केन्द्रीय संस्करण
संस्कृति

प्रकृतिलाई धन्यवाद दिँदै यसरी मनाइन्छ मंसिरे पूर्णिमा (उँधौली)

person explore access_timeपुस ७, २०७५ chat_bubble_outline0

चोलिया सिउनु कुमकुमको 
भेट भयो आज थुमथुमको 

यतिबेला किराती समुदायको सघन बसोबास रहेको नेपालका पूर्वी जिल्लामात्रै होइन, हङकङ, बेलायत, ब्रुनाई, अमेरिका, जापान, दुबई, कतार, साउदी अरब, मलेसिया र भारतको सिक्किम, दार्जिलिङसहित काठमाडौं, ललितपुर र भक्तपुरमा समेत मंसिरे पूर्णिमा (उँधौली) धुमधामसाथ मनाइँदै छ । 

लगाइएको बाली भित्र्याएपछि प्रकृतिलाई धन्यवाद दिँदै उत्पादित अन्न मंसिरे पूर्णिमा अर्थात् आजकै दिन पुर्खालाई चढाएपछि मात्रै किरातीले प्रयोगमा ल्याउँछन् । प्रकृतिपुजक किरातीले सालिन्दा वैशाखे पूर्णिमा (उँभौली) र मंसिरे पूर्णिमा (उँधौली) धुमधामसँग मनाउँछन् । अन्न दिने प्रकृतिको पूजा र जीवन दिने पूर्वजको सम्झना गर्दै मनाइने उँधौली कतै १५ दिन त कतै महिना दिनसम्म मनाउने गरिन्छ ।

किरात समुदायको सघन बसोबास रहेको ओल्लोकिरात, माझकिरात र पल्लोकिरात यतिबेला उँधौलीमय बनेको छ ।

हिँड्न सक्नेदेखि उभिनसक्नेसम्मका सबैले साकेला नाच्ने गर्छन् । किरात भेषभूषा र गरगहना लगाएर किरातको मौलिक बाजा ढोल र झ्याम्टा बजाउँदै सिली टिपिन्छ । हात, खुट्टाको सहायताले अभिनय गर्दै देखाइने कलालाई सिली भनिन्छ । सिली टिप्ने अग्रणी भूमिका निर्वाह गर्ने पुरुष र महिलालाई क्रमशः सिलिमाङ्पा र सिलिमाङ्मा भन्ने गरिन्छ । सिलिमाङ्पा र सिलिमाङ्माले गरेको अभिनय अन्यले आत्मसात् गर्छन् ।

किरात समुदायको सम्पूर्ण अवयव सिलीमै प्रस्तुत गरिन्छ । किसानले बाली लगाउँदा, भित्र्याउँदा मात्रै होइन, कपास रोप्ने, टिप्ने, धागो कात्ने, चर्खा चलाउने, पिउरी पार्ने, धान रोपेको, गोडेको, काटेको, झाँटेको, कुटेको, पिसेको अनि पकाएको, खाएको, जाँतो पिँधेको, तान बुनेकोलगायत विभिन्न जीवजन्तुको हाउभाउसमेत साकेला सिलीमा प्रस्तुत गरिन्छ । 

एकताका किरात समुदायबाहेक अन्य जातिले साकेला नाच्न पाउँदैनथे । समय परिवर्तन भएको छ । हिजोआज गैरकिरातीले समेत उँधौलीमा साकेला नाचेर आनन्द लिन्छन् । ‘म माझकिरातमै जन्में, हुर्कें । बस्दा, उठ्दा र सुत्दासमेत राई समुदायको संस्कार, संस्कृतिस“ग नजिक रहन पाएँ,’ संस्कृतिकर्मी सन्जोग लाफामगर भन्छन्, ‘तसर्थ, सालिन्दा उँभौली, उँधौलीमा भेला भएर साकेलामा सहभागी हुन्छु । ढोल–झ्याम्टा बजेको सुन्नसाथ साकेला नाचिरहेको ठाउँ पुगिहालौं लाग्छ । यो चाडले मलाई जातीय अपनत्व बोध गराउँछ ।’ 

नेपाली संस्कृतिबारे अध्ययन गर्न विदेशबाट आएका विद्यार्थीसमेत साकेला नाच्न पछि पर्दैनन् । किरात समुदायको सघन बसोबास रहेको बस्तीमा अन्य जातिको बसोबास रहेको छ भने प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उनीहरूले पनि यो चाड मनाइरहेका हुन्छन् । 

किरात राई यायोक्खा पूर्वकेन्द्रीय अध्यक्ष चतुरभक्त राईले भने, ‘कतिपय गाउँठाउँमा हिजोआजसमेत गैरकिरातीले घरैपिच्छे एक माना, दुई माना अन्न उठाएर हामीलाई दिने गर्छन् । जाँड पकाउँदा उनीहरूले खुसीसाथ दिएको अन्न पनि मिसाइन्छ । उँभौली, उँधौलीमा त्यही जाँड प्रयोगमा ल्याउँछौं । उनीहरूले खुसीसाथ हामीलाई अन्न दिनु भनेको  प्रकृति पूजालाई हार्दिकतापूर्वक स्वीकारेका हुन् ।’ 

प्रकृतिलाई अनुपम शक्तिका रूपमा लिँदै मनाइने उँधौली एक–अर्कामा सद्भाव बाँड्ने चाड पनि हो । मल्लकालका एक राजाले यो चाड मनाउन प्रतिबन्ध लगाएका थिए । किरातीले त्यतिबेला पनि आफ्नै तरिकाले संस्कृति संरक्षण गरेका थिए । संवत् २०४७ बाट भव्य र सभ्य तरिकाले वैशाखे पूर्णिमा (उँभौली) र मंसिरे पूर्णिमा (उँधौली) मनाउन थालिएको हो । यही चाडले उनीहरूलाई सालिन्दा दुईपटक एकठाउँमा जम्मा गराउँछ । त्यही अवसरमा उनीहरू शुभकामना आदान–प्रदान गर्छन् । दुःख–सुखमात्रै होइन, आत्मीयता साटासाट गर्छन् । विभिन्न शीर्षकमा परदेशिएकाहरू यही अवसरमा घर फर्कन्छन् । छोरीचेलीहरू कहिले साकेला आउला र माइती जाउँला भनेर औंला भाँचिरहेका हुन्छन् ।

मानवजशास्त्री डा. डम्बर चेम्जोङको बुझाइ छ, ‘दर्शक भएर हेर्दा साकेलामा उनीहरू नाचेको देख्छौं । नाच्दा जीनवका सम्पूर्ण अवयवसहितको अभिनय गरेको देखिन्छ । त्यो सम्पूर्ण प्रक्रियाभित्र साकेला मनाउने समुदायको नातापद्धति क्रियाशील भएर आएको हुन्छ । जुन हेर्दै लोभलाग्दो देखिन्छ ।’

राजनीतिबाट कोही पनि अछुतो रहन सक्दैनन् । त्यसो भएकाले किरात समुदायको संस्कार, संस्कृति पनि राजनीतिबाट टाढा रहन सक्दैन । पूर्वसंस्कृति तथा राज्य पुनःसंरचनामन्त्री गोपाल किरातीको भनाइ छ, ‘जातीय संस्कार, संस्कृति आफैंमा राजनीति भए पनि साकेला पूर्ण राजनीति होइन । किनकि कम्युनिस्ट, काँग्रेसलगायत अन्य दलविशेषको छुट्टाछुट्टै समूह बनाएर साकेला नाचिँदैन ।’ साकेलाले एउटा राजनीतिक अर्थबोध गराउँछ । 

‘साकेलामा सबै किराती एकठाउँमा जम्मा हुनु पनि त राजनीति नै हो । साकेलालाई दलविशेषले गर्ने राजनीतिका रूपमा पनि हेर्न नसकिनेचाहि“ होइन,’ मानवशास्त्री डा. चेम्जोङ थप्छन्, ‘तर, केचाहि“ होइन भने साकेलाको माध्यमबाट यो चाड मनाउनेले एउटै दलविशेषलाई भोट दिऊँ भन्न खोजेको छैन ।’ त्यही भएर विभिन्न राजनीतिक विचारधारासँग नजिक रहेका सबै किरातीले आजसम्म एकैठाउँमा जम्मा भएर यो चाड मनाउँदै आएका हुन् । 

कृषि युगमा सुरु भएपछि यो चाड मनाउन थालिएको हो भन्नेमा धेरैको एकमत छ । सांस्कृतिक चाडबाडमा, कार्यक्रम र गविविधिमा किरात समुदायका ‘योङ जेनेरेसन’ को उपस्थिति लोभलाग्दो देखिन्छ । पहिचानविनाको मानिस नागरिकता नभएको नागरिकजस्तै हुन् । किरात समुदायले पहिचानलाई सबैभन्दा अमूल्य सम्पत्ति ठान्छन् । त्यसैले यतिबेला उनीहरूले प्रयोग गर्ने मोबाइलको रिङटोनमा समेत सांस्कृतिक जागरणका साकेला गीत सुन्न पाइन्छ । कतिपयले फेसबुकमा ‘आई लभ यु साकेला’ समूह बनाएर किरात एकताको सन्देश प्रवाह गरिहेका हुन्छन् । 

१२ लाख किरातीले मनाउँदै आएको यो चाडले ०५८ सालबाट ‘किराती चाड’ का रूपमा मान्यता पाएको थियो । सरकारले ०६४ देखि भने वैशाखे पूर्णिमा र मंसिरे पूर्णिमामा सार्वजनिक बिदा दिन थालेको थियो । तर, गत वर्षदेखि सम्बन्धित समुदायलाई मात्रै बिदा थालिएपछि किरात समुदायको मन कुँडिएको छ । तैपनि, तलको गीत गाउँदै किरात समुदायले भव्यतासाथ मंसिरे पूर्णिमा मनाइरहेका छन् । 

बसेरी वनको धोद्रे साल
को मर्दाे बा“च्दो आउँदो साल ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.