बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

चित्र कोरिरहँदा बुबाबाट कुटिएकाे त्यो दिन : सफल चित्रकार अजितको कथा, व्यथा र अपेक्षा

शनिबार, १४ पुस २०७५, १२ : १९
शनिबार, १४ पुस २०७५

जनकपुर–  मिथिला सांस्कृतिक तथा सभ्यताको पहिचान हो । यससँगै मिथिला कला मिथिला समाजिक–सांस्कृतिक सभ्यताको धरोहर नै हो । 

जनकपुरमा मिथिला हस्तकलाको लामो इतिहास छ । यसमध्ये तीन दशकभन्दा लामो समयदेखि विभिन्न आरोह अवरोह पार गर्दै वर्तमानमा मनग्य आय–आर्जन गरिरहेका छन्– मिथिला हस्तकलाकार एवम् डिजाइनर अजितकुमार साह । 

देशमा आएको परिवर्तन सँगसँगै मिथिला हस्तकला समस्या र सङ्कटबाट गुज्रिनुपरेको छ । मिथिला हस्तकलाको बजार अहिले विस्तारसँगै व्यापकता पाइरहेको छ ।

 नारी विकास केन्द्रले जनकपुरमै करिब ३ दशकदखि मिथिला हस्तकलाको प्रचारप्रसार र व्यापारीकरणको कार्य गर्दै आएको छ । अहिले जनकपुरमा मात्रै ७ वटा सङ्घसंस्थाले मिथिला चित्रकलासम्बन्धी काम गर्दै आएका छन् ।
‘मिथिला कलाको राज्यस्तरबाटै व्यवस्थित र बजारीकरण अहिलेको आवश्यकता हो’, मिथिला हस्त कलाकार एवं डिजाइनर अजितकुमार साह औँल्याउँछन् ।

वि.सं. २०२४ साउन २२ गते धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मा माता फूलकुमारी देवीको कोखबाट जन्मेका अजित कुमार सानै उमेर छँदा विद्यालयमा विभिन्न चित्रकलाहरू कोरेको देख्दा उनी निकै उत्साहित हुन्थे ।   'तर घरमा बुबा रामसुन्दरप्रसाद साहले घरमा चित्र कोरिरहँदा देख्नासाथ कराउनुहुन्थ्यो र कुटाई समेत खानुपथ्र्यो’, उनले विगत स्मरण गरे । किनकी त्याे महिलाहरुले गर्ने काम थियाे ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित लचमु माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरिसकेपछि जनकपुकै रामस्वरूप रामसागर बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह र स्नातक तहसम्मको अध्ययन गरेका अजितले त्यतिबेलासम्म मिथिला हस्तकलामा दख्खल बनाइसकेका थिए । 

चाडपर्वमा आमा, दिदीबहिनीले बनाउने रङ्गौली वा चित्र कोर्दा उनलाई पनि त्यसैगरी चित्र बनाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो । उनले आमासँग प्रश्नहरू पनि गर्नेगर्थे । 
तर आमाले केटीहरूले गर्ने काम किन गरेको भन्दै हप्काउने गरेको उनलाई अझै याद छ । 

‘बुबा पिट्नुहुन्थ्यो, महिलाको काम गरेर महिला होइन्छ भनेर घरदेखि बाहिरसम्मका मानिसहरूले भन्न थाले । सीए पढाउने बुवाको इच्छा विपरीत मैले अन्य क्षेत्र रोज्दा बुबा धेरै चिन्तित हुनभयो । तर पनि मैले कहिल्यै पनि चित्र कोर्न छाडिन । घरमै लुकीछिपी चित्रहरू कोर्ने गर्थे । बरु कसरी कहाँ सिक्न पाइन्छ भनेर यसबारे सोधखोज गर्दै काठमाडौँसम्म भौतारिए’, उनले बोलिविस्तार लगाए । 

मिथिला हस्तकला चित्र कोर्दा घर समाजले हेयको दृष्टिकोणले हेर्दा उनलाई कहिलेकाहीँ बाहिरै बसेर अन्य चित्रकला कोर्ने सोच नआएको भने होइन । 

‘तर मैले चित्रकला पेसा नै अपनाउँछु भनेर मनमा निर्णय गरिसकेको थिए । त्यही अनुरूप अन्दाजी ०४२÷४३ सालतिर काठमाडौँमा जेटिजे संस्थाले थाम्का र पौवा चित्रकलाको तालिम दिएको थियो । म पनि सहभागी भए । तर एक प्रशिक्षकले मलाई यो तिम्रो लागि होइन भनेर मलाई रोक्नुभयो’, सम्झना उनले सुनाए ।

 त्यसपछि  मिथिला कला आफैमा धनी भएकाले आफ्नै मिथिला सांस्कृतिकको उजागर गर्छुभन्ने सोचेर उनी जनकपुर फर्किए । 

जनकपुरमा उनलाई मिथिला चित्रकला सिक्न सजिलो थिएन । एकातिर बीकमको अध्ययन जारी थियो भने घरमा अंशवण्डाको काम हुँदै थियो । अंशवण्डा भयो । विवाह भयो, घरको बोझ थपियो ।

विवाहपछि भने उनको जीवनमा सकारात्मक परिवर्तनहरू आउन थाले । श्रीमती रिनाकुमारी साहले उनलाई मिथिला चित्रकलामा सघाउन थालिन् । 

‘जसोतसो मिथिला कला र सांस्कृतिबारे अध्ययन गरे र गाउँघरमै  बनेका विभिन्न चित्रकलाहरूको तस्बिर खिचे र आफै एउटा संस्था  दर्ता गराएर काम सुरु गरे । 

सुरुवातमा ८५ जना महिलालाई मिथिला चित्रकलाबारे तालिम आयोजन नै गरे । ‘विनयकुमार साह काठमाडौँमा टुर्स एन्ड ट्राभल्स खोलेर बसेको थिए । 

उनकामा विदेशीहरू आउँदा जनकपुर र मिथिलाबारे कुराकानी हुन्थ्यो । उनले मेरो नाम ती विदेशीहरूलाई पनि भन्थे । 
मिथिला चित्रकलाबारे पनि निकै प्रचारप्रसार हुनेगथ्र्यो । त्यतिबेला अमेरिकाबाट एक जना ग्लिन गन्ज्यानिस भन्ने व्यक्ति आए र मसँग जनकपुरमा भेटघाट भयो’, विगत खोतले । 

मिथिला चित्रकलाबारे उसले अध्ययन गर्यो र मैले बनाएको पेन्टिङ पनि किन्योे । त्यतिबेला उनले एउटा मिथिला चित्रकला बेच्दा ५ सय रूपैयाँ हात पारे । पहिलो पटक आफ्नो मिहिनेत सफल भएको उनलाई लाग्यो । 

त्यसको करिब १ महिनापछि अमेरिकाबाट मिथिला चित्रकला बारे बुझ्न र मिथिला कलाको अर्डर दिनहरू थपिए । त्यहीबाट उनको व्यवसाय फस्टायो । अमेरिका, जापान लगायत अन्य देशमा पनि उनले कोरेको चित्रहरू जान थाले । काठमाडौँमा फेड ट्रेड सेन्टरको आयोजनमा मिथिला चित्रकला प्रदर्शनी भयो त्यसमा उनले ६५ हजार रूपैयाँ बराबरका चित्र बेचेका थिए । 

जनकपुर आर्ट एन्ड क्र्याफ्ट नामक संस्था घरेलु तथा साना उद्योगमा ०५४ मा दर्ता गराएका थिए । सन् २०६० मा जापानमा मिथिला चित्रकला निर्यात गर्न सफल भए गरे । 

त्यसपछि मिथिला चित्रकलाका लागि अन्य मुलुकबाट पनि ठूलो परिणाममा माग आउन थाल्यो । जापानमा पनि उनले मिथिला चित्रकला प्रदर्शनी गर्ने अवसर पाए । 

७ जना मिलेर सुरु गरेको यो काममा अहिले ३४ जना सहभागी छन् । अजितले कहिलेकाहीँ महिलाले गर्ने  काम गरेको भन्दै अपहेलित हुनुपरेको पनि छ । तर कैयौँ संस्थाहरुबाट सम्मानित पनि भइसकेका छन्  । 

अहिले उनी जनकपुर आर्ट एन्ड क्राफ्टका अध्यक्ष छन् ।  संस्थामा काम गरेर ३५ जनाको घरपरिवारको जीवननिर्वाह चलेको छ । अजितले एक दर्जन देशमा मिथिलाको चित्रकलाको निर्यात गरिसकेका छन् । यसबाट उनले बर्सेनि झण्डै ५० लाख रूपैयाँ आम्दानी गरिरहेका छन् ।   

खासगरी श्रीलङ्का, जापान, अमेरिका, भारत, स्पेन, बङ्गलादेशमा मिथिला हस्तचित्रकलाको प्रदर्शनी गरिसकेका उनी राष्ट्रिय प्रतिभा पुरष्कार, मिथिला कला पुरष्कार लगायतबाट दर्जनभन्दा बढी पुरष्कृत भइसकेका छन् ।

मिथिला चित्रकलाको रङ्ग
‘मानिसलाई मनपर्ने खालको रङ्ग चित्रमा उतार्नुपर्छ ।  त्यसैले हामीले ग्राहकलाई मनपर्ने रङबाट मिथिला संस्कृतिकको मौलिकता झल्कने चित्र कोर्नुपर्छ ।

 विदेशी ग्राहकले बढी टल्किने र आँखा विग्रिने भन्दै गाढा रङ्गमा बनाइएका चित्रहरू मन पराउँदैनन्’, चित्रमा लगाउने रङबारे बेलिविस्तार लगाउँछन् । मिथिला चित्रकलाको ८० प्रतिशत भन्दा बढी बजार विदेशमै पर्दछ । जसले गर्दा उनीहरूको रुचिलाई मध्यनजर गरी अधिकांश चित्रहरू कोर्नुपर्ने अजितको अनुभव छ ।

क्रिसमसमा मिथिला चित्रकलाको माग
मिथिला हस्तचित्रकलाले मिथिला सांस्कृतिक सभ्यताले भरिभराउ छ । मिथिला चित्रकलालाई रुचाउने क्रिस्चियन धर्मावलम्बी पनि छन् । 

उनीहरुले मिथिला चित्रकलाको अर्डर गर्नेगरेका छन् । क्रिसमस ट्रीमा विभिन्न एलिमेन्टहरू प्रयोग गरी बनाइएका चित्र लाने गरेका छन् ।
 बल, स्क्रटिन, कागजमा इस्टरका लागि खरायो मिथिला चित्रकला अनुसार बनाइने गरेका छन् । त्यस्तै हेल्लो इनका लागि गोहीको चित्रको पनि डिमान्ड रहेको छ ।

मिथिला चित्रकला समस्या र अपेक्षा
चित्रकला घरेलु तथा साना उद्योग अन्तर्गत पर्छ । हस्तकला भएकाले घरेलु सामग्री उत्पादनमा राज्यले छुटको व्यवस्था गरेको छ । तर ढुवानीका क्रममा बाटामा धेरै समस्या झेल्नु परेको अजितको गुनासो छ । 

मिथिला चित्रकला मिथिला सांस्कृतिक सभ्यतासँग जोडिएकाले अन्यलाई जसरी यसलाई पनि नेपाल ललित कला प्रतिष्ठानमा व्यवस्था गर्न जरुरी भएको उनको बुझाइ छ । चित्रकलाले स्थानीय मौलिकतासमेत बोक्ने भएकले यसको प्रवद्र्धन गर्न तालिम केन्द्र स्थापना गर्नु अति नै जरुरी भएको उनको भनाइ छ ।

जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनपछि मिथिला चित्रकलाले पुनर्जागरण हुन थालेको अनुभव उनलाई छ । 

मिथिला चित्रकलामा चुनौती
जनकपुरमा अहिले मिथिला चित्रकलाको लागि काम गर्ने संस्थाहरू आधा दर्जन भन्दा बढी छन् । मिथिला चित्रकला विस्तारसँगै बजारमा फस्टाए पनि कतिपयले मौलिकता मास्न भारतको दरभङ्गाबाट मिथिला हस्तचित्रकला ल्याउने र आफ्नो नाम लेखेर बेच्ने गरेको आरोप अजितको छ, जसले गर्दा वास्तविक चित्रकार ओझेलमा पर्ने भन्दै मिथिला चित्रकलाकारहरू चिन्तित छन् । 

जनकपुरमै पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउदाँताका स्थानीय सरकारले मोदीलाई लोभ्याउन कथित मिथिला आर्ट कारेको थियो । तर त्यसमा स्थानीय चित्रकलाकारलाई भने बेवास्ता गरियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप