नेकपाका अगाडि अब दुई विकल्प : ‘सत्यानाश या त समाजवाद’
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थाथी कमिटी बैठक झन्डै दुई साता चल्यो, जहाँ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रतिवेदनमा निकै बहस भयो । अन्तिममा परिमार्जनसहित प्रतिवेदन पारित भयो । पूर्व एमाले र नेकपा गठनयता पार्टीमा विधि र पद्धतिको विषय तथा अहिलेको आवश्यकताअनुसार नयाँ कार्यदिशाको माग गर्दै आएका घनश्याम भुसाल यो बैठकमा भएको बहस र निर्णयपछि उत्साही छन् । तर, कार्यान्वयनमा शीर्ष नेतृत्वदेखि सचिवालय र स्थायी कमिटीका सदस्यसम्मले इमानदारितापूवर्क काम गर्नुपर्ने भुसालको तर्क छ । त्यसैले उनी अहिले पर्ख र हेरको अवस्थामा छन् । नेकपाको स्थायी कमिटी बैठकको अनुभव, उपलब्धि, निर्णय र यसको कार्यान्वयनबारे स्थायी कमिटी सदस्य भुसालले रातोपाटीकर्मी बबिता शर्मासँग आफ्नो अनुभव सुनाएका छन् ।
पूर्व एमालेका समस्या जसरी बैठकमा आए
पार्टी एकता भएको लामो समयपछि हामी बैठक बस्यौँ, यस्तो गर्नु हुँदैनथ्यो । समस्या असाध्यै थुप्रिएपछि बैठक बस्यौँ । लामो समयदेखि थुप्रिएका समस्याका विषयमा चर्चा पर्याप्त भयो । त्यस हिसाबले यो राम्रो भयो । लामो अन्तरालपछि बसेको बैठकमा छलफल मात्रै होइन, एकले अर्कालाई चिन्ने, जान्ने अवसर भयो । स्पष्टसँग भन्दा पूर्व एमालेका केही आन्तरिक समस्या बैठकमा अलि बढी आए । पूर्व एमालेभित्रको समूहबन्दी, गुटबन्दीका कारणले थुप्रिएका समस्या अलि बढी आए । त्यो हेर्दा पूर्व माओवादीका साथीहरूलाई अलि रोमान्चकारी लागे होला भन्ने लाग्छ । समयको हिसाबले भन्ने हो भने संसद बैठकको ठीक अगाडि, सरकारको टिप्पणी धेरै भैरहेको समय स्थायी कमिटीको बैठक बस्यो । यसले सामान्यता ठिकै निर्णयहरू गरेको छ । समग्रमा यो बैठकमा भएका निर्णय, समझदारी, अपेक्षाहरूमा नेतृत्व गम्भीर भइदियो भने क्रमशः पार्टी र सरकारका समस्याहरू समाधान हुँदै अगाडि जान्छन् ।
अध्यक्ष प्रचण्डको भूमिका अपेक्षित नै पाएँ
बैठकमा अध्यक्ष प्रचण्ड कमरेड आफँैले पनि भन्नुभयो, पूर्व माओवादीका साथीहरू अलि मौन अथवा पर्ख र हेरको अवस्थामा रहनुभएको हो कि जस्तो पनि लाग्यो । लिडरको हिसाबमा मेरा लागि अध्यक्ष प्रचण्ड कमरेडको भूमिका अपेक्षित नै लाग्यो । किनभने हरेक मामलामा विवादहरूलाई सकेसम्म साँघुरो बनाउन पाए हुन्थ्यो, मनमुटावहरू नभए हुन्थ्यो भन्ने सोचाइ देखियो उहाँमा । त्यस हिसाबले पूर्व माओवादीको झन्डै पाँच हजारको केन्द्रीय कमिटीलगायत अन्य कमिटीहरूमा हामीले देख्दा जुन खालको अराजकता थियो, त्यहाँ प्रचण्ड कमरेडको व्यक्तित्वले सम्पूर्ण सङ्गठनहरू टिकाएको रहेछ भन्ने अनुभव भयो ।
‘जादुको छडी’ घुमाएर पार्टी बन्दैन
मान्छेले कल्पना गरे जसरी पार्टी त बन्दैन तर हामी त्यसतर्फ गएका छाँै कि छैनौँ, त्यो मुख्य कुरा हो । एकता प्रक्रियाको चरणमा पूर्व एमालेमा जुनखालको संगठनको अभ्यास थियो, त्योभन्दा धेरै नराम्ररी खलबलिएर गएको छ । यो एक हिसाबले धेरै नकारात्मक छ । तर सधैँ यस्तो रहन सक्दैन । मैले बेला–बेला भन्ने गरेको छु, अब हाम्रा अगाडि या त ‘समाजवाद’ या ‘सत्यानास’ भन्दा अरू विकल्प छैन । मैले सोचेजस्तो समाजवादतर्फ जाने हरेक मान्छे दुःख सुख बराबरी भनेर लागेको नहोला । तर, पार्टीको नेतृत्व, मुख्य कमिटी र त्यसको मुख्य हिस्सा त्यतातर्फ हिँडेको छ कि छैन भन्ने विषय प्रमुख हो । त्यसकारण अहिले हामी त्यसतर्फ हिँडिसक्यौँ भनेर झुटो बोल्न कठिन हुन्छ । यो पार्टीमा असाध्यै ठूलो क्षमताका मान्छेहरू छन् । अहिलेको नेपालको समसामयिक राजनीतिमा यो असाधारण शक्ति हो । एकातिर लामो समय संसदीय संघर्ष, अन्य खुला संघर्ष, अन्तर्राष्ट्रिय सम्पर्क, सम्बन्ध, कूटनीतिबाट हुर्केर आएको कार्यकर्ता र नेतृत्वको पङ्क्ति छ । अर्कोतर्फ, दश वर्षको जटिल युद्धलाई व्यवस्थापन गरेर आएको कार्यकर्ता र नेतृत्वको पङ्क्ति छ । हामीले यसलाई एक ठाउँमा मिलाएका हौँ । हाम्रा शैली, तरिकाहरू फरक छन् । वैचारिक र सैद्धान्तिक रूपले एकै ठाउँमा रह्याँै भने हाम्रो कार्यशैली, तौरतरिका र राजनीतिक मुद्दाहरूलाई मिलाएर लैजान सकिन्छ । त्यसलाई हेर्दा हामी दुवैतर्फबाट आएका साथीहरू जटिल परीक्षामा छौँ । हिजोका दुई पार्टीकै पहिलो पुस्ता जुन छ, त्यो पुस्ता एक्लै सफल हुँदैँन । कहिँलेकाहीँ हाम्रा लिडरहरूलाई हेर्दा उहाँहरूले ‘जादुको छडी’ हल्लाएपछि सबै हुन्छ भन्ने ठान्नुभएको छ कि जस्तो लाग्छ । यथार्थमा त्यस्तो हुँदैन ।
अब दोस्रो तेस्रो पुस्ताको उत्तिकै जिम्मेवारी छ । हाम्रो पुस्ताको उत्तिकै जिम्मेवारी छ । त्यसकारण यो एकतालाई बचाउन, अझै सुदृढ बनाएर लैजान हाम्रो अघिल्लो पुस्तालाई त्यसैखालको जिम्मेवारी छ । पार्टीको एकताको पक्षमा, हाम्रो भविष्यको पक्षमा, हाम्रा सन्तानहरूको भविष्यको पक्षमा, हाम्रा उत्तराधिकारीहरूको भविष्यको पक्षमा लैजान हामीले पनि अझै मिहिनेत गर्नुपर्ने लाग्छ ।
नेतृत्वले हैकम लादेर हुँदैन
सङ्गठनमा सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको ‘आन्तरिक लोकतन्त्र’ हो । हामी एउटा लोकतान्त्रिक समाजको नेतृत्व गर्दैछाँै । बाहिर लोकतान्त्रिक राजनीतिको नेतृत्व गर्दैछाँै । त्यो क्षेत्रमा बलियो हुनका लागि त्यसमा हाम्रो सफलता स्वयम् हामीभित्र हामी कति लोकतान्त्रिक छाँै भन्ने कुराले निर्धारण गर्छ । हामीभित्र हैकम लादेर, हामीभित्रको लोकतन्त्रलाई खुम्च्याएर बाहिरको लोकतान्त्रिक आन्दोलनमा, प्रक्रियामा, लोकतान्त्रिक प्रतिस्पर्धामा सफल हुन सक्दैनौँ । त्यसकारण हामी आफै सक्षम हुनका लागि ‘आन्तरिक लोकतन्त्र’लाई फराकिलो पार्नुपर्छ । मैले उल्लेख गर्नुपर्ने कुरा के हो भने, यो एकता प्रक्रियाका दौरानमा हामीले धेरै नै ‘कम्प्रमाइज’ गरेका छाँै ।
मलाई मन नपर्ने कुरा, सात जना, नौ जना वा दुई जनामा जिम्मा नदिएको भए एकता असम्भव थियो, देशी विदेशी प्रतिक्रियावादीहरूले फुटाइदिन्थे भन्ने खालका वक्तव्यहरू आउने गर्छन् । यो अति अनाँैठो लाग्छ । हामीभित्र त्यस्तो के चीज छ, जो अरूले फुटाउँदा फुट्छौैँ ! मुख्यतः लिडरहरूको कार्यशैलीमै समस्या हो भन्ने कुरामा ख्याल गरेनौँ भने र खालि नेताहरूको हिम्मत, विवेक अथवा दुरदर्शिताले मात्रै एकता सम्भव भयो भन्ने ठाउँमा हामी पुग्यौँ भने हाम्रो राजनीति, सिद्धान्त, त्यसको इतिहासको आवश्यकता गौण हुँदै जान्छ । यसो गर्न सकियो भने मात्रै सजिलैसँग अहिलेका चुनौतीहरू हामी पार गर्न सक्छाँै ।
अर्को, हिजोको एमाले लामो समय सत्तामा रह्यो र एकखालको राजनीतिक अस्थिरताले गर्दा सिद्धान्त, विचार गौण हुँदै गयो । हिजोको माओवादीले छोटो समयमा लामो दूरी पार गर्नुपर्ने भयो । यस क्रममा धेरै परिवर्तनहरू आए । ती परिवर्तनले सैद्धान्तिक, वैचारिक कुरा औपचारिक रूपमा ल्याएका छन् । त्यसमा अझै गम्भीर हुन आवश्यक छ । पार्टीको तल्लो पङ्क्तिसम्म राजनीतिक, सैद्धान्तिक रूपले ओतप्रोत गर्नु अर्को मुख्य कुरा हुनेछ । यी दुईवटा कुरा गर्न सकियो भने नेकपा धेरै लामो समय असाध्यै लोकप्रिय भोटका साथ मुलुकको राजनीतिक नेतृत्व गरिरहनेछ ।
बहस र फरक मतबाट डराउने पार्टी अब टिक्दैनन्
बहस, भिन्न मतबाट डराउने पार्टी अब टिक्दै टिक्दैनन् । ‘डेमोक्रेसी’मा त झन् टिक्दैनन् । बहस हुन सक्ने वातावरण जति फैलाउँछाँै, त्यत्तिकै सङ्गठन र विचार मजबुत हुँदै जान्छ । तर यसो भनिरहँदा बहसमा निजी आकाङ्क्षाहरू थोपर्ने कुरा गर्नु हुँदैन, एकअर्कामा । ‘म संसारमा कसैभन्दा सानो छैन, किनभने कसैभन्दा ठूलो पनि छैन’ – यो चेतना गणतान्त्रिक चेतना हो । ठ्याक्कै यो चेतना पार्टीमा बनाउन सक्यौँ, म स्थायी कमिटीको सदस्य, अर्को पोलिटब्युरो सदस्य, अर्को केन्द्रीय सदस्य मात्रै भनेर मैले उसलाई होच्याउने वा तल देख्ने गरिनँ, मभन्दा माथि अध्यक्षहरू छन्; मैले तिनलाई भगवान मानिन वा ती अध्यक्षहरूले हामीलाई होच्याउने काम गरेनन् भने हामी हरेक कम्युनिस्ट पार्टीका सदस्यको हिसाबले हामी सबै एउटै पङ्क्तिमा छौं, यहाँ त हाम्रो जिम्मेवारीले मात्रै तलमाथि छाँै भन्ने कुराको ग्यारेन्टी गर्न सक्ने स्थिति पैदा हुनेछ । अबको कम्युनिस्ट पार्टीको लागि यो महत्त्वपूर्ण कुरा हो ।
हामीले आत्मालोचनाको तत्परता खोजेका हौँ
बैठकमा आत्मालोचनाको निकै चर्चा चल्यो । एउटा खास घटनामा आत्मालोचना हुने फरक कुरा हो । हामीले त आत्मालोचनाको तत्परता खोजेका हौँ । मैले जे भन्छु, त्यसमा नेतृत्वले आत्मालोचना गरोस् भन्न थाल्यौँ भने त्यो डेमेक्रेटिक भएन । तर, मबाट गल्ती भएको छ, हुन सक्छ भन्ने कुरामा म हरबखत तयार हुन पर्यो । लिडरसिपले पनि हामीबाट गल्ती भएको छ, हुन सक्छ भन्ने कुरामा हरबखत तयार हुन पर्यो । हिजो र आजको बैठकमा अलि फरक पाएको छु । किनभने एक्लेले सोचेर हुँदैन । एउटा अध्यक्षमा केही कमी छ भने अर्को अध्यक्षले त्यसलाई पूरा गर्नु होला । अर्को अध्यक्षमा एउटा कमी छ भने त्यसलाई अर्को अध्यक्षले पूरा गर्नुहोला । ती दुई अध्यक्षमा भएका कमजोरीलाई हामीले पूरा गरौँला । हामीमा भएका कमजोरी दुई अध्यक्षहरूले पूरा गर्नुहोला । यसरी हामीले कमिटी प्रणाली राम्रो बनाएर लैजाने होला । म त्यो अपेक्षा गर्छु । यसपछि पनि हामीले हाम्रा अध्यक्षहरूलाई यो कुरा भनिरहन पर्छ जस्तो लाग्छ ।
जनताको चित्त दुख्यो भनेर सरकारले महशुस गर्नुपर्छ
एसिया प्यासिफिक समिटमा सरकार र पार्टीका नेताहरू सहभागिताको विषयमा धेरै गम्भीर कुराहरू आए । त्यो प्रसङ्गको जवाफ दिनेक्रममा प्रधानमन्त्रीले ‘हाम्रो संविधान र पार्टीका मान्यताअनुसार हामीले त्यस्तो गल्ती गरेका छैनौँ’ भन्ने जवाफ थियो । उहाँको जवाफलगत्तै भीम रावल, मलगायत अन्य साथीहरूले ‘यसमा सरकारको कमजोरी भएकै हो’ भन्यौँ । ‘जनताको चित्त दुख्ने काम हामीले गर्यौँ । त्यसमा कतिपय धर्मनिरपेक्ष राज्य र सरकारका पदाधिकारीले गर्न हुने नहुने काम भए होलान् । एनजीओसँग सरकारले सहकार्य गर्न हुन्थ्यो कि हुँदैनथ्यो ? एनजीओको कार्यक्रममा, त्यो रामरमिताका (दुनियाँलाई सुन्न पनि गाह्रो हुने) काममा तीन तीन दिनसम्म प्रधानमन्त्री बस्न हुन्थ्यो कि हुँदैनथ्यो ? यी तपसिलका कुरा हुन् । तर यी सबै कुराले जनताको चित्त दुख्यो । अब यसो गर्दैनौँ भनेर जनतालाई फेरि बताउनुपर्छ । जनतालाई अब चित्त दुखाउने काम गर्दैनौँ भन्नुपर्छ । ज–जसको चित्त दुखेको छ, चिन्ता नगर, अब हामी त्यसरी अगाडि जादैँनौँ, फेरि चित्त दुखाउँदैनौँ भन्नुपर्छ । केही कमी–कमजोरी छन् भने त्यसलाई स्वीकार गर्नुपर्छ’ भन्ने कुरा हामीले उठाएका हौँ ।
यिनै कुराहरु प्रतिवेदनमा समावेश गर्ने गरी नेतृत्वसँग समझदारी गरेका छौँ । भीम रावलले यी विषयहरू हामीले प्रष्ट देखिने गरी उल्लेख गर्नुपर्छ भन्नुभएको थियो । यदि यो कुरामा छलफल नै नगर्ने र गल्ती महशुस नै नगर्ने हो भने मेरो पनि ‘नोट अफ डिसेन्ट’ छ । यो संवेदनशील मुद्दा हो । यो मुद्दालाई जनताको चित्त नदुख्ने गरी समाधान गरेर जानुपर्छ भन्ने कुरा मलगायत रावल कमरेडले अध्यक्ष प्रचण्ड कमरेडलाई पहल गर्न अनुरोध गर्यौँ । उहाँसँगको छलफलपछि प्रतिवेदनमा ती विषय उल्लेख गर्ने कुरा भएको छ ।
कार्यदलले विगतका निर्णयलाई पुनर्विचार गर्नसक्छ
विधानमाथि नै समीक्षा गर्न सक्ने गरी ९ सदस्यीय कार्यदल बनेको छ । त्यो कार्यदललाई धेरै ठूलो जिम्मेवारी छ । हिजो सचिवालयले गरेका निर्णयमा कुनै कमजोरी भए, त्यसले भोलि असर गर्छ कि गर्दैन ? हिजो एउटा मापदण्ड, भोलि अर्को मापदण्ड भन्न सकिँदैन । कुनै एउटा मापदण्ड बनाउँदा हिजो गरिएका काम त्यही मापदण्डभित्र पर्छन् भने त्यसलाई स्वीकार गर्न सक्ने भयो । तर कुनै मापदण्ड आज बनाउँदा हिजो भइसकेका निर्णयहरू यो मापदण्डअनुसार भएन भने त्यसमा पुनर्विचार गर्नुपर्छ । त्यसकारण पार्टी एकीकरण भएपछि समायोजनका प्रक्रियामा जे भएको छ र जे गर्नुपर्ने काम छन्, ती सबै साङ्गठनिक कामका लागि त्यसले प्रस्ताव ल्याउने हो ।
प्रतिवेदनमा के–के समेटिन्छ, हेर्न बाँकी छ
बैठकमा धेरै विषयहरू उठेका छन् । ती विषयहरू मध्ये प्रतिवेदनमा के–के कुरा समेटिन्छन् भन्ने कुरा अब हेर्नुपर्छ । हामीले पनि विश्वास गर्ने हो । बैठकको अन्तिममा अध्यक्ष केपी ओलीले रुलिङ् गर्दा सबैले भन्नु भएका कुराहरूलाई हामीले नोट गरेका छौँ । कतिपय इस्युहरूमा अलि धेरै छलफल भएको छ, त्यो पनि हामीले नोट गरेका छौँ । दुई अध्यक्षले ‘यसलाई परिमार्जन गर्छौं । त्यो परिमार्जित प्रतिवेदन सचिवालयमा ल्याउँछाँै । सचिवालयले हेरिसकेपछि प्रकाशित गर्छौं’ भनेपछि हामी कसैको निजी कुरा मात्रै त्यहाँ आउँदैन, स्वभावैले सचिवालयमा छलफल गर्नुहुन्छ । अध्यक्षहरूका नाममा अरू कसैले गरिराखेको थियो भने अब कमसेकम सचिवालयमा आउने भयो भनेर स्थायी कमिटीले यसलाई स्वीकार गरेर गएको छ ।
बैठकमा धेरै कुराहरू आएका छन् । हामीले कुनै कुरा फिर्ता लिएका हैनौँ । हामीले उठाएका ‘एकता प्रक्रियाको समय हुलमुल भयो, अनावश्यक पदहरू सिर्जना गरियो, भिन्दाभिन्दै विधानहरू छापिए’ लगायतका सबै कुराहरु त्यो कार्यदलले हेर्छ । त्यसले गर्दा राजनीतिक र पद्धतिगत क्षेत्रभित्र हुने विरोधाभास, सङ्गठन, विधानभित्रै हुने विरोधाभासलाई उहाँहरूले समाधान गर्नुहुन्छ भन्ने लाग्छ ।
सचिवालयबाट गल्ती भयो
पार्टी एकताले पूर्णता नपाउँदै कार्यकर्तामा निराशा उत्पन्न भयो । यसमा हामीले गल्ती गर्यौँ । मैले देख्दा सचिवालयले गल्ती गर्यो । सचिवालयलाई सबै हामी गर्न सक्छौँ भन्ने लाग्यो तर गरेन । अध्यक्षहरूलाई लागेको थियो भने पनि उहाँहरूले गल्ती गर्नुभयो । अब यो स्थायी कमिटीको बैठकले गरेका मुख्य दुईवटा निर्णयहरूलाई राम्रोसँग पक्रेर अगाडि जानुपर्छ । हिजो भएका क्षतिलाई अब तीव्रताका साथ काम गरेर पूरा गर्नुपर्छ ।
सरकारका काम जनतामा पुगेका छैनन्
सामान्य जनताको नजरबाट हेर्दा, उनीहरूका उर्लेका अपेक्षाहरू, भोट माग्न जाँदा हामीले खाएका कसमहरू सबैलाई एउटा सामान्य मतदाताले हेर्यो भने असाध्यै असफल देखिएला । अर्कोतर्फ प्रधानमन्त्रीले दिनहुँ बीसवटा निर्णयहरू गर्नुभएको छ । उहाँ दिनहुँ काममा व्यस्त हुनुहुन्छ । त्यसकारण उहाँले सय प्रतिशत सफल देख्नु होला । हामीले हेर्ने भनेको सरकारले गरेका कामहरू जनतामा पुगेका छन् कि छैनन् ? यस हिसाबमा जनताका जे अपेक्षा थिए, ती पूरा भएका छैनन् । त्यसकारण अझ धेरै मिहिनेत गर्नुपर्छ ।
हामीले हामीलाई नै व्यवस्थित गर्न आवश्यक छ । त्यसका लागि जनताका आँखाले सरकारलाई हेर्दा पुग्छ । सरकार आफैले मात्रै त्यो काम गर्न सक्दैन । सरकार सफल बनाउन पार्टीलाई सक्रिय बनाउनुपर्छ । त्यसका लागि पार्टीभित्रै लोकतान्त्रिक अभ्यास हुनु जरुरी छ । यो मेरो सरकार, प्रधानमन्त्री वा मन्त्री हो; सरकार असफल हुँदा म असफल हुन्छु, यसले भेदभाव गर्दैन, जे गर्छ, त्यो राम्रो गर्छ भन्ने गरी सरकार देखिनुपर्छ । पार्टीले निर्णय गरेकै कुराहरू हो, पार्टीको सरकार हो, पार्टीको जे उद्देश्य हो, त्यसलाई यसले पालना गर्छ भन्ने कुरा सम्पूर्ण कार्यकर्तालाई लाग्नुपर्छ । यसो भयो भने दश लाख सङ्गठित सदस्य र २५ लाख अन्य सदस्यहरूले जुरुक्कै बोक्दा सरकारलाई ६ महिनामा धेरै राम्रो गरी चलाउन सकिन्छ । यो सम्भावनालाई नेतृत्वले राम्ररी बुझ्नुपर्छ र सहीअनुसार काम गर्नुपर्छ ।
अब पार्टीले सरकार चलाएन भने दुर्भाग्य हुन्छ
पार्टीले सरकार चलाएको छ भन्ने अनुभूति अब पनि भएन भने दुर्भाग्य हुन्छ । मैले अघि पनि भनेँ, अब नेकपाका अगाडि दुई विकल्प छन् ः सत्यानाश या समाजवाद । हामीले यस्तै झगडा गर्यौँ, अहंकारले ग्रस्त भयौँ, गुटबन्दीले ग्रस्त भयौँ, मेरै मान्छे चाहिने, त्यसमा पनि आफ्नै नश्लको मान्छे चाहिने भन्नेतर्फ गयौँ भने हामी सत्यानाश हुन्छौँ, कसैले बचाउन सक्दैन । पार्टी पङ्क्तिलाई एकताबद्ध गर्दै निर्दिष्ट दिशामा अगाडि लिएर जान सकियो भने समाजवादको दिशामा जान्छाँै । त्यसमा नेतृत्वको भूमिका अनि हाम्रो भूमिका मुख्य हुन्छ । म स्थायी कमिटीको सदस्य छु । यसबाहेक तलका कमिटीहरू छन् । यी सबैले यो सरकारलाई जुरुक्कै बोक्ने स्थिति पैदा गरिनुपर्छ ।
दोहोरो जिम्मेवारी ?
सम्भवतः कार्यदलको रिपोर्ट आएपछि र सचिवालयले राजनीतिक प्रतिवेदन प्रकाशित गरेपछि पार्टी र सरकारले गति लिन्छ कि । पुस मसान्तसम्ममा सबै साङ्गठनिक एकीकरणका काम सक्ने भनेका छौँ । काम सुरु गरेपछि धेरै समय लाग्दैन । विभिन्नले आआफ्ना अनुकुलका मापदण्ड बनाउदा नै धेरै समय लागेको हो । कहीँ मुख्यमन्त्रीको जिम्मेवारी भएकालाई थप प्रदेश प्रमुखको जिम्मा दिने, कहीँ कसैले काम नै नपाउने । सबैलाई आफ्नो आफ्नो मापदण्ड बनाएर हेर्ने ? यही दृष्टिकोणले सबै विग्रिएको हो ।
तल्लो कमिटीमा मापदण्ड लागू हुने, माथि नहुने ? दुनियाले के भन्छ हामीलाई ? मैले पनि माफी गरौँला, सारा कार्यकर्ताले माफी गर्लान्, बहुमतले माफी गर्ला तर यो दोहोरो मापदण्ड टिक्ने कुरा होइन । यो गलत हो । बाहिर बाटोमा अथवा चौरमा हिँड्दा हामीले यो ठिकै गरेका छौँ है भनेर भन्न पनि नसकिने काम गर्नु हुन्छ ?
कार्यदलले ल्याएको रिपोर्टले सम्भवतः यी सबै समस्यालाई समाधान गर्छ ।
गुटबन्दीलाई नङ्ग्याउनु पर्छ
पार्टीभित्रका विचार समूहहरूलाई म एकदमै स्वाभाविक ठान्छु । हिजो एमालेभित्रका समस्या अहिलेको बैठकमा देखिए । यो कुरा अध्यक्ष प्रचण्ड स्वयम्ले भन्नुभयो । पूर्व एमालेभित्र पनि दुई समूहको विवाद छँदैथियो, त्यो विवाद यो बैठकमा पनि देखियो । फलतः पूर्व एमाले र पूर्व माओवादी भनेर टिमहरू देखिने अवस्था रह्यो । तर बैठकमा जुन तहमा कुराकानी भएको छ, त्यही तहको निर्णयमा पनि पुगेका छौँ । यसलाई इमानका साथ लागू गर्ने हो भने पुराना गुटबन्दी अन्त्य गर्दै जान सक्छौँ । विचार मिल्ने मानिसहरू एक ठाउँमा उभिएर बोल्दा वा कुनै दुई तीनवटा बैठकसम्म सँगै रहेर बोल्दैमा त्यसलाई गुटबन्दी भन्न मिल्दैन । नभएकोलाई गुटबन्दी छ भनेर चिन्ता गरेर हिँड्न हुँदैन, भएको गुटबन्दीलाई चाहिँ नङ्ग्याउनुपर्छ ।