शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कम्युनिस्ट नेता जसको शव नेपाल ल्याउन दिइएन

बुधबार, २५ पुस २०७५, १३ : ५४
बुधबार, २५ पुस २०७५

जयगोविन्द साह नेपाली कम्युनिस्ट आन्दोलनमा अग्रज नेताको नाम हो । वि.सं. १९७६ सालमा सिरहा जेलमा जन्मिएका साहको बाल्यकाल अत्यन्त कठिनाइपूर्वक बित्यो । 

पिता मिश्री साह र माता जगतकुमारी प्रेमका कारण जेल परेका थिए । जेल पर्दा गर्भवती रहेकी उनकी माताले उनलाई त्यही जन्म दिएकी हुन् । जयगोविन्द चार वर्षको उमेर भएपछि उनकी माता जेल सजाय भुक्तान गरी रिहा हुँदा साह पनि खुल्ला आकाशमा आइपुगे । 

जेलको बन्द कोठरीबाट खुला आकाशमा आएको एउटा बालकमाथि एकाएक अनेक समस्या आए । बाल्यकालमा अर्काका भैंसी चराउने काम गर्दागर्दै पढ्न सिके, सङ्गीत सिके, रामलीला समूहमा लागेर नाटक देखाउने काम गरे । राधा स्वामी मतमा लागे । यिनै सङ्घर्षको क्रममा उनको सम्पर्क राजनीतिक क्षेत्रमा भयो । त्यसपछि उनी युवक सङ्घ, किसान सङ्घ हुँदै नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरे ।

२०१५ सालको आम निर्वाचनमा रामपुर प्रगन्ना ४० नम्बर क्षेत्रबाट नेपाल कम्युनिस्ट पार्टीको उम्मेदवार बने । त्यस निर्वाचनमा उनी नेपाली काँग्रेसको उम्मेदवारसँग १ हजार ३६२ मतले पराजित हुन पुगे । 

सिरहाको पश्चिमी भेग मिर्चैया, कर्जनाह, भेडिया, शिशवनी, कल्याणपुर क्षेत्रमा जमिनदारहरूद्वारा किसान र कृषि मजदुरहरूमाथि गरिने अत्याचार विरुद्धको सङ्घर्षको नेतृत्व गर्दै जनविश्वास आर्जन गर्न सफल साह कालान्तरमा अखिल नेपाल किसान सङ्घको अध्यक्ष र नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक समिति सदस्य बने । साह नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका अगुवा र प्रेरणादायी व्यक्तित्व थिए ।

उनी दुःख, सङ्घर्ष, निष्ठा, त्याग, इमानदारी, बलिदानको पर्यायवाची  नाम बनेका छन् । जीवनभर नेपाल र नेपालीका लागि लडेका साहको मृत्यु भारतको जयनगरमा २०४६ साल पुस २५ गते भयो । उनको मृत्यु आजभन्दा ३० वर्ष अघि अर्थात २०४६ सालको आन्दोालनको मुखैमा भएको थियो । 

पञ्चायती  प्रशासनले उनको शव नेपाल ल्याउन दिएन । जयनगरमै कमला नदीको किनारमा उनको दाहसंस्कार गरियो । 

तिनै सङ्घर्षशील नेता साहसँग सम्बन्धित केही संस्मरण उनको ३०औं वार्षिकीको अवसरमा सान्दर्भिक ठानेर सोही विषयमा कलम चलाउने चेष्टा गरेको छु ।

पञ्चायती व्यवस्थाप्रतिको जनआक्रोस चरमचुलीमा पुगेको थियो । मानव अधिकार, प्रजातन्त्र, अभिव्यक्ति स्वतन्त्रता हरणले बाध्य भएर आन्दोलन गर्नेपर्ने अवस्था थियो । राजनीतिक पार्टी प्रतिबन्धित रहेकाले सङ्घर्षको नेतृत्व धेरैजसो समयमा विद्यार्थी सङ्गठनहरूले गर्थे । झापा आन्दोलनका अगुवाहरू जेलबाट रिहा हुँदा अनेरास्ववियुले त्रिचन्द्र क्याम्पसमा नै अभिनन्दन कार्यक्रम आयोजना गरेको थियो ।

त्यही अभिनन्दन कार्यक्रममा गणेशमान सिंहले मोहनचन्द्र अधिकारीलाई नेपालको नेल्सन मन्डेला भनेर सम्बोधन गरे, जुन विशेषण धेरैपछिसम्म चर्चित पनि भयो । 

भारतमा निधन भएका नेता जयगोविन्द साहको शव नेपाल ल्याउन दिइएन । उतै दाहसंस्कार भए पनि उनको पार्टीले श्रद्धाञ्जलि समारोहको आयोजना गर्ने भयो । तर त्यसबेला पार्टी आयोजक बनेर कुनै कार्यक्रम गर्न सम्भव थिएन ।  त्यसकारण उनको पार्टीको जनसङ्गठनको रूपमा क्रियाशील अनेरास्ववियु आयोजक भएर श्रद्धाञ्जलिसभा गर्नुपर्ने भयो । त्रिचन्द्र क्याम्पसमा समारोह गर्ने तय भयो । १३औँ पुण्य तिथिमा गरिने त्यस कार्यक्रमको मूल आयोजक अनेरास्वयुको अध्यक्षको नाताले म भएँ । तर कार्यक्रम गर्न नदिन त्रिचन्द्र क्याम्पसमा प्रहरी तैनाथ गरियो । मलाई गिरफ्तार गरियो । 

पक्षघातको कारण जयगोविन्द थलिएर कोठामा बस्न बाध्य थिए । पार्टीको शीर्षस्थ नेता त्यसरी अस्वस्थ भएर बस्दा पार्टी र आन्दोलनलाई ठूलो नोक्सानी भएको थियो । २०४३ सालको वर्षायाममा  भारतको दरभङ्गामा भएको पार्टी सम्मेलनमा अस्वस्थ भए पनि साह उपस्थित थिए । सम्मेलनमा उपचारका लागि दिल्ली लाने प्रस्ताव आयो । तर दिल्ली लाने पैसा थिएन । खर्चको व्यवस्था गर्न सम्मेलनका सहभागीहरूले चन्दा उठाउने कुरा भयो र कसले कति उठाएर पार्टीमा बुझाउने भन्ने सम्मेलन कक्षमै घोषणा गर्ने प्रतिस्पर्धा चल्न थाल्यो । म जनकपुर क्षेत्रमा कार्यरत थिएँ । मूलतः त्यो साहकै कार्यक्षेत्र थियो । मैले पाँच सय रूपैयाँ उठाउने बचन दिएँ ।

तर त्यो बेला एक मोहर एक रूपैयाँ गरेर पाँच सय उठाउनु दुस्कर कार्य थियो । जनकपुर वरपर कम्युनिस्टको प्रभाव भए पनि २०३६ सालको दमनले टाउको उठाउने स्थिति थिएन । कहीँ कतै कुनै कमिटी क्रियाशील थिएनन् । हेमबहादुर मल्लको दबदबाले चरमसीमा छोएको थियो । हेमबहादुरपछि जनकपुरमा लीला कोइराला, महेन्द्रनारायण निधिहरूको प्रभाव थियो । त्यस्तो स्थितिमा पाँच सय रूपैयाँ उठाउने बचत दिनु नै मुर्खता थियो । 

तर म हार्नेवाला थिइनँ, रातदिन हिँडेर पाँच सय चालिस रूपैयाँ उठाएँ । पैसा उठाउन जनकपुरको घाममा सडकमा हिँड्दा हिँड्दा थकित भएर ख्वाक्क गरेर थुक्दा रगतै निस्कियो । त्यसको उपचार गर्ने पैसा पनि थिएन ।  पाँच सय चालिस साहको नाममा थियो । त्यो खर्च गर्न मलाई नैतिकताले दिँदैनथ्यो । यहाँसम्म कि उठेको पैसा पार्टीलाई बुझाउन जान खर्चसमेत भएन । त्यो बेला जनकपुरमा बिहान क्याम्पस लाग्ने बेला र बेलुका छुट्टी हुने बेला बर्दिवास र गोदारसम्म जाँदा विद्यार्थीलाई भाडा लिँदैनथ्यो । त्यही सुविधाको लाभ उठाएर बर्दिवास गएँ । त्यहाँ साथीका भाइहरू टिकट बुकिङ काउन्टरमा बस्थे । तिनैलाई भनेर टिकट मिलाएर मिर्चैया गएँ र कर्जनाह पुगेर पाँच सय चालिस रूपैयाँ पार्टीलाई बुझाएँ । संयोगले त्यो बेला निर्मल लामा पनि त्यहाँ आइपुगेका रहेछन् । सारा वृत्तान्त सुनेर उनले मलाई गाली नै गरे । त्यस्तो अवस्थामा पछि पूर्ति गर्ने गरी खर्च गर्न सुझाव दिए । 

भरखर राजनीतिक पार्टीको सम्पर्कमा पुगेको बेला २०३४÷२०३५ सालमा कर्जनाहमा ठूलो पुलिस दमन भएको थियो । त्यस दमनको विरोधमा अखिल नेपाल किसान सङ्घका अध्यक्ष जयगोविन्द साहको अपिलको रूपमा पर्चा प्रकाशित भएको थियो । त्यो पर्चा रातिराति घरभित्र छिराउने, सार्वजनिक रूपमा गोबर लाएर टाँस्ने कार्यमा लागेको थिएँ । मैले २०३४ सालतिर नै हो जयगोविन्दको नाम सुनेको । पछि उनको बारेमा विस्तृत थाहा पाउँदा भने एकै पटक अनेकखाले भावना जागृत भएको थियो । 

म अनेरास्ववियुको अध्यक्ष थिएँ । त्यस बेला सङ्गठन गर्ने र सङ्घर्ष थाल्नेभन्दा अरू ध्यान नै हुँदैनथ्यो  । हरेक वर्ष क्याम्पसहरूमा स्वागत समारोह गर्नुपथ्र्यो । वर्षमा एकाध गोष्ठी, सेमिनार पनि हुन्थे ।

कार्यक्रम गर्न माइकको भाडा तीन सय रूपैयाँ पथ्र्यो । सबै क्याम्पसका इकाईहरूमा त्यो रकम जुटाउने सामथ्र्य हुँदैनथ्यो । माइकबिना कार्यक्रम गर्न सम्भव हुँदैनथ्यो । यो परिस्थिति बुझेर सङ्गठनले नै एउटा माइक खरिद गर्ने निधो भयो । तिहारमा द्यौसी खेलेर माइक किन्ने रकम जुटाइयो र सिरहाका रामकुमार यादवलाई लिएर पटना गएर माइक ल्याउन म हिँडे । गोलबजारबाट सिरहासम्म बस यात्रापछि मार्डर हुँदै जयनगर पुगेर जयगोविन्दजीको कोठामा बेलुका बस्यौँ । उनलाई केही दाल, चामल र खर्चको व्यवस्था गरेर भोलिपल्ट पटना गएर माइक किनेर फेरि साहकैमा बसेर अर्को दिन फर्कियौँ । 
त्यसबेलाको कुराकानीमा मैले उनको प्रतिबद्धता, निष्ठा, इमानको राम्रो जानकारी पाएँ । उनको कुराकानीलाई अन्तरवार्ताका रूपमा छाप्न अनुमति पनि लिएँ । काठमाडौँ आएर त्यसलाई अन्तवारर्ताका रूपमा बनाएर डेलिडायरी साप्ताहिकमा प्रकाशित गरियो । 

जयगोविन्द त्यो समय जिउँदो किंवदन्ती थिए । एक पटक वरिष्ठ पत्रकार प्रेम कैदीले उनको बारेमा एउटा रमाइलो किस्सा मलाई सुनाए । त्यसबेला कैदीको परिवार भारततिरै बस्थ्यो । उनको आउने जाने भइरहन्थ्यो । उनको संलग्नता नेकपा चौमसँग थियो ।

एक पटक जयगोविन्द सिमलातिर त्यहाँ रहेका नेपालीबीच पार्टी सङ्गठन विस्तार गर्ने सिलसिलामा पुगेका रहेछन् । कैदी चर्चित नाम भएकाले उनको कुराकानी र सम्बन्ध भइहाल्यो । कैदीले साहको एउटा अन्तरवार्ता छाप्ने चाहना व्यक्त गरेछन् । साहले सहजै हुन्छ प्रश्न पनि बनाउनुहोस्, उत्तर पनि लेख्नुहोस्, म हस्ताक्षर गरिदिन्छु अनि छाप्नु होला भनेछन् । साहको कुरा सुनेर युवा कैदी चकित परेछन् । यी त कुनै क्षमता नभएका व्यक्ति रहेछन्, कसरी यति ठूलो नेता भए भन्ने लागेछ ।

उनको परीक्षा लिन मन लागेछ । भोलिपल्ट एक डेढ सयको भेला आयोजना गरेर क्लास दिन साहलाई बोलाएछन् । साहले सानदारा कक्षा दिएछन् र प्रश्न उत्तर आदि पनि उत्कृष्ट ढङ्गले सम्पन्न गरेछन् । यत्रो क्षमता भएको व्यक्तिले अन्तरवार्ता दिँदा उत्तर लेख्न किन झन्झट मानके होला भनेर छक्क परेको बताएका थिए । विश्वविद्यालयका विद्यार्थीलई कक्षा दिन जाँदा पनि विद्यार्थीबीच उनको औपचारिक अध्ययनको कुरा चल्ने गरेको प्रसङ्ग जनकपुर क्षेत्रमा उठ्थ्यो ।

तर उनी स्कुल कलेज नटेकेका, सङ्घर्षकै विश्वविद्यालय पढेका एक होनहार व्यक्ति थिए ।  उनलाई सम्झना गर्दा फेरि एक पटक जय गोविन्दलाई गम्भीर ढङ्गले अध्ययन गर्नुपर्छ । उनको सङ्घर्षशीलता, त्याग, निष्ठा र अनुशासनलाई मनन् गर्नुपर्छ ।

केवल शालिक ठड्याएर र वर्षमा एक दिन कार्यक्रम गरेर त्यो दायित्व पूरा हुन सक्दैन । त्यसो गर्न सकियो भने आज बिग्रिएको राजनीतिले सबैलाई दुःखित तुल्याउने स्थिति रहँदैन । उनले देखाएको आदर्श, नैतिकता र मूल्य मान्यताको राजनीतिक मार्गमा फेरि मुलुकको राजनीतिलाई फर्काउन सकियो भने पक्कै साहप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रभुनारायण बस्नेत
प्रभुनारायण बस्नेत
लेखकबाट थप