चर्चित व्यक्तिको सुनसान बिदाई : फेरि गीत घन्काउने धोको अधुरै
भक्तपुर । कलाकारलाई नचिने पनि उनको कलालाई चिन्ने धेरै हुन्छन् । त्यहि कलालाई माया गर्नेहरु करोडौं भेटिन्छन् । गायक बुद्धिकृष्ण लामिछाने पनि एउटा त्यस्तै व्यक्ति थिए । उनलाई नचिन्ने धेरै होला । तर उनको गीत नसुन्ने सायदै भेटिन्नन् ।
नेपाली लोक गायन क्षेत्रका एक हस्ती बुद्धिकृष्ण लामिछाने शुक्रबार सदाका लागि अस्ताएका छन् । वि.सं. २०१२ साल साउन १ गते भक्तपुरको बागेश्वरी हालको चाँगुनारायण नगरपालिका–७ मा जन्मिएका उनको आज मध्यान्न १२ बजे आफ्नै निवासमा निधन भएको छ ।
लामो समयदेखि विभिन्न रोगबाट पिडित रहँदै आएका उनी करिब ७ बर्षदेखि पक्षघात रोगका कारण थलिएका थिए ।
२०३६ सालदेखि रेडियो नेपालबाट गीत गाउन सुरु गरेका लामिछानेका ‘पिढीँमा बसेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’, ‘पर्नु प¥यो पिर,’ ‘घासँ काट्ने खुर्केर’ लगायतका थुप्रै गीत चर्चित छन् ।
नेपाली सेनाको प्रशासनतर्फ जागिर जीवनबाट देशको सेवा गरेका लामिछानेका धेरै गीतले नेपाली समाजको कथा बोलेका छन् ।
गीत संकलन गर्दै आफैँले स्वर दिएका लोकगायक लामिछानेलाई बिरामी भएको ७ वर्षको अवस्थामा भने निकै सकस भयो । उनले यो ७ वर्ष घरको पिढीँमा नै बसेर रुँदै बिताए ।
आर्थिक अवस्था कमजोर भएका उनलाई सहयोग गर्न राज्यले खासै महत्व दिएन । तर उनको बारेमा खबरहरु बाहिर आएपछि धेरै शुभचिन्तकहरु घरमा नै गएर सहयोग गरेका थिए ।
लामिछानेको अवस्था बाहिर ल्याउन सञ्चार माध्यमले सक्दो सहयोग गरेका थिए । त्यसपछि उनलाई माया गर्नेहरु सहयोगका लागि लामिछानेको घर खोज्दै बागेश्वरी पुगे ।
पछिल्लो समय नेपाली गीत संगीत र गायक बुद्धिकृष्णलाई माया गर्नेहरुकै पहलमा थेरापी लगायतका उपचार पद्धति समेत भएको थियो ।
अन्तत ६३ वर्षको उमेरमा उनले मृत्यसँग हारे । एउटा राज्यको गहना लोक संगीतको रक्षक शुक्रबार सदासदाका लागि बिदा भयो ।
बिरामी अवस्थामा उनले नेपाली कलाक्षेत्रमा फेरि गीत घन्काउने धोको रहेको बताएका थिए । तर उनको त्यो धोको अधुरो रह्यो ।
उनलाई पुनः माइक समातेर स्टेजमा गीत गाउन लगाएर नाच्ने चाहना राख्नेहरुको पनि सपना टुट्यो । उपचार र दैनिक सहज बनाउन सहयोग गर्दै आएका शुभचिन्तकहरुको प्रयास असफल भयो ।
लामिछानेको निधन भएपछि उनको शवलाई दुई घण्टामात्र आफ्नै निवासमा राखिएको थियो । त्यसपछि अन्तिम संस्कारका लागि बागेश्वरीको बाल्मिकेश्वर आर्यघाटमा लगियो ।
उनको निधनको खबर सुनेर सञ्चारकर्मी र शुभचिन्तक खोज्दै बाल्मिकेश्वर घाटमा पुग्दा चितामा शरिर जलिरहेको थियो । अन्तिम पटक एक थुंगा फुल चढाएर श्रद्धाञ्जली दिने शुभचिन्तकहरुले चिताको अग्नी हेरेर श्रद्धासुमन दिनुप¥यो ।
घाटभन्दा माथि आएर एकजना भन्दै थिए, ‘चर्चित व्यक्तिको सुनसान बिदाई भयो । न उनको शवमा कसैले राष्ट्रिय झण्डा ओढायो, न कुनै ठूलो व्यक्तिले श्रद्धाञ्जली नै दियो ।’
हार्दिक श्रद्धाञ्जली स्वर्गीय गायक बुद्धिकृष्ण लामिछानेप्रति ।