शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कादर खानका छोरा सरफराजको गोबिन्दा, अमिताभमाथि कटाक्षः एउटा फोनसमेत गरेनन्

आइतबार, २२ पुस २०७५, ११ : ५३
आइतबार, २२ पुस २०७५

ब्रजेश मिश्र, बीबीसी

‘उनी मेरा उस्तादमात्रै नभई मेरा पितासमान थिए । उनको त्यो छुवाई र आभाले हरेक अभिनेतालाई उनीहरु एक सुपरस्टारसँग काम गरिरहेका छन् भन्ने महसुस गराउँछ । पूरा फिल्मी जगत् र मेरो परिवार यो क्षतीमा शोक व्यक्त गर्छ । हामी आफ्नो दुःख शब्दमा बयान गर्न सक्दैनौं ।’ – गोबिन्दा

‘कादर खानको निधन... निबै दुःखद र निराशाजनक खबर हो... मेरो प्राथर्ना र समवेदना.... एक उत्कृष्ट स्टेज कलाकार... र एक शानदार फिल्म कलाकार... मेरा धेरैजसो उत्कृष्ट फिल्मका शानदार लेखक.... एक उत्कृष्ट व्यक्तित्व.... र एक गणितिज्ञ ।’ – अमिताभ बच्चन ।

‘कादर खान, तपाईंलाई हामी याद गरिरहनेछौं । आतिश, घरवाली बाहरवाली, दुल्हे राजा, वाह तेरा क्या कहनादेखि बडे मियाँ छोटे मियाँसम्म, कसैसँग त्यस्तो अभिनय क्षमता थिएन जुन तपाईंमा थियो । कादर दाइ तपाईंले यादहरुको खजाना छोड्नुभएको छ । परिवारलाई मेरो समवेदना ।’ – रविना टन्डन ।

यस्तै केही ट्वीट देखेर तपाईंलाई लागको होला कि कादर खानको निधनमा बलिउडमा कति शोक छ, र उनको विषयमा बलिउड कति गम्भीर छ । तर बीबीसीले जब कादर खानका छोरा सरफराज खानसँग कुराकानी गर्यो तब उनको जवाफ चकित पारिदिने खालको थियो ।

सरफराज भन्छन्, ‘बलिउडले मेरा पितालाई बिर्सियो । यही वास्तविकता हो । तर मेरो बुवाले सायद सोचेका पनि थिएनन् होला कि उनलाई अन्तिम अवस्थामा कसैले वास्ता गर्नेछन् । सायद उनलाई राम्रोसँग थाहा थियो कि उनले यस्तो उपेक्षाको सामना गर्नुपर्छ ।’

८० र ९० को दशकमा शानदार अभिनय र लेखनसँग दर्शकको मनमा बस्न सफल दिग्गज अभिनेता कादर खानको डिसेम्बर ३१ को बेलुका क्यानडाको एक अस्पतालमा निधन भयो । उनी ८१ वर्षका थिए ।

कादर खान निकै लामो समयदेखि बिरामी थिए । उनका छोराका अनुसार डिसेम्बर ३१ को दिउँसो उनी कोमामा गएका थिए र पछिल्लो १६–१७ दिनदेखि अस्पतालमा भर्ना थिए । उनलाई सास फेर्न समस्या भइरहेको थियो त्यसपछि डाक्टरले उनलाई नियमित भेन्टिलेटरबाट हटाएर बिआईपीएपी भेन्टिलेटरमा राखेका थिए ।

गोबिन्दाको ट्वीटमा सरफराजले भने, ‘मानिसहरु प्रेमले उनलाई पिता भनेपछि पिडा जति मलाई नै पर्यो । भागदौड मैले नै गर्नुपर्यो र जीवनभरी मैले नै उनको हेरबिचार गरेको छु । कसैले पनि उनलाई एकपटक पनि सम्झेनन् ।’

सरफराज थप्छन्, ‘मेरा पिताले आफ्नो जीवन नै बलिउडलाई समर्पित गरे तर उनले कहिले पनि आफूलाई मानिसहरुले पछिसम्म माया गर्लान्, याद गर्लान् भनेर सोचेका थिएनन् । किनभने उनले आफूले काम गर्ने बेला नै आफ्ना सिनियर्समाथि अन्तिम अवस्थामा कस्तो व्यवहार भएको थियो भन्नेबारे देखेका थिए । ’

बलिउडले कादर खानलाई बिर्सियो, यो कुरा सरफराज पनि मान्छन् । सरफराजले भने, ‘बलिउडले भन्दा कादर खानलाई उनका प्रशंसकले रुचाए र यो उनको अन्तिम संस्कारमा क्यानडामा पनि देखियो । संसारको अलग अलग कुनाबाट उनलाई चाहनेहरु त्यहाँ पुगे । उनका अनुसार फिल्म उद्योगबाट डेविड धवनले मात्र उनलाई फोन गरेका छन् ।

सरफराज भन्छन्, ‘मेरा बुवाले कहिले पनि फिल्मी क्षेत्रबाट आशा गरेनन् तर उनले आफ्ना प्रशंसकबाट भने आशा गरेका थिए र हिजो यो देखियो पनि । डेविड जीबाहेक अरु कसैको पनि फोन आएन । तर इन्डष्ट्रिमा जुन ट्रेन्ड बनेको छ, त्यो सबैसँग आखिर भएरै छाड्छ ।’

करिब तीन सय फिल्ममा कामः

उनी भन्छन्, ‘जब गोबिन्दा स्टार थिए तब मानिसहरु उनलाई भेट्न लालायित हुन्थे अब त उनी आफैं मानिसहरुलाई खोजीखोजी भेटिरहेका छन् ।’

करिब तीन सय फिल्ममा काम गरिसकेका कादर खानले गोबिन्दासँग थुप्रै फिल्म खेलेका थिए । ९० को दशकमा कादर खान र गोबिन्दाको जोडी फिल्म निकै छाएको थियो । एब दशकदेखि कादर खान फिल्मी दुनियाँबाट टाढा थिए । स्वास्थ्य खराब भएका कारण उनको धेरैजसो समय क्यानडामा बित्यो ।

अमिताभ बच्चनसँग कादर खानको दोस्ती निकै चर्चित रह्यो । कादर खान र अमिताभले यारान फिल्ममा सँगै काम गरेका थिए । कादर खानले लेखेका विभिन्न फिल्ममा पनि अमिताभ बच्चनले अभिनय गरेका छन् ।

सरफराज भन्छन्, ‘मेरो बुवाले अमिताभ बच्चनलाई निकै माया गर्दथे र उनको तारिफ गर्दथे । अमिताभ बच्चनले पनि उनको कामको निकै महत्व दिन्थे त्यसकारण सायद दुबैको दोस्ती निकै शानदार थियो । ’

यद्यपी, अन्तिम रोगका कारण अमिताभ बच्चन वा कुनै अन्य बलिउड कलाकारले उनलाई फोन नगरेको सरफराजले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप