बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

क्यान्सर जितेकाहरूको कथा

मङ्गलबार, १० पुस २०७५, १० : ५७
मङ्गलबार, १० पुस २०७५

काठमाडौँ– झापाकी सिर्जना लुइँटेल पहिलो सन्तान भएको ८ वर्षपछि दोस्रो सन्तान जन्माउने तयारीमा थिइन् ।

स्वास्थ्य परीक्षणका लागि अस्पताल गइन् । तर अस्पतालको रिपोर्टमा पाठेघरको दायाँ ओभरीमा ‘सिस्ट’ देखियो ।

एउटा अस्पतालको विश्वास नलागेर उनी धेरै अस्पताल धाइन् । परीक्षणका क्रममा कतै कुनै समस्या नभएको रिपोर्ट आयो भने कतै समस्या देखियो । 

‘टिचिङ अस्पतालले ओभरीमा देखिएको सिस्ट सामान्य नभएको भन्दै अप्रेसन गर्न आग्रह गर्यो’ रातोपाटीसँगको कुराकानीमा उनले विगतलाई कोट्याइन् । 

तर पनि उनी एक महिनासम्म अस्पताल र चिकित्सकको सल्लाहमा नै बसिन् । 

५ महिनाकी गर्भवती हुँदा उनको एक्कासि दाहिने खुट्टा चलेन । फेरि टिचिङ गइन् । त्रिवि शिक्षण अस्पतालले पहिले नै ओभरीमा देखिएको सिस्टको अप्रेसन गर्न पुनः सुझाए ।

 ‘५ महिनाको शिशुलाई जोगाए अप्रेसन त भयो । आमा र बच्चा दुवैको अवस्था सामान्य नै थियो तर २२ दिनपछि आएको रिपोर्टमा क्यान्सर देखियो’, लुइँटेलले विगत खोतलिन् । 

उमेरले बल्ल ३३ वर्ष लागेकी सिर्जनालाई आफूलाई क्यान्सर भएको पत्याउन निकै मुस्किल भयो । 

‘क्यान्सर भएको थाहा पाएपछि पीडाको सीमा नै रहेन, ८ वर्षकी छोरी र श्रीमानलाई झलझली सम्झिएँ । अब मरिन्छ भन्ने लाग्यो, भेट्न आउनेहरूले पनि बाँच्ने भन्दा मर्छे नै भनेजसरी सम्झाउँथे ।’ पाठेघरको ओभरीको क्यान्सर, त्यसमा पनि ५ महिनाको गर्भवती, क्यान्सर लागेको गर्भवती आमाबाट जन्मेको बच्चा स्वस्थ्य रहने कुनै पनि विकल्प थिएन । 

अस्पताल र चिकित्सकको सल्लाहपछि ओभरीको शल्यक्रिया गरेको २५ दिनपछि गर्भपतन गरिन् । त्यसको केही दिन फरकमा फेरि क्यान्सरको अर्काे अप्रेसन गरियो । 

जिन्दगीमा बाँच्ने आशा मारेकी सिर्जनालाई दोस्रो अप्रेसनपछि, अब बाँचिन्छ मैले संसार जिते जस्तो भान भयो । 

नियमित उपचार, परिवारको साथ र मायाले गर्दा दुई महिनामा सिर्जनाको अप्रेसन र सबै प्रकारको उपचार सकियो । क्यान्सर अन्य अङ्गमा फैलिन नदिनका लागि पाठेघर पनि फालियो । अब उनीबाट सन्तान हुँदैन । 

सन्तान नुहुनुमा दुःखी हुनुभन्दा पनि क्यान्सरलाई जितेकोमा सिर्जना खुशी छिन् । 

‘विगत ३ वर्षदेखि अहिलेसम्म रुघाखोकी जस्ता सामान्य रोग पनि मलाई लागेको छैन । मैले नयाँ जीवन पाएकी छु । अहिले एउटा गैरसरकारी संस्थामा काम पनि गर्छु’, उनले सुनाइन् । 

यस्तै अर्की उदाहरण हुन् सुनिता चापागाईं । उनी उमेरले ४५ वर्ष भइन् । उनको जन्म, हुर्काइ, पढाइ र विवाह सबै काठमाडौँमै भयो ।  

श्रीमान सरकारी इन्जिनियर, जीवन धान्न खासै समस्या थिएन ।

छोरालाई पनि इन्जिनियर बनाएकी सुनिताको जीवनमा आजभन्दा ८ वर्ष पहिला ठूलो बज्रपात आइपर्यो । एक दिन घरमा बिहानको पूजापाठ सकेर कोठाबाट निस्कँदै गर्दा उनको हात आफ्नो बायाँ स्तनमा ठोकियो ।

सो समयमा स्तनमा सानो गिर्खा भेटिन् । डराइन । महिला डाक्टर खोज्न थालिन् । एउटा क्लिनिकमा पुगिन् । क्लिनिकले उनलाई हेम्स अस्पतालमा जान सुझायो । 

परिवारका सबै सदस्य काठमाडौँ बाहिर भएकाले सुनितालाई चावहिलको सिफलदेखि बुद्धनगर निकै टाडा लाग्यो र उनी ओम अस्पताल गइन् । ओम अस्पतालका डाक्टर सुनिल शर्माले उनलाई बायाँ स्तनमा क्यान्सर भएको बताए । 

क्यान्सर रोगबारे खासै थाहा नपाएकी सुनिताले उपचारपछि निको हुन्छ भन्ने सोचिन् । परिवारको अन्य सदस्यलाई पनि बताइनन् । 

तर सुनिता आफै अस्पताल जाने किमो लिने काम नियमित गर्न थालिन् । ‘६ महिनाको नियमित उपचारपछि क्यान्सर पूर्ण रूपमा निको भयो । स्तन काटेर फाल्नु पर्यो । त्यसपछि मात्रै क्यान्सर रोगको बारेमा जानकारी भयो’, उनले आफ्नो अनुभव सुनाइन् । 

उपचारका क्रममा ६ लाख रूपियाँ लागेको सुनिता बताउँछिन् । नेपालम पनि क्यान्सर रोगको उपचारका लागि राम्रा चिकित्सक छन् र यहीँ उपचार सम्भव छ भन्दै उनले परिवारको साथ पाएको खण्डमा क्यान्सर रोग निको हुन्छ भन्छिन् । त्यसको एउटा उदाहरण आफै भएको बताउँछिन् । 

दोलखाकी ४० वर्षकी शोभा ओलीको पनि २०७३ जेठमा दायाँ स्तनमा खिर्गा देखियो । परीक्षणका लागि अस्पतालमा गइन् । गिर्खा भए पनि रिपोर्ट सामान्य आयो । रिपोर्टमा केही नदेखिए पनि शोभालाई अस्पतालको रिपोर्टप्रति चित्त बुझेको थिएन । 

उनको स्तनको गिर्खा बढ्दै गयो । त्यसपछि उनी त्रिवि शिक्षण अस्पताल गइन्, त्यहाँ उनको क्यान्सर परीक्षण गर्न चिकित्सकले सुझाव दिए । तर साथीभाइले स्तनको गिर्खा झिक्दा स्तन क्यान्सर हुने भ्रामक कुरा सुनाए । उनले डरले परीक्षण नै नगरी डेरा फर्किन् । 

जेठदेखि भदौसम्ममा स्तनको आकार झन् बढ्दै गयो । अस्पताल नगई सुखै भएन । परीक्षणपछि रिपोर्ट आउँदा उनलाई दोस्रो स्टेजको स्तन क्यान्सर भएको रिपोर्ट आयो ।  आमालाई फोन गरिन्, फोनमा नै आफूलाई लागेको रोगबारे बताउँदै बेस्सरी रोइन् । 

क्यान्सर लागेको मान्छे बाच्दैनन् जस्ता कुरा गर्थे । काठमाडौँमा डेरा गरेर बसेकी शोभालाई क्यान्सरको उपचार कहाँ हुन्छ भन्ने नै थाहा थिएन । पछि कसैको सहारामा ललितपुरको हरिसिद्धि क्यान्सर अस्पतालमा गइन् । अन्ततः वि.सं. २०७३ साल असोज ५ गते हरिसिद्धिको क्यान्सर अस्पतालमा अप्रेसन गरिन् । अहिले उनको क्यान्सर पूर्ण रूपमा निको भइसकेका छ । परिवारको साथ सहयोग माया भएको खण्डमा क्यान्सरलाई  जित्न सकिने शोभाको भनाइ छ । 

क्यान्सरको कारण ?

नेपालमा क्यान्सर रोगीको एकिन तथ्याङक सरकारसँग छैन् । तर वरिष्ठ क्यान्सर विशेषज्ञ डाक्टर राजेन्द्र प्रसाद बरालका अनुसार नेपालमा वर्षेनी ३५ हजारका दरले नयाँ क्यान्सरका बिरामी थपिदैछन् । क्यान्सर शरीरको जुनसुकै भागमा देखा पर्नसक्छ र नेपालमा सबै किसिमको क्यान्सर देखिएको छ । मुख्यगरी फोक्सोको क्यान्सर,पाचनप्रणालीको क्यान्सर,मुखको क्यान्सर सबै व्यक्तिमा देखिएको छ । त्यस्ेगरी महिलाहरुमा पाठेघरको क्यान्सर,पाठेघरको मुखको क्यान्सर,ओभरीको क्यान्सर, स्तन क्यान्सर बढी देखिएको छ । बालबालिकामा भने ब्लड क्यान्सर बढी देखिएको चिकित्सकहरु बताउँछन् । 

क्यान्सर जितेकाहरुको अभियान

जनचेतना फैलाउने विभिन्न तरिका हुन्छन् । यसमध्ये एक उपाय हो– स्टेज कार्यक्रम । हो, नेपालमा अझै पनि धेरै मानिस क्यान्सर लागेपछि निको हुँदैन भन्ने भ्रममा छन् । कतिपयले त क्यान्सर लागेपछि बिरामीलाई रोगको बारेमा जानकारी दिनुपर्नेमा उल्टै लुकाउने समेत गरेका छन्, जसले गर्दा क्यान्सर उपचारले सफलता पाउन नसकेको चिकित्सकहरूले बताउने गरेका छन् । 

क्यान्सर रोग निको हुन्छ भन्ने सन्देश दिन क्यान्सर जितेकाहरूले अहिले अभियान नै चलाउने तयारी गरेका छन् । क्यान्सर रोग लागेर पनि डराएर बसेका मान्छेका लागि क्यान्सरलाई जित्न पनि सकिन्छ भन्ने सन्देश दिन ¥याम्प सोमार्फत जनचेतना फैलाउन लागिएको उनीहरूको भनाइ छ । 

नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजनामा यस्तो सो गर्न लागिएको अभियानकी सदस्य स्वरूपा श्रेष्ठ बताउँछिन् । 

पुस २७ गते हुने ¥याम्प सोमा २७ जना क्यान्सर रोग लागेर निको भएकाहरूले भाग लिँदैछन् । 

उक्त सोमा ३ वर्षीया बालिकादेखि ९० वर्षका वृद्धाले भाग लिनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप