केन्द्रीय संस्करण

व्यङ्ग्य : ज्येष्ठ श्रेष्ठ उर्फ ओल्ड इज गोल्ड !

person explore access_timeपुस २३, २०७५ chat_bubble_outline0

शिशु, बालक, किशोर, युवा, प्रौढ र बूढो हुने क्रम प्राणी जगत्कै प्राकृतिक नियम हो । यसविरुद्ध चल्न कसैको केही पिताम लाग्दैन । भेदपूर्ण सामाजिक संरचनामा प्रायः चेप्पिने र हेप्पिनेमा बालक, बूढा, अशक्त, विधवा, महिला तथा अपाङ्ग हुन्छन् ।

त्यसमा पनि यो बूढो हुनु त कालमा पुँडो सरेको खुँडो र लुँडो खाले जीवन हुँदो रहेछ । ‘उहिलेका कुरा खुइलिए, अहिलेका कुरा फैलिए’ भनेर त्यसै भनेको होइन रहेछ । उखानका गोदाम घरमा  बूढाबूढीअनुकूल उखान र प्रतिकूल आख्यानको घनाघच्ची भए पनि बूढाबूढी मैत्री उखान आलङ्कारिक राष्ट्रपतिजस्तो शक्तिहीन  बनेका छन् भने बूढो विमैत्री उखान कार्यकारी प्रमुख वा प्रधानमन्त्री नै भएर बूढा जमातलाई पेल्ने, ठेल्ने, बेल्ने, धकेल्ने र धारे हात लगाएर अचेट्नेतिरै बल गर्ने हुलको बिग्बिगी छ बा ! शासनदेखि प्रशासनसम्म कार्यरत जमात आसन खोस्न र पद प्राशन गर्न हतार भएर आपूmभन्दा वरिष्ठलाई डेट एक्स्पायर, थोत्रो र कायर भनेर फायर गर्छन् बा ! तन जीर्ण भएछि सोच  शीर्ण हुन्छ भन्ने उरन्ठेउलो सोच अधिकांश युवामा कोचाकोच छ गाँठे ? के यी गतिलै अष्ठचिरञ्जीवी र उध्र्वरेताका सेता मान्छे हुन् त ? यस्तो कट्मिरो चिन्तनका अल्लारे देख्दा विचरा भन्न मन लाग्छ । अहिले दलहरूमा अल्लारे तन्नेरीहरू सत्तरी कटेकालाई अभिभावक बनाएर आफू दलका सुप्रिमो बन्न पर्छ भनेर पाखुरा सुर्कने शक्ति सिद्धान्तका धुपौरेहरू टनाटन छन् । जिउ नयाँ भएर के गर्नु ? तिनीहरूको सोच भने सय वर्षअघिका जीर्ण सामन्त शासकको जस्तो डुङडुङ गनाएको छ । 

नेपालमा साठी काटेर लाठी टेक्ने बनेछि बूढोको लाइसेन्स पाइन्छ । तर भत्ता खान भने अझ दस वर्ष कुर्नुपर्ने बिब्ल्याँटो प्रावधान छ । चुनावको बेला त पचासै कटेकालाई ज्येष्ठ नागरिक बनाएर भत्ता दिनुपर्छ भनी डुक्रने पार्टीका साँढेहरूको पाँडे धक्कू पनि नसुनेका हैनन् बूढो जमातले । तर अगुवा नै बाटा हगुवा बनेर कुँडो खाएपछि दुखेको घुँडो सुम्सुम्याउँदै चङ्खनारनका हुलका फट्याइँपूर्ण भुललाई कुराले भुत्ल्याउने सिवाय के पो गर्न सकिन्छ र ? ल हेर्नोस् त उखानशिरोमणिहरूले बूढोपनमा मनका मन, टनका टन व्यङ्यबाँण बर्साएका– बूढोको छोरो, कुबेलामै टुहुरो । बूढाको पूता, यता न उता । बूढा जति ओह्रालो लाग्छन्, उँभो चढ्ने त हैसेबैँसे । बूढापाकाले कुरा बिगार्छन्, ढुङ्गामुढाले बाटा बिगार्छन् । बूढाबूढीको आँगनै परदेश’ । यो हन्तकाले जमातले कतिसम्म भन्न बाँकी राखेनन् भने– बूढाबूढीलाई ख्वाएको र भीरबारीमा मल हालेको एउटै हो । 

गोरु बूढो भए भीर खोज्छ, मान्छे बूढो भए निहुँ खोज्छ । हे हरि ! हे नारन ! यसरी हामी पाको जमातलाई खानै नदिने र ताल पारेर घरबाटै निकाल्बास गर्न खोज्नेहरू चैँ बूढाबूढी बन्दैनन् ? के यिनीहरू ब्रह्माका सनत्कुमार र ऊध्र्वरेता नै हुन् त ?

      ल हेर्नोस् त, अझ बूढाबूढी अमैत्री उखानका भाँती—भाँती ताँती लागेर दाँती नै खुस्काका ? तनले बूढाबूढी भए पनि मनले त हुँदैन नि ? यसो बसिबिँयालोमा गफ गर्यो भने नातिनातिनी पुस्ताका ढाडेढाडीहरू प्वाक्क भनिदिन्छन्– बूढी आइमाई पात्तिएको र बूढो मान्छे मात्तिएको सुहाउँदैन । यसो हाम्रा सौभाग्यवती बूढीहरूले शृङ्गार गरे भने यी नयाँ ठेट्नाहरू प्याच्च बोलिदिन्छन्– बूढेसकालको सिँगारपटार र बूढी घोडीको लाल लगाम, भनेर भुतुक्कै पार्छन् गाँठे  । 

अझ खिसी गर्दै उरन्ठ्यौला मोराहरू बूढा जमातलाई टुहुरा बनाउने धम्कीसाथ भन्छन्– बूढी भा नि लान्छु म ता भात त पकाइदेली ? हरे राम ! किरा परेको थुतुनु ? के सुन्न परेको यो कानले ! बूढो आयो लुरुक्क, बूढी उठी जुरुक्क । बूढो गोरु खोइलाको भर । बूढो गोरु तँगारो बाहिर । बूढो गोरुले सिङ हल्लाको र बूढी आइमाईले... हल्लाको । आदि भनेर उछित्तै काट्छन् यी ठेट्नाका हुलले । हो बूढो भएपछि घुँडा तिख्खिने र धोती झोल्लिने हुन्छ अनि त मोरमोरीहरू प्याच्च भनीहाल्छन्–  बूढो भएछि घुँडाको सिङ र धोतीको पिङ हुन्छ । 

अझ उखाने पण्डाहरूले वाक्बाँणको डण्डा चलाएर सीमान्तकृत नै बनाउँदै भन्छन्– बूढो स्वाँठभन्दा डरलाग्दो स्वाँठ अरू कोही हुँदैन । ‘स्वाँठ’ भनेको त दुष्टतापूर्ण व्यवहार गर्ने, सारै बदमास, बुद्धि विवेक विचार हुँदै नभएको माहामूर्ख लण्ठक हो । ल हेर्नोस् हामीलाई कति भित्तैमा पुर्याका   महाधूर्त आख्यान पण्डितले ? ‘बूढो र बालोको रिसले केही नाप्दैन ‘भन्ने उखानको बलमा अर्धनग्न भई बटारिएका र चटारिएका छौँडाछौँडी हामीले खबरदारी गरेर केही चर्को बोल्दा थाङ्ना, कन्जर्भेटिभ, अनुदारवादी, पुरातनको आरोपको खोप लगाउँछन् । 
 

  हुन त केही उखानप्रवर्तकहरूले हामीमैत्री उखान सूक्तिमा पाका जमात बचाउने जुक्ति निकालेर भनेका केही सूत्र पनि छन् । जस्तै– बूढा पाकाको लिनू अर्ति, जिउमा झिक्नू पूmर्ति । बूढाबूढीको अर्ति, नपार्नु जर्ती । बूढिया र बुज्रुक रहेनन् जहाँ, साँझको दियो जाग्दैन त्यहाँ, बूढो मानिस र गिलो भातले कहिल्यै बिगार गर्दैन । बूढापाका हिँडेको बाटोमा हिँड्नु । कतिपय भद्र एवम् ज्ञानी जनहरूले यो पाको अवस्थाको हाकोडाको समाजमा हुनुपर्छ भनेर कड्किँदै भैरवी बनेर पैरवी छेडेका छन्– ज्येष्ठ नागरिक जिउँदा इतिहास, सीप र ज्ञानका भण्डार, अतीतका पौरख र वर्तमानका पुस्तकालय हुन् । घर, परिवार, समाज, राष्ट्र र संसारकै पथ प्रदर्शक र प्रतिष्ठा हुन् । सबै भाषा, वर्ग, धर्म, संस्कृति र समुदायका तीर्थस्थल हुन् । तर के गर्ने नयाँ पुस्ताले यी नैतिक बोलीका तौललाई फुस्सा बनाएर हाम्रै सिहार सुसारबाट बलवान् बनी हाम्रै कमोदमा नाचेर हामी  कतिपयलाई  नै बेसहारा बनाएर पाटीपौवामा बेवारिसे छोडिरहेका छन् । मातृ देवो भव, पितृ देवो भव, आचार्य देवो भव, माता तु पार्वती देवी, पिता शङ्करमेव च । भन्ने वचनलाई बूढापाकाको सुखमय उत्तरार्ध बनाउने पोलिसी वा डिप्लोम्यासी भनेर उल्टै उँडाउँछन् र पेल्छन् । 

बूढो जमात सक्रिय हुँदैमा भएभरका सम्पत्ति आफ्नो नाममा  नामसारी गरेर छोरा र नाति पुस्ताका लफङ्गाहरू वित्तीय संस्थाबाट अनावश्यक ऋण लिई खाओपिओ मोज करोका ग्याङ बढ्दै गएका छन् । 
अहिले त औसत उमेरमा बढोत्तरी आएकाले विश्वमा हाम्रो सङ्ख्या झन्नै डेढ अरब पुग्न लाग्यो । नेपालमा झन्नै एकतीस लाख हामी बूढाबूढीको सङ्ख्या छ । त्यसैले बेलाबेलाका म्यादी सरकारले बनाएका ऐन, नियम, कानुन र निर्देशिका कार्यान्वयन गर्न दबाब दिएर यो उत्तरार्धलाई धन्य बनाऔँ । हामी शरीरमा पाका भए पनि अनुभव ज्ञान र सीपले युवा कालका भन्दा नि ताजा र पक्का छौँ ।  ज्येष्ठ श्रेष्ठ, उर्पm ओल्ड इज् गोल्ड ! त्यसैले जेठाजेठी एक हौँ । ज्येष्ठ नागरिक जिन्दावाद ! जेठो जेठो एक हौँ ! जय बूढा, जय बूढी ! 


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...