नेपालको मार्क्सवाद सङ्कटमा छ
सामिर अमिन इजिप्टियन फ्रेन्च मार्क्सवादी र अर्थशास्त्री हुन् । कायरोमा १९३१ मा जन्मेका अमीनको अगस्त १२, २०१८ मा निधन भयो । माओपछि दलाल पूँजीवादको व्याख्या गर्नेमा समिर अमिन पहिलो स्थानमा छन् । अमिन भन्छन् ‘बुर्जुवा वर्गले पूजीँ उत्पादनको प्रक्रियामा न्युनतम स्वतन्त्रताका साथ आफ्नो भूमिका पुरा गर्न सक्दैन भने त्यो दलाल पूँजीवाद हो ।’
विश्व व्यवस्थाको सिद्धान्त ल्याउने वालेस्टाइनलाई आलोचना गर्दै उनले परनिर्भरताको सिद्धान्त संसारमा ल्याएका हुन् । उनको मृत्युलगत्तै नेपाल अध्ययन केन्द्रले काठमाडौँको हार्दिक होटलमा आयोजना गरेको एक कार्यक्रममा राजनीतिक विश्लेषक हरि शर्माले सामिर अमिनको बारेमा व्यक्त गनुर्भएको विचार प्रस्तुत गरिएको छ ।
–रातोपाटी
कुरा आन्द्रे गुन्दर फ्रयाङ्कबाट सुरु गर्दै छु । यी सिद्धान्तकारको कृतिमा ल्याटिन अमेरिकाको अनुभव देखिन्छ । वर्ल्ड सिस्टम थ्योरी भन्ने एउटा युरोपियन विचारधारा छ । वालेस्टाइनलाई यस सिद्धान्तका पिता मानिन्छ । आन्द्रे गुन्दर फ्रयाङ्क यो सिद्धान्तमा महत्त्वपूर्ण योगदान गर्ने व्यक्ति हुन् ।
आन्द्रे गुन्दर फ्रयाङ्कले चर्चा गरेको ल्याटिन अमेरिकी प्रणाली बडो रोचक छ । यसमा प्रख्यात मार्क्सवादी समालोचक समिर अमिनले समालोचना गरेका छन् ।
ल्याटिन अमेरिकाको एउटा गौरवशाली इतिहास छ । विश्वको अन्य भागका उपनिवेशमा परेका मुलुकहरूले स्वतन्त्रताको कल्पना गरी नसक्दै ल्याटिन अमेरिकामा स्वतन्त्रताका माग उठिसकेका थिए । ल्याटिन अमेरिको लगभग ३०० वर्षको स्वन्त्रता सङ्घर्षको अनुभव छ ।
हाइटीको क्रान्तिले काला जातिहरूको सबैभन्दा पहिलो संविधान प्रारूप गर्यो । तर दुर्भाग्यको कुरा त्यति अघि जागरण गरेका मुलुकहरू किन गरिब भए त ?
विकासको बहसमा विकासलाई कसरी हेर्ने भन्ने कुरा महत्त्वपूर्ण मानिन्छ । यसैले विकास भनेको के हो भन्ने पनि परिभाषित गर्नुपर्ने हुन्छ । पछिल्लो समय विश्वभर नै विकासको बहस आउन थालेपछि प्रगति भन्ने शब्द हराएर गएको छ । विकासको सङ्कथनले राजनीतिक–अर्थतन्त्र मात्र होइन, एउटा समग्र सामाजिक चिन्तनलाई प्रभाव गरेको छ । त्यसैले समग्र ल्याटिन अमेरिका, विशेष क्यारेबियन देशहरूमा भएका प्रारम्भिक चरणका स्वतन्त्रता सङ्ग्रामलाई आजको विकासको पद्धतिले हेर्न सकिँदैन । विश्वको मुहार फेर्ने भनिएको फ्रेन्स क्रान्तिअघि नै हाइटीको संविधान संसारमा आइसकेको थियो । तर पनि विकासमा भने हाइटी अहिले निकै पछाडि छ ।
यसकारण आज भोलि हामीले पढेर या दीक्षित भएर जाने बुझेको विकासको नमुनाले हाइटीको आकाङ्क्षालाई अथवा अघिल्लो समयको भेनेजुएलाको क्रान्तिलाई व्याख्या गर्न सक्दैनौँ ।
समिर अमिनका कृतिमा विचार र सङ्गठनहरूलाई हामीले कसरी हेर्छौं ? विचार र सङ्गठनहरूबीच कस्तो सम्बन्ध हुन्छ । सङ्गठनले कति धारणाहरूलाई सुरक्षित गर्छ र कति धारणाले सङ्गठनलाई सुरक्षित गर्छ ? जस्ता विषयको चर्चा छ । यी कोणबाट पनि समिर अमिनको सैद्धान्तिक र प्राज्ञिक चर्चा गर्नुपर्ने हुन्छ ।
समिर अमिनको समयमा युरोप अहिलेको जस्तो खुल्ला थिएन तर घुमफिरको मामलामा भने अत्यन्त लचक थियो । पासपोर्टकै कुरा गर्यो भने उनी इजिप्टबाट त्यहाँ पढ्न जाँदा राष्ट्रिय घेराहरूको बन्देज थिएन ।
त्यो बेलाका कैयौँ दार्शनिक, राजनीतिक सिद्धान्तकारहरू अफ्रिकाबाट निस्केका थिए । उदाहरणका लागि अल्बेयर कामुलाई लिन सकिन्छ । उनी अफ्रिकी उपनिवेशवादको उत्पादन हुन् । फाननलाई हेर्यौं भने अफ्रिकन उपनिवेशवादको आकर्षणबाट आएको देखिन्छ । अब अहिले हामीलाई के लाग्छ भने जान्ने बुझ्ने हुनलाई हारवार्ड, प्रिन्सटन, अक्सफोर्डमा पढेको हुनुपर्छ । तर उनीहरूको चिन्तन तेस्रो विश्वकै सन्दर्भ थियो ।
मानिस अघि बढ्दै जाँदा म कहाँबाट आएको हुँ भन्ने कुरा बिर्सनुहुन्न । त्यसलाई कसै–कसैले राष्ट्रवाद पनि भन्छन् । कसैले आजभोलि यो चिन्तनलाई पारम्परिक भन्छन् ।
नेपालमा जतिसुकै राष्ट्रियताको परिभाषा गरे पनि हाम्रो राष्ट्रियताको परिभाषा सांस्कृतिक रुढीबाट आएको छ । राष्ट्रियताले उदारवादी आकार लिनुपर्नेमा हामी सांस्कृतिक रूपमा साँघुरो बाटोमा गइरहेको छौँ ।
समिर अमिनको खोज के थियो भने मार्क्सवाद एउटा वैज्ञानिक अध्ययन हो । समाजलाई कसरी हेर्ने ? समाजको उत्पत्ति कसरी भयो ? उनले यी प्रश्नमा केन्द्रित रहेर लेखे । तर अहिले हामी त प्रश्न गर्न छाडेका छौँ । समिर अमिन जुन सांस्कृतिक प्रसङ्ग हुर्किएर, सङ्घर्ष गरेर ८५ वर्षसम्म निरन्तर लेखे, आफ्नो अडानमा अडिग रहे हामीले उनको त्यो अनवरत लगावलाई विर्सन मिल्दैन । उनीभित्र समाज परिवर्तनको कामना थियो । म कहाँबाट आएँ ? मैले मेरो समाजलाई कहाँ लिएर जाने हो ? भन्ने कुराले उनलाई प्रेरित गरेको थियो ।
त्यसो त जतिसुकै भौतिकवादको कुरा गरे पनि मानिसमा कतैन कतै अध्यात्मवादको महत्त्वाकाङ्क्षा झल्किन्छ । यो सन्दर्भमा म हेगेललाई सम्झन्छु । समिरमा त्यो सङ्घर्षको भूत कहाँबाट आयो त ? उनले विश्वविद्यालय पढाए । फर्केर इजिप्ट गएर काम गरे । इजिप्टमा प्रतिक्रान्ति भयो । मालीमा गए । मालीको योजना आयोगमा काम गरे । हेर्दाखेरी हामीजस्तै स्वरूपको भए । उनी परामर्शदाता भएको पनि देखेको छु मैले । तर चुरो कुरा उनले प्रश्न गर्न कहिल्यै पनि छाडेनन् । हामीले सिक्ने भनेको के हो भने राजनीतिक, सामाजिक जीवनलाई सार्थक बनाउने हो भने प्रश्न गर्न छाड्नु भएन ।
तर सबै मान्छे निरन्तर लागिरहनुपर्छ भन्ने पनि छैन । मान्छेलाई थाक्ने पनि अधिकार छ । तर हामीले हाम्रो छायाँ र स्वयम्लाई जोगाउन सकेनौँ भने त्यो हराएर जान्छ ।
समिर अमिन थाकेनन् । निरन्तर लागिरहे । त्यो एकदम महत्त्वपूर्ण कुरा थियो । उनी बन्दुक बोकेर हिँडे होलान् भन्ने मलाई लाग्दैन । तर उनी कर्मठ थिएनन् भन्ने होइन । उनी विचारका ठूला दक्ष थिए । हामीले उनको जीवनबाट सिक्ने भनेको उनको छायाँ हो ।
मैले सूर्यका अगाडि बत्ती देखाए जस्तो नहोस् तर धेरै माक्र्सवादी साथीहरूलाई मैले सोध्नुपर्ने के छ भने तपाईंको भौतिकवादको विश्लेषण के हो त ? माक्र्सले जनताको इतिहास त भने तर यसको विश्वव्यापी आवेदन सम्भव छ कि छैन ? हामीले जहिले पनि केन्द्र क्षमतावान हुन्छ भन्यौँ तर ‘पेरिफेरी’ले पनि केन्द्रको चरित्रलाई परिवर्तन गरेर जान्छ ।
केन्द्रविन्दु भन्ने वित्तिकै तपाईंले गोलाकार कल्पना गर्नुहुन्छ । लाइनको कल्पना गर्नु हुन्न । समिर अमिनले कम्युनिस्टको आर्थिक घोषणापत्रको सुरुवाती चरणमा डब्लूडब्लू रस्टोको विश्लेषणको कुरा गर्दा के भन्छन् भने ‘के यो चरणबद्ध विकासका रूपमा एक दुई तीन चार गर्दा हामी अघि बढ्दै जान्छौँ ?’
यदि केन्द्रविन्दुको कल्पना गर्ने हो भने केन्द्रविन्दु पहिला आउँछ कि पछि आउँछ भन्ने छैन । मेरो विचारमा केन्द्रबिन्दु र बाहिरी किनाराले कता कता मार्क्सवादमा जुन विकासको तहको कुरा छ, त्यसले मार्क्सवादलाई सीमित गरेन । मार्क्सवादको सम्भावनालाई खुला गरेर लग्यो । हाम्रा धेरै साथीहरूले नेपालमा समिर अमिन दोस्रो पुस्ताको अध्ययन कहाँबाट आएको हो भने । आज सामाजिकशास्त्र केन्द्रीय विभागका चैतन्य सर हुनुहुन्न । उहाँले कोर्स प्लान गर्दा आफ्नो समाजलाई कसरी बुझ्ने भनेर गर्नुभयो । ७० को दशकमा डेभिड सेडनको पेजेन्स वर्कर्स इन नेपाल द क्राइसिस थ्योरीबाट अनुशासनको सिद्धान्तभन्दा भन्दै पनि मार्क्सवादको सङ्कट आयो । नेपालमा सङ्कट पढ्नुभयो भने पहिलो अध्यायमा अनुशासनको सङ्कटका कुरा आउँछ । उनीहरू मानव उत्पत्ति विधाको विद्यार्थी भएको हुनाले त्यहाँ मानव विधा अनुशासनका कुरा गर्छन् । तर त्यसलाई घुमाउरो तरिकाले पढ्दा मार्क्सवादको कुरा छ, त्यो व्याख्या कसरी गर्ने ? किनभने हरेक समाजले त्यसको सकारात्मक सिद्धान्तको व्याख्या गर्न सक्छ कि सक्दैन भन्दा यो एउटा सम्बन्धको विश्वव्यापी र सक्तिशाली सिद्धान्त माक्र्सले भने अनुसारै छ । किनभने समाजमा त्यहीअनुसारको चाहना बन्यो । जहाँ सुझाव र त्यसले धकेलेर समाज अगाडि गयो । पुँजीवाद र उपनिवेशीकरण सँगसँगै गयो । पछिपछि सँगसँगै अर्को शक्तिमा साम्राज्यवाद गयो र यो पश्चिमबाटै आयो । त्यसको पछि–पछि हामी विकासको नाममा त्यतै त्यतै फुरफुर गर्न थाल्यौँ । तर आन्तरिक खेल के भयो भने हरेक समाज फरक फरक छ र हरेक परिवेश फरक छ । ऊ मध्यमार्गी हुन थाल्यो । तपाईंहरूलाई भनौँ न म्याक डोनलको अमेरिकाको स्वाद र भारतमा खाने म्याक डोनालको स्वाद फरक छ । अन्तर्राष्ट्रिय एउटा मानक त होला नि किनभने हरेक ठाउँमा पस्दा ‘मे आई हेल्प यु, ह्वाट डु यु वान्ट टु अडर्र’ एउटै लाइनको कुरा गर्छन् । तर म्याक डोनालको स्वाद फरक हुन थाल्यो । भारतीयलाई चटपटा चाहियो म्याकडोनालको विशेषता परिवर्तन गरिदियो । त्यो कसले गर्योभन्दा चर्चित भएको स्वादले गर्यो । मानिसको मागले गर्यो । अब हाम्रो समयमा आउँदा ग्लोबलाइजेसन मूल्यवान भएको छ । तपाईंको सलवार कमिजको पेरिसमा फेसन सो हुन थालेको छ । फेसनलाई मूल्याङ्कन गरेर होला, समिन अमिनको तीनवटा विचारधारमा विश्वव्यापीकरणले र विश्वव्यापी पुँजीवादले त्यसलाई उछिन्छ भन्छन् । त्यसकारण मान्छेको छनौट र रुचिलाई हेर्नुभयो नाफामा छ । तर के छ भने पुँजीवाद त्यति नै आफूलाई समायोजन गरेर जान्छ । तपाईंलाई जे चाहिन्छ, त्यो बनाउँछ । त्यसैले केन्द्र र किनाराको कुरा आन्द्रागुन्द्रा फ्रेन्कभन्दा अलिकति फरक के छ भने एकथरी मान्छेहरू केन्द्रले हामीलाई आदेश गर्छ र सेन्टरले हामीलाई आकर्षण मात्रै गर्छ भन्छन् । हामी दासत्वमा जान्छौँ भन्छन् । समिर अमिन के भन्छन् भने दासत्व होइन । प्रतिरोधको सम्भावना हो ।
समिर अमिन पढ्दा मेरो विचारमा टट्कारो भएर आउने र हामीलाई पनि महत्त्वपूर्ण के हो भने त्यो एउटा चरणबाट अर्को चरणमा जाँदा त्यो सङ्क्रमणलाई केले प्रभाव गर्छ त ? परम्परावादी मार्क्सवादले त के भन्छ भने चरणहरू आउँछन् । त्यसमा एजेन्सिज भ्यानगार्ड पार्टी छ । त्यसले सन्तुष्ट गरेर लिएर जान्छ । त्यो भ्यानगार्ड पार्टी बलियो हुने वित्तिकै त्यो संरचनाको कुरा गौण भएर जान्छ । एजेन्सी र संरचनाको छलफल बडो महत्त्वपूर्ण छ । समिर अमिन के भन्छन् भने त्यो सङ्क्रमण माक्र्सको ज्ञानको भाग हो । हामीले निकै कम छलफल गर्छौँ । कि एउटा चरणबाटबाट अर्को चरणमा जाँदा कस्ता खालका कुराकानीहरू हुन्छन् ? कस्तो खाले उतार चढाव देखिन्छ ? कानुनी दर्शनमा आधुनिकताको बनोटहरूले उत्तर आधुनिकता आधुनिकता कुरा गर्छ । मार्क्सवादमा आधुनिकताको कुरा त्यति चर्चा हुँदैन । रेमिन विलियम्सदेखि लिएर अरूअरूले आधुनिकता र मार्क्सवादलाई जोडेर लिएर जान्छन् । तर आधुनिक राजनीतिक अर्थशास्त्रको कुरा त्यति देखिँदैन । त्यसकारण सङ्क्रमणलाई बुझ्नलाई हस्तक्षेपकारी तत्व के हुन त ? एउटा चरणबाट अर्को चरणमा लिएर जाँदा मुख्य कारक तत्व भनेका के हो त ? पार्टी पनि होइन । किनभने स्थानीय विविधता छ । त्यो विविधताबाट निस्कने प्रतिरोधको आवाजमा पनि विविधता छ ।
मेरो विचारमा समिन अमिन विविधतावादी हुन् । समिर अमिनले विविधतालाई चिनेका छन् । त्यसैले उनको बुझाइमा र मेरो पढाइमा त्यो सामाजिक आन्दोलनको तत्त्व धेरै कम छ । कामदारको आन्दोलन भनेको छ तर पुँजीवादको कारण के भयो भने नयाँ सामाजिक आन्दोलन आयो । जस्तै वातावरणको कुरा गरौँ । परम्परावादी पद्धतिले वातावरणीय आन्दोलनको कल्पना नै गर्न सक्दैन हाम्रो ठाउँमा आएर दलित आन्दोलन, सुरक्षित आन्दोलन हो कि होइन ? पहिचानको आन्दोलनलाई हामीले कसरी हेर्ने अहिले नेपालमा चुनौती त्यही भएको छ । बीचमा हामीले पहिचानको आन्दोलनलाई प्रशंसा गर्यौँ, अहिले सामाजिक सङ्कीर्णता यति बलियो भएको छ कि पहिचानको आन्दोलनको नाम मात्र पनि नसुन्ने अवस्थामा हामी पुगेका छौँ । मेरो विचारमा नेपालको मार्क्सवाद सङ्कटमा छ । समिर अमिनबाट पढ्नु के पर्यो भने आन्दोलनहरू धैरै हुन्छन् । हरेक व्यक्तिले बोल्न पाउँछ, त्यही भएर हामी एउटा समृद्धिको नारामा फसेका छौँ । समृद्धिको कुरामा पनि त्यो चर्चित आवाज कसरी आउन सक्छ ? त्यो के हो भने त्यो एउटा तहबाट अर्को तहमा आउँदा सम्मानजनक प्रभावको कारण फरक मुद्दाहरू लिएर आउँछ । मेरो विचारमा म्याक्सिमले परिवर्तनको सम्भावनालाई कहिल्यै बन्द गर्दैन । तर हामीले खोजे जस्तै मात्र सम्भाव्यता हो भन्न थाल्यो भने मलाई लाग्छ, हामीले गलत अभ्यास गर्नेछौँ ।
सङ्क्रमण र सम्भाव्यता परिवर्तन हुन्छन् । मानौँ मलाई यहाँबाट आज बाहिर जानु छ, यहाँबाट कपन जान्छु भने बाहिर निस्केपछि त्यहाँ पुग्ने धेरै बाटा छन् । कुन बाटो जाने भन्ने छनौट त मेरो हो नि । तर नेतृत्वमा भएकले उहाँले यहाँ ट्राफिक छ, तपाईं चाहिँ यताबाट जानुस् भन्छन् । तर बाहिर निस्केको मेरो मनै त हो म रत्नपार्क जान्छु, गाडी पकड्न्छु भन्न थाल्यो भने के हुन्छ ? मानव एजेन्सीको जुन स्वतन्त्रता हो, त्यसलाई आर्थिक शक्तिले कति नियन्त्रण गर्न सक्छ ? मेरो विचारमा सामाजिक आन्दोलनले उठाउने मुद्दा त्यही हो । समिर अमिन पढ्दा, मार्क्सवादको बारेमा किताब पढ्दा ओहो उनी त माओवादी भएछन् भनेर धेरै प्रशंसा गरेको पनि देखे । मैले मार्क्सवाद भन्ने सानो किताब पढ्दा मैले माओ कहीँ पनि देखिन । उनको चुनौती के थियो भने परम्परावादी नभएको समाज अर्थात युरोपमा संस्था र विचार मार्क्सले भने जस्तो औद्योगिक क्रान्तिको चरणमा थियो । चाइनामा औद्योगिक क्रान्ति थिएनन् । त्यहाँ त वर्तमानले गर्यो । स्थानीयको कडा सङ्घर्षबाट चाइनिज क्रान्ति सम्भव भएको हो । मार्क्सवादको अर्को बाटो हो भनेर त्यहाँ तहहरू पर्खेर सबैलाई औद्योगिक बनाउँछु भनेर गएको भए माओले फर्कनुपर्ने हुथ्यो तर उनले के गरे भने ती क्रान्तिकारी सम्भावनाहरूलाई विश्वव्यापीकरण पढेको त उनले त्यही सोभियत युनियनबाट हो । त्यसकारणले क्रान्तिको सम्भावना जताततै छ । हाम्रो जुन स्वतन्त्रता छ, हाम्रो स्वात्यत्ततालाई प्रश्न गरेनौँ भने यो तनाव छ । मेरो यो एउटा उदारतावादी पढाइ हो । यदि मैले आफूलाई सिस्टमको दास बनाएँ, अहिले सिस्टमले खोज गर्छ भन्ने गरेँ भने त्यो सिस्टम पर्खनु पर्यो । त्यो सिस्टम कसले बनाउँछ ? अब यो विश्वव्यापी पुँजीवाद चाहिँ तटस्थ भएर यहाँ विभिन्न कुरा देखिएको छ । कुन सिस्टमले हामीलाई हेला गरेको हो ?
कम्युनिस्ट पार्टीको दस्तावेजमा वर्षौं लगाउनुभयो । नेपाललाई परिभाषित गर्नका लागि । यो सामन्ती हो, अर्धसामन्ती हो, उपनिवेश हो, नव उपनिवेश हो । जवानीदेखि पार्टी फुटाएर बुढो हुँदासम्म यो आन्दोलन खुम्चिएको छ । त्यसकारण सम्भावनालाई मार्क्सवादमा सबैभन्दा ठूला तीनवटा सिद्धान्त हुँदाहुँदै पनि इतिहास आतङ्कवादी हुन सक्छ । यो महत्त्वपूर्ण परिघटना हो भनेजस्तै हामीहरूको बीचमा कम्युनिस्ट परिवर्तन हुन खोज्नेलाई छाड्ने ? त्यसको बीचमा राम्रो बुझाइ हुनु पर्यो कि हाम्रो समाजको सामाजिक परिस्थिति के–के हुन ? हामी यसलाई कसरी परिवर्तन गर्न सक्छौँ ? एउटा कम्युनिस्ट नेताको काम के हो ? हरेक व्यक्तिभित्र रहेको परिवर्तनको चाहानालाई अङ्कुरित गराउने काम उनको हो । महिलाको होस, दलितको होस त्यो कम्युनिस्ट हुनुपर्छ भन्ने छैन । हरेकमा स्वतन्त्रताको चाहना छ, सोच छ । कसरी म चाहिँ स्वतन्त्र हुन्छु भन्ने चाहिँ सोच छ । जोगीको कुरा गरेको होइन मैले । दैनिक जीवनको दासताबाट मुक्त हुन चाहने सबैको कामना हुन्छ । अगुवा कम्युनिस्ट हुन सक्छ तर आन्दोलन चाहिँ छाड्नुपर्छ । त्यसैका लागि मैले समिर अमिनलाई सम्झने गर्छु । हरेक मान्छेको जुन स्वतन्त्रताको चाहना छ, दासताबाट उन्मुक्तिको चाहना छ, समानताको जुन चाहना छ सच्चा कम्युनिस्टको काम त्यसलाई अङ्कुरित गर्ने हो ।
तर हामी के गर्छौं भने विचारको नाममा बन्देज लगाउने गरिरहेका छौँ । यही भएर हामीले एकोहोरो कुरा सुनिरहेका छौँ । त्यसकारण मेरो हार्दिक अनुराध के हो भने हामी कानमा लागेको कानेगुजी कसरी खोल्न सक्छौँ त ? हामी कसरी हुन्छ मानिसहरूको कान खोलिदिनु पर्नेछ । सबैभन्दा ठूलो कुरा के भने वर्तमान सन्दर्भमा ठूला–ठूला कम्युनिस्ट भन्ने साथीहरू आफ्नो दम्भका कारण अन्धो हुनुभएको छ । उहाँहरूको आँखा खोली दिनुपर्नेछ । कान सुन्ने बनाउनुपर्यो । तपार्इंहरू भन्न सक्नुहुन्न किनभने तपार्इंहरू एउटा अनुशासनमा बाँधिनुभएको छ । तर मैले भन्नै पर्छ । यति दम्भ बढेको छ, त्यो दम्भ कहाँबाट आएको छ भने जुनसुकै भन्नुस् न त्यसको एउटा रूप सोसल मिडियामा देख्न पाइन्छ । हाम्रै दाजुभाइ हुन् । म पनि त्यो होला तर कुरा के हो भने सच्चा कम्युनिस्टमा, सच्चा क्रान्तिकारीमा त्यो साँचो भावनासहितको बाचा हुनु पर्यो । त्यही भएर समिन अमिन त्यो उमेरसम्म पनि त्यो वाचा लिएर बाँचे । हामीले आज समिर अमिनसँग सिक्ने भनेको, तपार्इंहरूले सिक्ने भनेको सच्चा कम्युनिस्ट हुनका लागि हो । मैले सिक्ने भनेको त्यो मुक्तिकामी जनताको म कसरी प्रतिनिधित्व गर्न सक्छु, इमानदारीका साथ गर्नसक्छु भन्ने हो । भाषाका प्रयोगका साथ, विचारको प्रयोगका साथ, उद्देश्य साथ, बृहत्तररूपमा नेपाली समाज स्वतन्त्रताको पक्षमा छ । समानाताको पक्षमा छ । यो कसैको एकोहोरो वादको पक्षमा छैन । त्यसकारण विविधता हाम्रो वास्तविकता हो । त्यसलाई हामी कसरी बढाउन सक्छौँ । त्यो मानेमा हामीले विश्लेषण गर्न वस्तुगत अवस्था हेर्नु जरुरी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
-
१० बजे १० समाचार : दुर्गा प्रसाईंबारे फैसलादेखि बीआरआईको विवादसम्म
-
हिजबुल्लाह प्रमुखको सार्वजनिक अन्त्येष्टिको तयारी हुँदै
-
जननसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौँमा