मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बजारमा गुणस्तरहीन सिमेन्ट, उत्पादन बन्द गराउने सरकारको चेतावनी

शुक्रबार, ०६ पुस २०७५, १२ : ०९
शुक्रबार, ०६ पुस २०७५

काठमाडौँ । गुणस्तर तथा नापतौल विभागले सगरमाथासहित विभिन्न सिमेन्ट उद्योगलाई कारवाहीको चेतावानी दिएको छ ।

सिमेन्टमा हुनुपर्ने न्युनतम मापदण्ड पूरा नगरेको र सिमेन्ट गुणस्तरहीन रहेको भन्दै विभागले यी सिमेन्ट उद्योगलाई कारवाहीको चेतावानी दिएको हो ।

कारवाहीका लागि पत्र काटिएका उद्योगहरुमा सगरमाथा सिमेन्ट, सुभश्री जगदम्बा सिमेन्ट, होङ्सी सिमेन्ट र गोरखकाली सिमेन्ट रहेका छन् ।
  
सिमेन्टमा हुने म्याग्नेसियम अक्साइडको मात्रा मापदण्डभन्दा बढी भएको भन्दै यी सिमेन्ट उद्योगमाथि कारवाहीको प्रक्रिया सुरु गरिएको हो ।
 
गुणस्तर तथा नापतौल विभागले सिमेन्टमा अधिकतम ५ प्रतिशतसम्म एमजिओ अर्थात् म्याग्नेसियम अक्साइडको मात्रालाई छुट दिएको छ ।
 
तर गुणस्तर तथा नापतौल विभागले गरेको ल्याब टेष्टमा यी सिमेन्टहरुमा म्याग्नेसियम अक्साइडको मात्रा मापदण्डभन्दा बढी पाइएको थियो । विभागले गरेको नमुना संकलन र परीक्षणका क्रममा यी सिमेन्टहरुमा एमजिओको मात्रा ५ दशमलब ८ प्रतिशतसम्म भेटिएको छ ।

सिमेन्टमा मापदण्डभन्दा बढी मात्रामा म्याग्नेसियम अक्साइड भेटिएपछि विभागले कारवाही गर्ने भन्दै चेतावानी पत्र पठाएको हो । 

गुणस्तर तथा नापतौल विभागले केही समय अगाडिमात्रै सगरमाथा र गोरखकाली सिमेन्टमा एमजिओको मात्रा बढी पाइएको भन्दै तत्काल सुधार नगरे उत्पादन नै बन्द गरी उद्योगको सम्बन्धन खारेज गर्नेसम्मको चेतावनी दिएको थियो । 

विभागले गरेको ल्याब टेष्टमा बाँकी ३ सिमेन्टमा पनि एमजिओको मात्रा बढी भेटिएपछि कारवाहीका लागि बिहिबार मात्रै पत्र काटेको हो । 

बिहिबार पत्र काटिएका सिमेन्टहरुमा सुभश्री जगदम्बा, होङ्सीलगायतका सिमेन्ट रहेका छन् । 

यी सिमेन्टहरुमा पनि एमजिओको मात्रा बढी भएकाले तत्काल सुधार नगरे उत्पादन नै बन्द गराउने गरी चेतावानी पत्र दिएको हो । 

के हो एमजिओ अर्थात् म्याग्नेसियम अक्साइड ?

ओपिसी र पिपिसी सिमेन्टमा पाइने तत्त्वहरुमा म्याग्नेसियम अक्साइड अर्थात् एमजिओ पनि एक तत्त्व हो । सिमेन्टमा यसको मात्रा जति कम भयो, त्यसलाई राम्रो मानिन्छ । 

म्याग्नेसियम अक्साइड प्रकृतिमै हुने भएकाले सिमेन्ट उत्पादन गर्दा यसलाई नियन्त्रण गर्नुपर्ने हुन्छ । नेपाल सरकारले सिमेन्टमा एमजिओको मात्रा ५ प्रतिशतसम्मलाई ठिकै भनेको छ । यद्यपि सिमेन्टमा यसको मात्रा जति कम भयो, त्यसलाई राम्रो मानिन्छ । अधिकांश विकासशील र विकसित देशहरुमा भने एमजिओको मात्रा ४ प्रतिशत मात्रै राखिएको छ । 

सिमेन्टमा हुने म्याग्नेसियम अक्साइडले सिमेन्टलाई रङ दिने र बालुवा, गिट्टी तथा अन्य वस्तुहरुलाई समात्ने काम गर्छ । सिमेन्टमा हुने यसको मात्रा जति कम भयो, त्यो सिमेन्ट त्यति नै राम्रो मानिन्छ ।

तर यदि सिमेन्टमा एमजिओको मात्रा बढी भएमा यसले गिट्टी, बालुवा तथा इट्टालाई राम्रोसँग नसमात्ने र सुकेलगत्तै फुट्ने वा चर्कने गर्छ । लामो समयसम्म बलियो नहुने भएकाले सिमेन्टमा एमजिओको मात्रा कम हुनु आवश्यक छ ।

तर गुणस्तर तथा नापतौल विभागले गरेको ल्याब टेष्टमा यी पाँच कम्पनीका सिमेन्टमा एमजिओको मात्रा धेरै भएको तथा यसको गुणस्तरमा कमी आएको भन्दै कारवाहीको चेतावानी दिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप