शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टोपी दिवस : यस्ता छन् नेपालीले लगाउने थरीथरीका टोपी

मङ्गलबार, १७ पुस २०७५, ११ : ०१
मङ्गलबार, १७ पुस २०७५

 सुरेन उप्रेती  

टोपीको धेरैले लगाउने गरेको पाइन्छ तर यसको जन्म कहिले भयो?यसको टोपी भनेर नामकरण कसले गर्यो ? कसरी टोपीले नाम पायो भन्ने बारेमा ठ्याक्कै यही हो भन्ने प्रमाण प्राप्त हुन सकेका छैनन् । वसन्त शर्मा नेपालको नेपाली शब्दसागर चौथो संस्करण २०६२ को पृष्ठ५६४ मा ‘संस्कृत भाषामा टोप भन्नाले स्तूप अथवा शिरमालगाउने वरिपरि जालीदार घेरा भएको टोपीलाई बुझाउँछ’भन्ने लेखिएको छ ।अगाडि भनिएको छ– ‘टोपी प्राकृत नाम शब्द, शिर छोप्न वा शोभा बढाउन वा बचाउ गर्न घेरा मिलाई सिलाइएको पहिरनलाई टोपी भनिन्छ’। 

यसरी यो टोपी शब्द टोपबाट नै आएको भन्न सकिन्छ । टोपलाई सम्मान र प्यारो वस्तुको रूपमा भन्दा टोपी भएको पनि हुन सक्छ । 

नेपाली भाषामा शरीरका अङ्गहरूसँग जोडिएर प्रयोग हुने  थुप्रै वस्तुहरूलाई पनि त्यही अङ्गसँग जोडेर नामकरण गरिएका उदाहरण पाइन्छन् । जस्तो, औँलामा लगाउँनेलाई औँठी, कानमा लगाउनेलाई कुन्डल, घाँटी अथवा कण्ठमा लगाउनेलाई कण्ठी,नाकमा लगाउनेलाई,नत्थु,नथिया आदि । यसलाई आधार मानेर अड्कल गर्ने हो भने टाउकामा  लगाउने भएकाले हुनाले टोपी भनिएको हुन सक्छ ।  त्यस्तै हामीले प्रयोग गर्दै आएका मिल्दा शब्दहरू शिरमा लगाउने, शिरफूल, शिरबन्दी, शिरपोस, गलबन्दी आदिले पनि टाउकामा लगाउने टोपी नामको पुष्टि गर्छन् । 

टोपी विभिन्न आकार र प्रकारमा पाइन्छन् । टोपीहरूलाई फरक फरक बनोट र बन्ने वस्तुको आधारमा फरक प्रकारका  नामकरण गरिएको पाइन्छ । १. कानेटोपी ,२. माक्कले टोपी, ३. बिर्खे टोपी, ४. भादगाउँले  टोपी, ५.पाल्पाली ढाका टोपी, ६.तेह्रथुमे ढाकाटोपी,  ७. छत्रे टोपी आदि ।

१. कानेटोपीः

कानेटोपी प्रायश साना बालवालिकाहरूलाई लगाई दिने टोपी हो । कानलाई छोप्ने या ढाक्ने गरी बनाइएको हुनाले यसलाई काने टोपी भनिएको हो । बालबालिकाहरूलाई चिसोबाट बचाउन बाक्लो र न्यानो कपडाबाट तयार गरिन्छ । भित्रीहालेर दुई पत्रमा बनाइने हुनाले यो न्यानो हुन्छ । शिशुहरूलाई ढाकाको कानेटोपी लगाइदिएको सहरमा देखिन्छ भने गाउँमा अरू नै न्याना कपडाबाट बनेका कानेटोपी लगाएको पाइन्छ । केही वर्षदेखि ऊनबाट बनेको काने टोपीप्रौढहरूले पनि जाडो याममा लगाएको पाइन्छ । टाउकादेखि घाँटी र कानसम्म ढाक्ने र चिउँडोको तल दुईतर्फबाट झरेका तुना बाँधिन्छ । जसले गर्दा टोपी झर्न पाउँदैन भने हावा पनि टोपीभित्र छिर्न सक्दैन ।

२. माक्कले टोपीः

यस टोपीलाई ढेडु टोपी पनि भनिन्छ । कति मानिसहरूले मङ्कीक्यापसमेत भनेको सुनिन्छ ।यसले टाउकाको पूरैभाग निधार,कानदेखि घाँटीसम्मको भाग ढाक्दछ । सबैतिर ढाकेर अगाडि मुख मात्रै देखिने भएको हुनाले यसलाई माक्कले टोपी या ढेडुटोपी भनिएको हो । ढेडुको टाउकोको सबै भाग शरीर जस्तै कमेरे रङ्गको भए पनि मुख चाहिँ कालो हुन्छ । यो टोपी लगाएपछि ढेडुको टाउको जस्तै देखिने हुनाले ढेडुटोपी भनिएको हो ।  यसलाई ऊनबाट बनाइने भएको हुनाले धेरै तातो हुन्छ । जाडो महिनामा प्रायः प्रौढ पुरुष र महिलाहरूले समेत लगाउने गरेको पाइन्छ । यसलाई खराब नियत भएका मानिसहरूले समेत पहिचान लुकाएर अपराध गर्न प्रयोग गरेको भेटिन्छ । 

३. बिर्केटोपी,

यो बिर्केटोपी वरिपरि एउटा घेरा भएको र घेरामाथि अर्को गोलाकार टुक्राले ढाकिएको हुन्छ । यसको बीचभागमा एउटा डल्लोसमेत हुन्छ । कुनै भाँडाहरूको विर्कोको आकारमा भएको हुनाले यसलाई बिर्केटोपी भनिएको हुन सक्दछ । यसलाई आदिकविभानुभक्त आचार्य र युवाकवि मोतिराम भट्टले लगाएको देखिन्छ । भारतको हिमाञ्चल र गडवालतर्फ पनि यस्तै आकारको टोपी लगाएको पाइन्छ । यो बाक्लो ऊनीकपडाबाट तयार भएको पाइन्छ । तर हिमाञ्चल र गडवालमा प्रयोग हुने टोपीको बाहिरी मध्यभागमा डल्लो भने हुँदैन र यो हाम्रो बिर्के टोपीभन्दा अग्लो पनि हुन्छ । बिर्केटोपीलाई साहित्यकर्मीहरूले भानुजयन्ती र मोतिजयन्ती जस्ता समारोहहरूमा  लगाएको देखिन्छ ।

४. भादगाउँले  टोपी

भादगाउँ भक्तपुरको पुरानो नाउँ हो । यही भादगाउँमा बुनिने र तयार गरिने भएको हुनाले यो गाउँको नामबाट टोपीको नाम पनि भादगाउँले रहेको हो । दुई इन्चदेखि चारइन्चसम्म  टोपीको उचाइ हुन्छ । कालो गोलाकार माथि तीनकुने ढकनी लागाई टोपी तयार गरिन्छ । यसलाई तयार गर्दा दह्रो  बनोस भनेर सिलाइसकेपछि माडमा पकार तयार गरिन्छ । गाढाकालो बनाउनका लागि विशेष रङको पनि प्रयोग गर्ने चलनछ । खास गरेर नेपाली सेना प्रहरी र सरकारी कर्मचारीहरूले राष्ट्रिय पोसाकमा भादगाउँले टोपी लगाउने प्रचलन छ । राष्ट्रवादी राजा महेन्द्रले कार्यालयमा अनिवार्य राष्ट्रिय पोसाकको प्रचलन सुरु गरेपछि यसको प्रयोगले व्यापकता पाएको देखिन्छ । 

५. पाल्पाली ढाकाटोपीः

पाल्पामा बुनिएको ढाकाबाट तयार गरिएको टोपीभएको हुनाले पाल्पाली ढाकाटोपी नामकरण भएको हो । तीन चार इन्च गोलो बनाई सिलाइएको ढाकामाथि तीनकुने आकारको अर्को टुक्रा राखी यो टोपी तयार गरिन्छ । यो टोपीलाई सम्म भाग भएको टेबलमाथि राखेर हेर्नुहोस् । यसले हिमालका चुचुराहरू र पहाडका टाकुराहरूको आकार ग्रहण गर्छ । भित्री सादा कपडा र बाहिर विभिन्न बुट्टा भएको पाल्पामा बुन्न सुरुवात भएको कपडाबाट तयार भएको हुनाले पाल्पाली ढकाटोपी भनिएको हो ।

६. तेह्रथुमे ढाकाटोपीः

लाहुरेहरूबाट भित्र्याइएको कपास खेती तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम सङ्खुवासभा भोजपुरलगायतका पहाडी जिल्लामा फैलियो ।  तेह्रथुम जिल्लामा बहुसङ्ख्यक रूपमा लिम्बुजातिको बसोवास रहेको छ । ती जातिबाट कपास खेती गर्ने, कपासलाई टिप्ने ऐटिने, चर्खाको प्रयोगबाट प्युरी र धागो बनाउने र खाँडी कपडा बुन्नेकामको सुरुवात भयो । राजा महेन्द्रको शासनकालमा दौरासुरुवाल र टोपीलाई कर्मचारीहरूमा तथा सांसदहरूला अनिवार्य राष्ट्रपोसाकको रूपमा लागू गरियो । यस समयसम्म कमरूपमा मात्रै उत्पादन हुने गरेको तेह्रथुमे ढाका टोपीले व्यापकता पायो । आसपासका भेगमा पनि यसको प्रभाव पर्यो । खाँडी कपडाका दौरासुरुवाल र ढाका टोपीको अत्यधिक माग हुन थाल्यो । सरकारी प्रयोजनमा प्रयोग हुने फोटोमा अनिवार्य टोपीको व्यबस्ता भयो । चाड पर्व जस्तो दसैं तिहारमा टोपीको उपहार दिने चलन शुरुभयो । तेह्रथुमे ढाका टोपी चार देखि छ इन्च उचाइ सम्मको पाइन्छ । बिभिन्न रंग र आकारका बुट्टा राखेर हातले टोपी बुनिन्छ । यसको आकार पनि पाल्पाली ढाका टोपीको जस्तै हिमालका चुचुरा र पहाडका टाकुराहरूलाई बिम्वित गर्दछ । 

७. छत्रे टोपीः

यो टोपी छाताका रूपमा टाउकाको वरिपरि रहेर पानी र घामबाट जोगाउन प्रयोग गरिन्छ । खेतबारीमा काम गर्दा हातले समाती रहनु नपरोस भनेर दुई तर्फ डोरी निकाली चिंउडोमुनी बाँध्ने गरिन्छ । यो छत्रेटोपी पाट पात र चोयाहरूबाट बनाइने गरिन्छ । हाल यसलाई कपडाबाट बनाउने गरिन्छ । यो छाता जस्तै वरीपरि हुने टोपी हुनाले छत्रे टोपी भनिएको हो ।  

हुन त गाउँ घरहरूमा सबैले ढाका टोपी र भादगाउँले टोपी लगाउन सक्ने स्थिति अझै भएको छैन । तर अरु नै कपडाबाट  टोपीहरू सिलाएर लगाएकै हुन्छन । ती टोपीहरू राता पँहेला काला धर्के बुट्टे आदि बिभिन्न रंगका हुन्छन् । आफन्तको वियोगमा बर्ष दिन सम्म सेतो टोपीलगाएर दुख प्रकट गर्ने प्रचलन अझै कायम छ ।

टोपीको महत्वः 

नेपालीहरूका लागि टोपीले विशिष्ट स्थान लिएको छ । परंपरालाई हेर्ने हो भने टोपी नलगाएको मानिस भनेको कुनै मातृ या पितृ शोकमा परेको मानिस भनेर बुझ्ने चलन थियो । मातापिताको वियोगमा कपाल खौरिएर तेह्रदिन सम्म काजक्रिया गर्ने र बर्ष दिन सम्म शोक बार्ने चलन यधपी छ । काचक्रिया गरेको समयमा सेतो कपडालेमात्र टाउको ढाक्ने चलन छ । यसरी आफ्ना श्रद्धेय र पृयहरूको सम्मान र दुख व्यक्त गर्ने प्रतिक टोपी हो । राजा महाराजाहरूको शोकमा पनि कपाल खौरने र टोपी झिक्ने प्रचलन थियो । कोही मानिसका आफन्त  रहेनछन् र मृत्यु भयो भने बिचराको टोपी झिक्ने कोही रहेनछन्  भन्ने चलन छ । पंचायतकालमा सिंहदरवार भित्र प्रवेश गर्न टोपी अनिवार्य थियो । नेपाली नागरिकता पासपोर्ट परिचय पत्रहरूमा टोपी अनिवार्य छ । 

टोपीले नेपालको प्राकृतिक बनोटलाई बिम्वित गर्दछ । टोपीले हिमालका चुचुराहरू त्यस्तै गरी पहाडका टाकुराहरूको आकार दर्शाउँछ । निधारमाथि बस्ने टोपीले हिमाल र पहाडलाई बुझाउँछ भने निधारले तराईको समथर भूभागलाई दर्शाउँछ । यो भूगोलको उच्च हिमालको प्रतिक हो हाम्रो टोपी । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले भनेझैं चार जात र छतिस बर्णको फूलवारी नेपाल हो भने टोपी सबै फूलहरूलाई एउटै मालामा गुथ्न सफल धागो हो । के जात ,धर्म, सम्प्रदाय टोपी सबैको पृयहो । टोपी नेपालीको गौरब हो शान हो । एकताको प्रतिक हो टोपी । साँस्कृतिक सम्पदाहो टोपी ।  सन्सारको जुन सुकै ठाउँमा रहेका नेपालीहरूबिचको आत्मियभाव हो टोपी । दशैंको टिकाथाप्न र आशिर्वाद लिन टोपी अपरिहार्य छ । टिका लगाइ सके पछी कानमाथि जमरा सिउरने हो टोपी । मन्दिरलाई गजुरले शोभायमान बनाए झै मानिसको व्यक्तित्व टोपीले बढाउँछ । 

नेपालमा गणतन्त्र र लोकतन्त्रको आगमन सँगै नेपालीहरूमा राष्ट्र राष्ट्रियता प्रतिको अगाध स्नेह र सम्मान बढेर गएको छ । अब त के नारी के पुरुष सबैले नेपाली टोपीलाई पहिचानको प्रतिक बनाएका छन । सगरमाथाको प्रतिकका रूपमा नेपाली टोपीलगाउन शुरु गरिसकेका छन् । २०१४ मा भएको विनाशकारी भूकम्प र २०१५ मा भएको भारतिय नाकाबन्दीले नेपालीहरूलाई फेरि एकहुन प्रेरित गरेको छ । आफ्नो अस्तित्व र पहिचानका लागि अरुले हैन आफैलाग्नु पर्दछ । आफैं जाग्नु पर्छ भन्ने भावना विकाश गराएकोछ । चार्लस डार्विनले भनेझै अस्तित्व र पहिचान जोगाइ राख्नका लागि संघर्ष गर्नु पर्दछ । जसले सक्दैन त्यो लोप भएर जान्छ । यो कुरा सबै नेपालीहरूले मनन गरी सकेका छन । मुलुकमा विपति पर्दा संसार भरीका नेपालीहरूलाई पिडा हुन्छ । सहयोगाका हात र भावनाहरू लिएर गाउँ गाउँमा पुग्छन् ।  परदेशमा पनि कुनै विपति पर्यो भने सबै सहयोगी मनहरू त्यहाँ पुग्न थालिसकेका छन । 

 टोपी दिवशको थालनी भएको करिब एक दशक पुग्न तर्खर हुँदै गर्दा सन्सार भरी टोपी दिवस मनाउन थालिएको छ । एकै दिन विश्वनै नेपाली टोपीमय बन्न थालेको छ । यसले नेपाली नेपाली विचमा आत्मियता मातृभूमि प्रतिको दायित्वबोध मात्रै गराएको छैन।  नेपाल र नेपालीको पहिचान सँगै सभ्यता र  संस्कृतिलाई विश्वव्यापी बनाउँदै लगेको छ ।  अब नेपाल सरकारले राष्ट्रपोशाक दिवसको दिन घोषणा गरोस । र सन्सार भरी रहेका नेपालीहरूलाई एकतामा जोड्ने काम गरोस । सन्सार भर रहनु हुने नेपालीहरूले जनवरी एकलाई भव्यरूपमा नेपाली टोपी दिवसका रूपमा मनाउन हुनेछ । हामीले प्लेकार्डहरूमा नाराहरूलाई लेखेर हाम्रो भावनालाई प्रस्तुत गर्न सक्दछौ । 

टोपी हाम्रो शान हो । 

टोपी नेपालीको पहिचान हो । सगरमाथा नेपालीको शान  हो । सगरमाथा हाम्रो पहिचान हो । टोपी लगाऔ राष्ट्र प्रति सम्मान जनाऔ । हाम्रो शान हाम्रो मान नेपाली टोपी हाम्रो पहिचान । राष्ट्रिय पोशाक लगाऔ नेपाली राष्ट्रियता जोगाऔ । 

जनवरी १ ,२०१९ को टोपी दिबशले सन्सार भरका नेपालीहरूलाई मन बचन र कर्मले एकता गराओस । सुख शान्ति र संबृध्दीले सबै नेपालीहरूलाई पूर्ण गराओस भन्ने हार्दिक शुभकामना चढाउँछु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप