सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

भोके भन्छन् जय जय पद, सुरक्षाको छत ?

आइतबार, ०८ पुस २०७५, १० : १७
आइतबार, ०८ पुस २०७५

व्याकरणिक आँखामा ‘पद’ भन्नाले वाक्यमा व्यवहार गर्नलायक वा व्यवहार गरिएका शब्दको कोटि भनेर बुझिन्छ । त्यसै गरी गोडा वा पाउ, श्लोकहरूका लहर । अनि योग्यता  काम र महत्त्वका आधारमा निश्चित गरिएको दर्जा, पदवी, उपाधि भन्ने पनि जनाउँछ । यसको अर्को अर्थ ठाउँ पनि हो । धार्मिक आसयमा दान गरिने छाता, जुत्ता लठ्ठी, औँठी, कमण्डलु, पकाउने भाँडा, तामाका भाँडा, जनै, द्रव्य, पकाएको खाने कुरो, काँचो अन्न, आसन र वस्त्र गरी जम्मा तेह्रथरी वस्तुको समूह पनि पद हो । यो दुई अक्षरको बुइ चढेर खुई खुई गर्ने कति चीज रहेछन् त बा ! त्यसैले त शब्द कोटिझैँ लायक बन्न, गोडा बनेर पदरूपी शरीर थाम्न, उपाधि र दर्जामा रङ्गीन, पददानजस्तै पवित्र र मानित हुन  कागहरू कोइली बन्न, गिद्दहरू जटायुमा सम्बोधन हुन  बहाना गर्छन् । पद तथा पैसा पाइन्छ भने जुनसुकै राजनीतिकवाद, धर्म र संस्कृति अपनाउन तयार हुने मौकबाज चरित्रले चरम दरिद्र मानसिकताको उजागर गरिरहेको छ ।  

त्यसैले त हामीलाई भाषाका गुरुहरूले ‘पदवर्ग अर्थात् पार्ट अफ स्पिच’ सानै हुँदामा नै पानी पारेर घोकाएका रहेछन् । जतिजति उमेर छिप्पिँदै र फुल्दै जान्छ मान्छेको जातलाई यो पदको भोक उति उति चर्कंदो रहेछ । पदीय कदमा सुशोभित हुने लत परेका हौँराहरूलाई त पद भनेको सुरक्षाको छद, अरूको अगाडि धाक रबाफ देखाउने आडम्बरको गद्गद र ढुकुटी रित्याउने फतफत रहेछ । टाठाबाठा, सामन्त, बुर्जुवा र ठालुहरूका लागि पद मागी खाने भाँडो तथा कानुन नियम, नैतिकता, सदाचार, विवेक घोच्न सक्ने गजबको काँडो रहेछ । त्यसैले त पदधारीहरू समाज र देशको घाँडो, नकच्चरो राँडो, हदैसम्मको गाँडो भएर हरेक व्यवस्थामा काउसो भएका रहेछन् । 

यतिखेर देश सङ्घीयतामा गएपछि त पद आकाशबाट असिना परेसरह छ । त्यति हुँदा पनि भाग नपुगेर दलमा बसेका हन्तकालेहरू गाँड कोरकोर गरी मिटिङ, बैठक, अन्तक्र्रिया र भेलामा नानाथरी खेला देखाएर निर्वस्त्र बनिरहेका छन् । पदका भोका, यी लुतोका फोका र भदौरे बोकाले भएभरका पदीय पोका पुन्तुरा बोक्न जसलाई जुनै बेला धोका दिन सक्ने कृतघ्नता जाहेर गर्ने अजीव क्षमता देखाउँदै आएका छन् । यस्ता लोभानी पापानीमा लतपतिएकाबाट देशको समृद्धि र विकासको कुरा त किस्सा बन्ने निश्चित छ । घोचघाच, छेडछाड, घुर्की, धम्की, चेतावनी, बहिष्कार, गठजोड र समझदारी कस्तो उखान वा मुहाबरामा फलाक्न पर्छ सब कण्ठाग्र छ बा यी चङ्खनारनका हुललाई । 

आम जनता जनार्दन (देवता)लाई रैती, प्रजा, कमैया, हली, भृत्यवर्ग ठम्याउने पदसङ्ग्रामका हुल्याहा भनौँ वा मुल्याहा, राहु केतु सधैँ पदीय भागबण्डामै रडाको मच्चाएर देश विकास मजैले थच्च्याइरहेका छन् ।

आम जनता जनार्दन (देवता)लाई रैती, प्रजा, कमैया, हली, भृत्यवर्ग ठम्याउने पदसङ्ग्रामका हुल्याहा भनौँ वा मुल्याहा, राहु केतु सधैँ पदीय भागबण्डामै रडाको मच्चाएर देश विकास मजैले थच्च्याइरहेका छन् । पदीय सिनोमा गिद्ध भएर  नित्य फाल हाल्ने, आपूm पदमा सुशोभित हुन नपाए दलपरिवारै बाल्ने यिनीहरूको भस्मासुरे बानी ससाना नानीलाई समेत कण्ठाग्र छ ।  राष्ट्रको प्राकृतिक स्रोत कौडीको भाउमा फाल्ने, तक्षक हुन्  भनेर बोध हुँदा हुँदै नि तिनैलाई दूध पिलाउने हाम्रो उपकार  धिक्कार छ ! हाम्रो नियति दुत्कार छ !  यी पद लुब्धकहरू पञ्चतन्त्रको सुनको बाला दान गर्न कसिने बूढो बाघ र धोबीको रङ्गमा सिँगारिन पुगेको छट्टू स्यालका मिथकीय कुपात्र हुन् । आज हरेक पदभक्तहरू दललाई आफ्नो महत्त्वाकाङ्क्षाको तलतल मेटाउने मञ्च बनाइरहेका छन् । सालासाली, भतिजाभतिजी, प्रेमिका, सबैपटिका सात पुस्तालाई कुवेर बनाइदिन धर्म, कर्म, मर्म शर्म, चर्म, सबै फेर्न र जस्तोसुकै फेटा कस्न तयार छन् पदमा आसक्त माखाहरू । त्यसैले त यी सिङ्गापुर बनाउने हौवा पिटेर झिँगापुरमा सेलाउँदै छन् देशलाई । रेल कुदाउने सपना बाँडेर झेलको सेल पकाइरहेका छन् । घरघरमा ग्याँस बाँड्ने कुरा टिकिट्याँस हुँदा पनि जनतालाई भ्mयाँस ठानेर पदीय अहङ्कारमा माघे सङ्क्रान्तिको साँढेझैँ पदीय जुरो हल्लाएर हुक्काँ र पूmँ–पूmँ चारै पद वा पाउ टेकेर कुर्लिरहेका छन् बा ? जमिनको धुलो उँडाएर ।  

पदको आसनमा आसीन हुन पाएछि सबैले हजुरको सम्बोधनमा गजुर लगाइदिहाल्छन् । बक्स्योस्को छाना हालेर ज्युनारको चास्नीमा डुब्न पाउने सोखमा यिनले जार, लुई, किमइलसुङ र जङ्गबहादुरलाई पनि भङ्ग पारिसके बा ! पद नै प्रतिष्ठा, पैसा, परी, प्रेमी, परिवार, प्रशस्ती, पराक्रम, प्रखरता, प्रबलता, प्रभाव, प्रकाश, प्रशन्नता, उत्पादन गर्ने साधन रहेछ भन्ने कोरा चिन्तनको नसा पिएर देश र जनतामा दशा थपिरहेछन्  । यही दिव्य ज्ञान पाएकैले सुरक्षाको छद, बलियो कद, र सधैँ गद्गद बनिरहन पद प्राप्तिको लडाइँ जारी छ । त्यसैले त भोकलाग्ने भोकेहरू मन वचन र कर्मैले  भन्छन्,  जय जय पद, सुरक्षाको छत, जय पैसा, जय सत्ता  !!       

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बद्रीप्रसाद दाहाल
बद्रीप्रसाद दाहाल
लेखकबाट थप