बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बालबालिकाको चेहरामा खुसी देखें म पनि खुसी हुन्छु : प्रधानमन्त्री ओली

मङ्गलबार, १७ पुस २०७५, १८ : ४२
मङ्गलबार, १७ पुस २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका बालबालिकाको चेहरामा खुसी देख्दा आफू पनि खुसी हुने बताएका छन् । नेपाल स्काउटले आयोजना गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा एक विद्यार्थीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

‘बालबालिकाको चेहरामा खुसी देंखे भने म पनि खुसी हुन्छु,’ प्रधानमन्त्री ओलीले भने, ‘नयाँ पिँढिको चेहरामा मुस्कान हुनुपर्दछ । मानिसहरु भोकबाट मुक्त हुनुपर्दछ ।  कठ्यांग्रिएर मर्ने अवस्था आउनुहुँदैन । समाज समतामुलक हुनुपर्दछ । त्यस्तो अवस्थामा सबै नेपालीसँगै म पनि खुसी हुन्छु ।’

बालबालिकाहरुले प्रधानमन्त्री ओलीलाई बाल्यकाल कसरी बित्यो भनेर जिज्ञासा राखेका थिए । पूर्वी पहाडको तेह्रथुम जिल्लाको छातेढुंगामा २००८ सालमा जन्मिएको सुनाउँदै प्रधानमन्त्री ओलीले प्राथमिक स्कूल पढ्दा दुई प्रकारका होमवर्क गर्नु परेको सुनाएका थिए । 

‘एउटा विद्यालयका शिक्षकले दिएको होमवर्क र अर्को घरमै सृजना हुने होमवर्क जस्तै घाँस दाउरा, गाईबाख्राको हेरचाह आदि’ प्रधानमन्त्री ओलीले भने, ‘वुवै होमवर्क म कुशलतापूर्वक गर्थें ।’

प्रधानमन्त्री ओलीलाई सामुदायिक विद्यालयका एक विद्यार्थीले सोधे ‘सामुदायिक विद्यालयमा पाठ्यपुस्तक नै पुग्दैनन् । शिक्षाको गुणस्तर कसरी वृद्धि हुन्छ ?’ प्रधानमन्त्री ओलीले विद्यार्थीलाई पाठ्यपुस्तक नपुग्ने विषय अब इतिहास भइसकेको बताए । 

प्रधानमन्त्री ओलीले भने, ‘समयमा पाठ्यपुस्तक नपुग्ने अब हुँदैन । र, आगामी बर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर पनि हुँदैनन् ।’ प्रधानमन्त्री ओलीले अंग्रेजी अन्तर्राष्ट्रिय भाषा भएकोले त्यसको जानकारी लिनैपर्ने तर त्यसो गर्दा नेपाली भाषा नजाने पनि हुने अथवा नेपाली भाषा नजानेकोमा गर्व गर्न नहुने बताएका छन् । 

‘विद्यालयहरुले अंग्रेजी माध्यममा पढाउनु राम्रै हो । त्यसो गर्दा नेपाली भाषा चाहिँ नजाने पनि अथवा नपढाए पनि  हुन्छ भन्ने चाहिँ होइन । आफ्नो राष्ट्रिय भाषा र मातृभाषामा सबैको दख्खल हुनुपर्दछ ।’

बालबालिकाले प्रधानमन्त्री ओलीलाई निर्मला पन्तको बलात्कार र हत्याको बिषयमा पनि जिज्ञासा राखेका छन् । प्रधानमन्त्री ओलीले यस घटनाको सत्यतथ्य पत्ता लगाउन सरकार गम्भिर रहेको बताएका छन् । 

‘निर्मलाको बलात्कार र हत्याका दोषीहरुको खोजी भइरहेको छ । उनीहरु पत्ता लाग्छन् । सुरुवाती चरणमा प्रहरीबाट पनि केही गल्ती भएको छ । अहिले उच्चस्तरीय छानविन समिती गठन गरेर अनसुन्धान भइरहेको  छ । नेपाल प्रहरी यस्ता घटनाको अनुसन्धान गरेर अपराधी पत्ता लगाउन सक्छ । अपराधी पत्ता लगाउन मैले पटक पटक निर्देशन पनि दिएको छु,’ उनले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप