केन्द्रीय संस्करण
अन्तरवार्ता

कुनै शासकले बन्दुक तेर्स्याएर ल्याउने कुरा होइन वर्णविन्यासमा एकरूपता : डा. बलदेव अधिकारी

person explore access_timeपुस ७, २०७५ chat_bubble_outline0
मोहन दाहाल

रातोपाटी

नेपाली भाषाको वर्णविन्यासमा मानकीकरण गर्ने बहस पहिल्यैदेखि चल्दै आएको हो । यो बहस अझै पनि निरन्तर चलिरहेको छ । अझै पनि विभिन्न प्रकाशन गृहहरुमा सम्पादकले नै निर्देशित गरेर वर्णविन्यासको प्रयोग हुने गरेको छ ।

केही लेखक साहित्यकारहरुले आफूले लेखिआएका शब्दहरुमा परिवर्तन भए त्यसको विरोध गर्ने परम्परा अझै कायम छ । विद्यालयहरुमा पनि वर्णविन्यासको विवाद उस्तै छ । ह्रस्वदीर्घ जे लेखे पनि हुने अवस्था आएको छ । यसैगरी विभिन्न सार्वजनिक सङ्घ संस्थाका नाम, व्यावसायिक संस्थाका नाम, पुराना दस्तावेज आदिमा छुट्टै प्रकारको वर्णविन्यास पाइन्छ । नेपाली शब्दकोश, पत्रपत्रिका, लेखक साहित्यकारका कृतिमा भिन्न भिन्न किसिमको वर्णविन्यास भेटिन्छ ।

यस्तो विविधताले आम लेखक तथा पाठकहरुमा अन्योल सिर्जना गरेको छ । यसै विषयमा केन्द्रित रहेर ‘नेपाली वर्णविन्यासमा संस्कृतको प्रभाव’ शीर्षकमा विद्यावारिधि गरी यस क्षेत्रमा निरन्तर लेखन, बहस र पैरवी गर्दै आएका डा. बलदेव अधिकारी गाउँलेसँग मोहन दाहालले नेपाली वर्णविन्यास विवादको मूल जरो, यसमा देखिएका समस्या र समाधानका उपायबारे गरेको कुराकानी छन् । 

नेपाली वर्णविन्यासका क्षेत्रमा एकरूपता कायम गर्नै सकिएको छैन । भाषाकै क्षेत्रमा काम गर्ने विद्वानहरूबीचमा पनि विभिन्न किसिमको मतभेद कायम नै छ । यो विवादको मूल जरो चाहिँ कहाँबाट सुरु भयो ?
यसको मूल समस्या त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध केही प्राध्यापकहरूले वर्णविन्यासमा हस्तक्षेप गर्न थाले, समस्या त्यही दिनदेखि सुरु भयो । 

भाषाको स्थायित्वका लागि लेख्यपरम्परा आउँछ । जुन दिनसम्म शब्दकोश बनेको हुँदैन, त्यो दिनसम्मका शब्दहरूलाई प्रयोक्ताहरूले जस्तो प्रयोग गरे छुट्टै शब्दकोश बनाएर राख्नुपर्ने हुन्छ । जस्तो, सुरुमा वैदिक शब्दहरूको बेलामा व्याकरण लेखिइसकेको थिएन । वैदिक शब्दहरूलाई निरुक्त र निघण्टुमा समायोजन गरियो । त्यहाँ लगेर सङ्कलन गरियो । पछि अमरकोश आदि अरू अरू मेधिनीकोशलगायत विभिन्न कोशहरू आएपछि ती कोशहरू चाहिँ व्याकरणसङ्गत हुनथाले । 

हाम्रो नेपालमा पनि भानुभक्त आचार्यको पालामा लैजाऊँ भनेर हामीले भन्न खोजेको होइन । हामीले लेखनाथ पौड्यालभन्दा पछाडि १९९७ मा नेपाली भाषाको पहिलो मानक शब्दकोश बन्यो– बगलीकोश । बगलीकोश खोजेर पढ्नुहोला, हेर्नुहोला । बगलीकोश बन्नुभन्दा अघि नेपाली भाषाको वर्णविन्यासको सम्बन्धमा विद्वानहरूको लामो छलफल चलेको छ– हलन्त बहिष्कार र हलन्त स्वीकार । 
हलन्तीकरण र हलन्तबहिष्कारबीचको एउटा ठूलो लडाइँ थियो, बौद्धिक लडाइँ थियो । त्यसको पनि समायोजन भयो– चन्द्रिका व्याकरणपछि । 

त्यसभन्दा पछि पनि धेरै विद्वानहरूले जीवनभर, शताब्दीभन्दा पनि बढी यही वर्णविन्यासका विषयमा चिन्तन गरे । त्यो चिन्तनको परिणामस्वरूप सानो कोश निस्कियो सबभन्दा पहिला– बगलीकोश । बगलीकोशले एउटा निर्देश गर्यो । यस्ता प्रकारका शब्दहरूको वर्णविन्यास यस प्रकारले लैजानुपर्छ भनेर । 

संस्कृतबाट नेपाली भाषा बनेको छ । नेपालको राष्ट्रभाषा हो– संस्कृत । मल्लकालसम्मका अभिलेखहरू भन्नुहोस्, संस्कृतमै छ । लिच्छविकालको राष्ट्रभाषा संस्कृतमै छ । आज पनि मोठ पढ्नुस् न– असतोमय सद्गमय । त्यो मात्र होइन, गोरखापत्र संस्थानमा आज पनि गोरखापत्रको अगाडि पृष्ठमा ‘सर्वेभवन्तु सुखिनः, सर्वे सन्तु निरामयः, सर्वेभद्राणी पश्यन्तु, मा कश्चित दुःख भाग्जन’ । किन आइराखेको छ । हाम्रो संस्कृति हो त्यो । 

काठमाडौँ र ललीतपुरका नेवारहरूको थर गएर हेर्नुहोस्, तुला धारण गर्ने तुलाधार, व्यापार गर्ने श्रेष्ठ, सबै थरहरूसमेत संस्कृतबाट बनेका छन्, थरसमेत । यसबाट बुझ्नुपर्छ, हाम्रो परम्परा कहाँबाट सुरु भयो, कहाँबाट आयो ? आज संसारकै भाषा संस्कृतबाट बनेका छन् ।

हाम्रो नेपाली भाषाको वर्णविन्यास, नेपाली भाषको व्याकरण, हाम्रो नेपाली भाषाको वर्णविन्यास पाणिनीय व्याकरणसम्मत निकट हुनसक्थ्यो । कुनै कुनै कुरामा व्याकरणमा, वाक्यगठनमा केही कुरा भिन्न हुन सक्छ । भाषाको अन्तर त्यहाँ आउँछ । तर शब्दको निर्माणमा, शब्दको व्युत्पादनको सन्दर्भमा उपस्थित उपसर्ग, प्रत्यय, उपसर्ग, समास, द्वित्व त्यहाँसम्मको कुरामा हामी अन्त जानै हुँदैन थियो । 
 

हामीले नेपाली भाषाशिक्षणका क्रममा संस्कृत व्याकरणका नियम विद्यार्थीहरूलाई सिकाउनै पर्ने अवस्था कहिलेसम्म रहन्छ ? 

जुनबेलासम्म हामीले संस्कृतका तत्सम शब्दको प्रयोग गरिरहन्र्छौं तबसम्म सिकाउनुपर्छ । संस्कृत शब्द, तत्सम शब्द आजसम्म पनि प्रयोमा छन् । औपचारिक सरकारी पत्रहरू पढ्नुहोस्, आज पनि औपचारिक समाचारपत्रहरू पढ्नुहोस्, आज पनि औपचारिक भाषणहरू सुन्नुहोस्, तपाईं ७५ प्रतिशतभन्दा बढी संस्कृत भाषाका शब्द प्रयोग गरेको पाउनुहुन्छ । 

यदि अर्को भाषाको शब्दलाई नेपाली भाषामा अनुवाद गर्नुहुन्छ भने संस्कृत भाषाको तत्सम शब्दको शरण लिनैपर्छ । यदि नेपाली भाषा बचाउनुछ भने संस्कृत पढाउनुस् । संस्कृतको सन्धि नियम पढाउनुस् । संस्कृतको शब्द–व्युत्पादनको नियम पढाउनुस् । संस्कृतबाटै आउनुपर्छ शब्दको तहमा । 

त्यसकारण उतिबेला के गरियो भने ट, ठ, ड, ढ, ण जो मूर्धन्य वर्ण हुन् नि । त्यहाँसम्म जोडिएका जम्मै स लाई मूधन्य ष लेख्नुपर्छ भन्ने नियम स्थापित भएको छ । आज पनि तपाईंले देख्नुभएको छ कि छैन ? रेष्टुराँ कहीँ पनि दन्त्य सको प्रयोग भएको भए मलाई भन्नुस् । मैले त मूर्धन्य ष मात्र देखेको छु । गेष्ट हाउस आज पनि मूधन्र्य ष मात्रै देखेको छु मैले । त्यो सहज कुरा हो, हिजोदेखिको परम्परा । यो अशुद्ध हो, आगन्तुक शब्दमा दन्त्य स मात्र प्रयोग गर्नुपर्छ भनियो । कम्पनी रजिष्ट्रारको कार्यालय गएर हेर्नुस्, रजिष्ट्रार भन्ने शब्द अङ्ग्रेजी शब्द हो कि होइन । त्यहाँ मूर्धन्य ष छ ? रजिष्ट्रार शब्द जुन छ नि त्यो सर्वोच्च अदालतले पनि त्यो मूर्धन्य ष को प्रयोग भएको थियो । आज पनि छ एउटै नियमसङ्गत भएर सबैले स्वीकार गरिसकेको, सहज भइसकेको कुरालाई चलाउने र विगार्ने कामम त्रिभुवन विश्वविद्यालयका केही प्राध्यापकहरूले गरे । 


वर्णविन्यासमा एकरूपता कायम गर्न भनेर संस्कृतभन्दा बाहेकका भाषाबाट आएका शब्दहरूलाई नेपाली नियमअनुसार लेख्ने भनियो । हिन्दीको गरीब नेपालीमा आउँदा ह्रस्व गरिब भएर आयो भनेर प्रश्नहरू पनि उठाइएको छ नि ? 
सही प्रश्न गर्नुभयो । के हो नेपाली नियम भनेको ? नेपाली भाषा संस्कृतबाट बनेको होइन भनेर भन्छन् भने ती विद्वानलाई होइन भन्न लगाइदिनुस् । तागत छ भने भनुन् । नेपाली भाषा संस्कृतबाट बनेको हो भने त्यो परम्परा स्थापित हुनुपर्छ कि पर्दैन ? मान्नुपर्छ कि पर्दैन ? नेपाली नियम भनेको के हो ? संस्कृतको नियम हो किनभने नेपाली शब्दको उत्पत्ति संस्कृतबाट भएको छ । 

नेपाली भाषाको उत्पत्ति संस्कृतबाट भएको छ र नेपाली नियम भनेको बेलायतबाट बनेको नियम नेपाली नियम होइन । यो दक्षिण कोरियाबाट बनेको नियम नेपाली नियम होइन । यो नर्वेबाट बनेको नियम नेपाली नियम होइन । नेपालीको नियम भन्ने नाममा नर्वेको नियम ल्याइएको छ । कहाँ, कुन हो नेपाली नियम ? गेष्ट हाउस, रेष्टुराँ, रजिष्ट्रार, कम्युनिष्ट आज पनि मूधन्य ष नै लेखिएको छ । यस्तै झण्डामा ण नै लेखिएको छ । त्यो नेपाली नियम हो कि होइन ? नेपाली नियम भनेको नेपालीले स्वीकार गरेको, आत्मसात गरेको नेपाली नियम । नर्वेबाट निर्देशित नियम नर्वेली नियम हो । अमेरिकाबाट निर्देशित नियम अमेरिकी नियम । 

प्रसङ्गवस एउटा कुरा भनौँ, अमेरिकाका एकजना तथाकथित भाषावैज्ञानिक, जो नेपाली राजनीतिमा खम्पा विद्रोहसँग जोडिएका व्यक्ति, तिनै व्यक्तिको निर्देशनमा लेखन, विषय चयन र सम्पूर्ण कार्य भएको छ भाषा विज्ञान लेख्ने चूडामणि बन्धुको पुस्तकमा । म उनको त्यो पुस्तमै देखाइदिउँला । यो विदेशी नियम हो जो अहिले नेपाली नियम भनेर भनियो नि । विदेशीको निर्देशनमा ल्याइएका खिचडी नियमहरू हुन् । कक्टेल भन्छन् नि अङ्ग्रेजीमा, यी कक्टेलहरूले विगारेका हुन् । 

नेपाली भाषाका अध्येताहरूले हाल प्रचलनमा रहेका केही वर्ण नेपाली भाषामा प्रमाणित गर्न सकिएन भनेका छन् नि ? 
नेपाली भाषाका बारेमा अध्ययन त अरूले पनि गर्नुभयो, मैले चाहिँ अध्ययन गर्ने सबैको कुरो अध्ययन गरेँ । फरक छ । मेरो विद्यावारिधि नेपाली वर्णविन्यासमा संस्कृतको प्रभाव भन्ने विषयमा मैले विद्यावारिधि गरेको हुँ ।

विद्यावारिधि गरेको मात्र होइन, विद्यावारिधि गरेपछि मैले विभिन्न पत्रिकाबाट, लेखबाट मैले निमन्त्रणा गरेँ । टेलिफोनबाट निमन्त्रणा गरेँ । इमेलबाट गरेँ, सबै माध्यमबाट विद्वानहरूलाई निमन्त्रणा गरेँ र नेपाल प्रज्ञाप्रतिष्ठानमा २०७२ सालको श्रावण ३ गते मेरो पीएचडी विद्यावारिधिको उपाधि, त्यही १४ गते त्यही प्रज्ञाप्रतिष्ठानमा विद्वानहरूको भेलामा मैले भनेको थिएँ, आज म वर्ण विन्यासका सम्बन्धमा यहाँहरूका सम्पूर्ण जिज्ञासाको चित्तबुझ्दो उत्तर दिनेछु ।

यदि मैले दिएको उत्तर समूहलाई चित्त बुझेन भने म विद्यावारिधिको उपाधि फिर्ता गर्नेछु भनेर भन्ने मान्छे हुँ म । तागत छ कसैको ? वर्णविन्यासमा पीएचडी गरेर आउनुपर्यो र मसँग शास्त्रार्थ गरेर मलाई हराउनु पर्यो । अनि मात्रै हस्तक्षेप गर्नुपर्यो । यो मुड्की बजार्ने कुरा होइन । यो सत्ताको आडमा, शासकीय सत्ताको आडमा वैदेशिक अनुदानको आडमा बोलिने कुरा होइन, नितान्त अध्ययनका आधारमा म भन्दैछु ।

नेपाली जनजिब्रोले संस्कृतका सबै वर्णहरू उच्चारण गर्न सक्छन् ? 
सिकाउनुपर्छ सक्छन्, नसिकाउने हो भने केही पनि सक्तैनन् । तपाईंले ए, बी, सी, डी भन्न कहाँ सिकेको हो ? बच्चाले जन्मिनेवित्तिकै ए, बी, सी, डी भन्न सिकेर जन्मेको हो ? तपाईंले क भन्न सिकाएपछि सिकेको हो । ख भन्न सिकाएपछि सिकेको हो । सिकाए के सिक्तैनन् । 

राणाको छोरो रानाको छोरो एउटै हो ? राणाको छोरो भन्दा गाली गर्दा, राणाको छोरो भन्दा कुँवरहरूले पाएको उपाधि राणा, तिनैका छोरा अनि रानाको छोरा भनेको मगरको छोरो हुन्छ । राणा, राना, राणाँ सुन्नु भयो कि भएन । नेपालीमा ण छैन ! वा किन छैन ? 

सुदूरपश्चिम र मध्यपश्चिमको भाषिका गएर हेर्नुहोस्, ण को प्रयोग कति छ ? त्यसै काठमाडौँमा बसेर नर्वेको पैसा खाएर, कोरियाको पैसा खाएर, बेलायतको पैसा खाएर, अमेरिकाको डलर डकारेर नेपालीपन आउँछ ? प्रमाण छ प्रमाण । 

चूणमणि बन्धुको भाषाविज्ञान अमेरिकी एकजना सनकी विद्वानको सम्पूर्ण निर्देशनमा भएको छ । आजै म देखाउन सक्छु, भाषाविज्ञानको पुस्तक जो अनिवार्य गराइयो नि त्यो पुस्तकको भूमिका पढ्नोस् । सुरुको पहिलो संस्करणको भूमिका पढ्नोस् । मसँग छ त्यो पुस्तक । म तपाईंलाई देखाइदिउँला । म त्यसै बोल्दैछैन । नेपालीपनको होइन, अनेपालीपनको कुरा गर्दै हुनुहुन्छ । सिकाउनुपर्छ, सबै कुरा सिकिन्छ । 

आज अङ्ग्रेजीमा पनि जुन उच्चारणको विज्ञान आयो नि, वैदिक उच्चारणबाट प्रभावित छ भनेर, हो कि होइन भनेर युट्युवमा पाइन्छ हेर्नुस् । सोध्नोस्, पाणिनी को हो ? पाणिनीलाई जित्ने वैयाकरण कति थिए ? पढ्नुस् । पाणिनी पश्चिमाहरूको पूज्य, सम्पूर्ण संसारको पूज्य, हाम्रो नेपालका चाहिँ नर्वे, कोरिया, अमेरिका र बेलायतको डलर डकार्नेहरूले चाहिँ अशुद्ध व्याकरण भन्छन् ।

तपाईंले संस्कृतका वर्णहरू सबै नेपालीवर्ण बनाउनुपर्छ र अहिले चलनचल्तीबाट हटाइएका वर्णहरूलाई पनि पुनर्जीवित गरी प्रयोगमा ल्याउनुपर्छ भन्ने तपाईंको भनाइ हो ? 
गर्नुपर्छ । किनभने त्यसमा दुईवटा कुरा छ । य इ बाट बनेको छ, र ऋ बाट बनेको छ, ल लृ बाट बनेको छ व उ बाट बनेको छ । य र ल व चारवटा वर्ण सँगै राख्नुपर्छ नि । अद्र्धस्वर भनेको आधा स्वर आधा व्यञ्जन । कुन स्वरबाट आयो भन्दा भन्न सक्नु पर्यो नि । ल चाहिन्छ भने कहाँबाट आयो भन्न सक्नु पर्यो । तपाईंको नागरिकता बनादउँदा तपाईंको बाको नाम, बाजेको नाम लेख्नुपर्छ । ल को बाउको नाम हो लृ । लृ भएन भने ल कहाँबाट आयो अद्र्धस्वर कसरी भयो भनेर बच्चाले सोध्यो । अद्र्धस्वर भनेको आधा स्वर । आधा स्वरको विशेषता र आधा व्यञ्जनको विशेषता भएर अद्र्ध स्वर बनेको हो । अङ्ग्रेजीमा सेमी भवेल भन्छन्, त्यो अर्कै कुरा । आज आउनुस्, लृ चाहिन्छ अर्को कुरा बुझ्नुस् । 

प्रत्येक पूर्णिमामा निस्कने नेपाली भाषाको पहिलो पत्रिका माधवी, प्रत्येक पूर्णिमा निस्कने माधवीको पहिलो अङ्क पढ्नुस् । त्यहाँ ऋ ऋृ र लृ, लृ ृ मातृकाहरूलाई प्रणाम गरेर सुरु गरिएको छ । ऋ ऋृ र लृ, लृ  भनेको यो संसार सृष्टि गर्ने देवीका प्रतीकहरू हुन् ती । हाम्रो धर्मसंस्कृतिसँग जोडिएको छ हाम्रो वर्णमाला । सृष्टिविज्ञानसँग जोडिएको छ हाम्रो वर्णमाला । ओमबाट स्वरवर्णहरू निस्कन्छन् । स्वरवर्णहरू पुरुषस्वरूपमा निस्कन्छन् । तिनै पुरुषस्वरूपले एक आफूलाई दुईटा स्वरूपमा विभाजन गर्दाखेरी अद्र्धस्वर य, र, ल, व निस्कन्छन् ।

अनि स्वर वर्ण र अद्र्धस्वरवर्णको मैथुन क्रियाबाट कदेखि मसम्मका स्पर्शीवर्णहरू निस्कन्छन् । श, ष, श, ह भनेको विसर्ग हो । विसर्ग भनेको विशेष किसिमको सृष्टि हो । महादेवको तीन नेत्र भनेको के ? विसर्गका दुई थोप्ला र अनुस्वरको एक थोप्लालाई महादेवको तीन नेत्र भनिन्छ । त्यसैबाट सृष्टि भएको छ । भन्नुहोस् सृष्टि विज्ञानसँग जोडिएको छ हाम्रो संस्कृति विज्ञानसँग जोडिएको छ, अध्यात्म विज्ञानसँग जोडिएको छ, र सम्पूर्णतः भाषा विज्ञानसँग जोडिएको छ हाम्रो वर्णमाला । 

क, ख, ग, घ, ङ हरेकमा स्पर्शी वर्णको पाँचौँ वर्णमा नाके हुनुपर्छ । किन नाके हुनुपर्छ भने आकास, वायु, अग्नि, जल, पृथ्वी । पृथ्वीको विशेषता गन्ध । गन्ध कहाँबाट आउँछ नाकबाट । त्यसैले ङ नाक बजाउनुपर्यो । हाम्रो पाँच ज्ञानेन्द्रीयमध्येको नाक बजाउनुपर्यो । पाँच ज्ञानेन्द्रीय अर्कोले बुझाउँछ । अर्कोले पाँच कमेन्द्रीय । पाँच कर्मेन्द्रीयमध्ये अर्कोले बुझाउँछ गुदा, जहाँबाट हाम्रो दिसा आउने अङ्ग हो, त्यो गन्धसँग सम्बन्धित छ । 

त्यस्तैगरी पञ्चप्राणमा अपान, वायु त्यो गन्धसँग सम्बन्धित छ । र त्यसले के बुझाउँछ भने पञ्चतन मात्रा शब्द, रूप, रस र गन्ध । आकास, वायु, जल, पृथ्वी ।

अब तत्कालका लागि वर्णविन्यासको मानकीकरणका लागि के गर्नुपर्ला ? 
मानकीकरण गर्नका लागि परम्परा जे थियो, त्यसलाई चलाउनु हुँदैन । परम्परापछि अत्यधिक प्रयोगमा कसैले ल्याएभने, अत्यधिक प्रयोग भयो र भाषाविज्ञसङ्गत भयो भने त्यसलाई विज्ञले हामीले नयाँ प्रयोगलाई ठाउँ दिनुहुन्न भनेको छैन । नाति जन्मिएपछि हजुरबा मासिनुपर्छ भन्ने छ कहीँ ? नाति जन्मिन पाउनुपर्छ तर हजुरबालाई आदर गर्नुपर्छ नातिले, यो हाम्रो आस्था हो । कि होइन ? 

शहीद पातलो स भयो यस्तै अन्य शब्दहरूमा पनि श पातलिँदै गएको छ नि, यसमा के भन्नुहुन्छ ?

आज शहीद शब्द दन्त्य स गराउनेहरूले आजसम्म शाहको स दन्त्य गराउन किन सकेनन् ? यी शाहका दासहरू । भन्नुहोस् शहीद र शाह एउटै परिवारका हो कि होइनन् ? दुवै आगन्तुक शब्द हुन् कि होइनन् ? शाह पनि आगन्तुक शहीद पनि आगन्तुक । शहीदको श, शहीद मरेर गए तिनीहरूसँग डर भएन । शाहा जिउँदै छन्, उनीहरूले बन्दुकले ठोक्छन् ।

त्यसकारणले चाकरी गरे । त्यसरी मुख हेरेर शब्दको शब्दको वर्णविन्यास गर्ने ? आज सुन्नोस अरू । कर्णाली जहाँ ण को उच्चारण हुन्छ, कर्णालीका बासीलाई सोध्नुहोस्, कर्णाली शब्दको उच्चारण कति हुन्छ भनेर । कर्णालीको ण हटाएर कर्नाली बनाउने महोदयहरू । कर्णेलसँग डराए, किनभने कर्णेलसँग त बन्दुक हुन्छ नि । राणासँग पनि डराए, राणालाई राखे । किनभने राणा पनि त संस्कृत तत्सम शब्द होइन । कर्णेल त हुँदै होइन । कर्णेल र राणासँग डराउने, विचरा कर्णालीलाई कर्नाली बनाउने ? के हुन् यी महासयहरू, महोदयहरू ? नर्बेली हुन्, कोरियाली हुन्, बेलइती हुन् अमेरिकी हुन् । 

अब चाहिँ मानकीकरणका लागि के गर्नुपर्छ ? 
मानकीकरणलाई मैले फेरि भने १९९७ को बगलीकोशले स्थापना गरेको भाषावैज्ञानिक वर्णविन्यासलाई यथावत राखेर त्यहाँभन्दा पछाडि अत्यधिक सदस्यहरूले भाषाका लेख्य प्रयोक्ताहरूले प्रयोग गरेको भाषावैज्ञानिक, सबैले धेरैले प्रयोग गरे भने त त्यसलाई पनि स्वीकार गर्नुपर्छ । हाम्रो दौरासुरुवाल हाम्रो राष्ट्रिय पोसाक हो । तर मैले सर्ट पेन्ट ज्याकेट लगाएर आएको छु, त्यो मेरो विकल्प हो । राष्ट्रिय पोसाक दौरासुरुवाल भएकाले मैले यो पोसाक लगाउन पाइँदैन भन्न पाइन्न । हाम्रो दौरासुरुवाललाई सम्मान गरौँ अनि विकल्पमा पनि जाऊँ सबैले मान्छन् भने । 

भाषा वैज्ञानिक हुनुपर्छ भनिन्छ, वैज्ञानिक बनाउन परीक्षण गर्नुपर्छ र सरल नियममा बाँध्नुपर्छ भनिन्छ नि ? 
वैज्ञानिकरण भनेको सबैले सजिलो मानेको जस्तो रेष्टुरेण्ट, गेष्टहाउस जस्ता सामान्य व्यापारीहरूले, पसलेहरूले थाहा पाएको वर्णविन्यास हो । हाम्रो संविधानमा लेखिएको झण्डामा ण छ । त्यो झण्डालाई अशुद्ध भन्ने यिनीहरु संविधान विरोधी हुन कि होइनन् ? 

अर्को कुरा भनौँ, देवनागरी लिपि नेपाली मौलिक लिपि हो । देवनगर भनेको देवपत्तन, देवपत्तन भनेको पशुपतिनाथको नगर हो । त्यहाँबाट निस्केको देवनागरी लिपि, जहाँ शिवभक्तहरू छन्, त्यहाँ देवनागरी लिपिको प्रयोग छ । शिवको अर्को नाम नन्दी हो । नन्दीनागरी लिपि प्रयोग हुन्छ दक्षिण भारतमा र देवनागरी लिपिमा केही लिपिचिन्हहरू नन्दीनागरीबाट पनि ल्याएका छन् । किनभने यी एकअर्काका पूरक हुनसक्छन् यी लिपिहरू ।

यी तान्त्रिक लिपिहरू हुन् । नेपालको मौलिक संस्कृति हो तन्त्र संस्कृति । काठमाडौँमा आज पनि जति शक्तिपीठहरू छन्, सबै शक्तिपीठहरूमा तन्त्रसिद्धिका आधारबाट पूजाआजा गरिन्छ । तन्त्रका आधारमा बामाचार विधि र दक्षिणाचार विधि । यहाँ धेरै छन् तन्त्रका कुराहरू । पशुपतिनाथको पूजा तन्त्र विधिबाट पनि गरिन्छ र वैदिक विधिबाट पनि गरिन्छ आज पनि । यो हाम्रो संस्कृति हो । अनि देवनागरी लिपि जुन लिपि ब्रह्माले पनि प्रयोग गरे, ब्रह्माले प्रयोग गरेको हुनाले ब्रह्मी लिपि भनिएको हो । ब्रह्माण्डसँग सम्बन्धित भएको हुनाले ब्राह्मी लिपि हो यो । 

भाषा परिवर्तनशील हुन्छ भनिन्छ । २०३० को दशकभन्दा अघिका लेख्यसामग्रीहरू विभिन्न पत्रपत्रिकाहरूमा हेर्दा अलि भिन्न पाइन्छ र अहिलेको भाषा प्रयोगमा परिवर्तन भएको पाइन्छ । जस्तो भानुभक्तका सिर्जनामा पाइने, मोतीरामका सिर्जनामा पाइने भाषा अहिले चलनचल्तीमा छैनन् नि ? 

मैले अघि पनि भनेको छु, शब्दकोश बन्नुभन्दा अघि शास्त्र थिएन नि, त्यतिबेला जल्ले जे पनि गरे नि । शब्दकोश भनेको लेख्य भाषाको संविधान हो, नेपाली शब्दकोश पनि नेपाली भाषाको संविधन हो । त्यो शब्दकोश बन्नुभन्दा अगाडिका प्रयोगहरूलाई जसरी संस्कृतमा वैदिक संस्कृतका शब्दहरूको छुट्टै सङ्कलन छ निघण्टुमा, निरुक्तमा । त्यसैगरी छुट्टै शब्दकोश बनाउन सकिन्छ । 

जुन बेलादेखि हाम्रो मौलिक शब्दकोश बन्यो १९९७ को बगलीकोश । त्यसबेलादेखि शब्दकोशलाई आधार मानेर लेखिनुपर्छ । अब ४० को शब्दकोश पनि आयो । त्यसलाई धेरैले स्वीकारेका छन् भने त्यसलाई पनि विकल्प दिने । सबै कुरा त छैन त । कति त अगाडिका र पछाडिका छन् । केही शब्दहरूमा आएको अब तपाईंले कुरा गर्नुभयो गरीब । गरीबलाई ह्रस्व बनाउने यी महासयहरूले छन्दको ज्ञान छ कि छैनन्, एक ? लक्ष्मीप्रसाद देवकोटालाई यिनले चिनेका छन् कि छैनन् ? गम्भीर प्रश्न । लक्ष्मीप्रसाद देवकोटा आजका हामीजस्ता पीएचडीजस्ता तथाकथित डाक्टरहरू । भएभरका जम्मै डाक्टरहरू जोख्दाखेरी पनि लक्ष्मीप्रसादको केही तौल बढी हुन्छ । लक्ष्मीप्रसाद देवकोटा महाकवि मात्र थिएनन्, लक्ष्मीप्रसाद देवकोटा २७ भाषाका ज्ञाता थिए । सत्ताइस, अङ्ग्रेजीमा भन्नु पर्यो भने ट्वान्टी सेभेन । २७ भाषाका ज्ञाता देवकोटा त्यतिबेला अङ्ग्रेजी भाषाका सम्राट थिए । तर हाई हाई अङ्ग्रेजी पनि देवकोटाले लेखे । 

नेपाली भाषाको माध्यमबाट शिक्षण हुनुपर्छ भन्ने नियम पनि शिक्षामन्त्री भएकै बेलामा लक्ष्मीप्रसादले बनाए । त्यो नियम लागू गरे । त्रिभुवन विश्वविद्यालयको त्यो जग्गा अधिग्रहणसम्बन्धी जति पनि विवाद थियो, त्यो पनि उनले मिलाए । त्यो महापुरुष लक्ष्मीप्रसाद देवकोटाले ‘गरीब भन्छौ..’ गरिब होइन, ‘गरीब भन्छौ सुखको मझैँ धनी, मिल्दैन संसारभरि कतै पनि..’ । गरीब नबनाउने हो भने त्यो कविता खत्तम भयो । शीर्षक नै गरीब छ । अशुद्ध होइन, शुद्ध शब्द छानी छानीकन लेखेको । अहिले पनि साझा प्रकाशनले छापेको मुनामदनमा यो चाहिँ गोरखा भाषा प्रकाशिनी समितिको नियमअनुुसार वर्णविन्यास मिलाइएको छ भनेर लेख्नु भएको छ उहाँले । त्यति सचेत महाविद्वान, अन्तर्राष्ट्रिय विद्वानको कवितालाई अशुद्ध बनाउन पाइन्छ ? 

फूलको फु ह्रस्व बनाउँदा चारवटा मदन पुरस्कार पाएका पुस्तकहरूको नाम नै अशुद्ध हुन्छ । शिरीषको फूल, जीवन काँडा कि फूल अरू पनि दुईवटा छन् । पूmललाई ह्रस्व फुल बनाउने उहाँहरू को हो ? मदन पुरस्कार प्राप्त गरेका कृतिको नाम नै अशुद्ध हुनेगरी कसरी नियम बनाउनु भयो ? जानाजान लक्ष्मीप्रसाद देवकोटा, जसलाई निकालिदिएपछि नेपाली भाषा त खोक्रो हुन्छ, आधा हुन्छ । लक्ष्मीप्रसाद देवकोटा अशुद्ध लेख्थे भन्ने बनाइदिएपछि त नेपाली भाषाको स्तर कहाँ गयो ? यो देवकोटालाई प्रहार गरेर नेपाली साहित्य नेपाली भाषा र नेपाली राष्ट्रियतालाई समाप्त गर्ने खेल हो, बुझिदिनुस् न यो कुरा ।

तपाईंको भनाइमा अहिले प्रज्ञाले प्रकाशन गरेको शब्दकोश अपूर्ण छ ?
अपूर्ण होइन, त्रुटिपूर्ण छ । अपूर्ण होइन, त्रुटिपूर्ण छ, योभन्दा बढी २०६७ को शब्दकोश त्रुटिपूर्ण थियो । २०५८ को शब्दकोश परिवद्र्धित भनियो, शब्द घटाइएको थियो । त्रुटिपूर्ण थियो । २०६७ को शब्दकोशमा त कुनै नियम नै थिएन । २०५८ को जुन नियम बनाइएको थियो नि २०५८ नियम त्यहाँ पालना भएकै छैन । 

२०५७ को गोष्ठी कसरी सुनियोजित गरियो भने त्रिभुवन विश्वविद्यालयको केही प्राध्यापकले केही विदेशी दललाले, तथाकथित प्रध्यापक विद्वानहरूले, संयोजक डा. टीकाराम पन्थी हुनुहुन्थ्यो, उहाँलाई पनि थाहै नदिईकन क्षतिपूरक दीर्घीकरण हटाइयो । त्यसको विषमा उहाँले गुनासो गरेर लेख लेख्नुभएको छ । त्यो आवश्यक भए उपलब्ध गराउन सक्छु । 

म बिनाप्रमाण बोल्ने मान्छे होइन । संयोजकलाई समेत थाहा नदिई बनाइएको नियम नियम हुन्छ ? जानुहोस् त्यतिबेलाका सहभागीहरूले कति विरोध गरे, म पनि थिएँ । मेरा असहमती पनि त्यहाँ केही कुरा लेखिएका छन्, छापिएका छन् । प्रज्ञाप्रतिष्ठानबाटै छापिएका पुस्तिकाको कुरा गर्दैछु म । २०६७ को पनि केके भयो भन्ने कुरा प्रज्ञाप्रतिष्ठानकै पुस्तिकाको आधारमा हेर्नुहोला । 

अङ्ग्रेजीमा टङ्क न्यौपानेको कार्यपत्रमा लेखिएको छ, अमेरिकी तथाकथित भाषावैज्ञानिकहरूले अङ्ग्रेजीका ३०० भन्दा बढी शब्दहरूलाई सरलीकरण गर्नुपर्छ भनेर त्यहाँ पनि लागेछन्, राष्ट्रपति रुजबेल्टका पालामा । राष्ट्रपतिलाई पनि ओहो सरलीकरण कति वैज्ञानिक भनेर उहाँले पनि लागू गर्नुभयो । उहाँले सरकारी कार्यालयहरूमा पनि यही नियमअनुुसार गर्नु भनेर परिपत्र गर्नुभयो तर अमेरिकी कङ्ग्रेसले राष्ट्रपति महासय यो तपाईंको अधिकारको क्षेत्रको कुरो होइन, यो भाषाप्रयोक्ताहरूको अधिकारको कुरा हो भन्यो । मूल कुरा कहाँ गयो । अङ्ग्रेजी भनेको इङ्ल्यान्ड हो । इङ्ग्लिस भनेको इङ्ल्यान्ड होइन ? त्यसको त्यसको मूल अधिकार इङ्ल्यान्डसँग छ । त्यसकारणले त हेर्नुस न उनीहरू उच्चारणमा कति सजग छन् ।

आईईएलटीएस, टोफेल पास गर्नुपर्छ हैन विदेश जान । नेपालमा आउन पनि नेपालीको उच्चारण गर्न जान्नुपर्छ भनौँ न । नसक्ने ? कोरिया जानुपर्यो भने कोरियन भाषा सिकेर जानुपर्ने, जापान जान जापानिज सिकेर जानुपर्ने, स्पेन जानुपरे स्पेनी सिकेर जानुपर्ने, इटाली जानुपरे इटालेली सिकेर जानुपर्ने । अनि नेपालमा आउँदा नेपाली सिक्नु नपर्ने । हामीले नै नेपाली जान्नु नपर्ने कहाँको कुरो हो यो । सिकाउनुपर्छ, जानिन्छ । 

नेपाली भाषामा एकरूपता कायम गर्न प्रज्ञाको शब्दकोश प्रयोग गर्ने कि अन्य व्यक्तिहरूको शब्दकोश प्रयोग गर्ने ? 
म चाहिँ भन्छु, त्यो बगलीकोशलाई आधार मानेर, शब्दसङ्ख्या बढ्छ तर वर्णविन्यासको एउटा निश्चित वैज्ञानिक मापदण्ड निर्धारण भएको छ बगलीकोशमै । अर्को कुरा, संस्कृतमा जुन शब्दकोश बन्यो त्यो बनेपछि बन्यो बन्यो । नयाँ प्रयोग कसैले गरे भने त्यसलाई पनि पाणिनीले मान्यता दिनुभएको छ । विश्वामित्र भन्ने शब्द छ नि त्यसको पाणिनीय व्याकरणअनुसार विश्वको अमित्र विश्वामित्र हुन्छ ।

विश्वको शत्रु हो त विश्वामित्र ? होइन, अब समस्या पर्यो पाणिनीलाई, उनले विश्वामित्र राखिदिइहाले । अनि विश्वामित्रहरुका लागि नयाँ छुट्टै नयाँ सूत्र बनाइदिनुभयो पाणिनीले । नयाँ चलनमा ज्यादै आयो । सबैले स्वीकार गरे भने त्यसलाई पनि मान्यता दिनुपर्छ । 

परिवर्तनको विरोधी म होइन । तर असहज परिवर्तनको विरोधी म हुँ । कोठामा बसेर कुनै एक व्यक्तिले कतैको प्रलोभनमा कसैको अनुदानका आधारमा आफूखुसी त्यही व्यक्ति पनि कहिले के भन्छ कहिले के भन्छ ? बालकृष्ण पोखरेलले कति चोटि केके भने ? एकताका रोमन लिपि जस्तै गरी जनभावना लेख्दाखेरी ज अ न अ भ आ व अ न आ लेख्नुपर्छ भनेर सुरु गर्ने बालकृष्ण पोखरेल आज कहाँ हुनुहुन्छ ? हेर्नुस् न । 

उहाँले झर्रो सत्यौली लेख्नुभयो । अनि झर्रो सत्यौलीमा शब्दकोशको श दन्त्य स बनाउनुभयो । जान्ने भएर झर्रोवादी भएर । त्यसपछि उहाँले के गर्नुभयो भने मैले गल्ती गरेँ । मूल त मूल नै हुन्छ । त्यसकारण शब्दको श तालव्य श नै हुनुपर्छ भनेर उहाँले झर्रो सत्यौलीको स तालव्य श बनाउनुभयो, पुस्तकको नाम परिवर्तन गर्नुभयो । त्यही बालकृष्ण जो झर्रोवादी । अर्को कुरा बुझ्नुस जहाँ झर्रोवाद यहाँको होइन, यहाँको होइन । एक जना क्रिस्चियन पत्रकार थिए प्रधान दार्जिलिङका तिनैको अनुसरण हो यो । 

चूडामणि रेग्मीले अझै पनि झर्रोवादका बारेमा बहस चलाइरहनु भएको छ नि ? 
झर्रोवाद होइन चूडामणि रेग्मीले कस्तो प्रयोग गर्नुभयो । भारतमा देशतिलक भन्ने व्यक्तिले प्रयोग गरे । त्यो प्रयोग अ आ इ ई उ ऊ लाई अ आ अि अी लेखेजस्तै गरी सबै अ मै बाह्रखरीमा दिएजसरी दिन मिल्छ भन्ने चूडामणि । जोडेमोडेका अक्षर हटाउनुपर्छ भन्ने चूडामणि उहाँले भनेको होइन मैले पत्ता लगाएँ, भारतमै त्यो चलन आयो । देशतिलकले सुरु गर्नुभयो । वा गजब चलन रहेछ ! भनेर महात्मा गान्धीले पनि प्रयोग गर्नुभयो । सजिलो कुरा भनेर । अनि पछि ठूलो अनुसन्धान भयो खोजी भयो भारतमा, त्यसपछि होइन यो त्रुटिपूर्ण छ यो भनेर भनेपछि उहाँ अस्वीकृत भएपछि यहाँ झर्रोवाद भयो । विदेशमा फ्याँकिएका थोत्रा बोतलहरू यहाँ बिक्री हुन्छन् ।

तर उहाँहरूले उच्चारण जसरी हुन्छ त्यसरी गर्ने भन्ने छ नि ? 
उच्चारण सिकाउनु पर्यो नि । सिकाउनु पर्दैन भनेको । उच्चारण तपाईंले कुनै व्यक्तिको भाषा, कुनै जातसँग जोडिएको हुँदैन बाबा । एउटा अमेरिकीलाई हाम्रो समाजमा राखी दिऊँ, हुर्काइदिऊँ, उसले हामीले जस्तै नेपाली बोल्छ । हाम्रा सन्तानलाई अमेरिका पठाइदिऊँ उसले अङ्ग्रेजले जस्तै, बेलायत पठाइदिऊँ बेलायती जस्तैगरी अङ्ग्रेजी बोल्छ । त्यसकारण त्यो कुरो हुन सक्दैन । उच्चारणबाट लेखन हुन सक्दैन । 

अङ्ग्रेजीमा पसाइक्लोजी लेखेर साइक्लोजी भनेर अङ्ग्रेजीमा क्नाइफ लेखेर नाइफ । रिमेम्बर शब्दमा एउटै शब्दमा तीनवटा ई वर्णको उच्चारण इ गर्नुपर्छ, ए गर्नुपर्छ अ गर्नुपर्छ । एउटै शब्दमा रि भन्दा इ गर्नुपर्यो, मेम भन्दा ए भन्नु पर्यो बर भन्दा अ भन्नुपर्यो । एउटै इको उच्चारण तीनवटा छ । त्यहाँ चाहिँ हट्नु नपर्ने हाम्रो यहाँ चाहिँ उच्चारणलाई आधार मानेर हुन्छ । कस्तो उच्चारण हुन्छ ? 

अब मानकीकरण र लेखनमा एकरूपताका लागि कुन कुन क्षेत्रले केके गर्नुपर्छ  ? 
एकरूपताका लागि त्रिभुवन विश्वविद्यालयको हस्तक्षेप थिएन भने एकरूपता हुने सम्भावना थियो । एकरूपता अहिले छैन । विकल्पमै जानुपर्छ । विकल्प छोडदिएपछि विकल्पहरूमध्ये प्रयोक्ताले जुन जुन मनपराउँछन् नि, त्यसबाट प्रयोक्ताले नै ल्याउने हो एकरूपता । कुनै शासकले बन्दुक तेस्र्याएर ल्याउने कुरा होइन वर्णविन्यासमा एकरूपता । भाषाको एकरूपमा आउन सक्तैन अब । 

अब अङ्ग्रेजी पहिलो शब्दकोशको शब्द आजसम्म शुद्ध भइरहने, संस्कृतको पहिलो शब्दकोशको शब्द आजसम्म शुद्ध भइरहने, हाम्रो चाहिँ पोहोर किनेको शब्दकोश अहिले शुद्ध नहुने, काम नलाग्ने । भनेपछि यो शब्दकोश व्यापारको भूमिका पनि छ यहाँ । यहाँ त धेरै खेल छ । क्षतविक्षत बनाइदिने । 

भनेपछि शब्दकोश पल्टाएर हामीले एकरूपता कायम गर्न सक्छौँ कि सक्दैनौँ ?
सक्तैनौँ, प्रज्ञाको शब्दकोशले एकरूपता कायम हुँदैन । आज पनि म त्यहाँ यही भाषासम्बन्धी पेशी थियो आज सर्वोच्च अदालतमा आज पुस ४ गते । त्यो पेशीमा गएर म आएँ । आज पनि स्थगित भयो ।

हामीले अदालतमा दिएपछि यिनीहरूले नियमसम्मत तरिकाले गरेका हौँ भनेका थिए । पछि आफै डराएर बीचबीचको अलि अलि केही गरे । विद्याको द्.य चाहिँ सुधारे तर हत्तीको त्.त सुधारेनन्, भानुभक्तको क्त पनि सुधारेनन् । अङ्गको ड.ग पनि सुधारेनन्, अङ्कको ङ क पनि सुधारेनन् । संयुक्त अक्षर चिनेनन् भने भविष्यमा नेपाली बच्चाले आफ्नो घरको तमसुक पनि चिन्दैन । विगतका पत्रपत्रिका पढ्न सक्तैन । साहित्य पढ्न सक्तैन । क्षतविक्षत बनाउन खोजेको हो नि त यो । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ