आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
आर्काइभ

नेवारमात्रै हैन, आदिवासीहरुकै राष्ट्रिय चाड ‘यःमरि पुन्हि’

देउसी भैलो जस्तै टोलटोलमा यःमरि माग्दै गीत गाइने चलन हराएकोमा संस्कृतिविद्को चिन्ता
शनिबार, ०७ पुस २०७५, ११ : १८
शनिबार, ०७ पुस २०७५

काठमाडौँ– वर्षका १२ पूर्णिमामध्ये मंसिर शुक्ल पूर्णिमाका दिन नेवार समुदायले ‘यःमरि पुन्हि’ अर्थात् धान्निपूर्णिमा चाड मनाउने गर्दछन् । यःमरिको शब्दविन्यास गर्दा यः भनेको ‘मनपर्ने’ मरि भनेको ‘रोटी’ हुन आउँछ । अर्थात् मनपर्ने रोटी नै यःमरि हो । 

नयाँ धानबाट कुटिएको चामलको पिठोबाट बन्ने एक प्रकारको रोटी बनाउने पनि आफ्नै तरिका छ  नेवार समुदायमा । यसलाई बनाउँदा पिठोलाई पानीमा मुछिन्छ । मुछेको पिठोलाई माछाको आकार फूलको आकार जस्तो बनाइन्छ । जसमा माथिको भाग खुला छोडिएको हुन्छ । उक्त खुला भागबाट बन्द गर्नुअघि यसभित्र स्वादअनुसार तताएको चाकु, खुवा, तिल हाल्ने गरिन्छ । तर, पुजाका लागि प्रयोग गरिने यःमरिमा ५ दाना चामल मात्र हालिन्छ ।

पकाउनका निम्ति सबभन्दा पहिले फोसीमा पानी राख्नुपर्छ । फोसीमाथि पटासीमा पराल राखिन्छ । जसमाथि यःमरि राखिन्छ र यसलाई माथिबाट भेगाःले छोप्ने गरिन्छ । त्यसको ३० मिनेटभित्र यःमरि पाक्छ । यो मःम पकाउँदा प्रयोग गरिने ‘स्टिमब्वाइलर’ आकारको भाडा जस्तै हुन्छ ।

यःमरि पुन्हिलाई धार्मिक चाड मात्र नभएर सामाजिक चाडको रुपमा पनि लिने गरिन्छ । नेवार र त्यसमध्य पनि ‘ज्यापु’ नेवार समुदायको किसान वर्ग हो । बर्खे बाली घरमा भित्र्याउने काम मंसिरदेखि पुष अन्तिमसम्म हुने भएकोले भित्र्याएको धान बालीलाई नेवार समुदायले पुजा गर्ने चलन छ । 

धानको पुजा गरिने भएकाले यसलाई धान्निपूर्णिमा पनि भन्ने गरिन्छ । धानको पुजा हरेक वर्ष यःमरि पुन्हिका दिन गरिन्छ । जनजातिहरु प्रकृतिकको पुजा गर्ने भएकाले पनि खाद्यानको प्रमुख स्रोत धानलाई  पुजा गरिएको ज्यापु महागुठी नेपाका अध्यक्ष राजभाइ जकःमि बताउँछन् । 

‘यःमरि पुन्हिका दिन नयाँ धान भित्र्याएर धान भण्डार गर्ने ठाउँ ‘भकारी’ मा पूजा पनि गरिन्छ’, उनी भन्छन्, ‘भकारीमा १२ वटा यःमरि राखेर अन्नको देवी अन्नापूर्णा, गणेश, लक्ष्मीलगायतका भगवानको पुजा गरिन्छ ।’ 

जकःमिका अनुसार यःमरि पुन्हिका दिन विगत १५ वर्षदेखि काठमाडौँ उपत्यकाका ६३ स्थानबाट बाजा गाजासहित बसन्तपुरमा ज्यापु दिवस मनाउने गरिएको छ ।

अधिकांश ठाउँमा यःमरि महिलाले बनाउने गरेको उनी सुनाउछन् । जकःमिलाई चिन्ता छः हिजोका दिनमा नेवार समुदायले यःमरि पुन्हिका दिन  आफ्नो गाउँ ठोलमा गएर गाउने त्यः छिं त्यः, बकछिं त्यः (धानले आशीर्वाद पायो...) जस्ता लोक संस्कृतिहरु अहिले हराउँदै गएकोमा । पहिले समूहिक रुपमा भेला भएर यःमरि माग्न ‘त्यः छिं त्यः, बकछिं त्य’ भट्याउँदै विभिन्न टोल टोलमा जाने गरेको उनी सुनाउँछन् । उनले सुनाए,‘आजभोलि जसरी देउसी भैलो माग्ने प्रचलन छ, हिजो त्यः छिं त्यः, बकछिं त्य पनि यस्तै गरी माग्ने चलन थियो । तर, आज बिस्तारै हराउदै गएको छ । देउसी भैलोलाई मिडियाले पनि प्रचार गरे । त्यः छिं त्यः, बकछिं त्यलाई चाहिँ मिडियाको खासै साथ दिएको पाइदैन ।’
 अब यसको संरक्षणका लागि नेवार समुदायका अगुवा, नेपाल सरकार र मिडियाले प्रोत्साहन गर्नु पर्ने बेला आएको जकःमिको बुझाइ छ । 

संस्कृतविद् एवं यःमरिका जानकार विपेन्द्र महर्जन यःमरि जनजातीहरुको साझा चाड भएको बताउँछन् । 

थारुहरुले पनि नेवार जातिले झैं यःमरि बनाएर धानको पुजा गर्ने र खाने गरेको सुनाए । यःमरि विशेष गरी उपत्यकाको नेवार समुदायले मनाउने गरेको भए पनि फरक नाममा अधिकांश जनजातिहरुले पनि मनाउने गरेको उनले बताए । 

यःमरि चाड लिच्छविकालका राजा अंशुवर्माका छोरा बालार्चनले खेतीपाती गर्ने मानिसको कमी भएपछि बलभद्र भन्ने बलवान व्यक्तिलाई खेत खन्न लगाएर काम सुरुवात गरेपछि बाली सप्रिएर खाद्यान्नमा परनिर्भरताबाट मुक्त भएको कथनसँग जोडिएको उनी बताउँछन् । 

परनिर्भरताबाट मुक्त भएपछिको उत्सवमा बालार्चन राजाले बलभद्रको शिलामूर्ति बनाई थिलापून्हिको दिनमा यःमरि चढाइ जात्रा सुरु गरिएको दिनलाई थिलापुन्ही अर्थात् यःमरि पूर्णिमाको रूपमा मनाइन थालिएको महर्जनले सुनाए ।

उनका अनुसार खेतीपातीसँग प्रत्यक्ष सम्बन्ध रहेको यःमरि पुन्हिलाई नेवार संस्कृतिको विशेष संस्कृतिको रूपमा मनाइन्छ । यो चाडमा चामलको पिठो, चाकु, तील आदि राखिएको पौष्टिक तत्त्वले भरिपूर्ण यःमरिलाई खानाको रूपमा पनि लिइने प्रचलन छ । नेवार समुदायले यो चाडलाई महत्त्वपूर्ण चाडका रूपमा मनाउँछन् ।  

अन्नापूर्णा देवी, गणेश, कुबेर, लक्ष्मी आदि विभिन्न किसिमका आकृतिमा यःमरि बनाई भकारीमा चढाएर पुजा गर्नुका साथै र यःमरि माग्न ‘त्यः छिं त्यः, बकछिं त्य’ भट्याउँदै टोलमा गएर यःमरि मागेर यो चाड मनाउने गरिदै आएको छ ।

केटाकेटी जन्मेको  २ वर्षको वार्षिकोत्सव मनाउँदा यःमरिको माला लगाइदिने चलन छ । दुई दुई वर्षको अन्तरालमा १२ वर्षका हुन्जेल जन्मदिनमा यस्तो गरिन्छ । केटा केटीलाई लगाउन बनाएको यःमरिभित्र ५ दान चामल मात्र हालिएको हुन्छ । यःमरिको माला लगाइदिनाले केटाकेटीमा भूतपिचासले प्रवेश पाउन नसक्ने र निरोगी र बुद्धिमान बन्ने विश्वास रहिआएको उनी सुनाउँछन् ।

साथै महर्जनले यो चाड जनजातिहरुको चाड भएको पनि दाबी गरे । उदयपुर र सप्तरीमा गएको बेला थारुहरुले माटोले बनाएको भकारीमा यःमरि बनाए पुजा गर्ने गरेको आफूले पाएको कुरा पनि उनले बताए ।

 उनका अनुसार  पूर्व र पश्चिमका थारुहरुमा यःमरिलाई फरक फरक भन्ने गरेका छन् । पूर्वका थारुहरुले बखिया भन्छन् भने पश्चिमा थारुहरुले ढिकुरी । तर उनीहरुले बनाउने भनेको यस्तै यःमरि हो । तर, अहिले यःमरि बनाउँदा नेवार समुदायले मिठो पार्न चाकु, तील र सख्खरलगायतका मिठा परिकार हालेर बनाउने गरिएको भएपनि थारु समुदायले बखिया र ढिकुरी बनाउँदा तीन दाना चामल मात्र हाल्ने गरेको महर्जनले बताए । 

नेवारहरुले बनाउने यः मरि र उनीहरुले बनाउने बखिया र ढिकुरीमा कुनै फरक छैन । यता राईहरुले पनि यः मरि जस्तै यः ‘मासबाट बन्ने एक प्रकारको परिकार’ बनाउने गर्दछन् ।

वास्तवमा, यः मरि पुन्हिमालाई नेवारहरुको मात्र नभई आदिवासीहरुकै साझा चाड भन्दा पनि फरक पर्दैन । 
राईहरुले यःमरि पुन्हिका दिन मनाउने उधौलीमा चाडको विशेषता उस्तै उस्तै रहेको महर्जन बताउँछन् । यः मरि चाड बनाउने चलन मानव जातिले खाद्यान्न उब्जाउन थालेदेखि सुरु भएको उनको अनुमान छ ।
 देश विभिन्न जाति र क्षेत्रमा विभाजित भएको बेला सबै यस्ता प्राकृतिक धर्म एउटा किसिमका भएको बताउँदै उनले सबै जनतातिले मनाउन प्राकृतिक धर्ममा कसै भिन्नता नभएको बताए । 
तर, नेवार समुदायले यःमरि पुन्हिका दिन ज्यापु दिवस राखेकोमा महर्जनलाई मन परेको छैन । सरकारले यःमरिलाई ज्यापु दिवस भनेर बिदा दिने गरेको उनले पहिलेदेखि नै विरोध गर्दै आएका छन् ।

२०६४ सालदेखि सरकारले ज्यापु दिवसका दिन राष्ट्रिय बिदा दिने गरेको भए पनि यो वर्षबाट स्थानीय विदा मात्र दिएकोमा पनि महर्जनले रोष प्रकट गरे ।
 उनी यःमरि चाडलाई आदिवासीहरुकै चाडका रुपमा मनाउँदै सरकारले राष्ट्रिय बिदा दिनुपर्ने बताउँछन् । सरकारबाट यःमरिलाई ज्यापु दिवसका नाममा बिदा दिएर नेवार समुदायमा नै विभाजनको रेखा कोर्ने कार्य भएको भन्दै महर्जनले आक्रोश व्यक्त गरे ।

यता ज्यापु महागुठी नेपाका अध्यक्ष जकःमि ज्यापु दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिलाउन लागि परेको बताउँछन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ औँ ज्यापु दिवसका अवसरमा प्रमुख अतिथिको रुपमा आइदिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बाजागाजाका साथ पुगेर ‘गुयादान’ निमन्त्रण गरिएको जकःमिले बताए । सोही क्रममा प्रधामन्त्री ओलीले ज्यापु दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिलाउने आश्वासन दिएको उनले बताए । 

https://www.dropbox.com/s/r0hoz3h7fc459kd/newar.pdf?dl=0

https://www.mediafire.com/file/8psv2uc1e8ltv89/newar.pdf/file


 

पनौतिबाट शुरु भएको चाड यःमरि पुन्हि

यःमरि अर्थात् बोलिचालीमा योमरी भन्ने गरिएको लोकप्रिय नेवारी परिकारको नाम हो । विशेषतः धानको नयाँ बाली भित्र्याएको अवसर पारेर चन्द्र पात्रोमा आधारित नेपाल संवतको दोस्रो महिना थिंलाको पूर्णिमाका दिनलाई चाडको रुपमा मनाएर मूलतः नेवारी समाजमा यो विशेष र स्वादिलो परिकार खाने गरिन्छ ।

यःमरि खाने र यसलाई चाडको रुपमा मनाउन कहिलेदेखि थालियो भन्ने सन्दर्भमा विभिन्न भनाइ र किम्बदन्तीहरु पाइन्छ । त्यस्तै एक किम्वदन्तीअनुसार, यःमरि पुन्ही मान्ने चलनको शुरुवात तत्कालीन पान्चाल नगर (हालको पनौति)बाट भएको हो । त्यस किम्बदन्तीअनुसार, त्यसबेला कृता र सुचन्द्र नाम गरेका विवाहित जोडीले नयाँ धानको परिकार बनाउने क्रममा यःमरि बनेको थियो । उनीहरुले त्यो माछा जस्तो आकारको परिकार  गाउँलेहरुलाई समेत बाँडेका थिए । गाउँघरका सबैले त्यो नयाँ परिकारलाई रुचाएकै कारण त्यसको नाम यःमरि रहन गयो, जसको शाब्दिक अर्थ नेपाली भाषामा ‘स्वादिलो रोटी’ हुन आउँछ ।

कथा यत्तिकैमा सकिँदैन । भनिन्छ, ती जोडीले गाउँलेहरुलाई आफूले बनाएको नयाँ परिकार यःमरि बाँड्ने क्रममा बाटो हिँडिरहेका बटुवाहरुलाई पनि बाँडेका थिए । संयोगवश, त्यस्ता बटुवाहरुमध्येमा एक जना बटुवा चाहिँ समृद्धिका देउता कुवेर पनि रहेछन्, जो भेष बदलेर त्यो गाउँबाट कतै गइरहेका थिए । कुबेरलाई पनि त्यो परिकार अत्यन्तै मन परेछ । उनले ती जोडीलाई आफ्नो वास्तविक परिचय खुलाउँदै थुप्रै धनसम्पत्ति प्रदान गरेछन् । त्यही क्रममा कुबेरले यःमरि पुन्हिको दिन विभिन्न देवी देउताहरुको आकृतिमा जसले यःमरि बनाएर चढाउँछन् र चार दिनसम्म पूर्णतः देउतामा समर्पित भएर यो चाँडलाई मनाउँछन्, समृद्धिले उसको घरमा बास गर्नेछ, गरिबीबाट मुक्ति पाउनेछ र धनसम्पत्तिले भरिपूर्ण हुनेछन् भनी घोषणा पनि गरेछन् । 

त्यसैले, यःमरि पुन्हि मनाउँदा घरमा कुबेरले बास गर्ने, गरिबी हट्ने र समृद्धि छाउने जनविश्वास छ । 

यःमरि पुन्हीका दिन काठमाडौं उपत्यकामा अन्नकी देवी अन्नापूर्णालाई नयाँ धान चढाउने गरिन्छ । बालबच्चाहरु बेलुकीपख गाउँटोल छरछिमेकका घरघरमा गएर गीत गाउँदै यःमरि माग्ने गर्छन् । हरिसिद्धि र थेचोतिरका नेवार समुदायमा त यो चाँड लाखेनाच समेत गरेर मनाइने गरिन्छ ।

स्रोतः विकिपिडिया

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप