बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी चिकित्सक आन्दोलनमा, स्वास्थ्य मन्त्रालय घेराउ

आइतबार, २२ पुस २०७५, १४ : २७
आइतबार, २२ पुस २०७५

काठमाडौँ –सरकारी चिकित्सक संघले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेको छ । विभिन्न माग राख्दै  ६ पुसदेखि शान्तिपूर्ण आन्दोलन थालेको संघले आफूहरुको माग सम्बोधनमा सरकारले चासो नदिएको भन्दै आज मन्त्रालय घेराउ गरेको हो । 

 आफ्नो माग सम्बोधन नभए देशभरको स्वास्थ्य सेवा ठप्प पार्ने संघले सरकारलाई चेतावनी दिएको छ । 

‘कर्मचारी समायोजन अध्यादेश’ तत्काल सच्याइनुपर्ने उनीहरुको मुख्य माग छ । आफूहरुको सेवा, सुविधा र बढुवासम्बन्धी प्रावधान कटौति हुनेगरी सो अध्यादेश आएको उनीहरुको भनाई छ । 
सरकारी चिकित्सक संघका अध्यक्ष डा दीपेन्द्र पाण्डेले सरकारी चिकित्सकको अस्तित्वनै नास हुन लागेको हुँदा आफूहरु निर्णायक आन्दोलन गर्न बाध्य भएको बताए । आफूहरुको माग सम्बोधन नभए आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पारेर आन्दोलनमा उत्रन बाध्य हुने उनले चेतावनी दिए । 

 यस्तै संघका केन्द्रीय सदस्य डा. राजेशकुमार मण्डलले तत्काल अध्यादेश सच्याउन माग मन्त्रालयमा घेराउलगायतका विरोधका कार्यक्रम गर्नु परेको जानकारी दिए । 

संघले स्वास्थ्य सचिव र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा नियुक्तिका साथै  संघीय निजामती ऐनको सम्बन्धमा समेत उचित निर्णयको माग गरेको छ । 

संघका उपाध्यक्ष तथा वरिष्ठ चिकित्सक डुण्डीराज पौडेलले गणतन्त्र स्थापना भएपछि पनि नागरिकले प्रभावकारी स्वास्थ्य सेवा नपाएको बताए । स्वास्थ्य संस्था सुधार गर्ने, स्वास्थ्यकर्मीलाई पूर्णकालीन बनाउने, निःशुल्क र स्तरीय सेवा प्रदान गर्ने लगायतको सरकारले भन्दै आएको विषयमा चिकित्सक तयारी अवस्थामा भएपनि सरकारकै कारणले पूरा हुन नसकेको आरोप लगाए । 

चिकित्सकको मागमा स्वास्थ्य मन्त्रीले पनि साथ दिनुपर्ने भन्दै उनले अब बिरामीको मात्रै होइन मन्त्रालयको पनि शल्यक्रिया गर्ने बेला आएको उनले बताए । 

यस्तै प्रसूतिगृहका निर्देशक  डा जागेश्वर गौतमले सरकारी चिकित्सकहरुले राख्दै आएको माग जायज भएको भन्दै कर्मचारी समायोजनमा चिकित्सकलाई अपमान गरिएको आरोप लगाए । 

उनले निरन्तर ३६ वर्षदेखि सरकारी चिकित्सक भएर सेवा प्रदान गर्दापनि अहिलेसम्म सेवाको ग्यारेण्टी नभएको, समायोजनमा भेदभाव गरिएको, मन्त्रालयमा स्वास्थ्य सेवा भन्दा बाहिरको सचिव नियुक्त गरिएको, विभिन्न सरकारी स्वास्थ्य प्रतिष्ठान र संघसंस्थाहरुमा कर्मचारी तथा चिकित्सक नियुक्ति गर्न नसकिएको भन्दै सरकारको आलोचना गरे । 

विरोध कार्यक्रममा सहभागि ट्रमा सेन्टरका प्रमुख कन्सलटेन्ड डाक्टर रुद्र मरासिनीले सरकारको कर्मचारी समायोजन अध्यादेशमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उपेक्षा गरेकाले आफूहरुले असहमति जनाएको बताए । 

शान्तिपूर्ण आन्दोलनबाट राखिएको मागलाई सरकारले सम्बोधन नगरेको खण्डमा छलफलपछि देशभरको स्वास्थ्य सेवा ठप्प पार्न बाध्य हुने भन्दै उनले त्यो बेलाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप