सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

बेसाहारालाई यसरी प्रवेश गराईयो बुटवलको मानवसेवा आश्रममा

शनिबार, ०७ पुस २०७५, २१ : १०
शनिबार, ०७ पुस २०७५

बुटवल । बुटवलको बजार शनिबार बिहान र साँझपख सडकका हिँडिरेका मनोरोगी, सडक जीवन बिताएका व्यक्तिहरुलाई एक हुल सफा अनि भद्र देखिने व्यक्तिहरुले समाए । अनि मायालु पाराले विभिन्न प्रश्नहरु सोधे । राम्रो कपडा लगाइदिए । र गाडीमा हालेर हिँडे । त्यो देख्दा धेरैलाई अनौठो लाग्यो । यस्तो किन गरेको कस्ले गरेको ? यस्ता सडकछापहरु किन लगेका होला ?

बुटवल–८, सुक्खानगरमा रहेको आश्रममा शनिबार बुटवल आसपासका विभिन्न स्थानमा सडकमा बस्दै आएका व्यक्तिलाई आश्रम आश्रय दिनको लागि सडकबाट फकाएर समाइएको थियो । बिहान साँझ गरेर  ८ जनालाई संरक्षणको लागि ल्याइएको छ । ५ जना महिला र ३ जना पुरुष रहेका छन् । धेरैजसो मनोरोगी, शारिरका रुपमा असक्त पनि छन् जो सडकमा जीवन बिताएका छन् ।

उनीहरुलाई बिहान बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजीप्रसाद अधिकारीलगायतले संयुक्त रुपमा आश्रममा प्रवेश गराएका छन् । यस्तै साँझ आश्रममा प्रदेशका समाजिक विकासमन्त्री सुर्दशन बराल, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ लगायतको सभागिता रहेको थियो ।

नगरप्रमुख सुवेदीले मानवताको सहरको रुपमा परिकल्पना गरेअनुसार यो अभियानलाई अघि बढाइने बताए ।  आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मानव कल्याण नै सबैभन्दा ठूलो धर्म भएकाले यस्तो प्रकृतिको अभियानको थालनी गरिएको जानकारी दिए ।

घरपरिवार तथा समाजबाटै बहिष्कार भई खुला आकाशमूनी रात विताउन विवश व्यक्तिहरुलाई आश्रममा गृहप्रवेश गराउने निति रहेको आश्रमका महासचिव तथा ५ नं. प्रदेश संयोजक सुशीला केसीले जानकारी दिइन् । 

बुटवलको गोलपार्कमा विगत ४÷५ बर्षदेखि बेवारिसे भई कष्टपूर्ण जीवनयापन गरिरहेकी अन्दाजी ४२ बर्षीय मनोरोगी महिला र लामो समयदेखि बुटवल बसपार्क क्षेत्रमा दुवै खुट्टा घाउले विग्रिएर वेवारिसे बनेका अन्दाजी ३५ बर्षीय अपाङ्गयुवालाई मेयर सुवेदीले आश्रममा गृहप्रवेश गराएका हुन् । 

यस्तै बुटवलका थप ५ जनाको उद्दार भएको थियो । बुटवल अन्य ठाउँमा  पनि खोजी गर्ने कार्य जारी छ ।

संस्थाले के गर्छ ?


मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले २०८२ भित्रै नेपाल देशलाई नै कोहि पनि मानिस भोकै र नाङ्गै सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्ननपर्ने राष्ट्रको रुपमा निर्माण प्रतिबद्वता जनाए । 

हाल मानवसेवा आश्रम ६ प्रदेशमा ११ जिल्लामा १४ स्थानमा सञ्चालित छ । यसै बर्षभित्र सात ओटै प्रदेशमा आश्रमको सेवासञ्जाल विस्तार गरी आश्रमले धमाधम घरबारविहिन, वेसाहारारहित क्षेत्र घोषणाका कार्यक्रमलाई तिब्र बनाउने उद्देश्य रहेको अध्यक्ष अधिकारीले बताए । 

मकवानपुर जिल्लालाई माघको दोस्रो हस्ता सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा गर्ने तयारी मानवसेवा आश्रमले गरिरहेको छ ।

बुटवल उपहानरपालिकाको ‘मानवताको सहर बुटवल उपमहानगर’लाई मानवसेवा आश्रमले साथ दिएको छ । नेपालका विभिन्न स्थानमा शाखा सञ्चालन गरी घरवारविहीन भएर सडकमा आएका व्यक्तिको उद्दार गरी आश्रममा व्यवस्थापन गर्दै आएको मानव सेवा आश्रमले बुटवलमा शाखा विस्तार गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप