शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भूपिलाई राज्यले उचित सम्मान गर्नै सकेन : प्राडा. कृष्णहरि बराल

बिहीबार, १२ पुस २०७५, १० : ३१
बिहीबार, १२ पुस २०७५

नेपाली साहित्य जगतका एक मूर्धन्य कवि हुन्– भूपि शेरचन । उनको जन्म १९९२ पुस १२ गते भएको हो भन्ने धेरै ठाउँमा लेखेको पाइन्छ । तर त्यसबारेमा प्राडा. कृष्णहरि बरालले प्रश्न उठाएका छन् । उनका अनुसार भूपिको जन्म १९९२ पुस १० गते नै भएको हो । उनले औंशीमा जन्मिएको र मूलमा परेको भन्ने कुरा कतिपय ठाउँमा व्यक्त गरेका छन् र आमा टोक्ने मूल परेको सन्दर्भ पनि उल्लेख गरेका छन् । १९९२ पुस १० गते औँशी परेको छ र १२ गते चाहिँ द्वितीया तिथि पर्नेभएकाले पुस १० नै भूपिको जन्मदिन हो भन्ने प्राडा. बरालको दाबी छ । 

भूपिको जन्मस्थान मुस्ताङ, थाकटुकुचे हो भने मृत्यु २०४६ जेठ १ भएको थियो । बीएसम्मको अध्ययन गरेका भूपि शेरचन राजनीतिमा पनि सक्रिय थिए । २०१२ सालमा उनी नेपाल कम्युनिस्ट पार्टीको जिल्ला सचिव भएका थिए । २०२६ सालमा उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्य भए ।  सानैदेखि साहित्य सिर्जनामा लागेका भूपिका ‘परिवर्तन’ (नाटक, २०१०), ‘नयाँ झ्याउरे’ (कविता सङ्ग्रह, २०१०), ‘निर्झर’ (कविता सङ्ग्रह, २०१५), ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ (कविता, २०२५) छन् । 

थोरै कविता लेखे पनि भूपिको कवित्व क्षमताले उनी अझै प्रभावशाली छन् । उनका कविताहरु अझै समय सान्दर्भिक छन् । यिनै भूपिका जन्म सन्दर्भ पारेर उनको कवित्व र व्यक्तित्वका बारेमा प्राडा. कृष्णहरि बरालसँग मोहन दाहालले गरेको कुराकानी :

भूपिको व्यक्तिगत जीवन कस्तो थियो ?
मैले सानैमा त उनलाई चिनिनँ । पहिले मैले भूपिलाई एउटा कविकै रूपमा चिनेको हुँ । त्यसमा पनि ‘घुम्ने मेचमाथिको अन्धो मान्छे’ सङ्ग्रहका कविताहरू मनपथ्र्यो । नेपाली विषय पढेको हुनाले उनलाई सामान्य ढङ्गले नचिन्ने त कुरै भएन । म २०३३ मा काठमाडौँ आएँ । काठमाडौँ आइसकेपछि मलाई कविता मन पर्ने हुनाले उनलाई भेट्न एकेडेमी गएँ । एकेडेमीमा त्यतिखेर भूपि शेरचन चाहिँ घुम्ने मेचमाथि आसिन हुनुहुन्थ्यो । मैले भेटेर भने, हजुरलाई भर्खर भेट्दैछु, ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ लेख्नुभयो, अहिले त आफै घुम्ने मेचमाथि नै हुनुहुन्छ नि ? भनेको, हैन त्यस्तो भए तापिन म अन्धो चाहिँ छैन । म छ्याङ्ग देखिरहेको छु, सबै कुरा भन्नुभयो । त्यसपछि विस्तारैै विस्तारै उहाँसँग जाने, भेट्ने क्रम रह्यो । उहाँको घरमा पनि निकैचोटि पुगेको छु । त्यहाँ धेरै चोटि भाउजूले कालो चिया खुवाउनु भएको छ । उहाँकी छोरी कवितासँग पनि चिनजान भयो । 

दृष्टिकोणका हिसाबले उहाँ एकदमै सर्वहारा हुनुहुन्थ्यो । सर्वहारा नै नाम लेखेर हिँड्नु भएको मान्छे । आफ्नै परिवार पनि शोषक सामान्त भन्दै हिँड्ने मान्छे । यसबाट सारा जनतालाई मुक्ति दिलाउनुपर्छ भन्ने मान्छे । त्यस्तो अवस्थामा उनको पहिलो कविता सङ्ग्रह २०११ सालमा ‘नयाँ झ्याउरे’ भन्ने पुस्तकमा नाम नै सर्वहारा मात्र छ, सर्वहाराका नामबाट निस्केको छ । त्यसका कविता हामीले पढ्यौँ भने पूरै त्यसमा प्रगतिवादी विचार, माक्र्सवादी विचार, रातो सूर्य उदाउँछ उदाउँछ, हामी जित्छौँ जित्छौँ भन्ने दृष्टिकोण छ । ‘निर्झर’मा आउँदा पनि छ, ‘तिम्रो धनवाद र हाम्रो जनवाद दाज्छौँ, कसले जित्छ हेरौँला’ भन्ने छ । अनि नयाँ झ्याउरेमा पनि नेपाली काँग्रेसमा अन्तरकलहहरू छ नि त्यसको चित्रण छ । ‘कोइराला बाजे, झगडा गरी यसरी नमास नेपाल’ भनेर यस्तो किसिमका कविताहरू लेख्या छन् । देशलाई पुँजीवादको चङ्गुलबाट मुक्त गरेर कम्युनिज्म ल्याउनुपर्छ भनेर एकदमै त्यो आक्रामक अभिव्यक्ति त्यो नयाँ झ्याउरेमा हामी पाउँछौँ । उहाँ कसरी हिँड्नुभयो त्यस समयमा त्यो त म जान्दिनँ । 

मदनमणि दीक्षितले मलाई भूपिका बारेमा कुराकानी हुँदाखेरी बनारस गएको बेलाको एउटा संस्मरण सुनाउनुुहुन्थ्यो । बनारसमा एकजना सर्वहारा आएका छन् रे । उहाँहरू पनि कम्युनिस्ट सिद्धान्त प्रतिपादन गरेर हिँड्नुभएको मान्छे । भेट्नुपर्यो भनेर गएको एकदमै सेतो, सुकिलो कोट लगाएका, एकदम सफा, एउटा हातमा चुरोट, गिलासमा पनि अलिकति लिएर बसेको, छक्क पर्यौँ सर्वहारा देखेर, भन्नुहुन्थ्यो पहिलो चोटि । मतलब त्यस्तो टिपटप भएर हिँड्नुपर्ने मान्छे  । अनि भेट भइसकेपछि दाइ कम्युनिस्ट सिद्धान्तमा लागेर आउनुभयो भनेर काटेर अहिले भूपि शेरचन यस्तो हुँदा अलिकति चिन्ता लाग्दैन ? ‘मैले अन्तरवार्तामा भनेको छु, धेरै ठाउँमा भनेको छु, यिनीहरूले विकास गर्दैनन्’ भनेर लेख्नुभएको छ उहाँले । यो देशमा काँग्रेस होइन, काम गरेस् भन्ने मान्छेको खाँचो छ । कम्युनिस्ट होइन, कर्तव्यनिष्ट मान्छेको खाँचो छ भनेर लेख्नुभएको छ । 

समयक्रमा मैले उहाँलाई मैले केही गीतहरू देखाएँ, मेरो ३३ सालमै ‘म भक्त हुँ यो देशको’ भन्ने गीत रेकर्ड भएको थियो । भूपि दाइलाई भेट्नेबेलासम्ममा अरू आधुनिक गीतहरू पनि रेकर्ड भएका थिए । त्यसपछि वीरेन्द्र राजाका बारेमा लेख्नुस् न गीत भन्नुभयो । त्यही एकेडेमीमै हुँदाखेरी भन्नुभयो । मैले भने, तपाईं त्यत्रो मान्छे कसरी यसरी राजावादी हुनुभयो भनेर मैले सोधेँ । राजा खराब छैनन्, यिनलाई खराब मान्नेहरूले बनाएका हुन् । वरपर बस्ने मान्छेले खराब बनाएका हुन् । यी पञ्चहरूसँग मेरो एकरति विश्वास छैन भनेर भन्नुभयो । अनि एउटा भन्नुहुन्थ्यो, मरिचमान सिंह, सायद प्रधानमन्त्री थिए । एकेडेमीले मागेजति बिदा दिएन क्यारे । त्यो नदिएका बेलामा चाहिँ ‘म यिनलाई एउटा कविता लेखेँ भने उडाइदिन्छु, यिनले के सम्झेका छन् मलाई भन्नुहुन्थ्यो । मतलब पञ्च र पञ्चायततिर त्यति होइन, यद्यपि उनले कता कता महेन्द्रले प्रजातन्त्रको नेपालीकरण गरे भनेर पनि गीत लेखेका छन् । राजाप्रति आस्था भयो, आस्था भएपछि पञ्चायतप्रति भयङ्कर विद्रोह पनि त्यति गरेनन् । हुन त ‘सर्पको खोजीमा’ सर्पको खोजी भएर दुलोमा पसेको होइन, यो खोज्दै हिँडेको छु भनेर दरबारभित्र पसेको सङ्केत पनि गरेका छन् । तर भूपि शेरचन राजालाई निकै मनपराउने चाहिँ पक्कै हो । मलाई उहाँले त्यो चाहिँ लेख्नुस् न राजाको उल्लेख गरेर गीतसित भन्नुभएको थियो । अनि मैले खै के लेख्नु भने । यत्तिकै गफगाफ हुन्थ्यो । अनि आफू बिरामी भएका कुराहरू लङ्ग्ससँग सम्बन्धित बिरामी त्यो कुरा गर्नुहुन्थ्यो । 

भूपिसँगका रमाइला घटना केही छन् ?  
म उहाँसँग इन्फर्मल त हुन सकिनँ, उहाँको साथी पनि होइन । मैले एउटा कविता सङ्ग्रह तयार पारेको थिएँ । त्यस सङ्ग्रहको भूमिका लेखाउनुपर्यो भनेर भूपि दाइलाई दिएँ । त्यसपछि भूपि सारै बिरामी हुनुभयो । वीर अस्पताल भर्ना हुनुभएको थियो । म र मेरी मिसेस दुवैजना भूपिलाई भेट्न भनेर गायौँ । उहाँलाई नाकमा अक्सिजन दिइराखेको रहेछ, हातमा चुरोट थियो । त्यो देखेर मलाई अचम्म लाग्यो । अक्सिजनको कमी भएको बेला कार्वडाइअक्साइड (चुरोट) तानिरहेको देखेँ । अनि के गरेको भनेँ । 

उहाँले भन्नुभयो, ‘हेर्नुस् ममा एकदमै रागात्मक सम्बन्ध चाहिँ यसैको रहेछ जस्तो लाग्यो मलाई । यो छोड्नै सकिनँ’, उहाँले भन्नुभयो– ‘रक्सी छोडेँ, कति गरेर यो चाहिँ मैले एकदमै छोड्न नसक्ने भएँ ।’ यो त अत्यन्त विरोधाभाषा भयो नि त भनेँ । ‘होइन मैले यो छोड्नै सकिनँ, बडो रागात्मक सम्बन्ध रहेछ’, भन्नुभयो । 

मलाई बडो अचम्म लाग्यो । अक्सिजन दिइरहँदासम्म पनि चुरोट कसरी छोड्न नसकेको होला भनेर । अझै अचम्म लागिरहेको छ, अहिले सोच्छु छक्क पर्छु । मैले देख्दा उहाँ शारीरिक रूपमा दुब्लो भइसक्नुभएको थियो । 

भूपिले कम्युनिस्ट पार्टी किन छोड्नुपर्यो ?
आफ्नै कतिपय कारणले उहाँले कम्युनिस्ट पार्टी छोडेर यतातिर लागे होलान् । कतिले त आर्थिक समस्याले छोडे पनि भन्याछन् । बिरामी धेरै हुनलागे, उपचारकै लागि पनि गह्रै भएर पनि सरकारको नजिक भए भनेका छन् । उहाँ चाहिँ कम्युनिस्ट सिद्धान्तप्रति आस्थै नभएर पनि भनेका छन् । भूपि आफैले पनि भनेका छन्, ‘मलाई दुईवटा ‘क’ले बिगारे, कम्युनिस्ट र कविताले ।’ त्यो उहाँले भन्नुभएको छ तर अन्तरको कुरो त बुझ्न गारो छ । अनुमानका कुरा किन गर्नु । 

भूपिका कविता विशिष्ट खालका छन् भनिन्छ नि ?
नेपाली कविताको इतिहास हेर्ने हो भने प्रारम्भिक चरणमा वीरधारा र भक्तिधारामा कविता लेखिएका पाइन्छन् । कवितामा आफ्ना नायकको स्तुति गर्ने, त्यसपछि भगवानको स्तुति गर्ने कार्य भयो । त्यसपछि मोतिराम भट्टबाट शृङ्गारिक धारा प्रधान भयो । यसपछि अरू धारा पनि गौण रूपमा विकसित हुँदै आए । लेखनाथ पौडेलका कविताहरू आइसकेपछि शास्त्रीयतावादी धारा सुरु भयो । शास्त्रीय धारामा संस्कृतका छन्दहरू अलि धेरै हुन्छन् । छन्दमा मोतीरामहरूले पनि कविता रचना गरेका थिए । त्यसपछि देवकोटाको आगमन भयो । यसपछि स्वच्छन्दतावादी धारा आए र देवकोटाले एकछत्र नेतृत्व गरे भन्ने भनाइ छ । त्यही क्रममा एकातिर स्वच्छन्दतावादी धारा, अर्कोतिर प्रगतिवादी धारा बीचतिरबाट आए । 

कतिपय समीक्षकले के गरिदिए भने, जुन क्रान्तिकारी धारा छ, त्यसलाई पनि स्वच्छन्दतावादकै एउटा अङ्गका रूपमा पनि हालिदिएको देखिन्छ । त्यसरी हाल्नु उपयुक्त हुन्छजस्तो मलाई लाग्दैन । 

यो २००७ साल ८ साल १० सालतिर हामीले हेर्यौँ भने अत्यन्तै धेरै राजनीतिक विषय कवितामा लेखिएको छ । केआई सिंहलाई फिर्ता गर भन्ने कविताहरू, गीतहरू त्यसरी छापिएका छन् । त्यस्तो अवस्थामा भूपिले २०११ सालामा नयाँ झ्याउरे कविता सङ्ग्रह प्रकाशनमा ल्याए । त्यतिबेलासम्म भूपि कम्युनिस्टको एकदमै सक्रिय कार्यकर्ता भएको थाहा हुन्छ । किताब पढ्दाखेरी कम्युनिस्ट आउँछ आउँछ भन्ने दृढ विश्वास छ । डान्स क्लब खुल्यो रे भनेर अन्त्यन्त विरोध र आक्रमण छ । अनि मातृका र बीपीहरूको टसललाई पनि कविताभित्र राखिएको छ ।  ‘नेपाललाई मास्ने काम नगर तिमीहरू, झगडा नगर’ भनेर झ्याउरे लयमा धेरैजसो १६ अक्षरमा लेखिएको छ ।

एकातिर देवकोटा, लेखनाथ पोड्याल, माधव घिमिरे, बालकृष्ण समजस्ता कविहरू पनि छँदैथिए । भूपि शेरचन विषयवस्तुको प्रस्तुतिका फरक थिए । कविताभित्र सङ्गीत चेतनाको अत्यधिक प्रयोग, गद्यभित्र पनि सङ्गीत चेतना छ । 

त्योबेला गोपालप्रसाद रिमालले गद्य कविता सुरु गरेका थिए । रिमालले सुरु गरेको गद्य कवितामा ऊर्जा थप्ने काम देवकोटाबाट पनि भयो । क्रान्तिको चेतना पनि गद्य कविताबाटै देवकोटाको धेरै आयो । प्रमिथस महाकाव्यमा आउँदा पनि त्यो गद्यमै छ । त्यसपछि बालकृष्ण समले पनि गद्य कविताहरू लेखेका छन् । 

त्यो बेला भूपिले कवितामा हाम्रा दिनदिनै आइपर्ने समस्या लेखे । अनि नयाँ झ्याउरे हुँदै निर्झर कवितासम्म आउँदा भूपिलाई प्रगतिवादबाट हटाउन सक्ने कुरै थिएन । विषयवस्तुमा नै पूरै साम्यवाद आउँछ । निर्झरमा पनि त्यो कुरा छ । स्वच्छन्दतावादी पनि ठाउँ ठाउँमा छ । तर जब ‘घुम्ने मेचमाथिको अन्धो मन्छे’ प्रकाशित भयो, त्यसबाट मैले चाहिँ के निष्कर्ष निकालेँ भने यो ‘कवि भूपि ः विश्लेषण र मूल्याङ्कन’ लेख्दाखेरी पनि भूपि त्यतिखेरसम्म पहिलेको जस्तो नयाँ झ्याउरेमा जस्तो पनि रहेनन् । रोमान्टिसिजमको स्पर्श निर्झरमा पनि रहेन र आलोचनात्मक यथार्थवादतिर गए । त्यही स्तरबाट समाजमा भएका विकृति र विसङ्गतिलाई प्रहार गर्ने व्यङ्ग्य चेतनाका एकदमै प्रखर भएर आए । 

व्यङ्ग्य मात्र ठाडो भएको भए पनि त्यो रमाइलोआउँदैन थियो । कलाले यस्तोसँग छोपिदियो नि, व्यङ्ग्यमै कलाले भरिदिए । उनका कवितामा व्यङ्ग्यमा कस्तो छ भने अनुप्रास (राइम) को जुन शक्ति हो, त्यो त पहिले पहिले छन्दहरूमा प्रायः गरेर अन्तिम अनुप्रास छ नि त्यसलाई पनि माथ गरेर ८, ९, १०, १२ पङ्क्तिमा लेखे । 

एकातिर अनुप्रासको प्रयोगका दृष्टिले, शब्दसङ्गीत प्रयोगका दृष्टिले पनि त्यो बढिरहूँ लाग्ने मिठासयुक्त छन् । उनले हाम्रा विकृतिहरूलाई मात्र होइन, उनका आफ्नै विकृतिलाई पनि, आफूले भन्न नसकेका कुरा घुमाएर भन्नेका छन् । त्यो सामाथ्र्यले गर्दा पनि पढूँ पढूँ लाग्ने छन् उनका कविता । 

कविको एउटा सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्छ । मलाई कस्तो लाग्छ भने कवितामा  वस्तुपरक यथार्थ, वस्तुतथ्य  त्यति ठूलो कुरो होइन । छन्दमा त त्यो पनि लेख्न सकिन्छ । गद्यमा पनि लेख्न सकिन्छ । जे देख्यो त्यसको सोलोडोलो बयान गर्न सकिन्छ । त्योभन्दा पनि अर्को नयाँ सत्यको खोजी राम्रो र सफल कविको महत्त्वपूर्ण विशेषता हो । भूपि शेरचनका कवितामा त्यो अत्यधिक देखिन्छ । 

हामीले आम मानिसले देखेको तर भन्न नसकेको या ठम्याउन नसकेको कुरा ठ्याक्कभन्दा आम मानिसले के ठाने भन्ने हो  । सुरुको घुम्ने मेच माथिको अन्धो मान्छे, मेरो चोक छ, मान्छेले बनाएका देवता र देवताले बनाएका मान्छे दुवैको बासमा त्यस्ता विषय छन् । हेर्नुस् न, कसरी भनिएको छ– मान्छेले देवता बनाए भन्छन् भौतिकवादीहरू भने अध्यात्मवादीहरू देवताले मान्छे बनायो भन्छन् । दुवैको बास छ तर दुवै  चिन्तित छन् । एउटाले न कसैले सोध्छ, न कसैले ढोग्छ, फुर्सदै छैन । अर्को समूह मन्दिरकै अगाडि मात्र कुदेर हिँडेका छन् । उनलाई त्यो चिन्ता छ । 

‘मान्छेलाई रातभरि उपियाँले टोक्छ दिनभरि रुपियाँले टोक्छ ।’ रुपियाँ कमाउने नाममा मान्छे यति अन्धो भएर लागेको छ भन्ने व्यङ्ग्य हेर्नुस त । साँच्चै नै प्रभावकारी छ ।  कल्पनाको दृष्टिले कलाका दृष्टिले हो भने त्यो मैन बत्तिको शिखा झन् धेरै देखिन्छ । तीबाहेक अरू कविताहरू पनि त्यस्तै देखिन्छन् । उनलाई सारमा हामीले खिँच्यौँ भने समकालीन विकृतिप्रति व्यङ्ग्य गरेका छन् । 

लाहुरेहरूप्रति भूपिको अत्यधिक चासो छ । लाहुरेहरू बाहिर जानुपर्दाको अवस्थामा चिन्तित छन् । आफ्नो देशका लागि लडेका भए त फाइदा हुने थियो नि । देशको सिमाना बढ्थ्यो नि । अर्काको देशका लागि लडेर वीर कहलिए । ‘हामी वीर छौँ त्यसैले हामी बुद्धु छौँ’, भने । अर्काको भूमि बढाउनका लागि लड्यौँ । वीर यसकारण कि अर्काका लागि लडेर नेपालीहरू वीर छन् भन्ने थाहा पाए । भूपिले वीरले भक्कु राँगोसमेत भन्न भ्याएका छन् । यस्तो तिमीहरू अरूका लागि मात्र किन गर्छौ, आफ्ना लागि गर भन्ने चाहना हो उनको । 

भूपि नारीप्रति अत्यन्त संवेदनशील छन् । नारी हक अधिकार हुनुपर्छ भनेको छन् । निर्झर कविता सङ्ग्रहमा नारीका बारेमा लेखिएको छ :
‘ठूलो यो चार्जीबारी, 
त्यसभित्र एउटा घरबारी, 
त्योभित्र एउटा सानो अल्मरी, 
अल्मरीभित्र दुई चरवटा गहना र दुई चारवटा सारी, 
यति हो तिम्रो जिन्दगीभरीको कमाई नारी ! 

भनिएको छ । त्यतिखेर उनमा त्यो सचेतता । अहिले हामी लैङ्गिकता, नारीवादका कुराहरू जुन गरेका छौँ नि भूपिले त पहिल्यै पहिल्याएका रहेछन् नि त्यो । 

ज्योतिषीहरूप्रतिको व्यङ्ग्य हेर्नुस् । सरै ठूलो भन्नु पर्दोरहेनछ नि । एउटा भारी ट्रकले  किचेर बच्चा मर्यो, बच्चाको हात खोलेर हेर्दा आयु रेखा धेरै लामा थिए ।  कत्रो सेटायर छ । एउटै हरफले यो क्षेत्रप्रति कत्रो अविश्वास पैदा गरायो । हत्केला खोलेर हेर्दा चाहिँ आयुरेखा लामा छन् तर बच्चा मर्यो । 

अब सहिदप्रति सम्मान नभएकोमा सहिदहरूमा उनले भने ‘बाँचेर त हेर बाँच्न झन् गाह्रो छ’ भने । यो अहिलेको परिस्थितिप्रति को सहिद, कसको सम्मान छ यहाँ ? त्यो केही देखिँदैन । 

लाहुरेहरू अरूको देशका लागि लडेको सन्दर्भ, महिलाहरूमाथि भएको अन्याय, अत्यचार, युक्लिप्टसका रुखहरूझैँ नङ्ग्याइएका देख्छु आदि चेतना विम्ब बेजोडका छन् । 

अनि अर्को भन्नै पर्ने कुरा, व्यक्तिगत विम्बहरू हुन् । यस्ता यस्ता विम्ब प्रयोग गरेका छन् कि यस क्रममा यौनविम्बहरूको पनि अत्यधिक प्रयोग भएका छन् । राम्रोसँग हेर्यो भने एक्लै हाँसो पनि उठ्छ र कसरी ठम्याउन सकेहोलान् । व्यक्तिगत विम्बको पहिचान एकदमै गाह्रो कुरा हो । मान्छेले परम्परित विम्बहरूलाई, प्रतीकहरूलाई मात्र पहिचान गर्न सक्छ । 

तिम्रो अनुहार चन्द्रमा जस्तो भन्दा परम्परित विम्ब भयो । उनले लेते खोला भने नि त्यो होचिमिनको चिठीमा । आफ्नो घरनिरको त्यो लेते खोलालाई यस्तो विम्ब बनाए कि भियतनामलाई लेते खोलासँग दाँजेका छन् । जसरी भियतनामले अमेरिकासँग भिड्न त नसक्ला तर कुनै बेला शक्ति आउँछ नि, बाढी आएको बेला त्यो लेते खोला ओर्तिर पर्तिर भत्काएर सुसाएर हिँड्छ नि त्यस्तै तिमीहरू गर्न सक्छौ । त्यो लेते खोला नै व्यक्तिगत विम्ब के । 

बालदिवसलाई हेर्नुस् । बालदिवस मनाएको दिन त्यसैको समाचारले ढाकिएको पत्रिका ओडेर बालक सडकमा सुत्याछ । कत्रो व्यङ्ग्य छ भन्नु न । यो व्यङ्ग्य चेतना अनि व्यक्तिगत विम्बको अत्यधिक प्रयोग हो । 

अत्यधिक अनुप्रास, लयात्मकता पनि कस्तो भने झण्डै झण्डै एज्रा पाउन्ड भन्ने अङ्ग्रेजीमा थिए । उनी र ह्विट म्यानले सुरु गरेका भए पनि भूपिका कवितामा चाहिँ छन्दै जस्तो थिए । भूपि शेरचनका कविता त्यस्तै लघुगुरु मिल्ने खालका छन् । त्यस्तो किसिमको गद्य छन् । सर्र आउँछ गद्य, गद्यपछि पद्यमा पसेजस्तो किसिमको प्रवृत्ति छ । लयात्मकताको अत्यधिक प्रयोग, अनुप्रासको प्रयोग, व्यङ्ग्यको अत्यधिक प्रयोग, त्यसमा पनि हामीले देखेका भोगेका व्यक्तिगत विम्बको अत्यधिक प्रयोग छ । यिनै विशेषताले भूपि शेरचन देवकोटा भन्दा भिन्न, लेखनाथ भन्दा भिन्न, समभन्दा भिन्न छन् । 

सङ्ख्यात्मक रूपमा हेर्ने हो भने देवकोटाका भन्दा कम छन् । खण्डकाव्य स्तरको कृति पनि छैनन् । तर यस्तो अवस्थामा रह्यो कि राम्रो कवि हुन, चर्चित कवि हुन, स्तरीय कवि हुन सङ्ख्या मात्रै ठूलो कुरो होइन भन्ने देखियो । यसले उनलाई देवकोटाभन्दा भिन्न बनायो । कतिपय समालोचकले भने देवकोटाको ‘अम्रेला’बाट फुटेर एकातिर मोहन कोइराला जटिल बने भने अर्कातिर भूपि सरल बने । सरलताभित्रको जटिलता, सरलताभित्रको गम्भीरता भूपि शेरचनको महत्त्वपूर्ण विशेषता हो ।

उनी प्रज्ञाप्रतिष्ठानमा गएपछि कम्युनिस्टहरूले ज्यादै आलोचना गरे भनिन्छ, किन आलोचना गरे ?
प्रगतिवादी माक्र्सवादी साहित्यका बारेमा माओले ‘लेखाइ मात्र प्रगतिवादी भएर मात्र हुँदैन । मान्छे स्वयम्को दिनचर्याका विचारधारा प्रगतिवादी हुनुपर्छ भनेका छन् । कोही मान्छे व्यक्तिगत रूपमा कम्युनिस्ट नभएर पनि कम्युनिस्टको सिद्धान्तलाई एकदमै राम्रो पाराले टड्कारो रूपमा लेख्न सक्छ । कोही कम्युनिस्ट नै भएर लेख्न सक्छ । कम्युनिस्ट भए लेख्नु राम्रो हो’ भन्ने दृष्टिकोण छ । 

भूपि शेरचनले सर्वहारा जस्तो नाम राखेर, टाइटल राखेर त्यत्रो क्रान्तिकारी, कम्युनिस्ट आउँछ आउँछ भनेर लेख्ने मान्छे पछि फ्याट्ट त्यो छोडेर आलोचनात्मक यथार्थवाद भएर केही विकृति त देखाइरहे । गरिब दुःखीप्रति उनले अन्तरवार्ताहरूमा गरिब दुःखीकै पक्षमा छन् तर साम्यवादी सिद्धान्तप्रति आफूलाई वितृष्णा उत्पन्न हुनुमा उनलाई अरू कारणहरू पनि दिएका छन् । 

कोही नेताले चाहिँ अब यो नेपाललाई नै अर्को ठाउँमा भारतमा विलिन गराउँदा पनि राम्रो हुन्छ भनेका छन् भनेको सुने भन्ने अभिव्यक्ति पनि पाइन्छ । त्यो त उनको सैद्धान्तिक विचारमा ठूलो प्रहार हो नि त । कम्युनिस्ट सिद्धान्तमा कम्युनिस्ट भएर म बिग्रिएँ भन्नु आम हुने कम्युनिस्टका लागि त राम्रो कुरा भएन ।

तर कुरो के रह्यो भने कला भयो भने, त्यो शक्ति भयो भने काव्यको क्षमता भयो भने आम मान्छै सबै विरोधी भए पनि मान्छेले मन पराउँछन् । भूपिको सैद्धान्तिक विचलनमा मान्छेले प्रश्नचिन्ह खडा गर्लान् । उनलाई मानुन् या नमानुन्, त्यो आफ्नो ठाउँमा छ तर जसले कविता पढ्छ, भूपिलाई कमजोर, नराम्रो कवि भन्न सक्दैन । प्रगतिवादी कविमा भूपिभन्दा पनि माथिल्लो तह तप्काको, जो सधैँभरि जीवनमा कम्युनिस्ट भयो र सधैँ काव्य लेख्यो, त्योभन्दा मथिको लोकप्रिय शक्तिशाली कवि छ भने देखाउनु पर्यो । 

मलाई त के लाग्छ भने, को के हो भन्दा पनि कसले कस्तो लेख्यो ? यसले बढ्ता महत्त्व राख्छ । 

प्रज्ञाप्रतिष्ठानमा नियुक्त भएपछि उनको कवितात्मक क्षमतामा कमी आयो भन्ने छ, त्यसो भएको हो ?
उनको कवितात्मक क्षमतामा ह्रास चाहिँ उनी प्राज्ञ नभएका भए पनि आउँथ्यो । किन सक्थ्यो भने कविमा आउने त्यो जुन भाव छ नि, भावको उच्छलन, त्यसले सधैँ सबैलाई साथ दिन्छ भन्ने छैन । के भनिन्छ भने, त्यो वर्डस वर्थलाई पनि त्यस्तै भयो रे । जो चाहिँ अझ बढी रोमान्टिसिजममा, बढी स्वच्छन्दतावादी जो छ नि, जो चाहिँ भित्रको ओभरफ्लोलाई विश्वास गरेर लेख्छ नि, त्यो ओभरफ्लो कम्ती हुनेवित्तिकै कविताको शक्ति कम हुँदै जान्छ । 

तर क्लासिकल कवि शास्त्रीयवादी कवि अर्काथरी हुन्छन्, जो अलिकति भाव भेट्टायो भने पनि फेरि त्यो कलाले यताउति पारेर लेखिरहने, उनीहरूमा त्यो त्यति कम नहोला । तिनले आफ्नो चातुर्य देखाउन सक्छन् । तर जो रोमान्टिक छ, जो ह्वात्तै आयो, जो नेचुरल छ,  त्यसलाई चाहिँ अलिकति गाह्रो हुन्छ । अन्कन्ससको जुन प्रस्तुतीकरण छ, अनकन्सस त हो नि त्यो ओभरफ्लो । उनी त्योभित्र नभएकै भए पनि उनीभित्रको त्यो कमजोरी हुन सक्थ्यो । 

बोल्दा भाषण गर्दा पञ्चायततिर उनका ठाउँठाउँमा आक्रोश देखिन्छ  । यसको अर्थ उनले कविता लेख्दाखेरी समातेर थुन्ने, पक्रने सामाथ्र्य झन् राख्ने थिएनन् । तर कुरा के भयो भने अलिकति फिलिङ कम भयो र साथ दिन छोडेकै हो । साथ दिन छोडेको एउटा प्रमाणको रूपमा मैले ‘भूपि शेरचन ः विश्लेषण र मूल्याङ्कन’मा पनि भनेको छु, घुम्ने मेचमाथि अन्धो मान्छे या योभन्दा अगाडि आएका विम्बहरू जुन छन् नि, त्यो पछिल्ला भूपिका शेरचनका कवितामा दोहोरिएका छन् । 

प्रज्ञामै गएपछि उनले म आधा अन्धो भएँ भनेर आफैप्रति असन्तोष व्यक्त गरेका छन्, केले त्यसो भन्न बाध्य गरायो ? 
मनोद्वन्द्व भनिन्छ नि, त्यो भूपि शेरचनमा पक्कै पनि रह्यो होला । जस्तो खेमाबाट आएर यस्तो ख्याति कमाए, त्यसमा सधैँ रहन सकेनन् । हुन त कम्युनिस्ट सिद्धान्तबाटै प्रभावित भएर कविता लेख्न थालेर उनी यति माथिल्लो तहको कवि भए । जुन आधारलाई टेकेर भूपि शेरचन उभिए त्यो आधार नै छोडिसकेपछि, त्यो आधारमै भुइँचालो गएपछि उनको अन्तरहृदयमा केही हलचल त पक्कै ल्यायो । अब त्यसलाई ढाकछोप गर्न मलाई केही छैन । कम्युनिस्ट छोडेर ठिकै गरेँ भन्ने भूपि शेरचनका अभिव्यक्ति त आएकै छन् । 

मलाई के लाग्छ भने जीवनका लागि आवश्यक पर्ने, स्वास्थ्यका लागि आवश्यक पर्ने सहुलियतहरू प्राप्त गर्न भूपि गएका हुनसक्छन् । या ककसले भनेर त्यहाँ गए होलान्, त्यो कुरा एउटा रह्यो । अर्कोतिर यो द्वन्द्वले जिन्दगीमा आउने एउटा मात्र समस्या छैन, आर्थिक समस्याका कारण त्यतातिर लाग्नुपर्यो होला । अर्कोतिर लाग्दाखेरी आक्रोश त धेरै नै भयो होला । कम्युनिस्ट होइन, यो यस्तो हो भन्ने कुरा त रह्यो नि । 
दुईवटाको जुन द्वन्द्व हो, यताउता यताउता गर्दा पक्कै केही गर्यो । बेलाबेलामा सत्य पनि बोले होला । बेलाबेला त्यसलाई ढाकछोप गर्न सचेत मनले मैले जे गरेँ ठिकै छ, कम्युनिस्टहरू ठीक थिएनन् । काँग्रेसहरू ठीक थिएनन् । राजै ठीक रहेछ देशभक्त रहेछ भन्ने लाग्यो होला । तर कहिलेकाहीँ कस्तो पनि लाग्छ भने शङ्कर लामिछानेले एक ठाउँमा एकदमै क्रान्तिकारी, एकदमै भयङ्कर भएको मानिस अन्तिमतिर गएर फेरि विसर्जनवादमा गएर टुङ्गिन्छ भनेका छन् । 

भूपिलाई राज्यले सम्मान गर्न सक्यो कि सकेन, के देख्नुहुन्छ ?
मलाई त सम्मान गर्न सकेजस्तो लाग्दैन । भूपि शेरचन भनेका समकालीन साहित्य फाँटको नेतृत्व गर्ने कवि हुन् । कविताहरू प्रशस्त लेखिएका छन् । अहिले कविता लेख्ने कतिपय कविमा पनि भूपिको छायाँ कताकता रहेको देखिन्छ । भनेपछि उनको प्रभाव अझै छ । घुम्ने मेचमाथिको अन्धो मान्छे अझै बाँकी छ र त्यसभित्र उनले अभिव्यक्त गरेका समस्याहरू अझै छन् । महिलाहरू अझै त्यस्तै समस्यामा छन्, लाहुर जाने अझै त्यही समस्यामा छन्, अझै टुङ्गिएको छैन । भूपिका ती सपना अलिकति पनि पूरा भएका छैनन् ।  देश विकासतिर गएको छैन । तानातान, मारामार, काटाकाट अहिलेसम्म सकिएको छैन, भूपिको त्यो प्रभाव छँदैछ । 

भूपि शेरचन प्रज्ञामा गए, त्यसैलाई सम्मान मान्ने हो भने त छुट्टै कुरा हो । भूपिका कुराकानी सुन्दा त्यो राजाबाट,  व्यक्तिगत तहबाट भएको जस्तो पनि लाग्छ ।  तर राज्यले जुन एउटा धारलाई अङ्गीकार गरेर कविताको जुन धार प्रतिनिधित्व गरे, त्योअनुसार चाहिँ भूपिलाई राज्यले उचित सम्मान गर्नै सकेन ।

तिहारका बेला, लक्ष्मी जयन्तीका बेला केही हल्लाखल्ला गरेको त पाइन्छ । तर  खोइ त धेरैजसो कविहरूको सम्मान देख्दिनँ । मोतीरामा भट्टकै हेर्नुस्, जसले नेपाली साहित्यलाई यो ठाउँमा ल्याउनका लागि २३ वर्षकै उमेरमा त्यत्रा काम गरे, भाषासाहित्यका लागि उनकै पनि केही भएजस्तो लाग्दैन । 

तपाईंलाई उत्कृष्ट लागेका भूपिका कविता कुनकुन हुन् ?
भूपि शेरचनका सबै कविता उत्कृष्ट नै छन् । एक दुईवटा कविता नेपाल, सर्पको खोजीमा धेरै स्तरीय कविता हुन् । अघि पनि भने घुम्ने मेचमाथिको अन्धो मान्छे कविताका कतिपय विम्बहरू पछिल्ला कवितामा दोहोरिएका छन् । त्यो चाहिँ भूपि शेरचनका कमजोर पक्ष हुन् । 

सबैभन्दा उत्कृष्ट कविता चाहिँ घुम्ने मेचमाथिको अन्धोमान्छे नै हो । त्यस कवितामा भएका विम्ब हेरौँ न कति बेजोड लाग्छ । मैन बत्तिको शिखा पनि महत्त्वपूर्ण लाग्छ, यस्तै यो हल्लै हल्लाको देश, गलत लाग्छ मलाई मेरो देशको अलि महत्त्वपूर्ण लाग्छन् । 

अहिलेका नयाँ कविहरूमा भूपिको प्रभाव कतिको पाउनु भएको छ ? 
भूपि शेरचन जुन युगमा आए, त्यो बेलामा जुन समस्या थिए, अहिले पनि ती समस्या घटेका छैनन् । त्यसकारण कविले लिने यही समाजबाट विषयवस्तु लिने हो । त्यस कारण पनि कताकता केही कुरो मिल्न आउँछन् । ठ्याक्कै भूपिका कविता हेरेर नलेखे पनि त्योबेलाका समस्या र अहिलेका समस्या उस्तै छ । भनेपछि त विषयवस्तु उस्तै त आउने नै भयो । 
भूपि पनि गद्यमै कविता लेख्थे । पहिलो कविता सङ्ग्रहमा त उनले झ्याउरे लयमा लेखेका छन्, नयाँ झ्याउरे । त्यसपछि निर्झरमा पनि केही कविता पद्यमा थिए । घुम्ने मेचमाथिको अन्धो मान्छेमा पूरै गद्य कवि हुन् तर पनि पद्यात्मकताको आभास दिने, लयात्मकता दिने खालका अत्यधिक कविता लेखे । उनको अर्को कवितामा पनि त्यही नै रह्यो । गद्यमा लेखेको छन् अहिले पनि, त्यो गद्यका कारणले गर्दा त्यसको मेल हुनु स्वाभाविकै लाग्छ । 

भूपिले कविता कला चाहिँ चिनेका छन् । उनका कविता मात्र होइन, उनले दिएका अन्तरवार्ता हेर्यो भने पनि ती कवितात्मक लाग्छन् । उनले बोलेका गद्य वाक्यहरू पनि कवितात्मक लाग्छ । 

‘संसार जेट युगमा छ, 
अहिले पनि हामी पेट युगमा छौँ’ 

यस्तो यस्तो कुरो कहाँबाट कसरी आउँछ होला ? अनुप्रासहरू, ठ्याक, ठ्याक, ठ्याक मिलेर । त्यो गद्य पनि पूरै कवितात्मक छ भने कवितामा त कविता नहुने कुरै भएन । अघि पनि भने पर्सनल विम्बका प्रयोगका दृष्टिकोणले हेर्ने हो भने त्यो सशक्तता प्राप्त गर्नलाई चाहिँ समय लाग्छ । 

अहिलेका कविहरूपमा पनि ती समस्याहरूबाट परिचित छन् । कविताहरू पनि राम्रा राम्रा आइरहेका छन् । तर एउटा फरक कुरा के हो भने यो युगकै बेग्लै अर्कै एउटा पहिचान हुन् भूपि । इडिपस कम्प्लेक्स भन्ने फ्रायडको एउटा सिद्धान्त छ । त्यो चाहिँ छोराको बाबुप्रतिको विरोध र आमाप्रतिको निकटता हुन्छ नि, कविको पनि के हुन्छ अरे भने नि पुरानो पुस्तासँगको विरोध र आफ्नो बेग्लै किसिमको नयाँ आइडेन्टिटी हुन्छ भनेर भनेका छन्,  केही समीक्षकहरूले । त्यो भन्न खोजेको नराम्रो होइन । देवकोटाको लेखनप्रतिको विरोध या भूपि या लेखनाथ या सम या माधव घिमिरेप्रतिको विरोध  । यतातिर आफ्नोतिर चाहिँ लाग्नुपर्छ, धेरै धेरै लाग्नुपर्छ । तर स्तरीयता र लोकप्रियता दुईवटालाई मिट गराउने काम चाहिँ गर्नुपर्छ । धेरै कम कविहरू त्यस स्तरमा चाहिँ खेलिरहनु भएको छ । तर के भने ह्वात्तै भूपि शेरचनको जुन हाइट छ नि त्यसलाई उछिन्ने हुनुपर्यो । त्यो चाहिँ अझै प्रयास गर्नुपर्छ । 

भूपिबारेका केही किंवदन्ती छन् ?
भूपिका बारेमा विभिन्न किंवदन्ती छन्, एउटाले लेखेको थियो– ‘भूपिले विगार्यो कविता’ भन्नेमा कविता भएको ठाउँमा कन्या थपेको छ । दुईवटा त उनले बिहे गरेका हुन्, दुईवटै बिहे गर्दा भूपिले कन्या विगार्यो भन्नु त अफ्ठ्यारो होला । कसै कसैले त्यो प्रसङ्गहरू पनि झिक्छन् । 

उनी आफैंले पनि एक ठाउँ अशेष मल्लले लिएको एउटा अन्तरवार्तामा तपाईंको प्रेम प्रसङ्ग भनेका छन् । अनि भूपिले भनेका छन्, ‘प्रसङ्गको कुरा नगरौँ, कतिको बसिसकेको घर पनि उड्छ’ । यसले के देखाउँछ भने उनी आफै एउटा छ्याङ्ग खुला किताब जस्ता थिए । कुरो लुकाएर गर्नेखालका मानिस थिएनन् उनी । 

अङ्ग्रेजीमा पर्सन भनिन्छ नि, पर्सन भनेको ल्याटिन भाषाको पर्सोनाबाट आएको हो । यसको अर्थ मुखुण्डो हो । मान्छे मात्र संसारमा एउटा यस्तो प्राणी हो, जो मुखुन्डो लगाएजस्तो हुन्छ । बाहिर एउटा देखिन्छ, भित्र अर्कै हुन्छ । त्यो थाहा पाउँदैन मान्छे । साँचो कुरा भन्दैन मान्छेले, भन्न त भन्छ तर कुरो अर्कै हुन्छ । ओ हो तपाईं क्या राम्रो गीतकार भन्दियो, बाहिर गएर गाली गर्छ । तर भूपि शेरचन छ्याङ्ग थिए, केही राख्दैन थिए । 

कहिलेकाहीँ के हुँदो रहेछ भने सामान्य कुराहरू पनि आफ्नो सिर्जना शक्ति बलियो भयो भने, त्यो लेखनाथले लेखेका छन् नि ‘चन्द्रले रश्मिको दाग मेटाएकै छ बेसरी’ भनेजस्तो हुँदो रहेछ । प्रतिभाको त्यो फ्लोले सानातिना गल्तीलाई पनि ओझेलमा पार्छ । 

भूपिका केही श्लोकहरू :

मैले पिएकोमा रिसाएका साथीहरू
पिएर त हेर, पिउन झन् गाह्रो छ ।
मरेर शहीद हुनेहरू,
जिएर त हेर, जिउन झन् गाह्रो छ  ! 
(मेरा साथीहरु कविताबाट ।)


केही लेख्छन्
यसो हेर्छन्
चित्त बुझ्दैन
अनि केर्छन्
पुनः लेख्छन्
पुनः हेर्छन्
लामो सास फेर्छन्
कठैबरा, बिचरा
‘भूपि शेरचन !’
(‘भूपि शेरचन’बाट व्यङ्ग्यात्मक सेल्फ पोट्रेट)

उम्रन्न बोट कसैले बीउ छरेर नगए
हामीले खाने प्रत्येक गाँसमा रगत छ सहिदको
हामीले फेर्ने प्रत्येक सासमा रगत छ सहिदको
हाम्रो मुटुको प्रत्येक चालमा धड्कन छ सहिदको
हाम्रो खुसीको प्रत्येक पलमा जीवन छ सहिदको
(‘सहिदहरूको सम्झनामा’बाट ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मोहन दाहाल
मोहन दाहाल
लेखकबाट थप