शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री–जापानी विदेशमन्त्री भेटवार्ता, कृषि क्षेत्रमा सहयोग गर्ने जापानको प्रतिवद्धता

बिहीबार, २६ पुस २०७५, १२ : ४६
बिहीबार, २६ पुस २०७५

 काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र जापानका विदेशमन्त्री तारो कोनोबीच भेटवार्ता भएको छ । नेपालको दुई दिने औंपचारिक भ्रमणमा आउनु भएका विदेश मन्त्री कोनोले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा दुई मुलुकबीचका आपसी हितका विविध विषयमा छलफल भएको थियो । त्यस अवसरमा जापानले नेपालको कृषि क्षेत्रको विकासमा पनि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता प्रधानमन्त्रीसँग जनाएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्रीसँगको भेटमा जापानका विदेशी मन्त्री कोनोले नेपालसँग सिधा हवाई उडान सम्झौंता गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीसँग आभार व्यक्त गरेका थिए भने प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट सो उडानसम्बन्धि तयारीको कामलाई छिट्टै अघि बढाउने जानकारी गराएका थिए ।

भेटमा प्रधानमन्त्री ओलीले आगामी अप्रिल १ बाट जापानले नौं वटा देशबाट श्रमिक आयात गर्ने निर्णयमा नेपाललाई पनि सहभागी गराएकोमा जापान सरकारलाई धन्यवाद पनि दिएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले बताए । 

त्यस अवसरमा प्रधानमन्त्री ओलीले जापानका विदेश मन्त्री कोनोको जन्म दिनको शुभकामना पनि दिएका थिए ।

जापानी विदेश मन्त्री कोनो आज ५६ वर्ष पूरा गर्नु भएको अवसर पनि परेकाले प्रधानमन्त्री ओलीले जन्मदिनको शुभकामनासहित पुष्प गुच्छा प्रदान गरेका हुन् ।

१८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका जापानी विदेशमन्त्री कोनोको नेपाल भ्रमणको क्रममा बुधबार समकक्षी प्रदिप ज्ञवालीसँग दुई मुलुकबीच सिधा हवाई उडान गर्ने समझदारी भएको थियो ।

आगामी मार्च भित्र कानुनी प्रबन्ध गरी दुई मुलुकबीच सिधा हवाई उडान भर्ने नेपाल सरकारको तयारी छ । नेपालको पूर्वाधार विकासमा जापानले उल्लेख्य प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप