केन्द्रीय संस्करण

सुदास र महात्मा बुद्ध

person explore access_timeपुस १६, २०७५ chat_bubble_outline0
Photo : BooksFact

गौतम वुद्धजीवित रहनुहुँदाका समयको कुरा हो । एक पटक तराइको एउटा गाउँमा महात्मा वुद्धको आगमन भएको थियो । त्यसै गाउँको पुछारमा सुदासको एउटा झुप्रो थियो  । सुदास एक  गरीव चमार थिए । झुप्रोपछाडिको थोरै जमीनमा उनले एउटा पोखरी बनाएका थिए । कमल रोपेका थिए । ससाना माछा पनि पालेका थिए । सुदास प्रत्येक बिहान पोखरीनिर उभिएर भित्र पानीमा खेलिरहेका माछा हेर्थे ।

एक बिहानको कुरा हो , सुदास सधैं झैं झुप्रापछाडिको पोखरीनिर पुगेकाथिए । पोखरीमा बेमौसममै  एउटा कमल फुलिरहेको देखियो । सुदासलाई अचम्म लाग्यो । एक छिन त हेरि नै रहे । हेर्दाहेर्दै सोचे,“आज हाट लाग्ने दिन छ । यो पूmल बेच्न लान्छु । बेमौसमको यति राम्रो कमलफूल । कसै न कसैको  त आँखा पर्छ, पर्छ । कुनै मनकारी ग्राहक भेटियो भने एक रुपयासम्म पनि दिन सक्छ । मेरो लागि एक रुपया ठूलो हो । एक रुपयाले ठूलो गर्जो टर्छ । अहा क्या मज्जा !!”

सुदास फूल लिएर मनमनै रमाउँदै हाटबजारतिर लागे । केही पर मूलसडकमा पुगेका थिए शहरका जेठा सेठको रथ घर्घराउँदै त्यसै बाटो आयो । सुदासलाई देखेर रथ रोकियो ।  रथबाट मुन्टो बाहिर निकाल्दै सेठ करोडीमलले उच्च आवाजमा भन,े “यो कमलफूल मलार्इृ देऊ है? म यसको पचास स्वर्णमुद्रा दिन्छु !”

सुदासले जिल्ल पर्दै सेठको अनुहारतिर हेरे । उनलाई यी सेठ बहुलाएछन् भन्ने लाग्यो । कुरा ठम्याउनै भ्याएका थिएनन् त्यसै बाटो अरबी घोडामा हुत्तिंदै आएका प्रमुख सेनापतिले  टक्क रोक्mिँदै भन,े “ए भाइ, यो फूल मेरो भयो है ? म यी सेठले दिएभन्दा दस दोब्बर बढी स्वर्णमुद्रा दिन्छु !” सुदास थप जिल्ल पर्दै पालैपालो सेठ र सेनापतिको अनुहार हेर्दै थिए नगरबाट आएको राजाको रथ पनि त्यहीं अगाडि आएर रोकियो । राजाले “अहा बेमौसमको कमलको फूल!” भन्दै मेघगम्भीर आवाजमा आज्ञा गरे, “प्रजाजन, ल यो फूल मेरो भयो है । म यी सेनापतिले दिएभन्दा दश दोब्बर बढी स्वर्णमुद्रा यसको मूल्य दिन्छु !!”।

“एक थान कमलफूलको यत्रो विधि मोल !यस मुलुकमा आज यी सबै बहुलाएछन् कि के हो !?” सुदास अनौठो मान्दै पालैपालो ती सबैका अनुहारमा हेर्न थाले । सुदास अलमलिएको बुझेरराजाले आज्ञा गरे, “किन ?के भो ?” सुदासले सम्हालिंदै प्रश्न राखे,“यो सबै ठट्टा हो कि साँचो हो सरकार ?एक थान कमलफूलको पाँच हजार स्वर्णमुद्रा ?  मैले  यो बुझ्नै सकिन के गरुँ ?” राजाले आज्ञा गरे, “तँलाई थाहा छैन लाटा ? यसै गाउँकोपिपलचौतारीमा आज महात्मा गौतम वुद्ध आउनुभएको छ । म यो बेमौसमी कमलफूल वहाँको करकमलमा अर्पण गरेर  स्वागतअभिवादन गर्न आतुर छु । बुझिस् ? यो मौसममा यस्तो फूल ! भगवान् बुद्धले पनि कल्पना गर्नुभएको छैन यो मौसममा यस्तो फूल चढाएर कसैले स्वागत गर्ला भनेर । यो फूल देखेपछि मेरो मन फुरुंङ्ग भएर नाचेको छ । अहा कस्तो शुभ संयोग !!”

सुदासले गद्गद् हुँदै भने, “एः त्यसो हो ?त्यसो भए  यो फूल मैले बेच्निे कुरै भएन । म आफै महात्मा गौतम वुद्धको चरणकमलमा यो फूलचढाएर अभिवादन गर्छु । मेरोे फुच्चे पोखरीमा बेमौसममा कमलफूल फुल्यो र म गरीवले पनि महात्मा बुद्धलाई फूल चढाएर दर्शन गर्न पाउने भएँ !” गद्गद् सुवास हातमा फूल लिएर सडकमै नाचुँ नाचुँजस्तो गर्न लागे ।

राजाले अचम्म मान्दै आज्ञा गरे, “सुदास तँ पागल त भइनस् ? किन चढाउने तैंले यति महँगो फूल ?”

भर्खरैसम्म सुदास सोच्दै थिए सेठ, सेनापति र राजा तीनै जना पागल भएछन् । अहिले ती तीनै जनाले एकै सोरमा भने, “ए सुदास, तँ पागल  भइस् कि कसो? पाँच हजार स्वर्ण मुद्रा चानचुने रकम होइन । यतिले तेरो सात पुस्ताको दरिद्रता मेटिन्छ ।” राजाले अझ जोड दिंदै थप आज्ञा गरे, “हो यसबाट तेरो मात्र होइन तेरो दरसन्तानकै उद्धार हुन्छ । मालामाल हुन्छस् तँ । यस्तो मौका फेरी आउँदैन बुझिस् ? फूल मलाई बेच् ।”

“बुद्धलाई फूल चढाएर अभिवादन गर्न पाएपछि मेरो दरिद्रता यत्तिकै मेटियो । यो फूल बुद्धको चरणमा चढाउँछु । म यो फूल बेच्दिनँ । स्वर्णमुद्राको एउटा पहाडजत्रै खलियो पाउँछु भनेपनि म यो फूल बेच्दिनँ । क्षमा पाउँ महाराज,” सुदासले निहुरिएर राजासँग क्षमा मागे ।

“ल भैगो । पागलसँग कसको के लाग्छ !?”राजाले भने । सेनापतिले मुसुक्क हाँसेर घोडा अघि बढाए । राजाको रथ पनि अगाडि बढ्यो । सुदासलाई “मूर्ख मनुवा!” भनेर खिस्सी गर्दै सेठ करोडीमलले पनि आफ्नो रथ अगाडि बढाए । राजाले बुद्धसँगको भेटमा पनि यो घटनाको बयान गरे । “त्यो सुदास चमार अनौठो मान्छे रहेछ !स्वर्णमुद्राको त्यत्रो राशि पाउँदा पनि फूल बेच्न मानेन !!”

चर्चा चल्दै थियो । सुदास आइपुगे । अदवसाथअगाडि बढे  सुदास । उनले महात्मा वुद्धको चरणमा कमलपूmल चढाएर अभिवादन गरे । वुद्धले अत्यन्त प्रेमका साथ पिठ्यूँ मुसार्दै भन्नुभयो, “बाबु सुदास,तिमीले यो फूल राजालाई बेचिदिनुपथ्र्यो । राजाले दिएको स्वर्णमुद्राले तिम्रो त पुस्तौंको दरिद्रता मेटिन्थ्यो । तिमी सुखी हुन्थ्यौ । किन नबेचेको फूल ?”

सुदासले भने, “महात्मन्, प्रेमभन्दा स्वर्णमुद्रा मूल्यवान् हुन्छ भन्ने मलाई लागेन । प्रेम त धनभन्दा धेरै ठूलो कुरा हो । मेरा प्रिय महात्मा बुद्ध यहाँ आउनुभएको थाहा पाएकै क्षण मैले मनमनै पाउमा यो फूल अर्पण गरिहालेँ । जतिसुकै होस् स्वर्णमुद्रा मलाई यो फूल बेच्न मन लागेन । बेच्ने सवालै रहेन । के एक गरीबले बुद्धलाई प्रेम अर्पण गर्न सक्दैन ? गरीबले महात्मा बुद्धको पाउमा प्रेमपूर्वक कमल फूल चढाउन सक्दैन ?श्रद्धा, आदर व्यक्त गर्न सक्दैन ? एक गरीब दरिद्र चमारसित पनि त आत्मा हुन्छ । प्रिय महात्मन्, यो फूल मैले अगाध प्रेम र श्रद्धाकासाथ चढाएको हूँ , स्वीकार गरिदिनुहोस् ।”

बुद्धले पाउबाट उठाएर त्यो फूल आफ्नो शिरमा राख्नुभयो । बौद्धभिक्षुहरु र उपस्थित अरुहरु ट्वाल्ल परेर यो दृश्य हेरिरहेका थिए ।

यसैबीच भिक्षुहरुलाई सम्वोधन गर्दै बुद्धले भन्नुभयो, “यी सुदासले गुरुकुलशिक्षा पाएका छैनन् । पढालिखा मानिस होइनन् सुदास । तर यी कसैभन्दा कम जानकार छैनन् । यिनी साँच्चिकै विद्यावान् छन् । अभिनन्दनलायक छन् ।”

“विद्यावान् भन्नुको अर्थ केहो महात्मन्,” एक जना भिक्षुले विनम्रताका साथ बुद्धसँग सोधे ।

“जसले जीवनमा श्रेष्ठतर मूल्यको वोध पाएको छ, जो निम्न मूल्यलाई श्रेष्ठ मूल्यका लागि समर्पण गर्न सक्छ त्यही विद्यावान् हो । सुदासले प्रेमका लागि हजारौं स्वर्णमुद्रा ठुकराइदिए । यसो गर्नु चानचुने कुरा होइन !” बुद्धलेभन्नुभयो ।

यो सम्वाद सुनिरहेका त्यहाँ उपस्थित कति ठूलाबडाहरुले  आपसमा मुखामुख गरे । कतिको लज्जावोधले र कतिको श्रद्धाले शिर निहुरियो । यसरी शिर निहुराउनेमा राजा, सेनापति र सेठ कडोरीमल पनि थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.