सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गहरूको पीडा : अरू आए सरकार आएन
काठमाडौँ । जातीय विभेद र असमानताविरुद्ध तत्कालीन माओवादीले देशमा सशस्त्र जनयुद्ध थालेको ५ वर्ष भइसकेको थियो । उनले सुनेका थिए, ‘जनयुद्ध सफल भए जातीय विभेद र असमानता हटेर जान्छ ।’ उनी अर्थात कालिकोटका सङ्ग्रामे सार्की त्यसबेला जम्मा १९ वर्ष मात्रै पुगेका थिए ।
परिवर्तनका लागि भएको जनयुद्धप्रति उनको आकर्षण नहुने कुरै भएन । त्यही भएर उनी विक्रम संवत् २०५७ साल असार ६ गते फूलमालका साथ माओवादी प्रवेश गरे र जनयुद्धमा होमिए ।
आफ्नै घरमा भएको घरेलु हतियार बोकेर जनयुद्धमा होमिएका सङ्ग्रामे दुई वर्षको अवधिमा ३६ वटा आक्रमणमा सहभागी भए । यसक्रममा उनी पटक पटक घाइते भए तर युद्ध छाडेनन् । पहिलो पटक वि.सं. २०५८ साल फागुन ४ गते अछामको मङ्गलसेन आक्रमणका क्रममा देब्रे हातमा गोली लाग्यो, ०५८ को चैत्र अन्तिममा रुकुम आक्रमणका क्रममा घाइते भए । वि.सं. २०५९ भाद्र २३ गते अर्घखाँचीको सन्धिखर्क आक्रमणमा उनका दुवै घुँडामा गोली लाग्यो । हाल उनी कष्टपूर्ण जीवन विताउँदै राज्यसँग सहयोगको याचनासहित भीख माग्न बाध्य छन् ।
सार्की वैशाखीको सहायताले हिँडडुल गर्छन् । तर उनले राज्यबाट पाउनुपर्ने न्यूनतम सुविधा पनि पाएका छैनन् । सार्कीले अहिलेसम्म सरकारले दिने अपाङ्ग परिचयपत्र पनि पाएका छैनन्् । यसले गर्दा सरकारबाट पाउने सेवासुविधाबाट उनी पूर्णतया वञ्चित छन् ।
सङ्ग्रामेका जस्तै माओवादी जनयुद्धमा घाइते तथा अपाङ्ग भएका धैरैका अनगिन्ती पीडा र समस्या छन् । यो सङ्ख्या यति नै छ भन्ने यकिन छैन । उनीहरू मध्येका केही घाइते तथा अपाङ्ग भएका ६ जना पूर्वलडाकु अहिले आफ्नो समस्याप्रति सरकार संवेदनशील नभएको भन्दै माइतीघर मण्डलामा मङ्सिर २७ बाट अनसनमा बसे । अनसनमा बसेका उनीहरूलाई स्वास्थ्यको समस्या देखिएपछि पुस २ गते प्रहरीले वीर अस्पताल पुर्यायो । उनीहरूले अस्पतालमै अनसन थाले । संयोग नै मान्नुपर्छ, यसरी अनसनमा बस्नेहरू दलित समुदायका पूर्व लडाकु धेरै छन् । उनीहरू भन्छन्– जनयुद्धका घाइते तथा अपाङ्गलाई व्यवस्थापन गर्ने विषयमा पटक पटक आवाज उठे पनि सरकारले हाम्रा माग सुन्ने प्रयास नै गरेन ।’
रातोपाटीकर्मी अञ्जु तामाङ बिहीबार वीर अस्पताल पुग्दा उनीहरूले आफ्नो पीडा यसरी सुनाए ।
सङ्ग्रामे सार्की
जनयुद्धकै क्रममा घाइते भएँ । घाइते भएपछि कष्टपूर्ण जीवन विताउँदै ५ वर्ष माओवादी क्याम्पको बसाइपछि ०६९ मा ५ लाख रुपैयाँ लिएर अवकास लिएँ । त्यो पैसाले गाउँमा केही जमिन जोहो गरेँ तर बिरामले दैनिक चाप्दै गएपछि भएको जमिन बेचेर उपचार गर्न बाध्य भए । अहिले मेरो परिवारसँग जीवनयापनका लागि कुनै पनि स्रोत, साधन छैन । मेरो परिवार गाउँमा अर्काले छोडेको घरमा बसिरहेको छ । आफू काम गर्न नसक्ने भएपछि छोराछोरीलाई पालनपोषणमा मात्रै होइन, दैनिक जीवनयापन गर्न पनि समस्या भएको छ ।
मन दर्जी
जनयुद्धमा आइपरेको खण्डमा छातीमा गोली थाप्न पनि पछिपर्नु हुँदैन भन्ने निर्देशनलाई शिरोधार्य गरियो । त्यही निर्देशन मान्दा आज यो अवस्था भोग्नुपर्यो । जनयुद्ध लड्दा बायाँ घँुडा र छातीमा गोली लाग्यो, जसले गर्दा अहिले पनि मेरो मुखबाट रगत बगिरहन्छ ।
जनयुद्धको समयमा कालिकोटमा सरकारपक्षले मान्छे मात्रै होइन, त्यहाँका गाई, भैँसी र कुकुरलाई समेत माओवादी भनेर दमन गर्ने गथ्र्यो । त्यो दमन सहेर बाच्नुभन्दा पार्टी प्रवेश गर्नु नै राम्रो ठानेर आफ्नै इच्छाले जनयुद्धमा होमिएँ । जनयुद्धमा लाग्दा म १८ वर्षको थिएँ ।
वि.सं. २०५६ साल मङ्सिर २२ गते पार्टी प्रवेश गरेको हुँ । मलार्ई ०५९ मा सल्यानको खलङ्गामा युद्धमा गोली लाग्यो । यो अवधिमा जनयुद्धका क्रममा ३६ भन्दा धेरै आक्रमणमा सहभागी बने । शरीरमा समस्या भएकै कारण मैले वि.सं. २०६७ सालमा जनमुक्ति सेनाबाट अवकास लिएँ ।
आफ्नो पार्टी सरकारमा आएदेखि नै धेरै नेतासँग धेरै पटक भेटे आफ्नो समस्याको भारी बिसाएँ । तर अहिलेसम्म कार्यान्वन नभएपछि म निराश हुन बाध्य छु । अहिले सरकारले खाईपाई आएको भत्तासमेत कटौती गरेको छ । उपचार गर्न नपाउँदा आफ्नो जीवन आफैलाई बोझ बनेको महशुस भएको छ । मजस्तै घाइतेहरूका माग सम्बोधन गर्न माग गर्दै हामी अनसनमा बसेका छौँ । मेरी श्रीमती द्वन्द्वकालको घाइते हुन् । दुई छोरा र दुई छोरी पाल्न गाह्रो भएको छ ।
सुरवीर बोहोरा
मेरो नाम सुरवीर बोहोरा । घर हुम्ला । दुवै आँखा देख्दिनँ । घाइते साथीहरूको मागमा ऐक्यबद्धता जनाउन बुधबार साँझ मात्रै वीर अस्पताल आइपुगेको हुँ । सेतो छडी हातमा बोकेर अनसनमा बसिरहेको छु । मेरा दाइ जनयुद्धकै क्रममा माइला दाइ सुरवीर सहिद भएपछि ज्यानको बदला ज्यानै भनेर १५ वर्षकै उमेरमा जनयुद्धमा लागेँ ।
म ३ वटा युद्धमा सहभागी भएको छु । पार्टी प्रवेश गरेको डेढ वर्षमा आँखा गुमे । अरू साथीको जस्तो शरीरमा धेरै समस्या नभए पनि मैले संसार देख्ने आँखा गुमाएको छु ।
मङ्गलसिन प्रजा
मेरो नाम मङ्गलसिन प्रजा । युद्ध लड्दा शरीरको ३ ठाउँमा छर्रा लागेको छ । एउटा करङ नै भाँचिएको छ । समाज परिवर्तन गर्ने उद्देश्यले पार्टी प्रवेश गरियो । राज्यले सबै नागरिकलाई समान व्यवहार गर्नुपर्छ ।
गरिबी हट्नुपर्छ भन्ने आशमा १६ वर्षको उमेरमा वि.सं. २०५८ मा माओवादी प्रवेश गरेको हुँ । तर परिवर्तनका लागि लड्दा आफै घाइते भएँ । नेकपाको सरकार छ तर सरकारले मजस्ता अपाङ्ग र घाइतेलाई गरेको व्यवहार पटक्कै मन परेको छैन ।
घाइते अपाङ्गहरूका माग
–गणतन्त्रको सेनानीसहितको घाइते, अपाङ्गता परिचयपत्र राजपत्रमा उल्लेख गरी प्रदान गर्ने ।
–जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरूलाई समय सान्दर्भिक जीवननिर्वाह भत्ताको ग्यारेन्टी गर्नुपर्ने ।
–जनयुद्धको क्रममा घाइते भएका व्यक्तिहरूको पुनः अवलोकन प्रतिशत निर्धारण खारेज गर्नुपर्ने ।
–घाइते तथा अपाङ्ग भएका व्यक्तिहरूलाई औषधि उपचारका लागि तत्काल आर्थिक सहायता दिनुपर्ने ।
–बालबच्चालाई निःशुल्क उच्चशिक्षा र रोजगारीको व्यवस्थाको कुरा सरकारले गरे पनि कार्यान्वयन नभएकाले तत्काल सम्बोधन गर्नुपर्ने ।
अरू आए सरकार आएन
पूर्वलडाकु तथा अपाङ्ग घाइतेहरूले माइतीघर हुँदै अनसन थालेको आज नौ दिन भयो । तर पनि उनीहरूको माग सम्बोधनमा सरकारले कुनै चासो देखाएको छैन ।
अनसनस्थल पुगेर नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, नयाँ शक्तिका प्रवक्ता गङ्गानारायण श्रेष्ठ, माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल र वाईसीयलका अध्यक्ष दीपशिखाले उनीहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । ‘तर सरकारका तर्फबाट अहिलेसम्म कोही पनि आएका छैनन्’, अनसनरत सबैको एकै स्वर छ । स्लाइन पानीको भरमा नौ दिनसम्म अनसन बस्दा पेट दुख्ने, मुख सुक्ने, घाटीमा घाउ आउने जस्ता धेरै समस्या देखिन थालेको उनीहरूको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात
-
‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’