वैकल्पिक राजनीतिक व्यवस्थाको खोजी
राजनीतिमा पछिल्लो समय मौजुदा राजनीतिक व्यवस्थालाई अर्थहीन किटान गरी वैकल्पिक राजनीतिक धारका नाममा गैरराजनीतिक पृष्ठभूमिका व्यक्तिहरूको जमात नयाँ दलसहित राजनीतिमा प्रवेश गर्नेको लर्को नेपालमा मात्र होइन संसारभर जारी छ । छिमेकी देश भारतमा सन् २०११ मा भ्रष्टाचार विरोधी अन्ना हजारेको नेतृत्वको आन्दोलनबाट निस्किएको एउटा समूहले दिल्लीमा आम आदमी पार्टी गठन गरी छोटो समयमा लोकप्रियता हासिल गर्यो ।
सदनमा प्रतिपक्षीबिना नै सत्तारोहणसम्म गरेपछि नेपालमा समेत यसको बहसले जोड समात्यो । यसले अन्ततः विभिन्न चरणमा वैकल्पिक राजनीतिक दलका रूपमा नयाँ शक्ति खुले । झन् नयाँ शक्ति खुल्दै छन् भने झनझन नयाँ शक्तिरूपी दलहरू खुल्ने प्रक्रियामा छन् । जसमा आजको प्रविधिको युगमा सामाजिक सञ्जाल र इन्टरनेट प्रविधिसँग जोडिएकाको बढ्दो आकर्षण छ भने अर्कोतर्फ वैदेशिक रोजगारीसहित अध्ययनका सिलसिलामा संसारका विभिन्न ठाउँमा पुगेका नेपालीसमेत यसको बहस प्रक्रियामा सहभागी मात्र छैनन् । सम्बन्धित क्षेत्रमा सम्बन्धित दलको एकाइ नै गठन गरिसकेका छन् । यी सम्पूर्ण घटनाक्रमले हरेक दिन तयार हुने नयाँ युवा मतदाताको राजनीतिप्रति अझ वैकल्पिक राजनीतिक धारप्रतिको बढ्दो आकर्षण दर्साउँछ ।
नेपालको मौजुदा राजनीतिक व्यवस्थाबाट पछिल्लो अढाइ दशकयता देखिएको विभिन्न चरणको राजनीतिक सङ्क्रमणकाल र यसैको कारण कमजोर भएको देशको स्थितिको उपज विदेशिन बाध्य भएका नागरिक हुन् वा भोलिका दिनमा विदेशिन नपरोस् भनी देशभित्रै आफ्नो सुन्दर भविष्यको परिकल्पना गरेर हुर्कंदै गरेको आजको पुस्ता या त फेरि यही व्यवस्थाबाट उपज परिस्थितिलाई आफैले भोगेर जीवनको मध्य र उत्तरार्धमा पुगेर आफ्ना सन्तति अझ आफ्नै जीवनकालमा नेपाललाई समृद्ध देख्न चाहने पुस्ता हुन् सबै अबका दिनमा नयाँ वैकल्पिक राजनीतिको आशमा छन् । तर राजनीतिसँग सबैको विश्वास आर्यघाटको छेउछाउ पुगिसकेको भए पनि फेरि एक पटक नेपाली जनता नयाँ बिहानीसँगै नयाँ आशाका साथ स्थानीयतहको निर्वाचन सम्पन्न गरी आसन्न प्रदेश र सङ्घीय निर्वाचनको तयारीमा लागेका छन् । जनताले बदलाव चाहेका छन् । प्रत्येक पटक नयाँ आशासहित उब्जेको दललाई विश्वास पनि गरेका छन् ।
जसको पुष्टि विभिन्न निर्वाचनमा जनताले दललाई दिएको जनमतबाट पुष्टि हुन्छ । यसको पछिल्लो उदाहरण स्थानीयतहको निर्वाचनमा विकल्पका रूपमा उदाएका भनिएका दुई दलले काठमाडौँ उपत्यकाका दुई महानगरमा भएको निर्वाचनमा दिएको उम्मेदवारी र त्यसमा उनीहरूले पाएको मत पनि हो । तर जनताका समुन्ने नयाँ वाचासहित पुगेका दल सत्तारोहणसँगै जनताका सामुन्ने पसकेको बदलावको बाचालाई आर्यघाटमा दहासंस्कार गरी आफ्नै सीमित स्वार्थका लागि लागिपर्छन् । यसबाट सत्ताको नजिक रहेका सीमित रत्तिभरका व्यक्तिमा धेरै बदलाव भए पनि व्यवस्था बदलिँदासमेत नबदलिएको व्यवस्थापनसँगै तल्लो अवस्थामा रहेको जनताको अवस्था दिनानुदिन जर्जर बन्दैछ ।
नेटवर्कको घन र द्वन्द्वको गतिजस्तै तीव्र गतिमा अगाडि बढिरहेको संसारको आर्थिक र भौतिक विकासलाई खाडी, पूर्वी एसिया, युरोप अमेरिका जस्ता संसारका विभिन्न देशमा विभिन्न सिलसिलामा प्रत्यक्ष रूपमै पुगेर त्यहाँ देखेको विकास होस् या दशक अघिसम्म कतै तुलना नै नहुने हाम्रै छिमेकी देश भारतका सीमावर्ती राज्यको समृद्ध विकाससँगै आर्थिक रूपमा संसारका महाशक्तिका रूपमा तयार हुँदै गएका छिमेकी भारत र चीनको विकास होस् । यी सबैले प्राकृतिक रूपमा सम्पूर्णताले भरिपूर्ण नेपालका व्यवस्था परिवर्तनका लागि ३ पुस्तासम्मले निरन्तर लडिरहेको राजनीतिक लडाइँलाई गिज्याइरहेको छ । अझ अर्को दुर्भाग्य त के भने दशक अघिसम्म द्वन्द्वबाट अति प्रभावित कतिपय अफ्रिकी मुलुकमा नेपाली रोजगारीका लागि पुग्नेसम्मको अवस्था राजनीतिक कारणबाटै उब्जनु त्यस्तै हरेक क्षेत्रमा राज्यका हरेक निकायमा बढ्दै गएको चरम राजनीतिक हस्तक्षेपले वर्तमान राजनीतिक व्यवस्थालाई चुनौती दिइरहेको छ र वैकल्पिक राजनीतिक धारलाई उर्वर जमिन तयार पारिरहेको छ । धरातलीय अवस्था यो रहे पनि यसलाई सबैले अन्तर्मनले मनन गर्नु र हाम्रो जस्तो समाजबाट शासकीय स्वरूप त्यस्तै निर्वाचन प्रणाली मार्फत यसलाई बदल्ने गरी शासनसत्ताको नेतृत्व तहमा पुग्ने नयाँ जनमत निर्माण गर्नु पक्कै पनि चुनौतीपूर्ण छ ।
मुलुकमा वर्तमान समयमा खाँचो असल राजनीतिक संस्कारको हो जुन मौजुदा राजनीतिक व्यवस्थामा नदेखिएरै वैकल्पिक राजनीतिक व्यवस्थाको परिकल्पना गरिएको हो । तर त्यसमा पनि यही समाजबाट जाने समुदायमा कतिपयमा त नाम मात्र नयाँ भन्ने गरे पनि ‘नयाँ पन’ नयाँ कतै टाढा टाढासम्म देखिँदैन । कतै नयाँ रूपमा गएका पनि त्यसैभित्र सबै मिसिएर दुर्गन्ध भइहाल्ने सुरुमै त कतै सत्ताले दुर्गन्ध बनाएको उदाहरण हाम्रै सामुन्ने छ । संसारका इतिहासमा समेत पनि के भनिन्छ भने राष्ट्रलाई अधिकार प्राप्ति र आर्थिक सम्पन्नता दिलाउन कुनै एक पुस्ताले सङ्घर्ष, त्याग र मूल्य चुकाउनै पर्छ र आउने पुस्तालाई त्यसको प्रतिफल प्राप्त हुन्छ । तर दुर्भाग्य नेपालले यही प्रक्रियामा तीन पुस्ताले सङ्घर्ष गर्दा पनि केही हुन सकेन झनझन जर्जर भयो । अब अन्तिम पटक देशलाई यो पुस्ताले मूल्य चुकाउनु पर्नेछ । त्यो देह त्यागको होइन त्यो त आफूभित्रको सीमित स्वार्थ, लोभ र मोहको त्यागको समय आइसकेको हो । यसलाई त्यागेर यो पुस्ताले केही गर्न नसके नेपालको इतिहासमा यही पुस्ता सबैभन्दा बदनाम हुनेछ र धिक्कार्नेछ इतिहासले । वैकल्पिक राजनीतिक व्यवस्थालाई जन्माउन जमिन तयार भए पनि त्यसलाई हुर्काउन र शक्तिसम्पन्न बनाउन अझै निकै चुनौतीपूर्ण छ । त्यसका केही जटिलता समेतलाई हेरौँ ।
राजनीतिक संस्कार बदल्नु र नयाँ स्थापित गर्नु आफैमा एउटा युग फेरेजस्तै हो । तर संसारमा असम्भव भन्ने केही पनि हुँदैन । नेपालको परिवेशमा प्रतिकूल राजनीतिक अवस्था र विकृत राजनीतिक संस्कारका बीच पनि केही सकारात्मक परिवर्तन पक्कै भए । यसका माध्यमबाट त्यसैको जगमा उभिएर अब अन्य स्थपित गर्न नेपाल र नेपालीलाई धेरै सहज छ । व्यवहारमा लागू नभए पनि कागजी रूपमा व्यवस्था परिवर्तनले नेपालमा स्थायित्व पाएको छ । सबैले समान लोकतान्त्रिक अधिकार प्राप्त गरेका छन् । त्यस्तै आजका दिनमा विकासको मापनमा सबैभन्दा महत्वपूर्ण मानिने मानव विकास सूचकाङ्कका आधारमा नेपालको विकास अन्य धेरै मुलुकभन्दा धेरैमाथि छ । यसलाई कतिपय मुलुकले आर्थिक र भौतिक विकासका बाबजुद पनि शताब्दीसम्म गर्न नसक्ने विकास हामीले गरेका छौं । त्यस्तै सकारात्मक पहलमा नेपाली जनताको सहयोगी कदम सबभन्दा महत्वपूर्ण पक्ष हो । यी सबका बाबजुद पनि लोकतान्त्रिक प्रक्रियाबाट ‘बुलेट मार्फत नभई ब्यालेट मार्फत’ वैकल्पिक राजनीतिक व्यवस्था स्थापित गरेर सत्तारोहणसम्मको यात्रा तय गर्न निकै चुनौतीपूर्ण भने छ । जनमत बटुल्न निकै चुनौतीपूर्ण छ । किनभने बाहिर आजको दिनमा सामाजिक सञ्जाल, सञ्चारमाध्यम वा बौद्धिक वर्गमा वैकल्पिकको जति जोडले बहस भए पनि यसले लोकप्रियता हासिल गरे पनि तल्लो तह मतदान केन्द्रबाट यसको पक्षमा जनमत आउन त्यति सजिलो छैन ।
विकल्पका नाममा विगतमा खुलेका केही दलको बाहिरी लोकप्रियता र जनमतको वास्तविकताको भारी अन्तर देख्दा आज पनि यसमा जटिलताको ठूलो पहाड देखिन्छ । आजका दिनमा पनि जनतामा हामी पहिल्यैदेखिको काङ्ग्रेस, एमाले, माओवादी नै हुनै पर्छ भन्ने धारणा व्यप्त छ । त्यस्तै राजनीतिमा परिवर्तन चाहने ठूलो पुस्ता विदेशमा छ । जहाँबाट आफ्नो मतको प्रयोग गरी विकल्प दिन असमर्थ छ । फेरि महँगो चुनावी प्रणाली र शासनसत्ताको दुरूपयोगको छनक त्यसमा देखिने भएकाले त्यसमा जटिलता पक्कै देखिन्छ ।
आज पनि संसारभर राजनीतिमा एउटा स्थापित मान्यता नै के बनिसकेको छ भने राजनीतिक पृष्ठभूमिबाट तल्लो राजनीतिक कार्यकर्ता साङ्गठनिक ढाँचाबाट राजनीतिक प्रशिक्षण हुँदै आउनेले मात्र राजनीति गर्न सक्छ । अन्य पृष्ठभूमिबाट आउनेले गर्नै सक्दैनन् भन्ने मान्यता कायम छ । यसलाई केहीले चिर्ने कोसिस गरेरै सफलता हासिलसमेत गरे भने कोही असफल हुँदा गैरराजनीतिक पृष्ठभूमिलाई नै असफलताको जबर्जस्त बिल्ला भिराइयो । ईयूबाट बेलायतको बहिर्गमन र अमेरिकामा डोनल्ड ट्रम्पको उदयलाई आज पनि त्यही स्थापित मान्यता बोक्ने संसारको ठूलो समुदाय लोकतान्त्रिक प्रक्रियाबाट जनताको जनमतका रूपमा स्वीकार्न तयार छैन । बरु त्यसलाई झुटको युगको प्रारम्भका रूपमा पोस्ट ट्रुथका रूपमा व्याख्या गर्दैछ । तर ती दुवै ऐतिहासिक परिवर्तनलाई अब व्यबहारमा नतिजाले सिद्ध गरी संसारलाई जवाफ दिनुपर्ने हुन्छ । सिद्ध गर्न सके मात्र सबै आरोप खारेज गर्नेछन् । भर्खरै फ्रान्समा सम्पन्न निर्वाचनमा समेत करिब २ शताब्दीयता राजनीतिमा वर्चस्व स्थापित गरेका दुई दललाई पाखा लगाउँदै वर्षदिन मात्र पुरानो नयाँ दलले राष्ट्रपतीय निर्वाचनसँगै संसदीय निर्वाचनमार्फत समेत स्पष्ट बहुमतका साथ ३९ वर्षे युवा इमान्युल म्याक्रोन उदाय ।
यसैमा केही उदाहरण हेरौँ, राजनीतिमा गैरराजनीतिक पृष्ठभूमिको आगमनलाई कसरी मूल्याङ्कन गरिए भन्ने । दिल्लीमा आम आदमी पार्टीले कस्मिरबारे दृष्टिकोण दिँदा राजनीतिमा अनाडी औँल्याइयो । दिल्लीमा पहिलो विधानसभामा बहुमत हासिल नगरे पनि राम्रो मत लिई सरकार बनाउँदा सफलता मानियो । लोकसभा निर्वाचनमा देशभरबाट ४ सिट ल्याउँदा राजनीति सकिएको आँकलन गरियो । तर दिल्ली विधानसभामा कुल ७० मध्ये ६७ सिट ल्याउँदा पुनः उनको सफलता देखियो । भारतमा मनमोहन सिंह सन् २००४ मा प्रधानमन्त्री भए । टेक्नोक्र्याट र ब्युरोक््रयाटबाट राजनीति प्रवेश गर्दै प्रधानमन्त्री बनेका उनलाई त्यही आरोप थियो । तर पहिलो ५ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरी दोस्रो पटक सन् २००९ मा आफ्नै अनुहारमा ‘सिङ इज किङ’ को नारामा चुनाव जित्दा सफलता आँकलन गरियो तर दोस्रो कार्यकालको प्रारम्भदेखि नै जसरी भ्रष्टाचार र महँगीबारे उनको सरकार जनताको नजरमा असफलतातर्फ उन्मुख भयो त्यस्तै उनको गैरराजनीतिक पृष्ठभूमि नै असफलताको प्रमुख कारक तय गरियो र माग भयो पूर्णकालीन राजनीतिज्ञ प्रधानमन्त्री, जसमा जनताले मोदीलाई पाए ।
अमेरिकी राष्ट्रपति संसारभरको शक्तिको केन्द्र हो । कतै पनि असुरक्षा वा अशान्ति भए शान्ति कायम गर्नमा वा युद्ध रोक्न सबैको नजर अमेरिकी राष्ट्रपतिमा अड्छ । त्यसो त अमेरिकी हस्तक्षेप पनि हुन्छ नै । अमेरिकी इतिहासमा दोस्रो विश्वयुद्ध पछिको करिब ५० वर्षे अवधिमा सन् १९९३ मा पहिलो पटक बिल क्लिन्टन अमेरिकी सैन्य पोसाक नपहिरेको र सैन्य स्कुलिङ नभएको व्यक्ति राष्ट्रपतिमा आए । सेनाले सेलुट गर्दासमेत त्यसको प्रतिक्रिया दिन सकेनन् ।
यिनले विश्व शान्ति कसरी स्थापना गर्लान् अत्यन्तै कमजोर छन् भन्ने आँकलन गरियो । सन् ९४ मा सोमालियाको गृहयुद्धमा अमेरिकी सेना पठाउँदा १८ को मृत्यु र धेरै घाइते भएपछि उनको खुबै आलोचना भयो । रुवाण्डाको गृहयुद्धमा समेत त्यत्रो परिणामको नरसंहारबाट जोगाउन सकेनन् भनी उनको विदेश नीति र विश्व शान्ति व्यवस्थापनमा उनी पूर्ण विफल भएको आँकलन गरियो । संसारभरबाट समेत इतिहासकै कमजोर राष्ट्रपति चित्रण भए । जब सन् ९५ मा युरोपलो बोस्नियामा चलिरहेको गृहयुद्धमा उनले सैन्य आक्रमण गरे र त्यसबाट शान्ति स्थापना भयो । त्यसपछि अमेरिकासहित संसारभर उनको विदेश नीति र विश्व शान्ति स्थापनामा उनको पहलको चर्चा गरियो ।
अमेरिकी इतिहासमा पहिलो पटक गैरसैन्य पृष्ठभूमिको राष्ट्रपतिको विदेश नीति नयाँ रूपमा ‘क्लिन्टन डक्ट्रिन’का रूपमा संसारभर सफलताको नयाँ उचाइमा राखियो । समग्रमा जित्नेले इतिहास रच्छ र माथिका यी उदाहरणले पृष्ठभूमिले त्यसको मापन नगरी त्यो आरोपलाई इन्कार गर्छ । असम्भवलाई सम्भव तुल्याउन दृढ आत्मविश्वास र इच्छाशक्ति भए सबै सम्भव हुन्छ । त्यसैले राजनीतिक संस्कारमा नयाँबाट वा पुरानैबाट समेत परिवर्तनको खाँचो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेवान्डोस्की चम्किएपछि घरेलु मैदानको फाइदा उठायो बार्सिलोनाले
-
च्याम्पियन्स लिगमा एटलेटिको मड्रिडको गोल वर्षा
-
गाउँ रित्तिने चिन्ताले झन् केश पाक्दै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म