'ठाउँ अभावले शिक्षण अस्पतालको सेवा विस्तारमा समस्या भयो'
काठमाडौँ । झण्डै ५ महिना लामो कसरतपछि देशकै ठूलो अस्पताल त्रिवि शिक्षण (टिचिङ) अस्पतालले निर्देशक पाएको छ । निर्देशकका रूपमा प्राध्यापक डाक्टर प्रेम खड्गालाई नियुक्त गरिएको छ । झण्डै साढे दुई हप्ताअघि निर्देशकको जिम्मेवारी सम्हालेका डा. खड्काले अस्पतालमा भएको कमिकमजोरीको बारेमा नियाल्ने मौका पाइसकेका छन् । नागरिकले महशुस गर्न सक्नेगरी स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता निर्देशक डा. खड्काले व्यक्त गरेका छन् ।
उनले टिचिङ अस्पतालमा सेवा प्रभावकारी नहुनुको कारण ठाउँ अभाव भएको औँल्याउँदै तत्कालका लागि टिचिङलाई २० देखि ३० रोपनी जग्गा आवश्यक रहेको बताए । बिरामीको चापलाई व्यवस्थित गर्न निकट भविष्यमा नै ओपीडी स्वास्थ्य शिविरको आयोजना गर्ने तयारी भइरहेको छ । यिनै सन्दर्भमा नयाँ योजना, प्रभावकारी स्वास्थ्य सेवा, अस्पतालले तत्काल सुधार्नुपर्ने क्षेत्र, नागरिकका गुनासाको सम्बोधन लगायत विषयमा निर्देशक खड्कासँग रातोपाटी संवाददाता अञ्जु तामाङले गरेको कुराकानी ।
त्रिवि शिक्षण अस्पतालको निर्देशकमा नियुक्त हुनुभएको छ, अस्पताल सुधारका लागि कस्तो योजना बनाउनुभएको छ ?
त्रिवि शिक्षण अस्पतालमा निर्देशकको रूपमा नियुक्त भएको आज साढे दुई साता भयो । निर्देशकको जिम्मेवारी पाएपछि टिचिङ अस्पतालको सेवा कसरी प्रभावकारी बनाउने भन्ने विषयमा नै छलफल गरिरहेको छु । सर्वप्रथम टिचिङमा आउने बिरामीलाई कसरी छिटो स्वास्थ्य सेवा प्रदान गर्ने भनेर अहिले ठाउँ खोज्ने तयारीमा छौँ । खाली कोठा खोजेर निकट भविष्यमा यो सेवा सञ्चालन गर्ने तयारीमा लागेका छौँ । ओपीडी स्क्रिनिङ बिहान ८ देखि बेलुका ६ बजेसम्म सञ्चालन हुने छ । अस्पतालमा आउने सबै बिरामीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सकिने हाम्रो विश्वास छ । स्वास्थ्यकर्मीले नै शिविरमा सेवा प्रदान गर्ने छन्, आवश्यक परेको खण्डमा विशेषज्ञलाई पनि सहभागी गराइने छ । ओपीडी शिविरमा २ दिनमा सम्पूर्ण उपचारको काम सकिने छ ।
अस्पताल सुधारका लागि एक, दुई, तीन गरेर भन्नुपर्दा केके हुनसक्छन् ?
अस्पतालमा सुधार गर्नुपर्ने कुरा धेरै छन् । सबैभन्दा पहिला बिरामीलाई सेवाबाट खुशी पार्न सेवालाई नै छिटो, छरितो र सहज बनाउनु पर्नेछ । त्यसपछि यातायात, पार्किङ समस्या छन्, तिनलाई समाधान गर्नेतर्फ ध्यान दिइनेछ । आकस्मिक कक्षमा बेडभन्दा बिरामीको सङ्ख्या धेरै भएको गुनासो आइरहेको छ । यी कुरालाई तत्काल सुधार गर्नुपर्ने ठानेको छु । ओपीडीमा आउने बिरामीलाई पनि प्रभावकारी सेवाको जरुरी छ । अर्काे कुरा, भर्नाको लागि टिचिङ अस्पतालमा धेरै समस्या छन् । अस्पतालको क्षमताभन्दा बढी बिरामी भर्ना गर्नुपर्ने बाध्यता छ । जस्तै, आकस्मिक कक्षको बेड सङ्ख्या ४५ छ तर बिरामी सङ्ख्या त्योभन्दा दोब्बर हुनेगरेको छ । समस्या लिएर आएका प्रत्येक बिरामीको उपचार गर्नु अस्पतालको दायित्व हो । अस्पतालमा आउँदा बिरामीले धेरै आशा र विश्वास लिएर आएका हुन्छन् तर बेड नपाउँदा निराश भएर जानुपर्ने बाध्यता देखिएका छन् । डिस्चार्ज भएर अरूतिर उपचार गर्न जानुभन्दा पनि मान्नुहुन्न । उहाँहरूको आर्थिक अवस्था, अस्पतालप्रतिको विश्वास विभिन्न कारणहरू हुनसक्छन् । अर्काे कारण भनेको बेड नभएर समयमा भर्ना गर्न नसकिने अवस्था पनि छ । तर पनि बिरामी त्यहीँ बस्छन् । आकस्मिक कक्षमा अत्यधिक चाप हुँदा एउटै बेडमा ३, ४ जना राखेर उपचार गर्नुपर्ने बाध्यता पनि छ ।
नागरिकलाई उपलब्ध गराएको सेवाप्रति तपाईं कतिको सन्तुष्ट हुनुहुन्छ ?
सेवाको हिसाबले टिचिङमा मेडिकल सेवा ठिकै छ । अस्पतालले क्षमताअनुसारको राम्रो सेवा दिएको छ । उपचारका लागि आएको डिमान्डको आधा मात्रै सेवा दिनसक्ने अवस्थामा अस्पताल छ । जस्तै; अल्ट्रासाउन्डका लागि ४ सयको माग छ भने पनि दुई सय ५० लाई मात्रै सेवा दिनसक्ने अवस्थामा छौँ । यो भनेको अस्पतालको लागि ब्याडलक हो । त्यस्तो समस्या हुँदाहुँदै पनि सबैलाई सेवा दिँदा एक महिना पछाडिसम्म पनि पुग्न सक्छ ।
निजी अस्पतालको तुलनामा सरकारी अस्पतालहरू कमजोर हुनुको कारण के देख्नु हुन्छ ?
सेवा र उपचारको हिसाबले हेर्ने हो भने हामी निजी अस्पतालभन्दा कमजोर छैनौँ । सरकारी अस्पतालमध्ये त्रिवि शिक्षण अस्पतालले राम्रो स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ, त्यही भएर नै पनि यो अस्पतालमा धेरै भीड हुनेगरेको छ ।
तर बिरामीले चाहेजस्तो आउँदा आउँदै सेवा पाउने, आजको भोलि नै उपचार हुने आश लिएर आएका बिरामी निरास हुन सक्छन् । बिरामीले भनेकै समयमा उपचार सेवा उपलब्ध गराउन सकेका छैनौँ । यो हामीले पनि महशुस गरेकै कुरा हो । बिरामीको मागअनुसार स्वास्थ्य सेवा दिन सकेका छैनौँ । त्यसको मूल कारण भनेको उपचार सेवा लिन आउँने बिरामीको सङ्ख्या धेरै छ तर अस्पतालले प्रदान गर्ने जनशक्ति, पूर्वाधार क्षमताको कमी यो समस्या देखिएको हो ।
सरकारी अस्पतालको नाम बेचेर डाक्टरहरू निजी क्लिनिकमा धाउँछन् भन्ने गुनासो बढेको छ, यसमा तपाईंको भनाइ के छ ?
हाम्रो नियममा बिहान ९ देखि ५ बजेसम्म काम गर्नुपर्ने हुन्छ । यो अवधिभित्र टिचिङ अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले जिम्मेवारी पूरा गरेका छन् । एकदुई जना त्यस्ता व्यक्ति त्यस्ता पनि होलान् तर सरकारी अस्पतालका कर्मचारी भएर निजीमा जाने कर्मचारी अहिलेसम्म मैले पाएको छैन । आफ्नो जिम्मेवारी पूरा गरेपछिको समयमा चिकित्सकले निजी अस्पतालमा गएर सेवा दिन पाउँछन् । त्यो नियममा पनि व्यवस्था गरिएको छ । आफ्नो जिम्मेवारी पूरा गरेपछि निजी अस्पतालमा गएर सेवा दिनु पनि राम्रै कुरा हो ।
स्वास्थ्य मन्त्रालयले सञ्चालन गरेका सबै कार्यक्रम टिचिङ अस्पतालमा छैन नि ?
विपन्न नागरिक र प्रसूतिमा दिने सेवाहरू पाइरहेका छन् । सरकारले नागरिकका लागि ७० वटा औषधि निःशुल्क दिँदै आइरहेको छ तर त्यो कार्यक्रम टिचिङ अस्पतालमा छैन । यस्तै सरकारको कार्यक्रम अन्तर्गत नै बिमाको कार्यक्रम कसरी सञ्चालनमा ल्याउन सकिन्छ भन्ने सवालमा स्वास्थ्य बिमा बोर्डका निर्देशकसँग छलफल गर्ने तयारीमा छौँ । दैनिक १३ सयदेखि २३ सयसम्म नागरिकले सेवा लिने गरेको टिचिङ अस्पतालमा बिमाको कार्यक्रम सञ्चालन गर्न अति आवश्यक छ ।
टिचिङ अस्पतालको सेवा सुविधा अझ प्रभावकारी बनाउन के सोच्नुभएको छ ?
२ सय ७० जना त्रिभुवन विश्व विद्यालयको फ्याकल्टी मेम्बर, २ सयको हारहारीमा रेजिडेन्ड डाक्टर, ४ सय ७० नर्स र २ सय प्राविधिक यस संस्थामा आबद्ध छन् । चिकित्सकबाहेक १४ सयदेखि १६ सयको हारहारीमा कर्मचारी छन् । चिकित्सक भएर पनि ठाउँको अभावले सोचेअनुसार सेवा प्रदान गर्न सकिएको छैन । सबैभन्दा आवश्यक कुरा भनेको सेवा प्रदान गर्ने ठाउँको अभाव छ । भएका पुरानो भवनहरूमा तला थप्न पनि मिल्दैन । बाँकी खुल्ला ठाउँमा सवारी पार्किङकै लागि साँघुरो भएको छ । यसको विकल्पका लागि अस्पतालले मात्रै सोचेर हुँदैन । कीर्तिपुरमा त्रिविलाई दुई सय रोपनी जग्गा उपलब्ध गराइएको छ । टिचिङ अस्पतालको कुनै विभाग सार्न सकिन्छ तर तोकेका विभागहरू जान मानिरहेको छैनन् । मैले सुनेअनुसार टिचिङको पब्लिक हेल्थको विभागको लागि एउटा भवन बनेको छ तर सो विभाग त्यहाँ जान मानिरहेको छैन । नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्नका लागि टिचिङका केही विभाग कीर्तिपुरमा सार्नुपर्ने देखिएको छ । सबै कुरा मिलेको खण्डमा सार्ने पनि छौँ ।
यस्तै अस्पतालको गेटछेउमा भएका पुराना भवन भत्काएर नयाँ बनाउने तयारीमा छौँ । भाटभेटेनी सञ्चालक मिन बहादुर गुरुङको सहयोगमा भवन बनाउने तयारी हँुदैछ । सो भवनमा पैसा तिरेर निजी क्लिनिकमा जसरी नै उपचार गर्न र बस्न पाउनेगरी दिनरात स्वास्थ्य सेवा प्रदान गरिने छ । ६ देखि ७ तलाको भवन बन्ने नक्साको तयारी भइरहेका छ । भवनको भुइँतला फार्मेसी र सुरक्षाकर्मीको लागि प्रयोग गरिने छ भने माथिल्लो तलाहरूमा स्वास्थ्य सेवा प्रदान गरिने छ । यो माग अस्पतालको भए पनि भवन भाटभटेनीले बनाएर अस्पताललाई हस्तान्तरण गर्ने छ ।
नयाँ सेवा प्रदान गर्न सरकारको नीति कार्यक्रम अनुसार नै हामी लाग्नुपर्ने हुन्छ । तर सकेसम्म आधुनिक सेवाहरू विस्तार गर्न खोजिरहेका छौँ । न्युरोलोजिस्ट, युरोलोजिस्ट सेवा ठाउँको अभावले गर्दा राम्रोसँग सञ्चालनमा ल्याउन सकिएको छैन । ठाउँ भेटेको खण्डमा एकदमै आवश्यक रहेका यी दुई सेवालाई विस्तार गर्ने छौँ । तत्कालको लागि २० देखि ३० रोपनी जग्गा भएको खण्डमा सेवालाई राम्रोसँग विस्तार गर्न सकिन्छ ।
पछिल्लो समय टिचिङ अस्पताल आन्दोलन गर्ने थलो बन्दै आइरहेको छ । डा. गोविन्द केसीको अनशन, विभिन्न पार्टीका भातृसङ्गठनका विद्यार्थी, स्वास्थ्यकर्मीहरूको आन्दोलनले सेवा प्रत्यक्ष प्रभावित भइरहेको छ, यो विषयमा अस्पताल प्रशासनले केही सोचेको छ ?
डा. गोविन्द केसी अनशन बस्दा कहिले पनि टिचिङ अस्पतालको सेवा प्रभावित भएन । नागरिकले स्वास्थ्य सेवा पाउन् भनेर नै उहाँ टिचिङभन्दा बाहिरका ठाउँमा अनशन बस्दै आउनुभएको छ । उहाँको कारणले अन्य सरकारी अस्पताल बन्द भएको अवस्थामा पनि टिचिङ अस्पताल बन्द गराएका छैनाँै । कुनै न कुनै रूपमा सेवा दिइरहेका छौँ । तर अन्य व्यक्तिहरूले आन्दोलन गरेर स्वास्थ्य सेवामा बाधा पुर्याउने काम हुन्छ भने म मान्न तयार छैन । टिचिङ अस्पतालले स्वास्थ्यको क्षेत्रमा धेरै नयाँकामहरू भइरहेका छन् ।
कलेजो प्रत्यारोणको काम सुरु हुने तयारीमा छ । तयारीको बारेमा नेपाल सरकाबाट जानकारी लिन एउटा टिम आउँदै छ । हामीले गरेको तयारीलाई उपयुक्त ठान्नु भयो भने एक दुई महिनाभित्र कलेजको प्रत्यारोण सुरु हुन्छ । अहिले नियमित रूपमा किड्नीको प्रत्यारोपण भइरहेको छ । टिचिङमा सबै गरेर २३ वटा विभागहरू छन् । यस्तै न्युरोलोजिस्ट, ग्यास्ट्रोलोजिस्ट विभागहरूले अत्याधुनिक सेवाहरू दिइरहेको छ । म आफै पनि ग्यास्ट्रोलोजिस्ट पनि हुँ । मैले जिम्मेवारी लिएको टिचिङको यो विभागमा नेपालमा भएका सबै सेवा उपलब्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘म सिंगल छु’ भन्ने पूर्वप्रेमी अर्जुनलाई मलाइकाले फर्काइन् जवाफ
-
५ अर्ब रुपैयाँ बराबरको गलैँचा निर्यात
-
झिनो अंकले बढ्यो नेप्से, पाँच अर्बको कारोबार
-
नेटफ्लिक्समा आयो स्कुइड गेम्सको दोस्रो सिजन
-
वरुणको बेबी जोनमाथि पुष्षा २ हाबी, कति कमायो चलचित्रले ?
-
‘बक्सिङ डे’ टेस्टमा जिम्बाबेका म्याच रेफ्री एन्डी पाइक्रफ्टको नाममा बनेको यो कीर्तिमान !