बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

वाइडबडी प्रकरणः सार्वजनिक लेखा समितिको बैठकमा के भयो ? (भिडियो)

सोमबार, २३ पुस २०७५, १४ : ३४
सोमबार, २३ पुस २०७५

काठमाडौं– संसदको सार्वजनिक लेखा समितिको बैठकले वाइडबडी विमान खरिद प्रकरणमा नेपाल बायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मुख्य जिम्मेवार ठहर्याएको छ । कंसाकारलाई तत्काल निलम्बन गर्दै हदै सम्मको कारवाहीका लागि सिफारिस गरिएको छ ।

सोमबार बसेको समितिको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित पूर्व २ मन्त्रीलाई पनि कारबाहीका लागि सिफारिस गरेको छ । कारबाही सिफारिस गर्दा यसअघि लेखा समितिको उपसमितिले बनाएको प्रतिवेदनमा मन्त्रीले बद्नियतपूर्ण काम गरेको भन्ने बाक्यबाट बदनियतपूर्ण भन्ने शब्द हटाइएको छ । 

यस्तै समितिले पूर्व पर्यटन सचिव प्रेम राईलाई सफाई दिएको छ । अर्का पूर्वसचिव शंकर प्रसाद अधिकारीले भने निगमको विनियमावलीको दफा २ सय ३६ को २ अनुसार विमान खरिद प्रक्रिया अघि बढाई सोहीअनुसार बोलपत्र स्वीकृत गरी निगमलाई ठूलो आर्थिक क्षति पु¥याई अनियमितता गरेको भन्दै थप छानविन गरी हदै सम्मको दण्डसजाय गर्न नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने निर्णय गरेको छ ।

यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा तत्कालीन वायूसेवा निगमका सञ्चालक समितिका अध्यक्षसमेत रहेका कृष्णप्रसाद देवकोटाले महालेखा परीक्षकको ५५ औं वार्षिक प्रतिवेदन २०७४ ले विमान खरिद नियम संगत नभएको भन्दा भन्दै विमान खरिद प्रक्रियालाई नियमितिता दिएको र अन्तिम किस्ता रकम पनि भूक्तानी दिएकोले कानुन बमोजिक हदैसम्मको दण्डसजाय गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने निर्णय गरेको छ । 

समितिका सभापति भरत शाहले उपसमितिले बनाएको प्रतिवेदन सच्याएर बैठकमा प्रस्तुत गरेका थिए । प्रतिवेदनमा तत्कालीन मन्त्री जीवनबहादुर शाही, जितेन्द्रनारायण देव र हालका वाहालवाला मन्त्री रवीन्द्र अधिकारीको संलग्नता सम्बन्धमा सचिव नै वायुसेवा निगमको अध्यक्ष रहेको अवस्थामा सार्वजनिक खरिद ऐन २०६३ को विपरित हुने गरी अनियमित तरिकाले विमान खरिद कारबाही अगाडि बढ्दा पनि विभागीय मन्त्रीको रुपमा बहाल रहेको अवस्थामा यथेस्ट सर्तकता नअपनाएको देखिँदा निजहरुले नैतिक जिम्मेवारी लिन र मन्त्रीहरुको कार्यक्षेत्र तथा कार्यशर्तहरुको सम्बन्धमा पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिने भनिएको थियो । 

तर यो विषयमा चन्दा चौधरी, प्रदिप यादव, प्रेम आले लगायतका सांसदहरुले सभापतिले सच्याएर ल्याएको उपसमितिको प्रतिवेदन सच्याएर बर्तमान मन्त्री र पूर्वमन्त्रीलाई कारबाहीको सिफारिस गर्न माग गरे । सत्तापक्षकै सांसदहरुले समेत आवश्यक अनुसन्धान गरी  मन्त्रीहरुलाई समान रुपमा कारवाहीको माग गरेपछि समितिका सभापतिले सोही अनुसार निर्णय भएको सुनाएका थिए । 

कंसाकार मुख्य जिम्मेवार
समितिले वाइडबडी विमान खरिद प्रक्रियामा भएको ४ अर्ब ३५ करोड घोटालामा वायू सेवा निगममा महाप्रवन्धक तथा सञ्चालक समितिका सदस्यसचिव समेत रहेका  सुगतरत्न कंसाकार मुख्य जिम्मेवार रहेको ठहर गरेको छ ।

उनले निगमको विनियमावलीको दफा २ सय ३६ को २ अनुसार बद्नियतपूर्वक पुरानो विमान खरिद गर्ने प्रक्रिया अघि बढाई यो प्रकरणमा प्रमुख भूमिका खेल्ने निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले बद्नियत राखी जहाज खरिद प्रकरणमा अख्तियारको दुरुपयोग गरी भष्ट्राचार गरेको देखिन आएकोले निजलाई कानुन बमोजिम दण्ड सजाय गर्न कानुनी कारबाही अघि बढाउन भन्दै नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने निर्णय गरेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप