अभिनेत्री भुवन चन्दको जीवन : मृत्युमा पनि दर्शकको माया मिलोस्
‘सादा जीवन, उच्च विचार’मा विश्वास गर्ने व्यक्तिमा पर्छिन् अभिनेत्री भुवन चन्द । चन्द पहिलो नेपाली फिल्म ‘आमा’की अभिनेत्री हुन् ।
त्यसैले पनि उनलाई प्रथम नायिका भनेरसमेत सम्बोधन गर्ने गरिन्छ । वि.सं २०२१ मा निर्माण भएको फिल्म ‘आमा’बाटै उनको कलायात्रा सुरु भएको भने होइन । उनले २०१० देखि नाटक अभिनयमार्फत कलायात्रा सुरु गरेकी थिइन् ।
करिब ६५ वर्षको कलायात्रामा उनले थुप्रै नाटक, ४ दर्जनभन्दा माथिका टेलिश्रृङ्खला, धेरै चलचित्र र केही म्युजिक भिडियोसमेत अभिनय गरेकी छन् । पछिल्लो समय ‘साइनो’ चलचित्र निर्माण गरेर निर्माताको परिचयसमेत बनाउँदै गरेकी अभिनेत्री चन्दसँग रातोपाटीको मेरो जीवनका लागि कुवेर गिरीले गरेको कुराकानी :
मेरो खाना
खानामा मलाई कुनै सोख छैन । मेरो मनपर्ने खाना रायोको साग र भात हो । रायोको सागमा झोल हालेर पकायो भने मलाई त्यसको अगाडि सबै चिज फिक्का लाग्छ । अरू केही चाहिँदैन । अर्काे मनपर्ने खाना गुन्द्रुक पनि हो । मन नपर्ने अहिलेसम्म केही छैन । त्यही भएर पनि होला मेरो जिउ अहिलेसम्म ठीक छ । पकाउन पनि सौखिन नै छु । सबैथोक पकाउन मनपर्छ ।
कालो दाल, चम्सुर पालुङ्गो, आलु फ्राई र गोलभेंडाको अचार पकाउन मनपर्छ । मभन्दा पनि मेरो श्रीमान् पकाउन झन् सौखिन हुनुहुन्छ । हामी धेरै समय घरमै खान्छौँ । कहिलेकाहीँ खानका लागि रेस्टुरेन्ट पनि जान्छौँ ।
मेरो पोसाक
म पोसाकमा सौखिन छैन र कहिल्यै पनि त्यस्तो लागेन । मनपर्ने पहिरन ब्लाउज र सारी हो । पहिले पनि र अहिले पनि । यो पहिरनमा म राम्री देखिन्छु । सजिलका लागि मानिसले कुर्था सुरुवाल लगाउँछन् । तर मलाई जहिले पनि सारी र ब्लाउज लगाउन सजिलो लाग्छ । कुर्था सुरुवाल कहिल्यै मनपरेन । अहिलेका भाइबहिनीले लगाउने भड्किलो पहिरन मन नपर्ने पहिरन हो ।
मेरा छोरीहरू अमेरिकामा छन् । उनीहरू पनि भड्किलो पहिरन लगाउँछन् । त्यो, देशअनुसार भेष गरेका होला । तर मलाई मनपर्दैन । म धेरै महँगो र धेरै सस्तो पहिरन पनि रुचाउँदिन । बीचको रुचाउँछु । वर्षको १५, २० हजारले मेरो पोसाक खर्च पुग्छ ।
मेरो फिटनेस
मेरो फिटनेसको रहस्य भनेको सन्तुष्टी हो । अर्काे कुरो भगवानको बरदान भनौँ । मलाई फिट राख्न खानपिनले पनि मद्दत पुगेको छ । बढ्दो उमेरले गर्दा होला सायद कहिले कहिले खुट्टा दुख्छ । त्यसका लागि भने हल्का एक्सरसाइज गर्ने गरेको छु । बिहान सधैँ १ घण्टा एक्सरसाइज गर्ने नियमित रुटिङ बनिसक्यो ।
मेरो अध्ययन
त्यस्तो अध्ययन गर्ने बानी छैन । कहिलेकाही केहीँ किताब पढ्ने गरेकी छु ।
मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । पेसाले पनि घुमाउने गरेको छ । अमेरिका पनि बेलाबेला घुम्ने गरेकी छु । छोरीहरू उतै छन् । अहिलेसम्म ५ पटक भइसक्यो । रसिया र चीन पनि टेकेकी छु । स्विजरल्यान्ड जाने अबको इच्छा छ । हेरौँ जुर्छ कि जुर्दैन ।
मेरो फूर्सद
फूर्सद भनेको निकाल्ने कुरा हो । फूर्सदमा आफ्नै बगैँचामा काम गर्न मनपर्छ । फूलहरू गोड्ने, तरकारी लगाउनेलगायतका काम गर्छु । घरको सरसफाइमा पनि ध्यान दिन्छु ।
मेरो खेलकुद
सानोमा निकै रुचि थियो । म्युजिकल चियर, थ्री लेग्स, डोरीलगायतका विभिन्न खेल खेल्थेँ । २०१० सालदेखि अभिनय आए । यो लाइन रोजेपछि खेलतिर ध्यान दिन भ्याइन । फुटबल मनपर्छ । पहिलेभन्दा अहिले झन् राम्रो लाग्छ । राम्ररी बुझ्न थालेकी छु । क्रिकेट भन्ने खेल मैले कहिलै बुझिनँ ।
मेरो मोबाइल
सामसुम ब्यान्डको मोबाइल अहिले मसँग छ । यो राम्रो ब्रान्डको मोबाइल भन्छन् । मेरो मोबाइल प्रयोग भनेको आएको फोन उठाउने र चाहेको व्यक्तिलाई गर्ने हो । मलाई धेरै महँगो मोबाइल बोक्नुपर्छ भन्ने लाग्दैन । आफ्नो आवश्यकता सस्तो मोबाइले पूरा गर्छ भने लाखौँको मोबाइल किन चाहियो । अहिले बोकेको मोबाइल छोरीले अमेरिकाबाट पठाइदिएकी हुन् । श्रीमान्ले हालै फेसबुक खोलिदिनुभएको छ । तर म चलाउन जान्दिनँ ।
मेरो टीभी
टेलिभिजन धेरै हेर्छु । घरमा पनि धेरैथरी टीभी छन् । कोठाहरूमा सानो सानो टीभी छ । बैठक कोठामा भने ठूलो टीभी छ । प्रायः हेर्ने भनेको जनता टीभी हो । हिमालयन र एपीवान पनि हेर्ने गरेकी छु । एपीवानको रियालटी सो मनपर्छ ।
साँझमा भने सधैँ भारतीय सिरियल हेर्ने बानी छ । खाना खाएपछि मलाई केही समय निन्द्रा नै लाग्दैन । त्यसैले बेलुका भारतीय च्यानलहरू हेर्छु ।
साँझ टीभीमा आउने राम्रो कार्यक्रम भनेको भारतीय च्यानलमा मात्र हो । भारतीय च्यानलका पनि सिरियल धेरै हेर्छु । ‘ए रिस्ता क्या कहेना’, ‘कुल्फी’ लगायत मनपर्ने सिरियल हुन् ।
मेरो चलचित्र
पहिले पहिले त चलचित्र धेरै हेर्थे । प्रिमिएरमा पनि सबैले बोलाउने गरेका थिए । सो समय प्रायः चलचित्र छुट्दैन थियो । हलमै गएर चलचित्र हेर्दा धेरै फाइदा हुन्थ्यो । साथीभाइ पनि भेट हुने । चलचित्र पनि राम्रोसँग हेर्न पाइने । अहिले त कहिलेकाहीँ मात्र जान्छु । प्रिमियरमा धेरैले बोलाउन छाडे ।
घरमा बसेर पनि हेर्छु । पुरानो पुरानो फिल्म मनपर्छ । हिन्दी चलचित्र पनि हेर्छु । पछिल्लो समय हेरेको हिन्दी चलचित्र ‘पीके’ हो । मलाई मनपर्ने चलचित्र पनि पीके जस्तै हो । एक्स्ट्रा खालको चलचित्रमा मेरो रुचि रहँदै आएको छ । अहिले बनिरहेका चलचित्र राम्रा छन् । तर मेरो रुचिको विषय सामाजिक चलचित्र हो । पछिल्लो समय मैले हेरेको मध्ये मन परेको चलचित्र ‘पशुपति प्रसाद’ हो ।
मेरो रोग
भगवानको कृपाले अहिलेसम्म ठूलो रोग केही छैन । सुगर अलिअलि बढेको छ । खानपिनबाट यसलाई कन्ट्रोलमा ल्याउने काम गरिरहेकी छु । डाक्टर कहाँ नियमित चेकअपका लागि पनि जाने गरेकी छु । यसको कारण पनि होला, सायद अहिलेसम्म स्वस्थ देखिन्छु ।
मेरो भाषाशैली
चाप्लुसी गरेर कसैले बोल्छ भने त्यो मन पर्दैन । चाप्लुसी गरेर बोलेको सुन्दैमा चिनिहाल्छु । म कर्ममा धेरै विश्वास गर्ने मानिस हो । कर्ममा भएको जे गरे पनि हुन्छ भन्ने लाग्छ । प्रष्ट बोल्ने मेरो बानी छ । अरूले पनि त्यस्तै गरे हुन्थ्यो जस्तो लाग्छ । मलाई लोभ केहीको छैन ।
मेरो मापसे
पहिले कलाक्षेत्रमा एक किसिमको माहोल हुन्थ्यो । त्यो माहोलमा लागेर गर्न सिकियो । युरोप यात्राले पनि यसमा बल पुर्यायो । युरोपमा धेरैले खाएको देखेर पनि खानुपर्दाे रहेछ भन्ने लाग्यो । देशमा भने मैले सुटिङमा कहिल्यै पनि खाइनँ । कुनैकुनै विशेष पार्टीमा हातमा त लिनै पर्यो । कहिले काँही बुढाबुढी बसेर वाइन खान्छौँ । रक्सीका धेरै ब्रान्ड छन् । तर नाम भने लिन आउँदैन ।
मेरो सङ्गीत
गीत–सङ्गीत धेरै सुन्छु । लोकगीतदेखि सबै खालका गीत सुन्ने बानी छ । धेरै मनपर्ने गीत भनेको स्वर्गीय नारायण गोपाल दाइको हो । दुःख लाग्दा पनि र खुसी हुँदा उहाँको गीत नै मनपर्छ । त्यसको अलवा तारदेवी, अरुणा लामालगायतको पनि सुन्ने गरेकी छु । अरुणा लामाले गाएको ‘पोहोर साल मेरो खुसी फाड्दा’ मेरो मनपर्ने गीत हो । यो गीत जीवन्त छ जस्तो मलाई लाग्छ ।
मेरो भूल
सजिलै जोकोहीलाई पनि धेरै विश्वास गर्छु । यो मेरो ठूलो भूल हो । ‘दिदी धेरैलाई सजिलै विश्वास गर्नुहुन्छ । विश्वासघात गर्छन् दिदी’ एक निर्देशकले सधैँ भन्नुहुन्छ । अहिले चाहिँ पहिले मान्छे चिन्छु । अनि मात्र व्यवहार गर्ने गरेकी छु । नराम्रो मानिस हो भन्ने जानेपछि आफू सतर्क हुन्छु । तर अरूलाई चिनाउँदिनँ ।
मेरो सौन्दर्य
सौदर्यका लागि त्यस्तो केही गर्दिनँ । मेरो सौन्दर्य ‘गड गिफ्ट’ पनि हो । अहिले सौन्दर्यका लागि विभिन्न उत्पादन आएका छन् । बजारमा आएका उत्पादित सौन्दर्य साधन म राम्रो मान्दिनँ । मेरो विचारमा जुन मानिसको बोली राम्रो छ, व्यवहार क्लियर छ । त्यो सबैभन्दा राम्रो हो । मेकअप पनि चाहिन्छ । तर बाहिरी सौन्दर्यभन्दा भित्री सौन्दर्यमा विश्वास गर्छु ।
मेरो प्रेम
मैले प्रेम विवाह गरेकी हुँ । प्रेमविना जीवन त के, संसार नै चल्दैन भन्ने मेरो धारणा हो । ४ वर्षको प्रेमपछि मैले विवाह गरेकी थिए । हामी एउटै अफिसमा काम गथ्र्यौं । प्रेम विवाह गर्नु नै जीवनको सफलता हो जस्तो लाग्छ मलाई । किनभने अहिलेसम्म र जुनै कुरामा पनि सपोर्ट गर्ने श्रीमान् मैले पाएकी छु ।
हरेक कुरामा श्रीमान्बाट सपोर्ट छ । कलाकारितामा समयको केही मतलव हुँदैन । दिन रात हिँड्नुपर्छ । यदि प्रेम विवाह नगरेको भए त्यो सम्भव हुँदैन थियो होला । कलाकारले सपोर्ट गर्ने श्रीमान् पाउनु भनेको भाग्य नै हो । त्यसको अलवा दर्शकबाट पनि राम्रो साथ र सपोर्ट पाएकी छु । यो सबै प्रेम नै हो ।
मेरो सपना
करिब ७० वर्ष पुग्न लागेँ । राम्रो फिल्म बनाउने, आफूले बनाएको फिल्म दर्शकको रोजाइमा परेको हेर्ने, भुवनले बनाएको फिल्म हेर्नुपर्छ भनेर पब्लिक सबैले भनेको सुन्ने एउटा सपना छ ।
मेरो मृत्यु
मृत्यु जीवनको अन्तिम सत्य हो । यसको बारेमा कसैले केही भन्न सक्दैन । आज आउँछ वा भोलि आउँछ । तर एक दिन अवश्य आउँछ । मृत्यु अहिलेसम्म कसैले थाहा पाउन सकेको छैन । मृत्युमा पनि दर्शकको माया मिलोस् । यही छ भगवानसँग मरो कामना ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरहराको काखमा सार्वजनिक गरियो एनपीएल ट्रफी, तस्बिरहरु
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
पाँच महिनापछि धितोपत्र बोर्डले दियो आईपीओ निष्कासन अनुमति
-
प्रधानमन्त्रीबाट नेपाल प्रिमियर लिगको ट्रफी अनावरण, ट्रफीको मुख्य आकर्षण कालापत्थरको ढुंगा
-
२८ प्रहरी कर्मचारी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना