बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मसानघाट नजिकैका विद्यालयका पीडा : लास ल्याएपछि विद्यार्थीलाई घुम्न लानुपर्ने बाध्यता

आइतबार, २२ पुस २०७५, १० : ०६
आइतबार, २२ पुस २०७५

भक्तपुर । बीचमा हनुमान्ते नदी, दायाँबायाँ घाट, त्यहीँ छन् दुई विद्यालय । हनुमान्ते नदी भक्तपुर जिल्लाको मध्य भाग हुँदै बग्छ । हिन्दु संस्कार अनुसार मृत्युपछि अन्तिम संस्कारका लागि नदी किनारमा रहेको घाटमा लगिन्छ । 

भक्तपुर नगरपालिका क्षेत्रमा मात्र यस्ता सातवटा घाट छन् । ब्रह्मायणी, हनुमान, काली, चुल्पिङलगायतका घाट छन् । तीमध्ये भक्तपुर नगरपालिका–७ हनुमानघाट नजिकै छन्, बालसेवक र चण्डेश्वरी आधारभूत विद्यालय । 

पैदल दूरीको हिसाबले करिब ३ मिनेटमा यी दुई विद्यालयमा पुगिन्छ । तर मसानघाट नजिकै भएकाले दुई विद्यालयले भोग्दै आएको समस्या उस्तै उस्तै छन् । 

घाट मानवीय सभ्यता सुुरु भएसँगै निश्चित स्थानमा रहे तर विद्यालय भने शिक्षाको थालनी भएपछि मात्र स्थापित भए । 

घाटमा संस्कृति, परम्परा र सभ्यता जोडिन्छ । विद्यालयमा त्यही संस्कृति र परम्परा जोगाउन देशका धरोहरलाई शिक्षा दिइन्छ । त्यसैले दुवैको महत्त्व निकै छ । एक स्थानीयले रातोपाटीसँग कुरा गर्दै भने, ‘घाट हाम्रो सभ्यता हो, यसलाई सार्न सकिँदैन तर विद्यालय त सकिन्छ नि ?’

विकासको तीव्र गतिसँगै मध्यपुरथिमि नगरपालिकामा रहेका केही घाटहरू मासिँदै जान थालेको बारेमा रातोपाटीले गत हप्ता समाचार प्रकाशित गरेको थियो । 

भक्तपुर नगरपालिका र मध्यपुरमा भने मसानघाट नजिकै सामुदायिक र संस्थागत विद्यालय स्थापना गरिएको छ । 

मसानघाट नजिकै भएका विद्यालयमा अध्ययन र अध्यापन गराउनेहरूलाई मानसिक र शारीरिक रूपमा असर पर्नेगरेको उनीहरूको भनाइ छ । 

मध्यपुरथिमि नगरपालिका–४ मा सिवर्ड कलेज पनि घाट नजिकै छ । उक्त कलेजका एक शिक्षकले मानिसको मृत्यु भएर घाटमा ल्याएपछि झ्यालहरू बन्द गर्ने गरिएको बताए । 

कलेजले मसानघाटमा हुने मृत्यु संस्कारको दृश्य नदेखियोस् भनेर वरपर बोर्ड राखेर छेकेको छ । 

बालसेवक र चण्डेश्वरीलाई बढी समस्या :

भक्तपुर नगरपालिका वडा नम्बर ७ मा रहेको हनुमानघाट नजिकै भएका बालसेवक र चण्डेश्वरी आधारभूत विद्यालयमा ससाना बालबालिका अध्ययन गर्छन् । उनीहरूको बालमनोविज्ञानमा कस्तो असर पर्ला ? 
हाम्रो प्रश्नको उत्तरमा चण्डेश्वरी आधारभूत विद्यालयकी प्राचार्य रिता लाखेमरुले भनिन्, ‘लास जलिरहेको दृश्य र त्यसबाट आउने दुर्गन्धले निकै असजिलो हुन्छ । त्यसमाथि खोलाको दुर्गन्ध त छँदैछ ।’

यो विद्यालयमा हाल १ सय १५ जना विद्यार्थी अध्ययनरत छन् । ११ जना शिक्षक कार्यरत रहेको प्राचार्य लाखेमुरुले बताइन् ।  

चण्डेश्वरी आधारभूत विद्यालयबाट तीन मिनेटको दुरीमा हिँडेर हनुमान्ते नदी तरेर पुगिन्छ, बालसेवक आधारभूत विद्यालय । 

उक्त विद्यालयमा रातोपाटी प्रतिनिधि पुग्दा परीक्षाफल प्रकाशन गर्ने तयारी भइरहेको थियो । हनुमानघाटसँगै जोडिएको भवनमा सुनसान थियो । पल्लो परोपकारको भवनमा विद्यालयको केही कक्षा सञ्चालन गर्ने गरिँदो रहेछ । 

परोपकार भवनको मुख्यद्वार नजिकै पुगेपछि हामीले एकजना विद्यार्थीलाई ‘हेडसर कता हुनुहुन्छ ? भनेर सोध्यौँ । 

उनले भित्र गएर सरलाई बोलाए । जयपालहरि कायस्थ बाल सेवक आधारभूत विद्यालयका प्राचार्य (हेड सर) हुन् । वि.सं. २०१९ सालमा स्थापना भएको यो विद्यालय नगरपालिकाभित्र रहेको सामुदायिक विद्यालयमध्ये नमुना विद्यालय हो । कक्षा ८ सम्म अध्यापन हुँदै आएको बाल सेवकमा २ सय ४३ विद्यार्थी छन् । हाल १२ जना शिक्षक शिक्षिका यहाँ कार्यरत रहेको प्राचार्य कायस्थले जानकारी दिए । 

हनुमानघाटमा भक्तपुर नगरभित्र बसोबास गर्ने, अन्यत्रका र दशनामी समाजका मानिसको मृत्युपछि अन्तिम संस्कार हुने गरेको छ । प्राचार्य कायस्थका अनुसार स्थानीय एक समुदायका मानिसको मृत्यु हुँदा विद्यालयसँगै रहेको घाटमा संस्कार गरिन्छ । 

मसानघाटमा जब लास ल्याएको देखिन्छ, त्यसपछि विद्यालयमा बस्नै नसकिने वातावरण हुन्छ । विद्यार्थीलाई कि त बिदा दिनुप¥यो कि घुमाउन लानुपर्छ, उनले भने । 

स्कुल नै सार्नु पर्यो भनेर जनप्रतिनिधि आएपछि विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरेर निवेदन दिएको समेत कायस्थले बताए । उनका अनुसार घाटमा लास जलाउन थालेपछि धुवाँको दुर्गन्ध आउने गर्छ । त्यसपछि शिक्षक र विद्यार्थीलाई रिँगटा लाग्ने मनोवैज्ञानिक त्रास पैदा हुने गरेको छ । 

विद्यालय सार्न तत्काल सकिँदैन : नगरप्रमुख प्रजापति 
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घाट वरपरका विद्यालय तत्कालै सार्न नसकिने बताए । उनले भने– ‘नगरपालिकासँग पर्याप्त जमिन छैन्, धेरै विद्यालयहरूले जग्गा माग्नु भएको छ, दिन सकिने अवस्था छैन । 

नगरपालिकाले हनुमान्ते घाट र नदी वरपर भएका विद्यालयहरूमा असर कम गर्न वरपरका फोहोर हटाउने, पानी जम्न नदिनेलगायतका कार्य गर्दै आएको नगरप्रमुख प्रजापतिले बताए । 

भक्तपुरमा आदर्श आजाद, बाल सेवक, चण्डेश्वरी, शान्ति निकेतन, सिवर्डलगायतका केही विद्यालयमा घाट तथा वर्षामा आउने बाढीको कारणले समस्या हुँदै आएको छ । घाट र वर्षाका कारणबाट हुने विभिन्न समस्या समाधानका लागि सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने देखिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप