बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योतिषको मर्म

शनिबार, २१ पुस २०७५, ११ : १४
शनिबार, २१ पुस २०७५

शशांक कोइरालालाई काँग्रेसको सभापति हुनबाट कसैले रोक्न सक्दैन, राजधानीको कुनै एक ज्योतिषीले ठोकुवा गर्नुभयो । 

ज्योतिषीको भविष्यवाणीले शशांक र उहाँका खेमामा उत्साह वृद्धि हुन स्वाभाविक हो । 

यो आलेख पढिरहेकामध्ये ७५ प्रतिशत महानुभावहरू बिहान बिहान पत्रपत्रिकामा राशिफल पढ्ने गर्नुहुन्छ भन्नुमा पनि कुनै अतिशयोक्ति हुँदैन होला ।

एउटा रमाइलो संस्मरण छ, यस पङ्क्तिकारसँग । एक दैनिकमा जागिरे हुँदा राशिफल लेखी पठाउने ज्योतिषी महाशयले कुनै कारणवश आफ्नो दायित्व निर्वाह गर्नसक्नु भएन । मेरा लागि त जीवनमा समस्या भनेकै आफ्नो मगजलाई मानदेयरहित रोजगार दिनु हो । मैले १२ वटै राशिको पूर्वको दिनमा लेखिएको राशिफललाई तलमाथि गरेर नियमित प्रकाशन गरिरहेँ ।

राशि जम्मा १२ वटा छन् । संसारभरिकै गणनामा नजाऊँ । नेपालकै कुरा गरौँ । यदि नेपालीको सङ्ख्या ३ करोड मान्ने हो भने प्रत्येक राशिमा झण्डै झण्डै २५ लाख व्यक्ति पर्छन् । तपाईं कुनै एउटा राशिका लागि कुनै पनि दिनका निमित्त भविष्यवाणी गरी दिनुस् । ती २५ लाखमध्ये २० देखि २५ प्रतिशत मानिसलाई तपाईंले गरेको भविष्यवाणीले ठहरै पार्छ । 
ज्योतिषको सारा खेल यही हो ।

एक दिन भूतपूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दज्यूको घरमा थिएँ । उहाँले ज्योतिष विषयक आफ्नो अनुभव व्यक्त गर्दै भन्नुभयो, फलानो ज्योतिषले मलाई प्रधानमन्त्री बन्ने भन्नुभयो, प्रधानमन्त्री बनेँ, (ज्ञानेन्द्रकालमा) । उहाँ ज्योतिष विद्या र ती ज्योतिषी महाशयप्रति अति सम्मान राख्नुहुन्थ्यो । कसरी भयो यो ? तपाईंलाई पनि उत्कन्ठा लाग्यो, होला ?
यसको निदान राप्रपाका एक जना कार्यकर्ताले गर्नुभयो ।

तत्कालीन महाराजधिराज विस्तारै सत्तामाथि आफ्नोे अंकुशे लगाउने गहन फिराकमा होइबक्सन्थ्यो । उहाँसँग धेरै विकल्प थिएनन् । ज्योतिषी महाशयले राप्रपाका सबै शीर्ष नेतालाई (यहाँसम्म कि पशुपतिलाई पनि) तपाईं प्रधानमन्त्री बन्दैहुनुहुन्छ भन्ने भविष्यवाणी गरिदिए । लोकन्द्रज्यूका लागि भविष्यवाणी सत्य भयो । अब पशुपतिले ज्योतिषमाथि मुद्दा हाल्ने कुरा भएन । 

अब शशांक विषयक भविष्यवाणीकै सन्दर्भमा आउँ । कति बिकल्प छन् कांग्रेसमा सभापति हुने । शेरबहादुरजीले ढिपी गरेभने र उहाँको प्रतिस्पर्धामा  काँग्रेसजनले एउटा मात्र प्रत्यासी चयन गरेको खण्डमा र त्यो प्रत्याशी शशांक हुन सक्नुभयो भने हो । शशांकको चान्स ६० प्रतिशत छ, शेरबहादुरज्यूको अलोकप्रियताका कारण  ।

समस्त ज्योतिष मात्र सम्भावनाको खेती हो । यसमा कुनै पनि वैज्ञानिकता छैन । हुन त ज्योतिषलाई विज्ञानका रूपमा स्थापित गराउने भरमग्दुर चेष्टा हुँदैछन् । 

मित्र हो, के तपाईंलाई लाग्छ, पृथ्वीबाट ५ करोड किलोमिटर टाढा अवस्थित मङ्गल ग्रहको तपाईंको जीवनमा कुनै प्रभाव पर्न सक्छ ? मङ्गल ग्रहको पृथ्वीदेखि दूरी सधैँ परिवर्तनशील छ । यो ४० करोड किलोमिटरसम्म टाढा हुने गर्छ, पृथ्वीबाट । 

पृथ्वीको एउटा चन्द्रमाको प्रभाव भने तपाईंको जन्मकुण्डली र जीवनमा पर्ने । ल हेरौँ, बुधसँग त चन्द्रमा छैन, शुक्रसँग पनि छैन तर मङ्गल ग्रहका दुईवटा, वृहस्पतिका ६९ वटा, शनि ग्रहका ६२ वटा चन्द्रमाहरूको प्रभाव भने पर्दै नपर्ने ?

सौर्यमण्डलमा रहेका शनि ग्रहपछिका अरुण, वरुण यम एवम् मङ्गल ग्रह र वृहस्पति ग्रहबीचमा रहेको क्षुद्र ग्रह सेरेस एवम् ‘एस्टेरायड बेल्ट’मा (वृहस्पति र मङ्गलमध्ये) रहेको लाखौँ ‘एस्टेरायड’ हरूको र अनेकौं धुम्रकेतुको ज्योतिषशास्त्रले गणना गर्दैन, किन ?

उत्तर अति सामान्य छ, ज्योतिषशास्त्र लेखिने बेलामा पृथ्वीदेखि नग्न आँखाले देखिने आकाशीय पिण्ड सूर्य, चन्द्र, बुध शुक्र, मङ्गल वृहस्पति र शनि मात्र थिए । अन्य सबै आकाशीय (सौर्यमण्डलका) पिण्डको ज्ञान टेलिस्कोपको आविष्कार भएपछि मात्र मानव जातिले पाएको हो । ज्योतिषशास्त्रमा यिनको उल्लेख हुने उपाय नै थिएन । 

अर्को महत्त्वपूर्ण प्रश्न, ज्योतिषशास्त्र शिशु जन्मेको आकाशीय स्थितिको अवलोकनले उसको भाग्य निर्धारण गर्छ । तर जन्म त कोशिकाको निषेचनसाथ प्रारम्भ हुन्छ । भन्न सकिन्छ, गर्भमा हुन्जेल शिशुलाई आकाशीय स्थितिले प्रभाव पार्दैन । गर्भबाट बाहिर आएपछि मात्र प्रभाव पार्छ । 

एउटा स्थितिको कल्पना गर्नुस्, गर्भमा रहेको शिशुलाई आमाको गर्भाबाट सोझै ‘अर्टिफिसियल’ गर्भमा ‘ट्रान्स्फर’ गर्ने हो भने... र त्यस शिशुलाई सर्वोत्तम ग्रह गोचर भएको अवस्थामा मात्र ‘आर्टिफिसियल’ गर्भबाट झिकौँ । के उसको जीवन र भाग्य सर्वोत्तम ग्रहगोचर अनुसार सर्र्वोत्तम हुन सक्छ ?

१२ जना चन्द्रयात्री चन्द्रमाको धरातलमा हुँदा उनको ग्रहदशामा के परिवर्तन आयो ? भोलि मानिस मङ्गल ग्रहमा पुग्छन्, त्यो बेला उसमाथि साढेसाती शनि रहन्छ कि रहन्न ?

ज्योतिषीहरूसँग एउटा प्रश्न गर्न मन लाग्यो । जन्मअनुसार मेरो राशि कन्या हो, जुन बेला मेरो राशिमा शनि आउँछ, त्यसबखत म पृथ्वीदेखि ४०० किलोमिटर माथि घुमिरहेको ‘इन्टरनेसनल स्पेस स्टेसन’मा गएर बसेँ भने शनिको के कस्तो प्रभाव पर्छ होला ? स्मरण रहोस्, सन् २००० देखि यता ‘स्पेस स्टेसन’मा मानिस बस्दै आएका छन् । 

झन् अहिले त समुद्र मुनि बसोबासको सुविधा उपलब्ध भएको छ । त्यहाँ बस्दा राहु केतुको प्रभाव हुन्छ कि हुन्न ?

ज्योतिषको उत्पत्ति २५००–३००० वर्ष पहिला भएको हो । जुन बखत पृथ्वीको सर्वाधिक बौद्धिक जमात नै पृथ्वी चेप्टो अथवा समतल भएको, पृथ्वी ब्रह्माण्डको केन्द्र भएको, सूर्यलगायत समस्त ग्रह नक्षत्रले पृथ्वीको परिक्रमा गर्छ भन्ने विश्वास गर्थे । तर, अहिले त १० कक्षाको विद्यार्थीलाई पनि यी समस्त कुराको ज्ञान भइसकेको छ । 

ज्योतिषलाई विज्ञान भन्नेहरूसँग पृथ्वीबारे एउटा सामान्य तथ्य छलफल गर्नबाट विमुख हुन सकिएन । क्षमा माग्दै लेखिरहे छु ।

सूर्यको परिक्रमा गर्दा पृथ्वीले अक्षको पनि परिक्रमा गर्छ । आफ्नो अक्षमा पृथ्वीले १६७४ किलोमिटर प्रतिघण्टाले गति गर्छ । पृथ्वी पूर्णरूपेण गोलो छ कि छैन, जान्ने कुनै उपाय छैन । किनकि गतिले घुमिरहेको कुनै गोलो वस्तुमा यस गतिका कारण एउटा छद्म बल उत्पन्न हुन्छ, जसले गर्दा त्यो वस्तु केही चेप्टो  देखिन्छ । यसलाई ‘सेन्ट्रिफ्युगल फोर्स’ भनिन्छ । 

तपाईंले केटाकेटी हुँदा कहिल्यै लट्टु घुमाउनु भएको छ ?लट्टु आफ्नो धुरीमा घुम्दा यताउति ढल्किने गर्छ । ठीक यही किसिमले पृथ्वीले सूर्यको परिक्रमा गर्दा पृथ्वी पनि ‘वबेल’  गर्छ । यसले गर्दा पृथ्वीको अक्षरेखा पनि गोलाकार रूपमा गति गरेर झण्डै २५ हजार ७८८  वर्षमा पूरा वृत्त बनाई पूर्वस्थितिमा फर्किन्छ । 

झण्डै प्रत्येक  २६हजार वर्षमा ध्रुवतारा परिवर्तित हुने कारण पनि यही हो । आजको ध्रुवतारा पोलारिस छ भने सन् १५,००० मा यसको स्थान वेगा नामक ताराले लिन्छ । 

पृथ्वीको यस ‘ववलिङ’का कारण अक्षरेखामा प्रत्येक ७२ वर्षमा १ डिग्रीको विचलन आउँछ । मित्र हो, एक राशिकोमान ३० डिग्री हो भने झण्डैझण्डै अब त तपाईंहरूको गणनामा एक राशिकै फरक परिसक्यो । यो फरक बढ्ने क्रम २५७८८ वर्षसम्म त चलिरहन्छ । 

के आधुनिक वा वैदिक ज्योतिषले यस तथ्यको संज्ञान लिएको छ ?

ज्योतिष फगत ‘अन्दाजिफिकेसन’को चालबाजी हो । न यसमा कुनै विज्ञान छ, न विवेक छ न तर्क छ र न त कुनै सत्यता नै ।

हो, यसमा एउटा कुरा छ त्यो हो लुकेको मनोविज्ञान । मानिस रुग्ण छ र जबसम्म यस रुग्णताले मनुष्य जातिलाई घेरिरहन्छ, औषधिभन्दा पनि मनोचिकित्सा प्रभावी भइरहन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानमित्र
ज्ञानमित्र

लेखक अध्यात्म र विज्ञानमा विशेष रुचि राख्छन् ।

लेखकबाट थप