केन्द्रीय संस्करण

युधिष्ठिरको न्याय

person explore access_timeपुस १४, २०७५ chat_bubble_outline0
मुक्तिबन्धु

रातोपाटी

हाम्रो गाउँघरमा एउटा पुरानो कथा प्रचलित छ । न्याय अन्यायका सन्दर्भमा कुरा चल्दा मानिसहरु प्रायः यो कथा सम्झन्छन् । कथा महाभारतकालीन हो ।

हिजो आज गाउँबस्तीका घर घरमा यो कथा चलेको छ । मानिसहरु पिरो अमिलो भएर यो कथा भन्छन्, सुन्छन् ।

कथा यस्तो छ :—

“आचार–व्यवहारका तालिमका साथै हातहतियारको तालिम सकिएपछि कौरव पाण्डव राजकुमारहरुलाई शासन प्रशासनको तालिम दिने पालो आयो । तलिम क्रममा राजकुमारहरुलाई न्याय इन्साफ कसरी गर्ने त्यो पनि सिकाउनु थियो । त्यसताका शासन प्रशासनमध्येमा पनि न्यायशासनको स्थान सर्वोपरि थियो । राज्यमा कतै कसैमाथि अन्याय हुन दिनै हुँदैन, कसैगरी कतै कसैमाथि कसैबाट अन्याय भएछ भने राज्यले थाह पाउनेबित्तिकै पीडकलाई दण्ड र पीडितलाई न्याय दिलाइनु पर्छ भन्ने मान्यता थियो । राज्यव्यवस्था राम्ररी चल्न अपराध नियन्त्रणमा विशेष ध्यान दिइनु पछर्, अपराध घटित हुनै दिन हुँदैन, कतै अपराधका घटना घटित भइहालेछन् भने अपराधी समयमै पक्राउ पर्नुपर्छ, अपराधीले कडाभन्दा कडा दण्ड पाउनुपर्छ भन्ने सर्वमान्य मान्यता थियो । राजकुमारहरुलाई यिनै मान्यता आत्मसात् गराउन न्यायइन्साफ तालिमको आयोजना गरिएको थियो ।

न्याय इन्साफ तालिम क्रममा राजकुमारहरु न्यायनिधानका आशनमा क्रमशः राखिए । तिनका समक्ष एक एक गर्दै मुद्दाहरु पेस गरिए । अभियुुक्तहरु पनि उपस्थित गराइए । राजकुमारहरु मुद्दाको गम्भीर अध्ययन विश्लेषण गर्दै र आफ्नो राय दिँदै गए । यो क्रम हप्तौं चल्यो । 

एक दिन तालिम इजलासमा भयंकर लुटपाट र जघन्य हत्या अपराधको एउटा मुद्दा आयो । अभियुक्तहरु उपस्थित गराइए । अभियुक्त तीनजना थिए । एक व्राह्मण, एक क्षत्रीय र एक शूद्र । तीनै जनाले मिलेर अपराध गरेका थिए । राजकुमारहरुले यथाक्रम मुद्दाको सुनुवाइ, अध्ययन विश्लेषण गर्दै र राय दिँदै गए । सवैको राय लगभग एउटै थियो । अपराध जघन्य भएकोले अपराधीहरुलाई अत्यन्त कडा दण्ड दिने । 

शूद्रलाई कठोर यातनाका साथ मृत्युदण्ड दिने, क्षत्रीयलाई पनि मुत्युदण्ड दिने । व्राह्मण अवध्य भएकोले उसलाई कारावासको दण्ड दिने ।

अरु राजकुमारहरुको पालो पुगेपछि अन्तमा युधिष्ठिरको पालो आयो । युधिष्ठिरले मुद्दा सुने । मुद्दाको अध्ययन गम्भीर विश्लेषणपछि अभियुक्तहरुसँग एक एक गरेर सोधे । एक एक तिनीहरुको अनुहारमा एकछिन दृष्टि दिएर हेरे । भीष्म पितापह, आचार्य द्रोण, आचार्य कृप, महात्मा विदुर लगायत देशविदेशका गण्य मान्य गुरुहरु र आमन्त्रित विद्वान् राजामहाराजाहरुका साथै विभिन्न जनसमुदाय समेत यो श्रव्यदृश्य ध्यानपूर्वक हेरिरहेका थिए । 

अन्तमा मुद्दाको फैसला सुनाउँदै ज्येष्ठ राजकुमार युधिष्ठिरले भने, “मुलुकमा अद्यावधि प्रचलित परम्परा अनुसार व्राह्मणहरुलाई हामीले गुरुको पद दिएका छौं । अध्ययन मनन, विश्लेषण, शिक्षण, प्रशिक्षण र सदाचार व्राह्मणहरुको जिम्मेवारी हो । व्राह्मणहरु शास्त्रका शास्ता हुन् । विधिका व्याख्याता हुन् । कानुनका व्याख्याता हुन् । नागरिकहरुलाई शिक्षित, अनुशासित एवम् सदाचारी बनाउनु, न्याय अन्याय निक्र्याैल गर्नु व्राह्मणको जिम्मेवारी हो । यस्तो जिम्मेवार व्राह्मण आफै दुराचारी बन्छ , यस्तो जघन्य अपराधमा सम्मिलित हुन्छ भने यो सहन सकिने कुरा होइन । क्षमा दिन सकिने कुरा होइन । सामान्य दण्ड सजाय दिएर चित्त बुझाउन सकिने कुरा पनि होइन । 

हाम्रो परम्परा र मान्यता अनुसार क्षत्रीयहरु देश र जनताका रक्षक हुन् । रक्षा क्षत्रीयको जिम्मेवारी हो । आफै रक्षाको जिम्मेवार व्यक्ति भएर पनि अरुलाई लुट्ने  मार्ने अपराधमा सरिक हुनु भयंकर अपराध हो । क्षत्रियले यस्ता लुटमार र हत्या कतै हुन लागेको छ भने त्यसलाई हुन नदिन अघिसर्नु पर्छ । लडभिड के गर्नुपर्छ गरेर जनसाधारणलाई जोगाउनु पर्छ । बचाउनु पर्छ । रक्षाको जिम्मेवार स्वयम्ले लुटपाट र हत्या जस्तो जघन्य अपराध गर्छ भने उसले दोब्बर दण्ड सजाय पाउनु पर्छ । यस्तालाई भयंङ्कर यातनासाथ मृत्युदण्ड दिइनु पर्छ । 

अव शूद्र जो छ उसका विषयमा विचार गरौं । प्रथमतः वर्तमान परम्परामा शूद्र कानुनको व्याख्याता होइन । न्याय निर्णेता पनि होइन ।  व्राह्मणले जस्तो अध्ययन अध्यापनको सुविधा उसले पाएकै छैन । क्षत्रियजस्तो शान्ति सुरक्षाको जिम्मेवार पनि उ होइन । नेतृत्वगर्ने तहमा उ छैन । उ अपराधको योजनाकार र निर्देशक होइन । हुनै सक्दैन । उ त आज्ञापालक सेवक मात्र हो । आज्ञा उल्लंघन गर्न उ डराएको हुन्छ । यसैले यो शूद्र सर्वथा निरपराध छ । उसलाई दण्ड दिन मिल्दैन । सम्झाइबुझाइ गरेर छोडिदिनु पर्छ । बरी गर्नु पर्छ । 

अपराधी व्राह्मण भने कुनै हालतमा क्षम्य छैन । उ  सर्वाधिक दोषी छ । उसलाई मृत्युदण्ड दिन मिल्ने नमिल्ने नमिले मृत्युदण्डबराबरको अर्को के दण्ड दिने यो निर्णय गर्ुरुजनहरुले गर्नु मनासिप मर्ला । मेरो विचारमा त व्रह्मणलाई पनि क्ष्त्रियलाई समान वा अझ बढी दण्ड दिनु मनासिप हुन्छ ।’ 

राजकुमार युधिष्ठिरको फैसला सुनेर तालिममा सम्मिलित गुरुहरु, देशीविदेशी विशिष्ट विद्वान् हरु, राजामहाराजाहरु सवैले मुखामुख गरे । सवैका अगाडि उभिँदै अघि बढेर पितामह भीष्म, आचार्य द्रोण र आचार्य कृपले राजकुमार युधिठिरको अभिनन्दन गर्दै भने, ‘युधिष्ठिरको न्यायचेत शास्त्रसम्मत, लोकसम्मत र विवेकसम्मत छ । यसैले हामी यसको अभिनन्दन गर्छौं !’ उपस्थित जनसमुदाय सवैले उठेर समर्थन जनाए । यसपछि यो प्रसंग युधिपष्ठरको न्याय का नाममा लोकप्रसिद्ध भयो ।”

कथाका आधारमा जनताको टिप्पणी यस्तो छ :—  

महाभारतकालीन यस कथाप्रसङ्गलाई समयसापेक्ष रुपमा आत्मसात् गरेर चलेको भए र अपराध छिपाउन निर्देशन दिने हाकिमलाई नै कठघरामा उभ्याएर कार्बाही सुरु गरेको भए निर्मलाको वलात्कार र हत्याकाण्डका अपराधीहरु  उम्कन पाउने थिएनन् । वर्तमानका शासक प्रशासकहरुको यतिसम्म बेइज्जत हुने थिएन । सरकारप्रति जनताको विश्वास यतिसम्म डगमगाउने पनि थिएन ।

असान्दर्भिक बनिसकेको वर्णव्यवस्था त्यसै रुपमा आज छैन । महाभारतकालीन समाज पनि आज छैन । तर जनतालाई शान्ति सुरक्षाको आवश्यकता आज पनि छ । न्याय निसाफको आवश्यकता आज पनि छ । त्यति बेलाभन्दा कैयौंगना बढी पनि छ ।

जनतालाई प्रथमतं सुक्षा चाहिएको हो । शान्ति चाहिएको हो । न्याय चाहिएको हो । जीविकाको सिर्जनात्मक उपाय चाहिएको हो । त्यसपछि विकासका कुरा आउँछन् । शान्ति सुरक्षा र न्याय नै छैन भने यो अन्योलमा मुलुकले विकासको सही बाटो पहिल्याउन कसरी सक्छ ?

मुलुकमा सुक्षानिकायको जिम्मेवारी ठुलो छ । बेजोड रुपमा ठुलो छ । न्यायिकनिकायको जिम्मेवारी त्यत्तिकै ठुलो छ । यी दुई निकायप्रति विश्वास गुमाउनृु पर्र्ने स्थितिमा जनताले पुग्न पर्नु यस क्षेत्रमा भयङ्कर खडेरी पर्नु नै हो । 

आज अखवारहरुमा सुरक्षापुरुष र न्यायपुरुषहरुको अनुहार छापिएको देख्न हेर्नसम्मको धैर्य पनि जनतामा बाँकी छैन, किन ? एक समय थियो टिीभीमा गिरिजाप्रसाद कोइराला देखिँदा जनताले टीभी बन्द गर्थे । आज त्यो अवस्था दोहोरिएको छ । मिडियामा पीडकले उन्मुक्ति पाएको, पीडितले न्याय नपाएको,सवै किसिमका अपराधीहरुले उन्मुक्ति पाएका खबरले जनताको मथिंगल पाकेको छ । भान्छामा जे तैयार छ, भान्छेले पस्कने त्यही हो । मुलुकमा जे छ, मिडियाले त्यही पस्कन्छ ।  मुलुकमा आज यस्तो अवस्था किन छ ? शान्तिसुरक्षा र न्याय इन्साफका जिम्मेवार निकायहरु छैनन् ? छन् भने मुलुकमा यो अराजकता कसरी छ ? आजको गाँठी प्रश्न यो हो । 

हाम्रा सुरक्षाका उच्चासनहरुमा अर्जुनहरु किन पुग्दैनन् ? हाम्रा न्यायिक निकायका निर्णायक आसनहरुमा युधिष्ठिरहरु किन पुग्दैनन् ? हामीले असल भनेर छानिपठाएका प्रतिनिधिहरु रातारात किन भयंकर उडुस उपियाँ र लामखुट्टेमा फेरिन्छन् ?   तिनीहरु दण्डित किन हुँदैनन् ? ‘सानालाई अइन, ठुलालाई चइन’ नयाँसम्विधानको मनसाय यही हो ? जनताका मनमथिंगलमा आज यस्तै प्रश्नहरुको भुमरी छ ।

जनताले सर्वाधिक दृष्टि दिने आचरण र व्यवहारमा हो । जनताहरु पुरेत पण्डितका कथा मात्र सुन्दैनन्, तिनका एक एक आचरण पनि हेर्छन् । नेताका भाषण मात्र सुन्दैनन् तिनका पनि एक एक आचरण पनि नियालेर हेर्छन् । जोगीका भेषभूषा मात्र हेर्दैनन् आचरण पनि हेर्छन् । आचरण गलत भेटिँदाका क्षण जनताले  व्यासासनबाट कथावाचक पण्डितलाई घोक्रेठ्याक लाएर निकालेका दृष्टान्तहरु छन् । आचरणहीन पुरेतलाई वेदपाठ गर्दागदैै उठाएर धपाएका उदाहरणहरु छन् । कति दुराचारी जोगी गाउँबाट लखेटिएका छन् । यसो गर्न जनतालाई  सजिलो छ । कुनै शास्त्रले छेक्दैन । आचरणहीन शासकप्रशासकहरुलाई अपदस्थ गर्न जनतालार्इृ किन सजिलो छैन ? किन ज्यान ठिनी राखेर जनताले व्यापक आन्दोलनमै उत्रनु पर्छ ? आफुबाट निर्वाचित प््रतिनिधिले गलत काम गरेका स्थितिमा तथा चित्त नबुझेका स्थितिमा फिर्ता बोलाउनेसम्मको सामान्य अधिकार पनि नेपाली जनताले अद्यावधि किन पाएका छैनन् ? माथिकालाई माथिबाट दण्डव्यवस्था छैन ,तलबाट जनताले विमति जनाउने वैधानिक उपाय पनि छैन । यो उकुसमुकुसको स्थिति हो । सम्विधानले जनतालाई परिवर्तनको सहज बाटो नदिनुको तात्पर्य पटक पटक आन्दोलन गर भन्नुबाहेक अरु के हुनसक्छ ?

यस्ता गुनासो गर्दै अद्यावधि गाउँबस्तीका हामी जनताले महाभारतकालीन युधिष्ठिरका न्यायका कथाहालेर बस्न पर्नु सरासर दुर्भाग्य हो । 

  

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...