शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

अवैज्ञानिक ‘पिक एन्ड ड्रप’ : एसएसपीको ‘एक्सन’ ले यात्रु मर्कामा

बुधबार, ११ पुस २०७५, १२ : १२
बुधबार, ११ पुस २०७५

काठमाडौँ– सिन्धुलीका लिलबहादुर थापाका बिरामी बुबा वीर अस्पतालको बेडमा छन् ।

मङ्गलबार बिहान कोटेश्वरबाट बिरामी बुबाका लागि खाना लिएर वीर अस्पताल हिँडेका थापालाई ‘१० नम्बर रुट’मा भक्तपुर चल्ने माइक्रोले सुन्धारा–रत्नपार्क घुमाएर भृकुटीमण्डप लगेर मात्र रोकिदियो । 
‘मलाई वीर अस्पताल जानु थियो, भृकुटीमण्डपबाट झण्डै १ किमि हिँडेर फेरि वीर अस्पताल पुगेँ’, थापाले भने, ‘गणतन्त्र आयो भन्थे, हामीले त झन् सास्ती पो झेल्दै छौँ ।’  

ट्राफिक प्रहरी महाशाखा, काठमाडौँ महानगरपालिका र सडक विभागले टुँडीखेल आसपासमा संयुक्त रूपमा सुरु गरेको भनिएको ‘पिक एन्ड ड्रप’ सिस्टमले दिलबहादुर मात्र हैन, दैनिक १० लाख जनता राज्यले थोपरेको सास्ती व्यहोर्न बाध्य भएका छन् ।

राज्यका निकायले त्यसरी थोपरेको सास्तीविरुद्ध मङ्गलबार साँझ गाडी कुरेर बसेका यात्रुहरूले भृकुटीमण्डपमा आधाघण्टा चक्काजाम नै गरेका थिए । यात्रुले चक्काजाम गर्दैगर्दा गाडीका चालक र सहचालकले पनि उनीहरूलाई साथ दिएका थिए ।

 यो क्रम बुधबार बिहान पनि देखियो । यात्रुहरुले निर्णय अव्यवहारिक भएको भन्दै प्रदर्शन गर्दा रत्नपार्क क्षेत्रको यातायात व्यवस्था केहीबेर अवरुद्ध हुन पुगेको थियो ।  

ट्राफिक प्रहरी महाशाखा र काठमाडौं महानगरपालिकाले उपत्यकाको मुटु मानिने टुँडीखेल–रत्नपार्क क्षेत्रमा पुस १ गतेबाट लागू हुनेगरी ‘पिक एन्ड ड्रप’ सिस्टम लागू गर्ने निर्णय गरेको हो । 
तर हचुवाको भरमा सुरु गरिएको उक्त कार्ययोजना अवैज्ञानिक भएको भन्दै आलोचना सुरु भएको छ ।

‘पिक एन्ड ड्रप’को नयाँ योजना अनुसार बानेश्वरबाट न्यूरोड अथवा वीर अस्पताल हिँडेको मान्छे भृकुटीमण्डप झरेर हिँड्दै जानुपर्छ । सुन्धारा, सहिदगेट, भोटाहिटी र बागबजार जानुपर्ने यात्रुलाई पनि भृकुटीमण्डप नै झरेर घुम्नुपर्ने  बाध्यात्मक अवस्था सिर्जना भएको छ ।

 

टुँडीखेल–रत्नपार्क क्षेत्रबाट लैनचौर हुँदै महाराजगञ्ज, धोविचौर जानुपरेमा वायुसेवा निगम र  खानी विभागबाट मात्र यात्रुहरू चढ्न पाउँने व्यवस्था ट्राफिक प्रहरी महाशाखाले गरेको छ ।
बालाजुतर्फ चल्ने २३ नम्बर रुटका सार्वजनिक सवारीहरू रत्नपार्कको स्टपभन्दा बाहेक अन्यत्र नरोकिँदा यात्रुहरूले सास्ति भोगिरहेका छन् ।  
 
यसभन्दा पहिले ट्राफिक महाशाखाले न्यूरोड, रत्नपार्क, पुरानो बसपार्क,  जमल र भृकुटीमण्डपमा सार्वजनिक सवारीको बिसौनी निर्धारण गरेको थियो । 

उपत्यकाभित्र लामो दूरीमा चल्ने सवारी जमलबाट जान्थे भने नजिकका रत्नपार्कबाट घुम्थे ।

‘अहिले रत्नपार्कमा स्टप नदिएपछि एनसी, जमल र भृकुटीमण्डपमा रोक्न दिनुपर्छ’, महानगरीय ट्राफिक महाशाखामा कार्यरत एक सिनियर प्रहरी अधिकृत भन्छन्, ‘गाडी लखेटेर मात्र जाम हट्दैन, माइक्रो बस र पुराना गाडीहरू हटाउन सके काठमाडौंको जाम स्वाट्टै ३० प्रतिशतमा झार्न सकिन्छ ।’

पछिल्लो समय काठमाडौं महानगरपालिका र ट्राफिक महाशाखाले जाम हटाउने भन्दै ‘पिक एन्ड’ ड्रपको नाममा गाडी लखेट्न थालेपछि जाम घट्नुको साटो झन् अस्तव्यवस्तता बढेको छ । शारीरिक अपाङ्गता भएकाहरू र वृद्ध–वृद्धा मारमा परेका छन् ।

‘लामो समय यात्र कुरेर बस्ने गाडीहरूको प्रवृत्ति हटाउन हामीले नयाँ सिस्टम लागू गरेका हौँ, त्यसबाट सहजता नै देखिएको छ’, काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमणी डङ्गोल भन्छन्, ‘वृद्ध–वृद्धाहरूलाई समस्या भएको गुनासो आएको छ । हामी नगर प्रहरी राखेर वृद्ध–वृद्धाहरूलाई सहज रूपमा गाडी चढाउने र ओराल्ने व्यवस्था मिलाउँछौँ ।’

विकसित देशहरूमा गाडीभन्दा मान्छेलाई ध्यान दिएर बिसौनी निर्धारण गरिएको हुन्छ । तर हाम्रो जस्तो विकासोन्मुख मुलुकमा हस्पिटल हिँडेको बिरामी हस्पिटलबाट एक किलोमिटर टाढा ओर्लिएर हिँड्नुपर्छ ।

‘उपत्यकाको केन्द्र भागबाट टाढा बिसौनी बनाउँदा झनै जाम बढ्छ’, प्रहरी जीवनभर ट्राफिक व्यवस्थापनमा काम गरेका पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथु भन्छन्, ‘अहिले ३८१ वटा ठूला बस थपिएको छ, जसले १२ किमि सड्क ओगट्छ, गाडी थपिएको थपियै छ, तर साना गाडी नहटाउँदा जामको समस्या झन् बढ्दै गएको देखिन्छ ।’

मान्छेको  घुइँचो हुने ठाउँमा बिसौनी राख्दा जाम मात्र घट्दैन, यात्रुहरूले सहज रूपमा आवतजावत गर्न पाउँछन् । जस्तो, असन र वीर अस्पतालमै बस स्टप भएमा त्यहाँका मान्छे गाडी चढ्न खानी विभागसम्म दौडनुपर्दैन । 

वीर अस्पतालको आवासक्षेत्र, वायुसेवा निगम र जमलतिरबाट गाडी चढ्नुपर्ने महिलाहरू बच्चा बोकेर १ किमि हिँडेको दृश्यले आजभोलि जो–कसैको मन चसक्क हुन्छ । तर, नियामक निकायका प्रमुखहरूको काम देखाउने चटारोले काठमाडौँको केन्द्रभागमा झन अस्तव्यस्तता बढेको छ ।

‘हामी नेपालीहरू कस्ता भयौँ भने लागेको बानी नछाड्ने, पहिले सभागृहबाट छुट्ने सबै गाडीहरूलाई रत्नपार्कबाट छाड्ने गरेको छ’, महानगरीय ट्राफिक महाशाखाका प्रमुख (एसएसपी) वसन्त पन्त भन्छन्, ‘पहिले एकै ठाउँबाट चल्ने १२–१३ वटा रुटको गाडीलाई बाँडेर स्टप बनाएको हो । यात्रुहरूले पहिलेकै ठाउँबाट चढ्न पाउनुपर्छ भनेर हुँदैन । पिक एन्ड ड्रप सिस्टम वैज्ञानिक छ ।’

‘युज टु’ नभएर चालक र सहचालकले उचालेको भरमा मङ्गलबार यात्रुहरूले साङ्केतिक विरोध गरेको बताएका एसएसपी पन्तले आजबाट गाडीको रुटबारे रत्नपार्क एरियामा प्रचार प्रसार गरिने बताए । 
उनले भने, ‘विदेशमा सर्वसाधारणले सिस्टमका निमित्त सेक्रिफाई गर्छ, तर नेपालमा मान्छेलाई घरमै चाहिन्छ ।’

ट्राफिकको इन्चार्ज फेरिनासाथ नयाँ नियम !
ट्राफिक प्रहरी महाशाखामा नयाँ इन्चार्ज आउनासथ आफूखुसी नियम ल्याउने गरेका छन् । हकिमपिच्छे आउने नयाँ नियमको मार सर्वसाधारणलाई पर्ने गरेको छ ।

२०७४ वैशाख १ गतेबाट लागू हुनेगरी ट्राफिक महाशाखाका तत्कालीन डीआईजी मिङमार लामाले काठमाडौं उपत्यकामा ‘हर्न निषेध’ गर्ने नियम ल्याएका थिए । केही समय हर्न बजाएकै निहुँमा चिट काटेको ट्राफिकले अहिले ‘हर्न कारवाही’ छाडिसकेको छ ।

डीआईजी मिङमार लामाले त्यतिबेला जथाभावी बाटो काट्ने यात्रुलाई दुई सय रूपैयाँ जरिवाना गर्ने सिस्टम विकास गरेका थिए । तत्कालीन गृहमन्त्री जनार्दन शर्माको ठाडो आदेशमा पैदलयात्रीबाट दुई सय असुल्ने सिस्टम हटाइएको थियो ।

पूर्वआईजीपी प्रकाश अर्याल महाशाखामा हुँदा उनले गोप्रो क्यामेराको सहायताले ट्राफिक नियम मिचेको निगरानी गर्ने नीति ल्याएका थिए । 

अहिले पनि ड्युटीमा खटिएको ट्राफिकले गोप्रो क्यामेरा भिरेको देखिन्छ । नियम उल्लङ्घन गर्ने सवारी चालकलाई क्यामराबाट भिडियो देखाएर गरिने कारवाही भने प्रभावकारी हुँदै गएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ट्राफिक महाशाखामा हुँदा उनले सुन्धारा, रत्नपार्क लगायतका स्थानमा यात्रुहरू लाइन लागेर गाडी चढ्नुपर्ने सिस्टम विकास गरेका थिए । अहिले रत्नपार्कको स्टपमा मात्र प्रहरी राखेर यात्रुको लाइन लगाइन्छ, अन्यत्र उक्त सिस्टमले काम नै गरेन ।

पूर्व एआईजी जयबहादुर चन्द महाशाखामा बस्दा उनले ‘मुस्कानसहितको प्रहरी सेवा’ भन्ने स्लोगान ल्याए । तर सर्वसाधारणले प्रहरी दुव्र्यवहारप्रति प्रश्न उठाउँदा ड्युटीमा खटिएको प्रहरी गिज्याउँदै भन्थे, ‘हा.. हा.. उहाँलाई मुस्कानसहितको सेवा चाहियो रे !’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप