बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

काँग्रेस पतनबाट बच्ने हो भने...

शुक्रबार, १३ पुस २०७५, ०९ : ५४
शुक्रबार, १३ पुस २०७५

    
मुलुकको जेठो प्रजातान्त्रिक दल नेपाली काँग्रेसको महासमिति बैठक सम्पन्न भएको छ । महासमितिले पार्टीको विधान संशोधन प्रस्ताव, सङ्गठनात्मक प्रतिवेदन र राजनीतिक प्रस्ताव पारित गरेको छ । उसलाई मुलुक सङ्घीयतामा गएपछिको साङ्गठनिक संरचना तदनुकूल बनाउन विधान संशोधनको अपरिहार्य आवश्यकता थियो । यसअघि एकात्मक प्रणाली हुँदाको सङ्गठनात्मक ढाँचामा परिवर्तन गरी सङ्घीय संरचनालाई उपयुक्त हुने गरी सङ्गठनको स्वरूप निर्माणभन्दा सभापतिको अधिकार पदाधिकारीको सङ्ख्या र पदाधिकारी निर्वाचित हुने कि मनोनित भन्ने बहसमा काँग्रेस केन्द्रीय कार्यसमिति लामो समय अल्मलियो ।

काँग्रेसमा यस्तो किचोला भएको यो पहिलो पटक होइन । यसअघि पनि पटक–पटक काँग्रेस अनावश्यक विषयमा विवाद उठाउँदै समय खेर फाल्दै आएको छ । प्रजातान्त्रिक शक्तिको उपमा पाएकाले उसलाई आफ्नै पार्टीको सरकार गिराउन, सडकमा नेताको विरोध गर्न, घोषित रूपमा आफ्नै पार्टी नेतालाई चुनाव हराउने कार्यक्रम गर्न आफ्नै पार्टीका प्रधानमन्त्रीको पोट्रेटमा जुत्ताको माला लगाएर जात्रा गर्न छुट छ । तर बैठक, मेला, सम्मेलन, अधिवेशनहरूमा शिष्टातापूर्वक, मर्यादित तवरले नेताको गल्ती औँल्याउन, आलोचना गर्न र सुझाव दिन अनुमति छैन । पार्टी नेतृत्वको समग्र मूल्याङ्कन गर्न सक्ने स्तरका कार्यकर्ताको अभाव काँग्रेसमा लामो समयदेखि खड्किरहेको छ । हुनत यस्तो अवस्था सिर्फ काँग्रेसमा मात्र होइन मुलुकका साना–ठूला सारा दलमा छ । तर यहाँ प्रसङ्ग नेपाली काँग्रेसको भएकाले उसैको सन्दर्भमा छलफल अघि बढाउनु उचित हुन्छ ।

सधैंँ कर्मकाण्डी ढङ्गले अझै तदर्थवादी भएर अघि बढिरहेको काँग्रेसमाथि अहिले उसको भविष्यलाई लिएर गम्भीर प्रश्न उठेका छन् । लामो सङ्घर्ष र आन्दोलनबाट गुज्रिएको काँग्रेसमा अब केही गर्ने ऊर्जा नै छैन । शिथिल र थकित काँग्रेसले अब मुलुकलाई नेतृत्व दिन सक्दैन भन्ने वामपन्थीहरूको जबरजस्त आरोप छ । पटक–पटक भएका ऐतिहासिक आन्दोलनको नेतृत्व गरेको उसमा शासन गर्ने कला, चातुर्य र क्षमताको अभाव प्रष्टै देखियो । जनताले अगाध रूपले विश्वास गरेर पटक–पटक सत्तामा पुर्याए पनि उसले काम गरेर देखाउन छाडेर सधैँ आपसी झगडा, गुटबन्दी, उल्झनमै सारा समय व्यतित गर्यो । जनताको अपेक्ष, चाहना र हितलाई भन्दा पार्टी र गुटको किचलोमा नराम्ररी जाकियो ।

काँग्रेसजन अहिलेसम्म आफूलाई बुझ्न असमर्थ छन् । उनीहरू लोकतन्त्रका कुरा गर्छन्, राष्ट्रियता र समाजवादका कुरा गर्छन् तर त्यसको स्पष्ट चित्र तिनका अगाडि छैन । वि.सं. २०१२ सालको वीरगन्ज महाधिवेशनदेखि घोषित रूपमा समाजवादी बाटोमा हिँडेको काँग्रेसले त्यस यता पटक–पटक सरकारको नेतृत्व गर्ने अवसर पायो । दुई तिहाईदेखि बहुमतको र गठबन्धनको सरकारको नेतृत्व गर्यो तर उसले न समाजवाद लागू गर्यो न राष्ट्रियताको जगेर्ना गर्न सक्यो न त प्रजातान्त्रिक अधिकार आधारभूत तहसम्म पुर्याउन नै सक्यो । 

गणेशमानजीको ‘कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले कुकुर हल्लाउने’ प्रसङ्गको स्मरणले काँग्रेसभित्र सरकार चलाउने मामिलामा स्पष्टता नभएको प्रष्ट हुन्छ । यस्तै समस्या वर्तमान सरकार र सत्ताधारी दलमा झण्डै तीस वर्षअघिदेखि कायम छ । यहाँ जुन पार्टीको सरकार छ, त्यही पार्टीको आदेश–निर्देशनमा सरकारी कामकारवाही सञ्चालन हुनुपर्छ भन्ने मान्यता स्थापित गरिएको छ । यो चीन–रुसको कम्युनिस्ट शासन शैलीबाट आयातित घोर विसङ्गति हो । कम्युनिस्ट शासनमा सरकारसँग कार्यकारी अधिकार हुँदैन । पार्टीले जे गर भन्यो त्यही गर्ने र जे नगर मन्यो त्यो नगर्ने परम्परा हो । काँग्रेसमा पनि त्यसको प्रभाव प्रष्टै देखियो । सरकार त राज्यको सञ्चालक हुन्छ । उसले यो दल, ऊ दल, यो गुट ऊ गुट भन्ने  प्रश्नै उठ्दैन । सारा नेपाली जनता ती कुनै दलमा हुन वा नहुन, आफ्नो दलका हुन वा प्रतिपक्षी दलका सरकारको दृष्टिमा सबै समान हुनुपर्छ । सरकारले आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा आफ्नो पार्टीको नीति, कार्यक्रम र निर्वाचन घोषणापत्रलाई आधार बनाएर काम गर्नुपर्छ । बेलाबखत पार्टीसँग छलफल, परामर्श, सल्लाह, सुुझाव लिने पनि गर्नुपर्छ तर अहिले सत्तारुढ दलले भने जस्तो र गणेशमानजीले गिरिजाप्रसादको सरकारलाई आरोप लगाए, जस्तो किमार्थ हुन सक्दैन । त्यस्तो रवैयाले लोकतन्त्रलाई नै समाप्त गरिदिन्छ ।

काँग्रेसजन अहिलेसम्म आफूलाई बुझ्न असमर्थ छन् । उनीहरू लोकतन्त्रका कुरा गर्छन्, राष्ट्रियता र समाजवादका कुरा गर्छन् तर त्यसको स्पष्ट चित्र तिनका अगाडि छैन । वि.सं. २०१२ सालको वीरगन्ज महाधिवेशनदेखि घोषित रूपमा समाजवादी बाटोमा हिँडेको काँग्रेसले त्यस यता पटक–पटक सरकारको नेतृत्व गर्ने अवसर पायो । दुई तिहाईदेखि बहुमतको र गठबन्धनको सरकारको नेतृत्व गर्यो तर उसले न समाजवाद लागू गर्यो न राष्ट्रियताको जगेर्ना गर्न सक्यो न त प्रजातान्त्रिक अधिकार आधारभूत तहसम्म पुर्याउन नै सक्यो । 

यसको कारण के हो ? कारण स्पष्ट छ, नेपाली काँग्रेसको मूल नेतृत्व नै अन्योलको अवस्थाबाट गुज्रिरहेको छ । उसले बीपीको नाम लिएर पार्टीको अस्तित्व धान्ने असफल प्रयास सिवाय अरू गर्नै केही सकेको छैन । तर त्यतिले मात्र अब उसले आफ्नो अस्तित्व बचाउन सक्दैन । हो, आज पनि काँग्रेसको आकर्षण कम भएको छैन । कम्युनिस्टरूलाई एक दलीय तानाशाही व्यवस्थाको रूपमा बुझ्ने, अरू दक्षिणपन्थी र क्षेत्रीयतावादी दलमाथि भरोसा राख्न नसक्ने युवाको ठूलो जमात काँग्रेसलाई नै आशावादी नजरले हेरिरहेको छ । तर नेतृत्वले त्यो आकर्षणलाई पनि सही मानेमा धान्न सकेको छैन । काँग्रेस पार्टी प्रजापरिषद जस्तै पो हुने हो कि, यति लामो इतिहास बोकेको पार्टी आफ्नै कारणले समाप्त पो हुने हो कि भन्ने चिन्ता त्यसका कार्यकर्तालाई छ । र, बौद्धिक समुदाय, लोकतन्त्रप्रति विश्वास राख्ने जनता काँग्रेस सुध्रिएको हेर्न चाहन्छन् । त्यसो भए काँग्रेसलाई सुध्रन के कुराको खाँचो छ त ? अहिले काँग्रेसी वृत्तले ध्यान दिनुपर्ने प्रश्न यो हो ।

स्पष्ट दृष्टिकोण निर्माण 

आज नेपाली काँग्रेस कुहिरोभित्रको काग जस्तो दिशाहीन, अन्योलग्रस्त र दिग्भ्रमित अवस्थामा छ । उसलाई आफूले रटान लगाउने गरेका नारा र नेता कार्यकर्ताको आचरण व्यवहारबीच सन्तुलन बनाउन कठिन भैरहेको छ । काँग्रेसको सिद्धान्त, नीति, कार्यक्रम के हो, उसको पार्टीको ढाँचा, सिद्धान्त र स्वरूप कस्तो हुनुपर्ने त्यो खुट्याउन मुस्किल हुने गरेको छ । 

कस्तो गतिको हावा चल्छ, त्यसै अनुरूप चल्ने उसको चरित्र देखिन्छ । प्रजातन्त्र, लोकतन्त्र, समावेशी, धर्मनिरपेक्षता, सङ्घीयता जस्ता नाराका पछाडि काँग्रेस किन दौडियो ? के यसको बारेमा पार्टीभित्र पर्याप्त छलफल, बहस, विचार विमर्श भएर त्यसो गर्ने निष्कर्षमा ऊ पुगेको हो । यति गम्भीर विषयमा एक जना नेता वा एक व्यक्तिलाई लहडको भरमा निर्णय गर्ने अधिकार हुन्छ त ? यसको बारेमा पनि उसले गम्भीर सिंहावालोकन गर्न जरुरी छ । कार्यकर्ता तहसम्म आवश्यकता र औचित्यको सम्बन्धमा व्यापक बहस गरेको भए काँग्रेसभित्र आजको अवस्था सायदै आउँथ्यो । एउटा बाटोमा हिँडिरहेको पार्टी सङ्गठनभित्र विना कुनै गृहकार्य अनायासै विपरीत दिशातर्फ मोड्दा पार्टीको ठूलो पङ्क्ति अन्योलमा फस्न पुग्यो र स्वतः निष्क्रिय पनि बन्यो । निष्क्रिय बनेको मात्र होइन कार्यक्रम, नीति र कार्यशैली माओवादी र एमालेसँग मिलेपछि कति त काँग्रेस परित्याग गरेर माओवादी र एमाले बने ।
समाजवादको समयानुुकुल व्याख्या गर्ने, त्यसमा सुधार र परिमार्जन गर्ने काम काँग्रेसले कहिल्यै गरेन । जसरी कम्युनिस्टहरू माक्र्सले आफ्नो सन्दर्भमा भनेको कुरालाई ब्रह्म वाक्य सम्झेर त्यसलाई अलिकति पनि दायाँबायाँ गर्नु हुँदैन भन्छन् । ठीक त्यसै गरी काँग्रेसीहरू बीपीले साठी वर्ष पहिले उठाएका प्रस्थापनालाई वेदको ऋचा सरी बोकेर हिँड्छन् । बीपीपछि राजनीतिमा थुप्रै पुस्ता आइसके तर सशक्त, विचारवान, प्रभावशाली पुस्ता उदाउन सकेन वा बीपीको ठूलो छहारी खडा गरेर निर्माण गरिएको सेपका कारण त्यस्तो पुस्ता जन्मन सकेन । 

अब काँग्रेसलाई प्रतिस्पर्धी, जागरुक, क्रियाशील र जीवन्त बनाउने हो भने सबभन्दा पहिले स्पष्ट दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यकत छ । काँग्रेस समाजवादी हो कि उदाहरवादी, परम्परावादी कि प्रगतिशील, अस्थिर, ढुलमुल कि दृढ् निश्चयी, सङ्घर्ष मात्रै गर्ने कि व्यवस्थापकीय क्षमता अभिवृद्धि गरेर कुशल शासक पनि बन्ने, इतिहास भजाएर मात्र खाने कि वर्तमानका लागि पनि कौशल प्रदर्शन गर्न सक्ने क्षमता विकास गर्ने ? यसमा उसको ध्यान जानुपर्छ । 

मूल कुरो सङ्गठन 

काँग्रेस नेतादेखि कार्यकर्तासम्म सबैको आज एउटै चिन्ता छ सङ्गठन । सङ्गठन कमजोर भयो । कम्युनिस्टसँग प्रतिस्पर्धा गर्न सकिएन । कम्युनिस्टसँग प्रतिस्पर्धा गर्न सक्ने सङ्गठन बनाउनु पर्यो आदि आदि । काँग्रेसले यही मार खायो । ‘काँग्रेस एउटा आन्दोलन हो’ भन्ने नेतृ शैलजा आचार्यको कथनमा विश्वास गर्ने हो भने त्यो चिन्ता व्यार्थ छ । आन्दोलन स्थायी वस्तु होइन । यो आवश्यकता अनुसार उभारको रूपमा उठ्ने र समयक्रमसँगै मथ्थर हुने प्रक्रिया हो । होइन, भावना वा लहडमा नेतृ आचार्यले त्यस्तो कुरा उठाएकी हुन्, काँग्रेस कार्यकर्तामा आधारित सशक्त सङ्गठन हो, त्यही कार्यकर्ताको बलमा परिवर्तन ल्याउने, निर्वाचन जित्ने, सरकार बनाउने हो भने त्यही अनुसार योजना तर्जुमा गर्नु पर्छ ।  

नेपाली काँग्रेसले बीपीलाई ब्रह्मा, विष्णु, महेश्वरको समष्टि रूप निर्माण गर्न खोजेको छ । जुन सोह्रै आना गलत छ । बीपी भिजनरी नेता अवश्य हुन् । उनले हरेक नेपालीकोे परिवारलाई पन्ध्र वर्षभित्र आफ्नै जतिको बनाउन गरेको वचनबद्धता र त्यसको परिभाषा अहिलेको सन्दर्भसँग कतै मेल खाँदैन । उनले त्यस समयमा एकदमै उचित कार्यक्रम अघि सारेका थिए । तर त्यो झण्डै शताब्दी अघिको गाई पाल्ने, हलो जोत्ने जस्ता कुरा आम मानिसको रुचि र चाहना विपरीतका कुरा हुन् । त्यसलाई सिद्धान्तका रूपमा बुझ्नु उचित भए पनि जडवस्तु ठान्नु गलत हुन्छ ।

काँग्रेस एउटा जुन आधारित (मास बेस्ट) पार्टी हो । खुकुलो सङ्गठन उसको ‘भ्यान गाड’ होइन, छाता मात्र हो । उसले कम्युनिस्ट पार्टीले जस्तो पूर्णकालीन कार्यकर्ता पालेर, गाउँगाउँमा तिनको परिचालन गरेर प्रतिस्पर्धामा उत्रन सम्भव छैन । कम्युनिस्टका नारा, भाषण र आश्वासनको काँग्रेसी कार्यक्रमसँग मेल खादैन । हुन त अहिले कम्युनिस्टले पनि काँग्रेसी सदस्यता प्रदान गर्ने नीतिको नक्कल गरेका छन् । काँग्रेसको साधारण सदस्य र क्रियाशील सदस्य जस्तै एमालेले साधारण र सङ्गठित सदस्य बनाउने नीति लिएको छ । एमालेको सङ्गठनात्मक शैली काँग्रेससँग प्रतिस्पर्धा गर्ने हिसाबले नै तय गरिएको हो । नत्र बोल्सोभिकवादी शैली भनेको सदस्य भएपछि लेबी तिर्ने र कुनै एक कमिटीमा आबद्ध हुनु अनिवार्य हुन्छ ।

एमालेले कम्युनिस्ट शैलीको मिलिट्यान्सीलाई पनि छाडेको छैन र काँग्रेसको जस्तो व्यापक सदस्यता अभियान पनि जारी राखेको छ । काँग्रेस अब कम्युनिस्टको कार्यकर्ता, त्यसको सक्रियता, सङ्गठित रूप र मिलिट्यान्सी देखेर त्यसैको नक्कल गर्न खोज्दा पूर्णत असफल भएको हो ।

काँग्रेसीले स्पष्ट दृष्टिकोण भएको नेतालाई देखाएर चुनाव लड्ने र जित्ने समथ्र्य बटुल्नुपर्छ । त्यसका लागि चतुर, धूर्त र विश्वास गुमाएको पात्र रोज्नु हुँदैन । त्यसो गर्नु जोखिमपूर्ण हुन्छ । निर्वाचन प्रचारशैली प्रभावकारी बनाउन सक्यो भने चामत्कारिक नेता निर्माण गर्न गाह्रो पनि छैन । त्यस्तो नेता हामीसँग छँदैछैन भनेर निराशा हुनु पनि पर्दैन । नेता त पार्टी, कार्यक्रम र कार्यकर्ताले बनाउने हो । महात्मागान्धीमा त्यस्तो के विशेष गुण थियो र उनी सारा जनताको आकर्षणको केन्द्र बने ? हाम्रै नेपाली नेता सुशील कोइराला त्यसको उदाहरण हुन् । उनी विलक्षण गुणले युक्त ‘करिस्मेटिक पर्सनालिटी’ होइनन् । साधारण, सरल र सहज मानिसलाई नै जनताले पत्याउँछन् । जनताले पत्याएको व्यक्तिनै सही अर्थमा नेता हुन्छ र त्यस्तो नेताको नेतृत्वमा पार्टीले सफलता हासिल गर्छ ।     

काँग्रेसले आफ्नो मूल नेतृत्वदेखि जिल्ला र गाउँनगर तहमा पार्टीलाई त्यस हिसाबले लान सक्यो भने उसको भविष्य सुन्दर बन्न सक्छ । महोरात खट्ने, पार्टी सिद्धान्तको रट लगाउने, पार्टीको लौह अनुशासन मान्ने, कमिटी प्रणाली घोकाउने, पेसेवर, पूर्णकालीन कार्यकर्ताको पङ्क्ति खडा गर्ने दरकार नै पर्दैन । कम्युनिस्ट शैली नक्कल गरेर कुनै पनि प्रजातान्त्रिक पार्टी उद्देश्यमा पुग्न सम्भव हुँदैन । 

यो कुरा  कर्मकाण्डी तवरले आयोजना गरिने काँग्रेस महासमिति बैठक वा महाधिवेशनमा कहिल्यै राम्रोसँग उठेको छैन । उठ्तै नउठेपछि छलफल हुने त कुरै छैन । ख्याल गर्नैपर्नै कुरा के हो भने जनतालाई विश्वास दिलाएर मात्र काँग्रेसले चुनाव जित्ने हो । त्यो विश्वास दिलाउनका लागि विश्वसनीय नेता आवश्यक छ । 

बीपीको नाम बेचेर सधैँ चल्दैन 
नेपाली काँग्रेसले बीपीलाई ब्रह्मा, विष्णु, महेश्वरको समष्टि रूप निर्माण गर्न खोजेको छ । जुन सोह्रै आना गलत छ । बीपी भिजनरी नेता अवश्य हुन् । उनले हरेक नेपालीकोे परिवारलाई पन्ध्र वर्षभित्र आफ्नै जतिको बनाउन गरेको वचनबद्धता र त्यसको परिभाषा अहिलेको सन्दर्भसँग कतै मेल खाँदैन । उनले त्यस समयमा एकदमै उचित कार्यक्रम अघि सारेका थिए । तर त्यो झण्डै शताब्दी अघिको गाई पाल्ने, हलो जोत्ने जस्ता कुरा आम मानिसको रुचि र चाहना विपरीतका कुरा हुन् । त्यसलाई सिद्धान्तका रूपमा बुझ्नु उचित भए पनि जडवस्तु ठान्नु गलत हुन्छ । प्रतिस्पर्धी बजारमा प्रवेश गरेको पार्टीले युगको पदचापलाई सुन्न र ठम्याउन सक्नै पर्छ । त्यसो गर्न नसके ऊ असान्दर्भिक हुन्छ । रट लगाएर मात्र केही हुँदैन । बीपीको आदर्शलाई ठीक रूपमा पछ्याउन र समयानुकूल कार्यक्रम निर्माण गर र त्यो कार्यक्रम सम्पूर्ण जनताको बीच पु¥याउन सक्नुपर्छ । त्यही हो काँग्रेसका लागि सफलताको कडी । 

आन्दोलनको नेतृत्व मात्रै पर्याप्त छैन 
काँग्रेसले २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन र ०६२÷६३ को जनआन्दोलनको सफल नेतृत्व गरेको सन्दर्भ बारम्बार उठाउँछ । हो त्यो सत्य पनि हो । ती आन्दोलनमा जो–जो सहभागी रहेकोे भए पनि त्यसको नेतृत्व काँग्रेसले नै गरेको थियो । तर आन्दोलनको नेतृत्व र त्यसबाट प्राप्त उपलब्धिहरू मात्र पर्याप्त होइन । त्यसलाई दीगो बनाउने, टिकाउने र त्यो उपलब्धिलाई आधार बनाएर जनतालाई सही अर्थमा सुखी, समृद्ध र सबल बनाउनु ठूलो कुरा हो । काँग्रेस त्यसमा चुकेको छ । काँग्रेसले गरेका तीनवटै सङ्घर्षको परिणामलाई जनताले आत्मसात गर्न र आफ्नो जीवनलाई सार्थक बनाउन सकेनन् । उनीहरूको विश्वासलाई पनि काँग्रेसले बचाइराख्न सकेन । ०१५ सालको चुनावमा दुई तिहाईको बहुमत दिए, ०४८ र ०५६ मा बहुमत दिए तर जनता नारामा, भाषणमा मात्र स्वतन्त्र र सर्वभौम भए । व्यवहारमा हुन सकेनन् । स्वतन्त्रता र मुक्ति नेतालाई मात्र आयो जनतालाई आएन । त्यसैले सफल क्रान्तिको नेतृत्व गरेको भनेर फुइँ लगाउँदैमा जनताले सधैँ साथ दिइरहने स्थिति हुँदैन । कामै गरेर देखाउनुपर्छ ।
    चुनाव  हारेपछि काँग्रेसले आफ्ना कमजोरी पहिल्याउने, तिनलाई सुधार्ने, जनताको विश्वास जित्ने काम गर्ने गर्नुको सट्टा आफै गाँड कोराकोर गरेर जग हसाउने काम गर्दैछ । मतभेदलाई सही तवरले हल गर्ने, शालीन र भद्र शैली अमपनाउने, सभ्य र सुसंस्कृत व्यवहार गर्ने हो भने काँग्रेसबाट अरूले पनि सिक्ने कुरा पाउँछ । नत्र काँग्रेस इतिहासमा मात्र सीमित हुने खतरा रहन्छ । 

नेतृत्व हस्तान्तरण 
अहिले काँग्रेसमा मात्र होइन, आम रूपमा नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने सवाल जोडतोड रूपमा उठाइँदै छ । काम गर्ने क्षमता र ऊर्जाको हिसाबले युवा पुस्ता अग्रणी मानिन्छ । उद्योगधन्दा, व्यवसाय, रोजगारी आदिमा यो कुरा बहुतै सान्दर्भिक हो । तर राजनीतिमा पुस्ता हस्तान्तरणको कुरा हास्यास्पद हो । नेतृत्व हस्तान्तरण भन्ने कुरा अयोग्य, नालायक र गफाडीको बाटो हो । नेल्सन मन्डेला ८० वर्षकै हाराहारीमा राष्ट्रपति भए, डा. मोहमद महाथिर ९० काटेपछि फेरि प्रधानमन्त्रीमा जिते, गणेशमान, गिरिजाप्रसाद ८० नाघेपछि पनि उत्तिकै सक्रिय थिए राजनीतिमा ।
हो, अहिले राजनीतिमा पुनः ताजगीका लागि नवीन पुस्ता हावी हुनुपर्छ । तर नेतृत्व हस्तान्तरणले त्यो आवश्यकता पूर्ति गर्दैन । काँग्रेस तरुणहरूले हरतहरले आफूलाई काविल सावित गर्दै नेतृत्वमा स्थापित गर्नुपर्छ । तब त्यो पुस्ताले नयाँ विचार र सङ्गठन निर्माण गर्न सक्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रभुनारायण बस्नेत
प्रभुनारायण बस्नेत
लेखकबाट थप