शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारी शिक्षकद्धारा सरकारलाई नै चुनौतीः ‘चर्को शुल्क उठाउँछु, कार्बाही गरेर देखाओस्’

शनिबार, १४ पुस २०७५, १८ : ४७
शनिबार, १४ पुस २०७५

बुटवल ।  प्रदेश ५ का एक जना शिक्षकले सरकारलाई चुनौती दिएका छन् । कालिका मानवज्ञान माध्यामिक विद्यालय बुटवल कालिकानगरका प्रधानाध्यापक घनश्याम पाठकले सामुदायिक विद्यालयले गुणस्तरिय शिक्षा प्रदानका लागि चर्को शुल्क असुल्ने बिषयमा सरकारलाई चुनौती दिएका हुन् ।

दुईदिन देखि गुल्मीको धुर्कोट गाउँपालिकाले आयोजना गरेको शैक्षिक गोष्ठीलाई सम्वोधन गर्दै उनले भने– ‘मैले मेरो विद्यालयमा बोर्डिङ स्कुलले भन्दा चर्को शुल्क उठाउँदै आएको छु र ती बोर्डिङले भन्दा पनि गुणस्तरिय शिक्षा दिएको छु, सरकारले चर्को शुल्क उठायो भनेर कार्बाही गरेर देखाओस् ।’

२०७१ सालदेखि लगतार चार बर्षसम्म उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा राष्ट्रिय पुरस्कारद्धारा पुरस्कृत हुुँदै आइरहेको त्यस विद्यालयका प्रधानाध्यापक पाठक स्वंयम् पनि यस बर्ष सफल प्रधानाध्यापकका रुपमा राष्ट्रपतिद्धारा सम्मानित भएका थिए ।

‘धुर्कोट गाउँपालिकाभरी ६ हजार जति विद्यार्थी रहेछन् ।  यति नै विद्यार्थी मेरो एउटा कालिका मानवज्ञान माविमा छन्, यस शैक्षिक बर्षमै ५ हजार ८ सय ९१ जना भर्ना भएका छन्,’ उनले भने– ‘बुटवलका बोर्डिङ स्कुलमा भन्दा हामी कहाँ भर्ना हुन आउने विद्यार्थीहको होडबाजी चल्छ ।’

 यो देशमा संविधान उल्लघंन सबैभन्दा बढि सरकारले नै गरेको भन्दै उनले प्रतिप्रश्न गरे –‘संविधानमा कक्षा ८ सम्म निःशुल्क  र अनिवार्य शिक्षा भनेर आफैँले लेख्ने र आफैँले त्यसको कार्यन्वयन नगरेपछि उल्लघंन भएन त ?’

उनले सरकारले लागु गरेको शिक्षकहरुको सरकारी ड्रेस पनि आफ्नो विद्यालयले बहिस्कार गरेको बताए । ‘शिक्षकले रोजेको कपडा लगाउने हो । कसैले तोकेको होइन,’ उनले भने – ‘उक्त ड्रेस आफ्नो विद्यालले बहिस्कार गर्नका लागि आफू तत्कालिक शिक्षामन्त्री दिननाथ शर्मासँग लडेको हुँ ।’

उनले आफ्नो विद्यालयमा पढेका कयौं विद्यार्थीहरु डाक्टर, ईन्जिनियर बनिसकेकोप्रति आफू गर्वित भएको बताए ।

राजनैतिक जुत्ता विद्यालय बाहिरै खोलेर आउनुपर्ने धारणा राख्ने उनी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक संगठनका केन्द्रिय अध्यक्ष र नेपाल शिक्षक महासंघका केन्द्रिय उपाध्यक्ष समेत हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप