शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको विकल्प प्रतिगमन हुन सक्दैन

बिहीबार, ०५ पुस २०७५, १५ : २९
बिहीबार, ०५ पुस २०७५

धुम्बाराहीको धुमधाम देखेर नेकपाका विरोधीहरू राम्रै हौसिएका छन् । कलहको बीउ र तडक भडकलाई धुमधाम भन्ने गरिन्छ । राजावादीको तामझाम, नेपाली काङ्ग्रेस महासमितिको बैठक र नेकपा स्थायी कमिटीको बैठक एकै लहरमा पर्नु देशकै लागि धुमधाम हो । दुई तिहाई बहुमतको बलियो सत्तासीन पार्टी भएकाले यी तीनमध्ये पनि नेकपाकै बैठकले जनमानसलाई बढी तरङ्गित पारेको छ । 

राजावादीको तामझाम– मदन भण्डारी भाषण गर्थे ‘राजा पनि एउटा पार्टीका नेता जस्तै हुन् । त्यसैले मैले दर्शन गरिनँ, भेट गरेँ । एउटा पार्टीका नेताले अर्को पार्टीका नेतासँग जसरी कुरा गर्नुपर्छ, त्यसरी मैले कुरा गरेँ ।’ त्यतिखेर (०४७) मदन भण्डारीले राजासँग कसरी कुरा गर्लान् ? को उत्ताल तरङ्ग थियो । राजा वीरेन्द्र भद्र थिए । विकास क्षेत्रका निर्माता, शान्ति क्षेत्रका प्रस्तावक, प्रभावशाली व्यक्तिŒवका धनी । भारतसँग झुक्न चाहेनन्, जनतासँग झुके । आन्दोलनकारीहरूसँग मुठभेट गर्न चाहेनन् । दरबारिया र कट्टर पञ्चसँग खतरा मोलेरै देशमा बहुदलीय व्यवस्था स्थापना गरे । विद्वान थिए, संवैधानिक भएरै बस्न रुचाए । 

राजासँग कुरा गरेर फर्केपछि मदन भण्डारीको कद ह्वात्तै उचालियो । मतभेद बढ्ने आशामा बसेका काङ्ग्रेसीहरू हिंस्रिक्क भए । उग्रवादी कम्युनिस्टहरूले पनि बात लगाउने ठाउँ पाएनन् । हो, मदन भण्डारीकै नैतिक ओजको प्रभावले जनता एमाले पार्टीसँग जोडिँदै गए । मदन भण्डारीको संवाद शैली, शब्द चयन र ‘बडी ल्याङ्वेज’ अतुलनीय थिए । 

अचम्म, महा अचम्म ! नेपाली काङ्ग्रेसले लोकतान्त्रिक नेताका रूपमा मदन भण्डारीको उच्च सम्मान गर्न सकेन । बरु उसले ‘नयाँ जनवाद’ भन्ने सीपी मैनालीलाई पो मित्रशक्ति देख्यो । यसैले पनि मदन भण्डारीको हत्याको दोष काङ्ग्रेसमाथि थोपरियो । बबण्डर मच्चिँदै गयो । बहुदल अफापका कारणहरू थपिँदै गए । जनयुद्धप्रतिको आकर्षण बढ्दै गयो । तात्कालीन राजा ज्ञानेन्द्रले दाउ छोपे । सबै ठूला दलहरू एकातिर हुँदा राजाले उल्टै घुँडा टेक्नुपर्यो । 

बेलायतको इतिहास सम्झिन सकिन्छ । राजतन्त्र पुनस्र्थापनाका नाराहरू रमाइलै छन् । काठमाडौँमा शाही युवा शक्तिका युवाले पुलिससँग झडप गरे । पोखरामा उल्लेख्य सङ्ख्याका राजावादीहरू देखिए । ‘ती प्रतिक्रियावादी, स्वार्थका पुतलाहरू हुन् !’ आम जनताको बुझाइ यस्तो छ । राजालाई घेर्नेहरूले जनतालाई हेर्छन् ? जय–जयलाई जनता प्रतिगमनकै काँचो वायु ठान्छन् । 

नेपाली काङ्ग्रेसको महासमिति– ‘ज्याला दिएर पोल–पोलमा झुण्ड्याइएका चारतारे झण्डा काठमाडौँमा देखिँदा पनि काङ्ग्रेसका महासमिति प्रतिनिधिहरू गौरवान्वित भए !’ पुरञ्जन आचार्यले लेखे । ‘फुट कि जुट’ उनले भनेका छन् । काङ्ग्रेस जुट्ने सम्भावना अत्यन्तै क्षीण छ । सङ्घीयता र धर्मनिरपेक्षताका मुद्दामा काङ्ग्रेस दिशाहीन छ । राजाबारे ऊ अझै पनि अन्यौलग्रस्त छ । सभापति शेरबहादुर देउवाले बहुदललाई राजाका पाउमा चढाएकै हुन् । ‘आफ्नै टाउको फुट्छ भने मीतको टाउको बेलैसरी !’ पराजयले पिरोलिएका उनले अब गणतन्त्र लगेर फेरि बुझाउन आइतबार कुर्दैनन् । शशांक कोइराला त्यतै छन् । शेखर कोइरालाले गिरीजासँग मिलेरै माओवादीलाई रातो तुल बिच्छ्याएका थिए । तर अहिले बीपीको प्रजातान्त्रिक समाजवादको आत्मरतिमा रमाउनुबाहेक उनको अर्को बाटो छैन । 

धुम्बाराहीको धुमधाम– पटक–पटक सर्दै र टर्दै गए पनि ०७५ मङ्सिर २ गते धुम्बाराहीमा स्थायी कमिटीको बैठक बस्यो । पार्टी एकताको ७ महिनापछि करैकरले बसेको यो बैठकले सीधा–सोझा कार्यकर्ताका आङमा डरैडरका काँडा उमारेका छन् । यहाँ बामदेव गौतमले ‘केपी ओलीको शासन मानिँदैन’ भने । घनश्याम भुसालले ‘बहुदलीय जनवादको समय सकिएको’ बताए । अग्नि सापकोटाले ‘प्यासिफिक समिटमा गल्ती भएकाले जनतासँग सोझै माफी माग्नुपर्ने’ राय राखे । अष्टलक्ष्मी शाक्यले ‘नेतृत्व भ्रष्ट र अनैतिकहरूको घेराभित्र छ’ भनिन् । गणेश साहले ‘सत्कारसँग जनताको असन्तुष्टि बढेको’ उल्लेख गरे । ‘नेतृत्वले आफैले बनाएको विधान आफैले उलङ्घन गरेको’ जानकारी बेदुराम भूसालले दिए । ‘जिम्मेवारीमा कसैलाई खातैखात कसैलाई सडकको बास पारियो’, भन्दै युवराज ज्ञवाली गर्जे । हरिबोल गजुरेलले सरकारको असफलताको फेहरिस्तै बुझाए । 

कथा सुनाइयो, ‘एकादेशमा एकजना राजा रहेछन् । राज्यमा ठूलै चोरी हुँदा राजाले भारदारहरूलाई चोर समात्ने आदेश दिएछन् । भारदारहरूले खतरा मोलेरै चोर समातेर थुनेछन् । चोर समातिएको सूचना राजामा पुर्याएछन् । ‘फाँसी दिनू !’ राजाको आज्ञा हुँदा भारदारहरूले चोर राजाकै ज्वाइँ भएको बिन्ती जाहेर गरेछन् । ‘त्यसो भए कुनै कार्वाही नगर्नू, छोडिदिनू !’ राजाले भाका फेरेछन् ।’
धुम्बाराहीको धुमधामबारे सबै मिडियाले यही उल्लेख गरेका छन् । सत्ताबाहिरका सबैका लागि यो सुखद समाचार हो । फेरि दोहोर्याउँ, साना कार्यकर्ताको चित्त रोएको छ । ती ‘आफ्नै पार्टीको सरकार छ’को

भावनात्मक राहतमा रमाएका थिए । अरूको खिसिट्युरी खपेका थिए । नेकपाभित्र कार्यकर्ताको एउटा सानो झुण्ड अझै त्यस्तो छ । जो अहिले ऊ न ऊ हातभरि गुहु भएर पनि मौन बसेको छ । 

गाँठी कुरा– जनता अजेय शक्ति हो । साँच्चैको जनार्दन हो । राणा, राजा, काँग्रेस, पञ्च र मिलिजुलीको सरकार नेपाली जनताले भोगेकै हुन् । मधेस बिखण्डनको डर र स्थिर सरकारको जनताको रहरले नेकपाको प्रचण्ड बहुमतको सरकार बनेको हो ।

तर मधेसको त्रास र स्थिर सरकारको आस दुवैमा जनताले राहत पाएनन् । यद्यपि, नेकपाको विकल्प प्रतिगमन हुन सक्दैन । लोकतन्त्रको विकल्प अरू समृद्ध लोकतन्त्र हो । राप्रपा वा विवेकशील साझा, काङ्ग्रेस वा नेकपा सबैले लोकतन्त्रकै बाटो समात्नुपर्छ । नेकपाको विकल्प नेकपा नै हुन्छ । अग्रगति, क्रान्ति र प्रगति नियमित प्रक्रिया हुन् । 

[email protected] 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निर्मला न्यौपाने
निर्मला न्यौपाने
लेखकबाट थप