आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कहाँ हरायो दुई रङ्गको ग्यास सिलिण्डरको ‘गफ’ : ग्यासको घाटा हटाउने सरकारको योजना अलपत्र

आइतबार, १५ पुस २०७५, ०९ : ४२
आइतबार, १५ पुस २०७५

काठमाडौँ । झण्डै ६ वर्षअघि दुई रङ्गको ग्यास प्रयोगको विषयले निकै प्राथमिकता पायो । 

जतिबेला ग्यासमा दुई रङ्ग प्रयोग गरेर सोही अनुसार वितरण गर्ने भनियो, त्यतिबेला दुई थरिका आवाज सुनिएका थिए  । केहीले नेपाल आयल निगमको यो निर्णयलाई स्वागत गरे भने केही उद्योगीहरुले निगम निहित स्वार्थमा परेको आरोप लगाए । 

यता, निगमको भने दुई रङ्गको ग्यास सिलिण्डर बजारलाई व्यवस्थित गर्नु ल्याइएको दाबी भने । 

तर, लामो समयदेखि चर्चामा रहेको यो विषयमा नत प्रभावकारी तयारी नै पुग्यो न त कार्यान्वयन नै हुनसक्यो । दुई रङ्गको ग्यास सिलिण्डर प्रयोगमा ल्याएर एलपी ग्यासमा बेहोर्दै आएको घाटा कम गर्ने सरकारको लक्ष्य अन्ततः अलपत्र परेको छ । 

निगमले तत्कालीन मन्त्री शंकरप्रसाद कोइरालाको उपस्थितीमा २०७० असार १ गते दुई रङ्गको सिलिण्डर सार्वजनिक गरेको थियो । निगमले घरायसी प्रयोजनका लागि ग्यासमा उपभोक्ता कार्डमार्फत सिधै सहुलियत मूल्यमा ग्यास उपलब्ध गराउने र व्यावसायिक प्रयोजनको ग्यासमा भने परल मूल्य कायम गराउने भनेको थियो ।  

नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक ई. सुशिल भट्टराईले दुई रङ्गको ग्यासको प्रयोग के गर्ने भन्दै अहिले आफूहरुले संसदीय समितिमा छलफलमा लगेको बताए । उनले आफूहरुको अध्ययन र रातो निलो रङ्गको सिलिण्डर वितरण गर्ने प्रक्रियामै गृहकार्य नपुगेको स्वीकारे । यद्यपि, निगम अहिले यो विषयमा गहन अध्ययन गरिरहेको पनि उनले दाबी गरे ।

नेपालमा विभिन्न जलविद्युत आयोजनाहरु सम्पन्न हुने चरणमा रहेका छन् ती आयोजना बन्यो भने ग्यासमा दिएको सहुलियतले बिजुलीको प्रयोग भन्दा ग्यासकै प्रयोग बढ्ने हो कि भन्ने सरकारको आशंका पनि छ । त्यही भएर आगामी दिनमा हुने बिजुली पर्याप्ततालाई मध्यनजर गर्दै ग्यासको रङ्गको विषयमा अध्ययन भइरहेको भट्टराईले भने  ।

खाना पकाउने एलपी ग्यासमा भइरहेको भारी नोक्सानी घटाउने दीर्घकालिन योजनाका रुपमा अघि सारिएको सरकारको कार्यक्रम अन्यौलमा परेको छ । 

ग्यास बिक्रेता महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रथापा रातो निलो सिलिण्डर प्रयोगमा ल्याए घरायसी प्रयोग र व्यावसायीक प्रयोगका बारेमा थाहा पाउन सहज हुने बताउँछन् । जब ग्यासमा घाटा बढ्दै जान्छ तब सरकारले रातो निलोको आवाज उठाउने र जब घाटा कम  र ग्यास आपूर्ति सहज हुन्छ तब रातो निलो रङ्गको ग्यासका विषयलाई वेवास्ता गर्ने गरेको थापाको भनाई छ । व्यवस्थित कारोबारका लागि  रातो र निलो ग्यासको प्रयोग ल्याउनुपर्ने उनको तर्क छ । 

कसरी आयो दुई रङ्गको सिलिण्डर अवधारणा

रातो र निलो रङ्गको ग्यास सिलिण्डर प्रयोगमा ल्याउने, सबैलाई बिक्री मूल्य एउटै गर्ने तर सहुलियत मूल्यमा पाउनेहरुका लागि पछि पैसा फिर्ता गर्ने गरी दुई रङ्गको ग्यास निर्धारण गरेर बेच्ने सरकारको उद्देश्य थियो । आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईका अनुसार सो समयमा ग्यासमा निगमलाई १२ सय रुपैयाँ घाटा रहेको थियो । सोही घाटा कम गर्न सिलिण्डर ग्यासमा  रङ्गको प्रयोगको अवधारणा आएको हो  ।

कार्यविधि तयारी र गृहकार्य नगरिकनै गरिएका यस्ता विषयको व्यापक विरोध भयो र सरकार रातो–निलो रङ्गको ग्यास सिलिण्डर कार्यान्वयनमा सफल हुनसकेन । नेपाल आयल निगमले घरायसी र व्यावसायीक प्रयोजनका लागि भन्दै रातो उपभोक्ताका लागि र निलो व्यावसायीक होटलका लागि ल्याउने योजना लिएको थियो । निगमका निमित्त कार्यकारी निर्देशक सरकारले अहिले यो विषयमा त्यति प्राथमिकता नदिएको बताउँछन् । 

‘विजुलीको पर्याप्त उपलब्धता गराएर सिलिण्डर विस्थापित गर्ने अहिलेको सरकारको प्राथमिकता हो । यसकारण पनि अहिले सरकार आगामी दिनको उर्जा उपलब्धतालाई ध्यान दिएर अघि बढेको देखिएको छ,’ भट्टराईले भने । 

यता, केही उद्योगीहरु ‘हचुवाको भरमा नीति बिना दुई रङ्गको सिलिण्ड भनियो अनि कसरी कार्यान्वयन हुनु ?’ भन्दै प्रतिप्रश्न गर्छन् । 

नेपालमा ६० प्रतिशत ग्यास घरायसी प्रयोजन र ४० प्रतिशत व्यावसायिक प्रयोजनमा खपत हुँदै आएको छ । निगमले मासिक १४ लाख बढी सिलिण्डर खपत हुने गरेको बताउँदै आएको छ । निगमका अनुसार हाल ग्यासमा प्रतिसिलिण्डर साढे २ सय रुपैयाँ घाटा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप