राष्ट्रिय विमानस्थलको अनुभव पनि लिन पाउनु हुनेछ । ७५ हजार नेपाली रुपैयाँसम्ममा मिलाउन सकिन्छ ।’  
‘सामान्यतया राउन्ड ट्रिप गर्दा दुईटा एयरलाइन्स प्रयोग गरे पहिलो एयरलाइन्सले बोर्डिङ पास नै नदिने सम्भावना हुन्छ रे नि ?’, मैले भने । 

‘होइन, मैले एयरलाइन्ससँग कुरा गरिसकेको छु । उनीहरुले ओके गरेका छन्’, एजेन्सी प्रमुखले भन्यो । 

एकाउन्टमा म क्यास डाउन गर्दै थिएँ, एजेन्सी प्रमुख आएर मलाई देखाउँदै एकाउन्टेन्टलाई भन्यो, ‘उहाँसँग ७२ हजारमात्र लिनुहोला ।’  

‘एजेन्सीलाई आउने कमिनशन पनि राखिन । जत्तिको तत्तिमै गरिदिएको छु है’, उसले भन्यो ।

‘धन्यवाद !’ हातमा टिकट डिटेल लिदैं मैले भनें ।

काठमाडौँ- दुबईको झन्डै ५ घन्टा लामो उडानपछि दुबई एयरपोर्टमा ३ घन्टा चानचुन बिताउनु थियो । त्यसपछि त्यस्तै अर्को लामो उडान भर्नु थियो, कोलम्बोको लागि । फर्किंदा भने कोलम्बोबाट दिल्ली हुँदै काठमान्डु आउन समय र दुरी दुवै आधै कम हुन्थ्यो । 

त्यही दिन बैंकमा गएर टिकट र अनलाइन भिसाको पेपर प्रिन्ट देखाएर झन्डै १ लाख १५ हजार नेपाली रुपैयाँ दिएर टिकट र पासपोर्टमा डलरछापसहित १ हजार अमेरिकन डलर प्राप्त गरें ।

काठमाडौँमा स्याँठ चलेकाले चिसो थियो । मैले इन्टरनेटमा श्रीलंकाको डिसेम्बर टेम्प्रेचर हेरें । २६ डिग्री रहेछ । ‘तिब्बत वा लाङटाङ जाँदाजस्तो डाउन ज्याकेटचाहिँ लग्नु नपर्ने भयो’, मनमनै भनें ।भोलिपल्ट शनिबार यसै बित्यो दिन । केही जोर मोजा र दुई जोर जुत्ताबाहेक खासै केही किनिएन । दौरा, सुरुवाल र ढाका टोपी छँदै थियो । 

अरु सब पुरानै तर नयाँ जुत्ता र मोजामा २५ नोभेम्बरमा मैले काठमाडौँ छाडें । नुहाईधुवाई, दाह्री र कपाल कटनी, कपडामा इस्त्री आदिले नेपाल छाड्नुअघिका केही  घन्टा हस्याङफस्याङवाला भयो । 
कहिले पासपोर्ट हराएजस्तो लाग्ने । कहिले टिकट यताउता भएजस्तो लाग्ने । कहिले डलर कतै अर्कै खल्तीमा परेजस्तो हुने । घरी मोजा नभेटिने । यी र यस्तै भइरहेका थिए । हुन त लाखौं मानिस, सायद करोडौ मानिस एक दिनमा एकदेशबाट अर्को देशमात्र होइन, एक महादेशबाट अर्को महादेश जान्छन् । म त्यहीँ नजिकैको सार्क सदस्य राष्ट्र श्रीलंका जाँदै थिए । तर, पहिलोचोटि भएर होला, यस्तै भयो । म एक्लै जाँदै थिएँ । त्यहाँ चिनेका एकजना पनि भेटिने सम्भावना थिएन । 

हो, केही दिनअघि श्रीलंकामा बस्दै आएको आइरिस रिसर्चर एडम नेपाल आएको थियो । स्वयम्भु र पाटन घुमाउँदाका केही घन्टा हामी संगै थियौं । र, एक प्रकारले मित्र जस्तो भएर उसले मलाई विजनेश कार्ड दिएको थियो ।

केही बर्षअघि पनि एकजना श्रीलंकनसँग पनि केही घन्टा संगै थिएँ । नेपाली सेनाको एक कार्यक्रममा विशेष अतिथीको रुपमा भाग लिन आएको ऊ उच्च सैनिक अधिकारी थियो । नेपाली सेनाको सुरक्षा प्रबन्धसहित उसलाई मैले बौद्धनाथ घुमाएको थिएँ ।

ऊसँग निकै गहिरा कुरा भएका थिए र पछिसम्म काम लाग्ने केही कुरा उसले मलाई भनेको थियो । जस्तो कि, बौद्धनाथ परिसरमा अर्कै खालको भाइब्रेसन किन उत्पन्न हुन्छ भनेर उसले मसँग वैज्ञानिक तर्क गरेको थियो ।

त्यति मात्र होइन, काठमाडौँ उपत्यका कुनै बेला ताल रहेको वैज्ञानकि तर्क मैले गर्नुपर्नेमा उसैले गरेको थियो । तर, त्यति बेला ऊ र मबीच ठेगाना आदानप्रदान भएन । त्यसैले घटना सम्झेको तर पात्र बिर्सिसकेको ऊ श्रीलंकामा हुनु र नहुनुको मलाई केही अर्थ थिएन ।

तर, रमाइलो कुरा के थियो भने श्री नभएको श्रीलंका अर्थात लंकालाई सुनको लंका भनेको पनि मैले बाल्यकालदैखि नै सुनेको थिएँ । लंका अर्थात रावणको देश । हाम्री चेली सीता अपहरण गरेर लगिएको देश । 
सानै छँदा गाउँतिर सायद भानुभक्तीय रामायणका केही श्लोकहरु बुढापाकाबाट नसुनिएका होइनन्, ‘एक दिन नारद सत्यलोक पुगिगया, लोकको गरौं हित भनी ....।’ तर, त्यसभन्दा पनि बढी छापचाहिँ हिन्दी धाराबाहिक रामायणकै परेको थियो । नेपाल टेलिभिजन सुरुवाती बर्षहरुमा थियो ।

हामी साना थियौं । टिभी भएका घर बिरलै थिए । हाम्रो टोल म्हैपीमा एकजना नेवार बाको घरमा टेलिभिजन थियो । कोही कोठैभित्र गएर हेर्थे । कोठामै अझ त्यसमा पनि खाटमै बसेर टिभी हेर्न पाउनु निकै ठूलो भाग्य र सम्मानको कुरा हुन्थ्यो । कोही चिप्ले टाटमा बसेर हेर्थे । कोही ढोकाबाट र कतिपय चाहिँ झ्यालबाट समेत टिभी चिहाउँथ्ये । 

सातामा एक पटक आउने रामायणका जति पनि चरित्रहरु थिए, तिनमा खेल्ने कलाकारहरु हाम्रा लागि साँच्चैका ‘भगवान’ नै थिए । राम, लक्ष्मण, भरत, शत्रुघ्न, कैकयी, मन्थरा, कौशल्या, दशरथ, हनुमान, बाली, शुक्रिव, रावण, विभिषण, सुवर्णखा, जनक, सीता आदि भुमिकामा अभिनय गर्नेहरु कलाकार होइन, रामायणीय समयका वास्तविक पात्र लाग्थे हामीलाई ।

कोविद थरको रामको भुमिकामा खेल्ने कलाकारको अनुहार, बोली र व्यवहार अनुकरणीय लाग्थ्यो । मन्थरा देख्दा डर लाग्थ्यो । कुम्भकर्ण र रावण विचित्रका लाग्थे । दशरथको विवशता देखेर दया लाग्थ्यो । मन्थरा र कैकयीको गठजोठ देखेर मुरमुरिन्थ्यौं । सुवर्णखाको अट्हासले तर्सिन्थ्यौं । 

के गर्मी के जाडो हरेक यामका सातागत रामायणकालीन साँझ हाम्रो प्रतिक्षाको समय हुन्थ्यो । यदाकदा नेवार बाको घरको टिभी कोठाको खाटमा टुसुक्क बस्ने अवसर मिल्दा त्यो भयानक सम्मानको बात हुन्थ्यो । टाटमै बस्न पाउनु पनि कम्ता गर्वको विषय थिएन । त्यति नभए ढोकातिर अडेसिएर हेर्न पाउनु पनि कम भाग्यको कुरा थिएन । नभए, ग्रीलवाला झ्यालबाट भने पनि चिहाइन्थ्यो । तर, अहिले बुझ्छु, टिभीवालाको हालत हामीले कति खराब बनाइदिएको थियौं । टिभीले गर्दा उनीहरुको घर साँझकालीन टोलेक्लवजस्तो भएको थियो । तैपनि उनीहरुले कसैलाई नआइज भनेनन् । हामी कुनै पनि हालतमा रामायण हेर्थ्यों, हेर्थ्यों ।      

रामायण सिरियलमा खासगरी लंकाका कथाहरु अझ विशेष थिए । रामायणको क्लाइमेक्स भन्नु नै लंका प्रसंग थियो । त्यहाँसम्म जानका लागि बाँदरहरुद्वारा बनाइएको समुद्री बाटोको कथा निकै तिलस्मी लाग्थ्यो । पुष्प विमान र हनुमानले लंका जलाएको प्रसंगमात्र होइन, रावण राज्यको बिराट सौन्दर्यले पनि हामीलाई मोहित पार्थ्यो । रावणले छलपूर्वक सीतालाई अपहरण गरेर लंका लगेपछि बन्धक बनाएको अशोक बाटिका अर्को क्युरियोसिटीको केन्द्र लाग्थ्यो । यसरी रावणको देश लंका मनमा बसेको थियो । 

केही समयअघि मात्र तिब्बतको कैलाश जाँदा मानसरोवरछेउ राक्षसताल पनि दर्शन गरेको थिएँ । राक्षस ताल अर्थात रावण ताल । रावणले समग्र राक्षस जातिको उत्थान र दैवी शक्ति प्राप्तिको लागि शिवको महाकठोर तपस्या गरेको प्रसंगबारे हामीले राक्षसताल हेर्दै व्यापक विमर्श गरेका थियौं । त्यहाँ रावणको मात्र होइन, लंकाको पनि कुरा भएको थियो । तिब्बतको कैलाश यात्रामा त्यसरी रावण र लंकाको कुरा भएको केही समयपछि नै म आधुनिक लंका अर्थात श्रीलंका जान ‘काशी जान कुतीको बाटो’ भनेझैँ दुबईतर्फ उडिरहेको थिएँ ।

याे पनि.....

श्रीलंका सिरिजस्:  हुलियाले कहिले हँसायो, कहिले रुवायो

श्रीलङ्का सिरिज : हुलियाले मान्छेलाई खै केके बनाउँछ
                  

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...