शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अब उपत्यकाका नदीमा पौडी खेल्न मिल्छ त ?

शनिबार, २१ पुस २०७५, ११ : ४७
शनिबार, २१ पुस २०७५

तपाईं पत्याउनुहुन्छ ? अब काठमाडौँकै नदी नुहाउन र कपडा धुन मिल्ने बन्दैछन् । हो, त्यसका लागि काठमाडौँका नदीमा फोहोर पानी प्रशोधन केन्द्र स्थापना गरेर फोहोर पानीलाई सफा बनाउने प्रक्रिया सुरु भइसकेको छ । 

‘हामी ३०, ३१ सालमा क्याम्पस छुट्टी हुने बित्तिकै पौडिन बागमतीमा आउँने गथ्र्यौं । प्यास लाग्दा बागमतीको पानी पिउने गथ्र्यौं । यहाँ ३२ प्रकारका माछा पाइन्थे । तर अहिले स्थिति भयावह छ । अब बुढेसकाल भए पनि बागमतीमा पौडी खेल्ने चाहना छ । त्यो चाहना छिट्टै पूरा हुनेछ’, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो अनुभव सुनाए । 

मेयर महर्जनले भनेजस्तै अब उपत्यकाका नदीमा मिसिने फोहोर पानी प्रशोधन गरेर मात्रै मिसाइने तयारी भएको छ । बिहीबार मात्रै ललितपुरको बालकुमारीमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण कार्यको शीलान्यास गरिएको छ । 

दैनिक ११ करोड पानी प्रशोधनको योजना  
बालकुमारीस्थित यो प्रशोधन केन्द्रले दैनिक ११ करोड लिटर पानी प्रशोधन गर्ने विज्ञहरूको भनाइ छ । त्यस्तै भक्तपुरको सल्लाघारी, ललितपुरको कोड्कु, बालकुमारी र धोवीघाटबाट पनि फोहोर पानी प्रशोधन गरिनेछ । 

प्रशोधित पानी नदीमा छोडिनेछ । यो पानी नुहाउन, कपडा धुन योग्य हुन्छ । प्रशोधनपछिको ठोस फोहोरलाई सेन्ट्रिफ्युज विधिबाट प्रयोगमा ल्याउन सकिनेछ । जसलाई किसानले सिंचाइका लागि समेत प्रयोग गर्न सक्नेछन् । यसबाट नदीमा भइरहेको दुर्गन्ध हट्नेछ भने नदीमा बस्ने जलचरहरूका लागि स्वच्छ वातावरण बन्ने अपेक्षा गरिएको छ । 

प्रशोधन केन्द्रबाट बिजुली 
धोबीघाट र गुहेश्वरीको प्रशोधन केन्द्रबाट बिजुली पनि निकाल्ने तयारी भएको छ । धोबीघाट प्रशोधन केन्द्रबाट २३० किलोवाट र गुह्येश्वरीबाट २०० किलोवाट बिजुली उत्पादन गर्ने तयारी भइरहेको बताइएको छ ।  

आयोजना निर्माणका लागि एसियाली विकास बैङ्कले झण्डै १५ अर्ब रुपैयाँ ऋण सहयोग उपलब्ध गराएपछि उपत्यकाका चार रस्थानमा फोहोर पानी प्रशोधन केन्द्र स्थापना गरेर काम थालिएको हो । 
नेपालमा सन् २०१३ देखि फोहोर प्रशोधन गर्ने आयोजना सुरु भएको हो । यो आयोजनाको लागत १४ अर्ब रुपैयाँ अनुमान गरिएको छ । यसको डिजाइन र निर्माणमा एक भारतीय र २ चिनियाँ कम्पनीले काम गरेका छन् ।

असर जनसङ्ख्या वृद्धि
काठमाडौँ उपत्यकाको जनसङ्ख्या बर्सेनि बढेसँगै खोलानाला र नदीहरू पनि प्रदूषित बन्दै गएका छन् । २०६८ सालको जनगणनाअनुसार उपत्यकाको जनसङ्ख्या २५ लाख छ । बर्सेनि ५.५७ प्रतिशतले उपत्यकाको जनसङ्ख्या वृद्धि भइरहेको अवस्थामा सन् २०३० सम्म ५४ लाख पुग्ने अनुमान गरिएको छ ।

यसरी तीव्र रूपमा जनसङ्ख्या वृद्धि हुँदा विकासका पूर्वाधार सडक, भवन र खानेपानी अपुग हुने गरेको विभिन्न तथ्यहरूले देखाएका छन् । जनसङ्ख्या वृद्धिसँगै वरपरका खोला, नदी र ढल प्रदूषित हुँदै गएका छन्, जसका कारण  वातावरणीय सङ्कट उत्पन्न भई काठमाडौँ उपत्यकाको प्राकृतिक सौन्दर्य नै बिग्रिएको छ । 

गुह्येश्वरी प्रशोधन केन्द्रको काम ४७ प्रतिशत सम्पन्न
घरायसी फोहोर पानी नदी तथा खोलाहरू फोहोर हुन नदिन प्रशोधन केन्द्र आयोजना सञ्चालन गरिएको खानेपानी मन्त्रालयले जनाएको छ ।  योजनाअनुसार उपत्यकाका चारवटा केन्द्रबाट दैनिक १० करोड १० लाख लिटर पानी प्रशोधन गरी नदी र खोलामा विसर्जन गरिनेछ । 

‘सबै प्रशोधन केन्द्रको क्षेत्रफल ५ हजार ८४.२ हेक्टर रहनेछ भने ३ लाख ८० हजार जनसङ्ख्या लाभान्वित हुनेछन् । आयोजना अन्तर्गत गुह्येश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्रको काम ४७ प्रतिशत काम सम्पन्न भइसकेको छ । २ अर्ब ५ करोड ८३  लागतमा यो प्रशोधन केन्द्र निर्माण भइरहेको छ ।

गुह्येश्वरीबाहेक अन्य प्रशोधन केन्द्र निर्माणको काम आगामी जुलाईबाट सुरु गर्ने तयारी भइरहेको छ’, फोहोर पानी प्रशोधन आयोजनाका निर्देशक तिरेशप्रसाद खत्रीको भनाइ छ ।  गुह्येश्वरी प्रशोधन केन्द्रको काम भने सन् २०१९ को नोभेम्बरसम्म निर्माण सम्पन्न गर्ने तयारी भएको खानेपानी मन्त्रालयले जनाएको छ । 

‘आधुनिक ढल प्रशोधनले फोहोर पानीको उचित व्यवस्थापन गर्ने काममा उल्लेखनीय योगदान पुर्याउने भएकाले पूर्वाधार निर्माणले समृद्ध नेपाल सुखी नेपालीको सपना साकार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने छ’, निर्देशक खत्रीले रातोपाटीलाई बताए ।  

आयोजनाका प्रवन्धक सुरजकुमार बमका अनुसार २०२० सम्म काठमाडौँमा प्रतिदिन २३० मिलियन लिटर फोहोर पानी उत्पादन हुने र यही अनुपातमा २०३० सम्म ३९ करोड ८० लाख लिटर उत्पादन अनुमान रहेको छ ।  ‘हाल १३ करोड ८१ लाख लिटर फोहोर पानी प्रशोधन गर्न केन्द्र निर्माणको काम सुचारु भइरहेको छ । गुह्येश्वरीमा ८० प्रतिशत काम भइसकेको छ । यसबाट गन्ध आउने ग्यासलाई गन्ध नआउने ग्यासमा परिणत गरिन्छ’ बमको भनाइ छ । 

उनका अनुसार गुह्येश्वरीमा ३ करोड २४ लाख लिटर फोहोर पानी प्रशोधन गरी बागमतीमा सफा पानी बगाइनेछ । 

त्यस्तै सल्लाघारीको १ करोड ४२ लाख लिटर फोहोर पानी प्रशोधन गरी मनोहरा खोलामा बगाइने तथा बालकुमारीको १ करोड ७५ लाख लिटर पानी प्रशोधन गरी  मनोहरा नदी र धोबीघाटको ७ करोड ४० लाख लिटर फोहोर पानी प्रशोधनपछि बागमतीमै खसालिनेछ । 

केन्द्रबाट निस्किएको जैविक पदार्थ मलका रूपमा प्रयोग गरिनेछ । यस्तो पानीलाई बहुआयामिक रूपमा प्रयोग गर्न सकिने आयोजनाको दाबी छ । फोहोर प्रशोधन केन्द्र निर्माणको जिम्मेवारी पाएको ठेकेदार पक्षले प्रशोधन केन्द्र समयमै सम्पन्न गर्ने जनाएको छ । 

मन्त्रीको प्रतिष्ठा 
फोहोर पानी प्रशोधन सरकारकै प्रतिष्ठाको विषय बनेको खानेपानी मन्त्री बिना मगरको भनाइ छ । ‘यो आयोजना मन्त्रालय र राष्ट्रिय प्रतिष्ठाको विषय पनि हो । प्रशोधन गरिने पानीबाट करेसाबारीको सिंचाइ र सरसफाइ गर्न प्रयोग गर्न पनि सकिन्छ ।’

मन्त्री मगर थप्छिन्, ‘फोहोर पानी प्रशोधन गरेपछि तीनवटा प्रयोजनमा प्रयोग गर्न सकिन्छ । कृषि प्रयोजन, मोहोर उत्पादन र बिजुली निकाल्न । फोहोर बेकारको वस्तु नभई आर्थिक बस्ती पनि रहेछ भन्ने बुझ्नुपर्छ ।’

बालकुमारीस्थित फोहोर पानी प्रशोधन केन्द्रको शिलान्यास गर्दै प्रधानमन्त्री केपी ओलीले नयाँ नयाँ योजनाका साथ सुशासन र विकासको बाटोबाट सरकार तीव्रताका साथ अघि बढेको भन्दै खानेपानी मन्त्रालयअन्तर्गत प्रशोधन केन्द्र स्थापना हुनु त्यसैको एक उदाहरण भएको बताए ।

‘अब बागमतीमा हाम फाल्न पाइन्छ  । यस्तो पानीमा नुहाउन, कपडा धुन मिल्छ । खान पनि मिल्ला तर खानुपर्दैन । हामी त्यसबाट माथि उठिसक्यौँ, नेपाल अब हरेक दिन एक पाइला अगाडि बढ्दैछ’, प्रशोधन केन्द्र शीलान्यासपछि प्रधानमन्त्री ओलीले भने । 

खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरका अनुसार सरकारले अझै ५, ६ ठाउँमा फोहोर पानी प्रशोधन केन्द्र खोलेर काठमाडौँ उपत्यकालाई जीवन्तता दिने योजनामा सरकार लागि रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुनिता न्यौपाने
सुनिता न्यौपाने
लेखकबाट थप